विचार

वैद्यको जुत्तामा उभिएर

मार्क्सवादी सौन्दर्यशास्त्री तथा एनेकपा (माओवादी) उपाध्यक्ष मोहन वैद्यको प्रज्ञिक रोजाइ र कर्ममा ठूलो विरोधाभास छ। सौन्दर्यशास्त्रको प्राज्ञिक बहसमा लागेका उनले आफ्नो कर्मचाहिँ सौन्दर्यको ठीकविपरीत अर्थात् कुरूप वस्तु चुने।

समकालीन नेपाली राजनीतिका सर्वशक्तिमान् व्यक्ति पुपकमल दाहाल 'प्रचण्ड' लाई एक हदसम्म दीक्षित गर्ने, युद्धको मोर्चामा हौस्याउने र साथ दिने उनै थिए। दाहाल स्वयं युद्धको मोर्चाबाट बाहिरिसकेका छन्, वैद्यमा अझै पनि युद्धको धङधङी छ। युद्धजस्तो कुरूप वस्तुलाई सौन्दर्यशास्त्री वैद्यले किन रोजे, त्यस कुराको व्याख्या वैद्यले मात्र गर्न सक्छन्। तर, युद्ध कुरूप हुन्छ भन्ने बु‰न कुनै शोधग्रन्थ लेखिरहनु पर्दैन। इतिहासका एकाध पानाहरू पल्टाएर र आफैँले भोगेका त्रासदीलाई फर्केर हेरे पुग्छ। विश्व सम्राट् बन्ने लालचामा नरसंहारमा उत्रिएका चक्रवर्ती सम्राट् अशोकलाई कलिंगाको नरसंहारबाट बोध भयो युद्धको कुरूपता। त्यसउप्रान्त हिंसालाई सदाका निम्ति त्याग्दै सम्राट् अशोक बुद्धले मार्गनिर्देश गरेको शान्तिको मार्गमा लागे।
सम्राट् अशोकझँै त नभनिहालौँ, आधुनिक नेपालको एकीकरणयता सबैभन्दा त्रासद युद्ध हाँकेका पुष्पकमल दाहालले अहिले बुद्धको सहारा लिन थालेका छन्। यसरी युद्ध र बुद्ध दाहालको जीवनका दुई पाटा बन्न पुगेका छन्। अहिले दाहाल गेरु वस्त्रविनाका भिक्षुझैँ शान्तिको जप र रटानमा व्यस्त छन्। बुद्धको जन्मस्थल लुम्बिनीमा ठूलो धनराशि ल्याउने लबिङमा दाहाल लागिपरेका छन्। तर, अशोक र दाहालमा ठूलो अन्तर भने छ, त्यो हो अशोकले भारी मन र अश्रुधाराले हिंसाको पश्चाताप गरेका थिए। दाहालको दल र उनकै दलको नेतृत्वको सरकारले द्वन्द्वकालका आतंक र हिंसाको पश्चाताप गर्नु त परै, गैरन्यायिक हत्या र समूल हिंसा गर्नेहरूमाथिका अभियोग फिर्ता गर्ने निर्णय गरेर संक्रमणकालीन न्यायको खिल्ली उडाएका छन्। सरकारको यस कदमले सत्य निरूपण आयोग बनाउने भन्ने माओवादीको वाचा मिथ्या साबित गरिदिएको छ।
युद्ध र बुद्धको विरोधाभाषपूर्ण मोर्चामध्ये दाहाल कुन मोर्चामा छन्, त्यो दाहाललाई नै थाहा होला। तर, धेरै मिथहरूमध्ये एउटा मिथको पटाक्षेप अहिले भइरहेको छ। त्यो हो, शान्ति र संविधान नामको कमरेड बाबुराम भट्टराई क्याप्टेन रहेको डुंगामा एउटा खुट्टा र जनविद्रोह नामको कमरेड मोहन वैद्य क्याप्टेन रहेको अर्को डुंगामा अर्को खुट्टा राख्दै आएका अध्यक्ष दाहाल अहिले यस्तो भँगालोमा आइपुगेका छन्, जहाँबाट अगाडि दुई डुंगाहरूमा खुट्टा राखेर बढ्न सम्भव छैन। वैद्यविरुद्ध भट्टराई र भट्टराईविरुद्ध वैद्यलाई उपयोग गर्दै आइरहेका दाहालले अब भने एउटा डुंगा छाड्नुपर्ने भएको छ। विद्यमान परिस्थितिहरूको आकलन गर्दा दाहाल शान्ति र संविधानको भट्टराईको डुंगामा रहने प्रस्ट देखिन्छ। दाहालको यस्तो रवैयाबाट क्षुब्ध वैद्य र उनका गरमपन्थी कमरेडहरूले दाहाल-भट्टराईविरुद्ध आगो ओकलेका छन्। आफ्ना राजनीतिक प्रतिद्वन्द्वीहरूलाई घेरामा पारेर यहाँसम्मको मुकाममा आइपुगेका दाहाल अहिले आफ्नै सगोत्री कामरेडहरूको घेराबन्दीमा नराम्ररी परेका छन्, जहाँबाट फुत्किन उनलाई सजिलो छैन। अध्यक्ष दाहाल सधैँ विरोधाभासग्रस्त भए। गणतन्त्र स्थापनामा लागिपरेका उनी तत्कालीन सात दल गठबन्धनसँग १२ बुँदे समझदारी बन्नुअघिसम्म राजासँग शक्ति बाडफाँटको पछिल्लो ढोकाको छलफलमा थिए। भारतमै आश्रित रहेका बेला उनी भारतविरुद्ध सुरूङयुद्धको योजनामा थिए। तर, पछिल्लो पटक उनी र उनको तप्काको माओवादी समूह शक्ति र पैसाको चरम दुरूपयोगका कारण खुबै आलोचित भएका छन्। सर्वहारा अर्थात् 'मास' का निम्ति हतियार उठाएका उनीहरू अहिले अभिजात वर्ग अर्थात् 'क्लास' का निम्ति वाइनका गिलास उठाइरहेका छन्। दाहालकै कृपाबाट बनेको बाबुराम भट्टराईको सरकार अहिले भाँडभैलो र भ्रष्टाचारको अखडा बनेको छ। भट्टराई सरकारका मन्त्रीहरूको भाडतन्त्रीय शैलीले गाईजात्रालाई बिर्साएको छ। प्रधानमन्त्रीभन्दा मन्त्री शक्तिशाली र मन्त्रीभन्दा राज्यमन्त्री र राज्यमन्त्रीभन्दा सहायक मन्त्री 'शक्तिशाली' बन्ने उल्टो 'पिरामिड' निर्माण भएको छ। लडाकुका नाममा भएका अर्बौँका घोटाला र आफ्ना आसेपासेका आत्मरतिका निम्ति राष्ट्रिय ढुकुटी रित्याएकोमा स्वयं माओवादीभित्रकै ठूलो समूह दाहाल र भट्टराईविरुद्ध खनिएका छन्। पुँजीवादविरुद्ध 'जनयुद्ध' गरेकाहरू अहिले आफँै पुँजीपति बनेका छन्। माओवादीभित्रका नवपुँजीपतिहरूविरुद्ध खनिएका छन् पार्टीभित्रकै अर्को पंक्ति।
कामरेड मोहन वैद्यको शास्त्रीय साम्यवादी चिन्तन र सशस्त्र विद्रोहको लाइनसँग सहमत हुने कुनै ठाउँ छैन। तर, वैद्य पक्षले उठाएका सारभूत कुराहरूलाई बेवास्ता गर्न सकिँदैन। हामीमध्ये धेरैले न माओवादी 'जनयुद्ध'को नाममा भएको हिंसाको समर्थन गर्‍र्यौँ, न कहिले गछर्ौँ। हाम्रो समाजमा जुन गतिमा चेतनाको स्तर बढ्दै थियो, त्यसअनुसार पनि समाज रूपान्तरण माओवादीको हतियारविना पनि सम्भव थियो। हो, बहुदलीय शासनको नाममा त्यस बखत भ्रष्टाचार नमौलाएको होइन। तर, त्यसलाई हतियारविना पनि सम्बोधन गर्न सकिन्थ्यो। किनकि, चिरञ्जीवी वाग्ले र जयप्रकाश गुप्तालाई हतियार नउठाई दण्डित गर्न हाम्रो राज्य सफल भएको छ। तर, जुन रूपान्तरणका लागि भनेर माओवादीले यति धेरै रक्तपात गरे उनीहरू आज आफँै नवसम्भ्रान्तको वर्गमा रूपान्तरित भएका छन्। हिंसा समर्थन नगर्ने हामी एक छिनलाई कल्पना गरौँ, 'जनयुद्ध' का नाममा जसले आफ्ना बाबुआमा, छोराछोरी र प्रियजन गुमाए वा अंगभंग भए वा पढाइ र रोजगारको तमाम अवसर गुमाए, तिनीहरूको हृदय कस्तो छियाछिया भएको होला। जसको आधा उमेर युद्ध मोर्चामा बन्दुकको नाल समाउँदै र क्यान्टोन्मेन्टमा कवाज र क्यारम खेल्दै बित्यो, तिनीहरूले बाँकी जीवन कसरी बिताउलान्। युद्धमा लागेको शारीरिक चोटभन्दा पनि मनोवैज्ञानिक घाउ निको पार्न गाह्रो हुन्छ।
मानिसले जडसूत्रवादी र पुरातनपन्थी भनेर अनेकौँ बिल्ला झुन्ड्याइदिए पनि वैद्य क्याम्पमा माओवादीका जुझारु दस्ताको बाहुल्य छ। पार्टी महासचिव रामबहादुर थापादेखि वरिष्ठ नेताहरू सीपी गजुरेल, देव गुरूङ, पम्फा भुसाल अनि युवा पंक्तिका नेताहरू नेत्रविक्रम चन्द, जयपुरी घर्ती, एकराज भण्डारी, अमृता थापामगर आदिको साथ छ वैद्यलाई। युद्ध नामको अनिष्ट यस देशले फेरि भोग्न नपरोस्। तर, एक छिन मोहन वैद्यको जुत्तामा उभिएर माओवादीभित्रका नवसम्भ्रान्तहरूको नवाबी जीवनशैली हेरौँ, भलै तपार्इँ माओवादी नहुनुहोस् तपाईँको मन पनि छियाछिया हुन्छ।

प्रकाशित: ११ चैत्र २०६८ २३:३१ शनिबार