विचार

प्रतिरक्षा प्रणाली, खोप र कोभिड–१९

भाइरस, ब्याक्टेरियालगायतका बाह्य संक्रमणबाट बचाउन हाम्रो शरीरमा सिपाहीरूपी करिब २० खरब कोष (सेल) सहितको प्रतिरक्षा (इम्युन सिस्टम) प्रणाली क्रियाशील छ। इम्युन सिस्टमका कोषहरू शरीरको प्रत्येक अंग/प्रत्यंगमा रहेर हाम्रो शरीरमा बाह्य आक्रमण र त्यसको संभाव्यतालाई निरन्तररूपमा अनुगमन गरिरहेका हुन्छन्। बाह्य संक्रमणको अवस्थामा प्रतिरक्षा प्रणालीले मातहतका कोषहरूलाई आवश्यक परिमार्जन गर्छ। यसरी परिस्कृत कोषहरूमार्फत अतिक्रमणकारी शक्तिलाई निस्तेज पार्नु इम्युन सिस्टमको काम हो। प्रतिरक्षा प्रणाली स्नायु प्रणाली (नर्भस सिस्टम) पछिको सबैभन्दा जटिल शारीरिक पद्धति हो। खरबौँ कोषको उक्त जटिल संयन्त्रले हामीलाई निरोगी हुन ठ्याक्कै कसरी मद्दत गर्छ भन्ने एकिन गर्न वैज्ञानिकहरू अहिलेसम्म सफल हुन सकेका छैनन्। यद्यपि, अनुसन्धानकर्ताहरूले प्रतिरक्षा प्रणालीका कार्यसंपादन सम्बन्धमा धेरै जानकारी बटुलेका छन्। प्रतिरक्षा प्रणालीले हामीलाई कसरी रोग लाग्नबाट जोगाउँछ, खोप अनि त्यसको प्रभावकारिताको चर्चा यो लेखको लक्ष्य रह्यो।  

हामीलाई स्वस्थ राख्न शरीरमा दुई किसिमका प्रतिरक्षा प्रणाली क्रियाशील हुन्छन्– जन्मजात (इन्नेट) र परिवर्तनशील (एडप्टिभ) पद्धति। जन्मँदादेखि नै कायम रहेको संयन्त्रलाई जन्मजात प्रतिरक्षा प्रणाली भनिन्छ भने हुर्कँदै बढ्दै जाँदा विकास हुने रक्षाशक्तिलाई परिवर्तनशील प्रतिरक्षा प्रणाली भनिन्छ। बच्चा आमाको कोखबाट जन्मँदाका बखत वातावरणीय संक्रमणबाट जोगाउन शिशुमा जन्मजात प्रतिरक्षा प्रणाली क्रियाशील हुन्छ। उक्त इन्नेट रक्षा कवचले नवजात बच्चालाई सामान्य किसिमको संक्रमणबाट मात्र जोगाउन सक्छ। तर जटिल किसिमको जीवाणुले आक्रमण गरेका खण्डमा जन्मजात प्रतिरक्षा प्रणाली असफल हुन्छ, बच्चा बिरामी हुन्छ। जब जीवाणुको संक्रमणबाट बच्चालाई इन्नेट रक्षा प्रणालीले सञ्चो पार्न असमर्थ हुन्छ तब परिवर्तनशील प्रतिरक्षा प्रणालीको दायित्व सुरु हुन्छ। त्यसैले बढ्दो क्रममा जस्ता किसिमका कीटाणुले मानिसलाई संक्रमण गर्छ शरीरमा त्यस्तै प्रकृतिका परिवर्तनशील रक्षा संयन्त्र विकास हुन्छ।  

अहिलेको रफ्तार हेर्दा भ्याक्सिन बन्नुअघि नै कोरोना भाइरसले संसारका सबै मानिसलाई संक्रमण गर्न भ्याउला जस्तो देखियो।

व्यक्तिको परिवर्तनशील प्रतिरक्षा प्रणालीलाई वातावरणले प्रभाव पार्ने भएकाले भिन्न स्थान र परिवेशमा हुर्किएको मानिसको एडप्टिभ इम्युन सिस्टम फरक फरक हुन्छन्। इन्नेट र एडप्टिभ इम्युन सिस्टमको परिदृश्यका लागि एउटा उदाहरण पेस गरेँ। बच्चा रुनु जन्मजात प्रतिरक्षा प्रणाली जस्तो हो भने नेपाली तथा अंग्रेजी बोल्नुलाई परिवर्तनशील प्रतिरक्षा प्रणालीसँग तुलना गर्न सकिन्छ। जस्तो कि संसारको जुनसुकै कुनामा जन्मेको बच्चा एकै किसिमले रुन्छ तर नेपालमा हुर्किएको बच्चा नेपाली बोल्छ भने अमेरिकामा बस्ने बच्चा अंग्रेजी। एडप्टिभ इम्युन सिस्टमको विकास वातावरणले निर्देशित गर्ने भएकाले फरक परिवेशको अमेरिकामा जन्मिएको बच्चा नेपाल आउँदा बिरामी पर्न सक्छ।  

हड्डीभित्र हुने ‘बोनम्यारो’ मा उत्पादन हुने श्वेत रक्तकणिका प्रतिरक्षा प्रणालीका योद्धा हुन्। देश रक्षाका लागि सैन्य जत्थाले अहोरात्र राष्ट्रको रखबारी गरेझैँ श्वेत रक्तकणिका शरीरको प्रत्येक अंग÷प्रत्यंगमा रहेर निरन्तररूपले बाह्य संक्रमणको अनुगमन गर्छन्, हामीलाई रोगी हुन दिँदैनन्। अझ अनौठो कुरा त प्रतिरक्षा संयन्त्रले शरीरका आफ्ना र पराय कोषलाई सजिलै पहिचान गर्न सक्छ अनि बाह्य सेललाई मात्र आक्रमण गर्छ। त्यतिमात्र होइन, आफ्नै शरीरमा पछि विकास भएका क्यान्सरजन्य कोषलाई समेत निस्तेज गर्ने काम गर्छ यो प्रणालीले। प्रत्यारोपण गर्दा मेल नखाने दाताको अंग परेको खण्डमा शरीरले ‘अर्गेन’ तिरस्कार गर्नुको कारणसमेत प्रतिरक्षा प्रणालीको आफ्नो र पराया पहिचान गर्ने गुण नै हो।  

कदाचित जन्मजात प्रतिरक्षा प्रणालीले बाह्य संक्रमणसँग जुध्न सकेन भने विषाक्त जीवाणुले हाम्रो शरीरमा आफ्नो प्रभाव जमाउन थाल्छ, हामी बिरामी हुन्छौँ। बाह्य कीटाणुले शरीरमा पहुँच बढाउन थालेपछि प्रतिरक्षा प्रणालीका मुख्यत दुई कोष ‘टि’ र ‘बि’ सेल क्रियाशील हुन्छन्। अनुसन्धानकर्ताले ल्याबमा औषधि परीक्षणका क्रममा धेरै किसिमका संभाव्य ओखती बनाएर रोगको परीक्षण गरेझैँ टि सेलको सहयोगमा बि सेलले भिन्न भिन्न चरित्रका लाखौँको संख्यामा नवीन कोषहरू बनाउँछ। लाखौँ सेलमध्ये जुन कोष बाह्य जीवाणुलाई मार्न सफल हुन्छ पछिल्लो चरणमा इम्युन सिस्टमले त्यही कोषका लाखाैँ कपी बनाउँछ। यसरी उपयुक्त कोष निर्माण गर्न इम्युन सिस्टमलाई १ देखि २ हप्ताको समय लाग्छ। अन्त्यमा प्रतिरक्षा प्रणालीले हामीलाई रोगबाट मुक्ति दिन्छ। अचम्मको कुरा त विगतमा कस्तो किसिमको जीवाणुलाई मार्न कुन प्रकृतिको बि सेल प्रयोग भएको थियो उक्त कुरा कम्प्युटरको मेमोरीझैँ प्रतिरक्षा प्रणालीले आफ्नो स्मरणमा राखिरहन्छ। विगतमा संक्रमण गर्ने जीवाणु कदाचित हाम्रो शरीरमा पुनः प्रवेश गरेको खण्डमा विगतको स्मरणका आधारमा हाम्रो इम्युन सिस्टमले लाखाैँको संख्यामा उपयुक्त कोष बनाउँछ। उक्त कार्य तुरुन्त गर्न सकिने भएकाले हामीलाई रोगको अनुभूति पनि हुँदैन। इम्युन सिस्टमले विगतमा संक्रमण गर्ने भाइरस तथा ब्याक्टेरिया कसरी चिन्छ भन्ने विषय हालसम्म पनि विज्ञानको उत्खननकै विषय देखियो।  

भाइरसको आणुवांशिक पदार्थ ‘आरएनए’ उच्च जीवको जेनेटिक वस्तु ‘डिएनए’ जस्तो स्थिर नहुने भएकाले जनसंख्या वृद्धिका क्रममा भाइरसले आफ्नो चरित्र परिवर्तन गर्नु अन्यथा होइन। 

अब खोपले हामीलाई कसरी रक्षा गर्छ त्यता हेरौँ। सामान्यतः खोप विधिमा रासायनिक तथा अणुवांशिक विधिमार्पmत निष्क्रिय बनाइएको सग्लो तथा आंशिक जीवाणुलाई हाम्रो शरीरमा हालिन्छ। यसरी शरीरमा हालिएका कीटाणु सुषुप्त अवस्थामा रहेकाले जीवाणुको संख्या वृद्धि भए पनि त्यसले हामीलाई बिरामी पार्न भने सक्दैन। बाह्य जीवाणुको वृद्धिसगै प्रतिरक्षा प्रणालीअन्तर्गतका कोषहरूले आफूमा आवश्यक परिमार्जन गरी अन्ततः खोपका रूपमा शरीरमा हालिएको जीवाणुलाई मार्न सक्ने ‘बि सेल’ बनाउँछ। अनि, भ्याक्सिनका रूपमा हालिएको जीवाणु नासिन्छ। इम्युन सिस्टमले विगतमा कुन जीवाणुलाई मार्न कस्तो चरित्रको बि सेल प्रयोग भएको थियो भन्ने कुरा स्मरणमा राखिरहने भएकाले पछिल्लो दिनमा उक्त जीवाणुले हामीलाई साँच्चिकै संक्रमण गर्दा प्रतिरक्षा प्रणालीले तुरुन्तै आवश्यक ढाँचाको बि सेल उत्पादन गर्छ अनि हामीलाई रोगबाट मुक्ति दिन्छ।  

त्यसै प्रसंगमा संसारलाई आतंकित पार्ने कोरोना भाइरसको चर्चा सान्दर्भिक होला। वर्तमान संक्रमणको जड कोभिड–१९ भाइरस भन्दा अघि नै कोरोना समूहको दुई भाइरसले संसारमा हलचल ल्यायो। सन् २००३ मा चीनबाट सुरु भएको ‘सार्स’ अनि सउदी अरबमा सन् २०१२ मा देखिएको ‘मर्स’ भाइरसले त्यसबेला पनि आतंक फैलाएका थिए। विध्वंसात्मक भाइरस सार्सले संसारको स्वास्थ्य सन्तुलन तहसनहस पार्ने ठहर गर्दै उपचारका हरउपाय अवलम्बन गरियो। करिब पाँच वर्षपछि सार्सको भ्याक्सिन बजारमा आयो। तर भ्याक्सिन बजारमा आउनुअघि नै सार्सबाट संसारले मुक्ति पायो। त्यसो हुनुमा वैज्ञानिक आविष्कारको कुनै भूमिका थिएन बरु भाइरसको आणुवांशिक पदार्थमा आएको परिवर्तनका कारण सार्स भाइरस आफै मासियो। संसारले मुक्ति पायो। भाइरसको आणुवांशिक पदार्थ ‘आरएनए’ उच्च जीवको जेनेटिक वस्तु ‘डिएनए’ जस्तो स्थिर नहुने भएकाले जनसंख्या वृद्धिका क्रममा भाइरसले आफ्नो चरित्र परिवर्तन गर्नु अन्यथा होइन।  

पाँच वर्षमा सार्सको भ्याक्सिन बजारमा आउनु ठूलो उपलब्धि ठानियो। भ्याक्सिनेसनका क्रममा जीवित भाइरस शरीरमा हाल्नुपर्ने भएकाले उक्त प्रक्रियामा व्यक्तिलाई कुनै प्रतिकूल प्रभाव पार्छ कि भन्ने कुराको एकिन गर्नुपर्ने हुन्छ। एउटा रोगको रोकथाम गर्ने अनि अर्को रोग निम्त्याउने भ्याक्सिन बजारमा नआओस् भन्नका लागि औषधि उत्पादनका क्रममा प्राज्ञिक अनुसन्धानका अतिरिक्त विभिन्न चरणको क्लिनिकल ट्रायलमा जानुपर्ने हुन्छ। संसारकै स्वास्थ्य चुनौतीका रूपमा रहेको कोभिड–१९ नियन्त्रणका लागि भ्याक्सिन बनाउन संसारका दजर्नौँ ल्याब तल्लीन देखिए। सबै कुरा अनुकूल भएको खण्डमा एक डेढ वर्षभित्र भ्याक्सिन बन्ने देखिन्छ। अहिलेको रफ्तार हेर्दा भ्याक्सिन बन्नुअघि नै कोरोना भाइरसले संसारका सबै मानिसलाई संक्रमण गर्न भ्याउला जस्तो देखियो।  

कदाचित छिटै भ्याक्सिन बन्यो भने पनि उक्त भ्याक्सिन संसारका झण्डै ८ अरब जनसंख्याको पहुँचमा पु-याउने काम कति सहज होला ? अनि समय कति लाग्ला ? खोपकै माध्यमले कुनै समय महामारीका रूपमा रहेको बिफर संसारबाट उन्मूलन भयो। तर खोपले सबै किसिमको भाइरसको इलाज गर्न सक्दैन भन्ने उदाहरणका लागि एचआइभी एड्सको अवस्था हेर्दा हुन्छ। दशकौँको प्रयास र अरबौँ डलर खर्चँदा पनि एचआइभीको खोप नबन्नुले सबै भाइरस भ्याक्सिनेसनमार्फत नियन्त्रण गर्न सकिन्न भन्ने देखियो। अनुसन्धानका क्रममा सदैव अपेक्षित परिणाम आउँछ भन्ने छैन। कोभिड–१९ ले सार्स, बिफर अथवा एचआइभीमध्य जुनसुकै नियति भोग्न सक्छ भन्ने कुराको स्मरणले हाम्रो जीवन जिउने काइदालाई सहज बनाउँथ्यो कि ? 

प्रकाशित: २० जेष्ठ २०७७ ०२:२५ मंगलबार

कोरोना खोप प्रतिरक्षा प्रणाली कोभिड–१९