कम्युनिस्ट पार्टीहरूले दर्शन र राजनीति बुझाउन पारिभाषिक शब्दावली समेटिएको शब्दकोश बनाउने गरेका छन्। नेपालमा पनि त्यो चलन छ। वाम घटकपिच्छे लेखिएका ती शब्दकोशमा आ-आफ्नो धारलाई सघाउ पुग्नेगरी शब्दको अर्थ लगाउनेदेखि बंग्याउनेसम्म गरिन्छ। कम्युनिस्टले प्रयोग गर्ने भाषालाई अर्थ्याउन अब ती शब्दकोशमात्रै पर्याप्त रहेनन्। यसका लागि एउटा छुट्टै शब्दकोश आवश्यक भएको छ। सम्भवतः 'कम्युनिस्ट गालीको शब्दकोश' त्यसको नाम हुनेछ।
प्रशंसा गर्न कम्युनिस्टहरूलाई कसैले भेट्दैन। उनीहरू अनेक उपमा अलंकार जोडेर सामान्य व्यक्तिलाई असामान्य बनाइदिन्छन्। तिनै कम्युनिस्ट मन नपरेको कसैलाई गाली गर्नुपर्योो भने सैद्धान्तिक/वैचारिक जामा पहिर्या एर तथानाम गर्छन्। कुनै पनि घटनामा अनेक आयाम हुने बताउदै त्यसलाई कुनै अमुक सिद्धान्तमा प्रवेश गराउने प्रयत्न गर्छन्। सामान्य मान्छेको बुद्धिले नभ्याउनेगरी अनेक भाषा र पदावली उभ्याउँछन्, अनि 'मार्क्सवादसँग नबाझिने गरी' गाली गर्छन्।
त्यही गालीको दोहोरो अभ्यास एकीकृत नेकपा (माओवादी) मा आएको विभाजनसँगै फेरि एकपल्ट सुरु भएको छ। मोहन वैद्य नेतृत्वको नवगठित नेकपा-माओवादीले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई नवसंशोधनवादी, गद्दार, विस्तारवादको दलाल भनेको छ। प्रचण्डपक्षीय माओवादीले वैद्य पक्षलाई उग्रवादी, यान्त्रिक, जडसूत्रवादी, विसर्जनवादी भनेको छ। उनीहरूको गाली कारोबार हेर्दा वामपन्थीहरूको राजनीतिक प्रहसन सुरू भएजस्तो लाग्छ।
एमाले नेता घनश्याम भुसालको भनाईमा 'विश्वभरका कम्युनिस्ट पार्टी विभाजनका सय वर्षयता यति धेरै गालीगलौजका नयाँ शब्द थपिएका छन् कि ती सबै जम्मा गर्ने हो भने ठूलै शब्दकोश तयार होला।' कम्युनिष्ट पार्टीमा हुने विभाजन र विभाजन लगत्तैका गालीहरूलाई हेर्दा गालीहरूको ऐतिहासिक संकलन नै गर्न हो भने पनि चाखलाग्दो हुन सक्छ। यहाँ केही कम्युनिस्ट गाली छन् जो कम्युनिस्टको, कम्युनिस्टद्वारा कम्युनिस्टका लागि 'अथक दुःखले आर्जेका' हुन् : क्रान्तिको गद्दार, संसदवादी, प्रतिक्रियावादी, शोषक, दलाल, नवमण्डले, पुनरुत्थानवादी, भँडुवा विकासवादी, निम्न पुँजीवादी, अधिभूतवादी, कठमुल्लावादी, उग्रवाम पुच्छरवादी, एकपाखे, जडसूत्रवादी, अर्थवादी, नवधनाड्य, यान्त्रिक, विसर्जनवादी, संशोधनवादी, सामाजिक साम्राज्यवादी, युद्धोन्मादी, उग्रवामपन्थी, सामाजिक फासिवादी, अराजकतावादी, उग्रवाम लफ्फाजी, निम्न पुँजीवादी, डुलुवा बुर्जुवा, व्यवहारवादी, अजीर्ण मार्क्सवादी आदि।
कम्युनिस्ट पार्टीहरूमा प्रशंसाको भाषा देवत्वकरणसम्म पुग्ने गरेको छ। उनीहरू आफ्नो अभियानलाई अतिरञ्जित गर्न कृत्रिम नायक उभ्याउँछन्, उसलाई आन्दोलनको पर्याय बनाउँछन्। महान र अद्वितीयको परिकल्पना गर्छन्। लेनिन महान कहलाइए। माओ त्सेतुङलाई पुज्नु पुजियो। लिन प्याओको नाम कम्युनिस्ट आन्दोलनमा धेरै लिइन्छ। उनीलगायत् नेताहरू 'चेयरम्यान' माओलाई प्राधिकार बनाइनुपर्ने, माओका विचारलाई वाद भनिनुपर्ने आदि तर्क गर्थे। पछि स्वयं माओको हत्या गर्ने षडयन्त्रमा मुछिएको अभियोग तिनैमाथि लगाइयो।
नेपालमा पनि नेकपाका संस्थापक पुष्पलाललाई मोहनविक्रम सिंहले लामो कालसम्म 'गद्दार पुष्पलाल' का रुपमा चित्रण गरे। नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले कुनै बेला 'महेशमणि दीक्षितको अजीर्ण मार्क्सवाद' नामक पुस्तिका नै लेखेका थिए। प्रचण्डले आफ्नो किताबमा 'एमाले गुटको संशोधनवादी डंगुर जलाउने प्रयत्न' शीर्षक लामो लेख लेखेका छन्। बाबुराम भट्टराईले एमालेलाई गाली गर्ने नाममा हाम्रो समाजका तेस्रो लिंगीहरूको संवेदनामाथि नै प्रहार हुने गरी अमानवीय भाषा प्रयोग गरे। मोहन वैद्यलाई त गाली गर्न कसैले सिकाउनै पर्दैन। उनी गालीको आधिकारिक शास्त्र पढाउने हैसियत नै राख्छन्।
कम्युनिस्ट पार्टीमा नै किन गालीका गुरु यति ठूलो संख्यामा जन्मिन्छन्? के अरु दलका नेता जीवनकालभर कसैलाई पनि गाली गर्दैनन्? गाली त उनीहरू पनि गर्छन्। उनीहरू पनि प्रतिवादको चापलाई मुठभेडसम्म पुर्याीउँछन्। तर, कम्युनिस्ट पार्टीभित्रका कतिपय गाली सुन्दा अराजनीतिक र अमानवीय लाग्छन्। सामान्य ढंगबाट हेर्दा ती चर्का शब्दावलीमा सिद्धान्त र दर्शनको पृष्ठभूमि अनुभूत हुने गरे पनि राजनीतिक मान्यता कम, बुद्धिविलास बढी देखिन्छ।
कम्युनिस्टहरू कसैलाई प्रशंसा गर्दा होस् या होच्याउँदा कुनै राजनीतिशास्त्र, सिद्धान्तभित्रको 'जार्गन' ल्याएर तुलना गर्छन्, उपमा दिन्छन्, अलंकारले विभूषित गर्छन्। प्रशंसा र आलोचनाका ती दुवैखाले पगरीहरू गुथ्नेका लागि थामिनसक्नु हुन्छन्। वैद्य पक्षको नजरमा हिजोका क्रान्तिकारी कम्युनिस्ट आन्दोलनका नायक प्रचण्ड आज 'कायर र गद्दार'मा दरिन पुगेका छन्, हिजो क्रान्तिका आर्किटेक्ट बाबुराम आज 'रअ' का एजेन्ट भएका छन्। यता प्रचण्ड पक्षको नजरमा क्रान्तिका गुरु मोहन वैद्य पुस्तकपन्थी र जडसूत्रवादी भएका छन्। गालीको यो परम्परा अविच्छिन्न छ, अपरम्पार छ।
राजनीतिको विकास र प्रयोगसँगै प्रचारित यी गालीको लहर रोकिनु असल राजनीतिक संस्कारका लागि हित हुन्छ। गाली नगरी आफ्नो दलीय आकांक्षाको पसल चल्दैन कि भन्ने परेकाहरूलाई भने एउटा छुट्टै पुस्तक तयार गरिदिनु आवश्यक भएको छ। आफ्नो तर्कलाई खास पदावलीका माध्यमबाट अरुभन्दा माथि पार्न यस्ता गाली गरेको देखिन्छ। यदि गालीको अनवरत् शृंखला चालु राख्ने हो भने किन यी शब्दलाई यत्तिकै असरल्ल छाडिदिने? राखिदिउँ न एक ठाउँमा। इच्छुकले पढून् र थाहा पाउन् कम्युनिस्ट ब्राण्डका गाली। होइन भने सामान्य जनताले बुझ्न हम्मे पर्ने भाषामा कम्युनिस्टहरूले परस्परलाई गर्ने गाली अभियान रोकिनुपर्छ। यसले कसैलाई पनि फाइदा गर्दैन, उनीहरूले भन्ने गरेको क्रान्तिलाई पनि।
गाली गरेर यो विश्वमा कहीँ पनि क्रान्ति सफल भएको उदाहरण छैन। बरु सभ्य भाषा प्रयोग गरेर आन्दोलन सफल भएका उदाहरणचाहिँ थुप्रै छन्। कम्युनिस्टहरू जवाफ दिनूस्, अबको क्रान्ति र त्यसले निर्माण गर्ने व्यवस्थाका लागि तपाईंहरू कस्तो भाषा रोज्नुहुन्छ? के त्यसका लागि तपाइर्ंंहरू फेरि कम्युनिस्ट गालीको शब्दकोश छिर्न चाहनुहुन्छ? वा बाहिर निस्कनुहुन्छ?
प्रकाशित: ११ असार २०६९ २३:४७ सोमबार