विचार

रिटायर्ड ओलीको क्यारमबोर्ड

नेकपा एमालेका 'प्रभावशाली' नेता केपी शर्मा ओलीलाई क्यारमबोर्ड खेल असाध्यै मन पर्छ। बालकोटस्थित आफ्नो निवासमा भेट्न आएका कार्यकर्ता, पत्रकार, शुभचिन्तकलाई घन्टौं बाहिर कुराएर भए पनि उनी क्यारमबोर्ड खेलिरहन्छन्। राजनीतिको मैदानमा दिन प्रतिदिन असान्दर्भिक बन्दै गएपछि क्यारमबोर्डमा व्यस्त रहनु अस्वाभाविक होइन। बेलायती प्रधानमन्त्री डेबिड क्यामरुनका भाषामा यसरी चिल्याक्स (रिल्याक्स होइन) गर्नु समय कटनीको उपयुक्त मेलो हो। ओली आफैंलाई चाहिँ थाहा छ कि छैन कुन्नि - हिजोआज उनले हानेका राजनीतिक गोटी क्यारमबोर्ड भित्र हैन बाहिर गइरहेका छन्।
समय, सन्दर्भ र स्वास्थ्य सबैका दृष्टिले राजनीतिबाट अवकाश लिनुपर्ने नेताहरूको सूची बनाउने हो भने ओलीको नाम शीर्ष तीनभित्र आउला। संविधान सभा चुनाव र पार्टीको आठौं महाधिवेशनपछि ओलीको स्थान एमाले नेतृत्वका लागि छुट्याइएको बेन्चको पछिल्लो हारमा थियो। एमालेका अध्यक्षभन्दा 'शक्तिशाली' मानिने दोस्रो पुस्ताले आन्तरिक एकताका नाममा ओलीलाई वैकल्पिक खेलाडीका लागि राखिएको 'सब्स्टिच्युट बेन्च'बाट थपक्कै टिपेर तेस्रो हैसियतमा राखिदिएको छ। रमाइलो के भइरहेको छ भने लगिएका खेलाडी फेरि बलिया हुँदैछन्। लैजानेहरू चाहिँ नदी किनारामा टुलुटुलु हेरिरहेछन्। राजनीतिको नियम बुझ्न दैवलाई पनि गाह्रो पर्दोरहेछ। एमाले नेता पनि मामुली मनुष्य न परे!

जे होस्, ओली एमालेको घरभित्र 'प्रभावशाली' बन्न थाले पनि सामान्य मानिसमा भने त्यसको कुनै प्रभाव छैन। देशमा जति पनि एजेन्डाहरू उठेका छन्, तीसँग उनको गोरु बेचेको साइनो पनि छैन। मुखले 'परिवर्तनकामी, जनवादी' भनेरमात्रै पुग्दैन। दुई महिनाअघि बुद्धनगरमा आयोजित एक भेलामा ओलीले संघीयताबारे असाध्यै भद्दा र कमजोर तर्कहरू दिए। तिनले संघीयता र शासनसत्तामा जनताको पहुँच र अपनत्व हुनुपर्छ भन्ने आवाजप्रति उछित्तो काढे। उनलाई सुन्न आएका कार्यकर्ता आक्रोशित भएपछि एमालेका युवा नेता योगेश भट्टराईले थुम्थुम्याउनु परेको थियो। एमालेका अन्य नेताहरू सबै दूधले नुहाएका पक्कै नहोलान् तर ओलीको छवि बढ्तै अनुदारवादी बनेको छ। उनी माओवादीलाई भक्कुमार गाली गर्छन्। उनले गाली गरेको मन पराउनेहरू पनि थुप्रै छन् तर किन उनीहरू माओवादी नेताको भरपर्दो विकल्पका रूपमा ओलीलाई अघि सार्न चाहँदैनन्! ओलीले कहिल्यै यतातिर सोचेका छन्? ओली क्यारबोर्डबाहिर गोटी जो हान्दैछन्।
झलनाथ खनालको अकर्मण्य र 'बोधो नेतृत्व' सँग थुप्रै कार्यकर्ता असन्तुष्ट छन्। तै पनि उनीहरू ओलीलाई विकल्प मान्न तयार छैनन्। पार्टी स्थापनाकालका नेतामध्ये ओली पनि एक हुन्। यसर्थ माधवकुमार नेपाल र खनालपछि उनको पालो आउनु स्वाभाविकै हुनुपर्ने हो। तै पनि सर्वसाधारणमा 'ओलीलाई हेरौँ एक पटक' भन्ने अपेक्षा र सहानुभूतिको भावना किन जागृत नभएको होला! ओली र तिनलाई उकास्ने नेता कार्यकर्ताहरूले एक पटक आफैंलाई किन प्रश्न नगर्ने?
प्रणव मुखर्जी भारतका राष्ट्रपति चुनिएलगत्तै उपाध्यक्ष विद्या भण्डारीसहित नयाँ दिल्ली पुगेका ओलीले उनीसँग खिचाएका फोटो देखेर कता कता अप्ठेरो लागेर आयो। तस्बिरमा ओली र भण्डारी बढ्तै प्रफुल्ल देखिन्छन्। मुखर्जी भने बेपर्वाह भुइँतिर हेरिरहेका छन्। केही वर्ष अघिसम्म भारतका 'विश्वासपात्र' मानिने नेपाली नेतामध्ये ओलीको नाम अघिल्लो पंक्तिमा आउँथ्यो। यस बीचमा महाकालीमा धेरै पानी बगिसकेछ क्यारे! आज उनलाई माथ गर्नेगरी प्रधानमन्त्री बाबुराम भट्टराईले दिल्ली दौडमा अग्रता हासिल गरिसकेका छन्। ओलीको यसपालिको दिल्ली दौडलाई भारतीय नेताहरूले अप्रतियोगी खेलाडीलाई सान्त्वना स्वरूप थप्थपाएको जस्तो पनि देखिएन।
तैपनि, केही आश्चर्य भने बाँकी छन्- प्रधानमन्त्रीको राष्ट्रियता माथिको प्रतिबद्धतामा स्वयं एमालेका अध्यक्ष झलनाथ खनाल र अन्य नेताहरूले आक्रोश व्यक्त गरिरहेका बेला ओली चाहिँ अझै किन बोल्दैनन्! के उनी दिल्लीको आशीर्वाद र प्रचण्डको सम्मतिमा बालुवाटार यात्राको कुरूप रिहर्सल गरिरहेका छन्? ओलीले प्रधानमन्त्री बन्ने इच्छा बिहीबार भक्तपुरको एक कार्यक्रममा गर्नु र एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले पूर्वसहमति बिर्सेर सरकार बनाउने अबको पालो कांग्रेसको नभएको भनी शनिबार नेकपा-माओवादीले आयोजना गरेको गोलमेच सभामा बोल्नुबीच के सम्बन्ध छ? संविधान सभाको जनमत र महाधिवेशन दुवैले ओलीलाई राजनीतिको मैदानमा कम्तीमा एक अवधिलाई असान्दर्भिक घोषित गरिदिएका छन्। उनी राजनीतिक रिक्तताको फाइदा उठाउँदै जबर्जस्ती मैदानमा छिर्न खोज्दैछन्। के यो देश रिटायर्ड भइसकेका ओलीजस्ता नेताहरूको क्यारमबोर्ड हो?
राजनीति भनेको फेरि पनि शक्तिको खिचातानी नै हो तर त्यसमा नैतिकताको पनि कहिँ न कहिँ भूमिका त हुन्छ। ओलीलाई पनि अध्यक्ष हुन मन हुँदो हो। अरूले दोहोर्यापई दोहोर्यामई प्रधानमन्त्री खान हुन्छ भने उनले मात्रै पन्छेर बस्नुपर्छ भन्ने केही छैन। रहरहरू नाजायज हुनसक्छन् तर रहर गर्नेका लागि ती कहिल्यै अप्राकृतिक लाग्दैनन्। त्यसैले यस दोषको भागीदार ओलीमात्र होइनन्, परिस्थितिहरूले रंगमञ्चबाहिर हुत्याइसकिएका उनलाई समातेर ल्याउने दोस्रो पुस्ताका नेताहरू पनि हुन्। पार्टीभित्र मेलमिलापका नाममा उनीहरूले ओलीलाई नेपथ्यबाट जबर्जस्ती मञ्चको तेस्रो पंक्तिमा तानेेका छन्। उनीहरूले आठौं महाधिवेशनमा 'जनवादी, लोकतान्त्रिक' प्रक्रियाबाट केन्द्रीय कमिटी चुन्ने कार्यकर्ताको खिल्ली पनि उडाएका छन्।
ओलीलाई सर्वसाधारणमात्रै होइन, स्वयं एमाले कार्यकर्ता पनि दक्षिणपन्थी धारका अगुवा ठान्छन्। परिवर्तनको पछिल्लो अभियानमा एउटा सिन्को पनि नभाँचेका ओलीलाई बलवान समयले सक्रिय राजनीतिको दैनिकीबाट रिटायर्ड गरिसकेको छ। मदन भण्डारीको निधनपछि आफूलाई जनताको बहुदलीय जनवादको आधिकारिक व्याख्याता ठान्ने ओलीलाई उनकै कार्यकर्ताले नपत्याउनुको परिणाम भण्डारीसँग असहमति राखेका खनाल कालान्तरमा अध्यक्ष भए। त्यस यता केही समय मदन भण्डारी फाउन्डेसनका नाममा समानान्तर कमिटी चलाएका ओलीको भूमिका पछिल्लो दिनमा क्यारमबोर्डका स्ट्राइकर र गोटीहरूमा सीमित थियो। कहिले सेतो गोटीको पक्ष लिनु, कहिले कालोको पक्ष लिनु अनि पाएसम्म आफैंले 'क्विन' ताक्नु ओलीको दिनचर्या हो। उता डन र ओलीको मिल्ती देख्दा लाग्छ - देशमा ओली छन्, त्यसैले डन छन्। डन छन्, त्यसैले ओली छन्।
एमालेको आन्तरिक एकता प्रक्रियाका सारथीहरू भने उनै ओलीलाई संघीय गणतन्त्र नेपालको नेताका रूपमा जबर्जस्ती उभ्याउन उद्यत छन्। एमालेका पछिल्ला 'शक्तिशालीहरू' क्यारमबोर्ड बाहिरका स्ट्राइकरसामू फेरि एकपल्ट निरीह छन्। उनीहरूलाई ओली हुँदा के हुन्छ, नहुँदा के हुन्छ सबै थाहा छ। तै पनि यी प्रगतिशील राष्ट्रवादीहरू फेरि किन 'दक्षिणपन्थी' ओलीलाई नै नेता बनाउन अग्रसर छन्? के उनीहरू ओलीलाई आफूहरूजस्तै बनाउन चाहन्छन्? कि एमालेलाई ओलीजस्तै बनाउन चाहन्छन्?

प्रकाशित: २९ श्रावण २०६९ ०१:३१ सोमबार