‘लकडाउन कहिलेदेखि खुकुलो होला हँ ?काम नपाएर खाने बाटो हरिएको छ, कहिलेदेखि काम गरेर माम खान पाइएला हँ ?घरमा बस्दाबस्दा कतै मानसिक रोगले समात्ने हो कि भन्ने डर लागेको छ । बारीमा तरकारी फलेको छ, बजारमा पु¥याउन सकिएको छैन, कुहिएर जाने हो कि ?ट्याक्सी थन्क्याएर राखेको अढाई महिना भइसक्यो, इन्जिनले त काम गर्ला ?अफिस बन्द गरेर राखेको अढाई महिना भयो, कतै मुसाले राज गरेको त छैन ?अबका दिनमा विश्व अर्थतन्त्र कतिसम्म तल जाने हो, हाम्रो मुलुकमा कस्तो असर पर्ने हो, अन्योलपो भयो त ?’
विभिन्न क्षेत्र, वर्ग, व्यवसायका व्यक्तिमा यस्ता उत्सुकता व्यापक बनेका छन् ।अनिश्चियको जीवन बाँच्न बाध्य मजदुर, किसान, अर्थशास्त्री, व्यवसायी, साना व्यापारीमा भविष्य कस्तो हुने भन्ने चासोसहित यस्ता प्रश्न आउने गरेका छन् । स्पष्ट जवाफ दिने हैसियतमा कोही छैन ।
विश्वलाई संन्त्रासमा जकडेर राखेको छ, कोरोना भाइरस (कोभिड–१९) ले । यसको कहरले कति समय गाँजेर राख्ने हो– ठूला–साना, विकसित–अविकसित मुलुुकहरूलाई ? नाम चलेका वैज्ञानिकहरू कुन औषधिले काम गर्छ भन्ने टुंगोमा पुग्न नसकेर कोरोनाका अगाडि निरीह बनेका छन् । कतिपय राष्ट्रका वैज्ञानिकहरू भाइरस विरुद्धको खोप तयार गर्न सकिएला कि भनेर विभिन्न चरणका प्रयोग गर्दै छन् । विभिन्न चरणका प्रयोग गर्दै जाँदा सफलतातर्फ उन्मुख भएको जस्तो लाग्छ, तैपनि सफलता कुन दिन हात लाग्छ भन्न सकिँदैन । संसारलाई संकटमा धकेलिरहेको कोरोनाबाट नेपाल मात्र अछुतो बस्न सक्ने कुरा भएन । संकटले दैलो ढकढक्याउँदासम्म हामी तयारीको अवस्थामा गएनौँ । तयारीमा पहिलो कुरा परीक्षण किटहरू जम्मा गर्नुपथ्र्यो ।कसलाई ठेक्का दिने र कसबाट किन्ने भन्ने अलमलमा पर्दापर्दै कोरोना पसिहाल्यो । विज्ञहरूले तयारी गर्नुपर्नेमा संकेत गर्दै आएका थिए, हाम्रो व्यवस्थापनले‘माझीको मतोमा सात गाउँ डुब्यो’ भन्ने उखान चरितार्थ गरेझैँ देखियो । हामी विश्वास गर्न नसकिने ¥यापिड टेस्टको पछि लाग्यौँ, जसलाई विश्वले नै पत्याएको थिएन । भर पर्न सकिने पिसिआर पद्धति अर्थात्घाँटीबाट स्वाब निकालेर गरिने परीक्षण बढाउँदै लगेपछि संक्रमितको संख्या बढी देखिन थाल्यो । परीक्षण नहुँदा संक्रमण कता लुकेर बसेको हुन्थ्यो, पत्तालगाउन गाह्रो थियो । अहिले बढी पत्ता लाग्नुमा परीक्षणको दायरा बढाउँदै लैजानु हो, ढिलै भएपनि संक्रमित पत्तालगाउने काम यतिखेर निकै सक्रियता साथ भएको छ ।
संक्रमितको सम्पर्कमा आएकाको पहिचान गरी आवश्यक परीक्षण र आइसोलेसनमा राख्दा उपत्यकामा फैलने सम्भावना छैन । त्यसैले उपत्यका र संक्रमित नपुगिसकेका पहाडी जिल्लामा बाहिरबाट जानेलाई नियन्त्रण गरेर लकडाउनलाई बिस्तारै खुकुलो पार्न सकिन्छ ।
नेपालमा कोरोना भाइरस आफैँ आएको होइन, ल्याइएको हो । मानिसहरूलाई भारतबाट छिर्न त रोक्यौँ, तर लुकेर पसेर परिवारमा बसे । जसले कोरोना विस्तारमा मद्दत पुग्यो ।सुरुदेखिनै स्वदेश आउन चाहनेलाई स्वास्थ्य परीक्षण गरी आउन दिएको, नेपाल प्रवेश गरेपछि क्वारेन्टाइनमा राखेर संक्रमण छैन भन्ने भएपछि घर जान दिएको भए देशभित्र संक्रमण नियन्त्रणमा ल्याउन सकिन्थ्यो । यहीँनेर हो व्यवस्थापन कुशलताको प्रश्न । अहिले खासगरी तराई क्षेत्रमा संक्रमितको संख्या बढ्दै गएको छ । नेपाल आउनेहरू धेरै महाराष्ट्र र दिल्लीबाट आएका छन्, जहाँ संक्रमणले व्यापक क्षेत्र ओगटेको छ । अहिले पनि भारतले मजदुरहरूलाई आ–आफ्नो ठाउँमा जान विशेष रेल सेवा चलाएपछि त्यही रेलको माध्यमले थुप्रै नेपाली आएका छन् । आफ्नो देशमा आउन पाउनु उनीहरूको नैसर्गिक अधिकार हो । आए भनेर अन्यथा नसोची व्यवस्थित रूपमा प्रवेश दिने र निश्चित अवधिसम्म क्वारेन्टाइनमा राखी परीक्षणपछि आवश्यक व्यवस्था गर्नु नै मानवीयता ठहरिन्छ । नेपाल प्रवेश गर्नुअघिनै कोरोना भाइरसबाट संक्रमितलाई व्यवस्थित गर्नैपर्छ । रह्यो कुरा लकडाउनको ।
जतिखेर लकडाउन गरियो, त्यतिखेर तेस्रो मुलुकबाट आउने केही व्यक्तिमा संक्रमण देखिएको थियो । उनीहरूलाई समयमै परीक्षण र उपचारमा पठाउँदा कोरोना फैलन पाएन । पछि भारतबाट नेपाल पसेका र विभिन्न बहानामा पास लिएर काठमाडौं उपत्यका छिर्नेहरूबाट उपत्यकामा केही संक्रमित देखिए । संक्रमितको सम्पर्कमा आएकाको पहिचान गरी आवश्यक परीक्षण र आइसोलेसनमा राख्दा उपत्यकामा फैलने सम्भावना छैन । त्यसैले उपत्यका र संक्रमित नपुगिसकेका पहाडी जिल्लामा बाहिरबाट जानेलाई नियन्त्रण गरेर लकडाउनलाई बिस्तारै खुकुलो पार्दै जान सकिन्छ ।
कुनै बेला निजीकरण नै सबै रोगको उपचार ठानिएझैँ अहिले पनि लकडाउन नै एकमात्र उपाय ठान्ने हो भने नेपालको अर्थतन्त्र कहिल्यै नउठ्ने गरी थला पर्नेछ । दिनदिनै कमाएर खानुपर्नेहरू अहिले जुन दयनीय अवस्थामा पुगेका छन्, तिनीहरूमध्ये केही मानसिक रोगी हुन सक्नेछन् । कतिपयले आत्महत्यालाई सजिलो बाटो रोज्नेछन् । केटाकेटीले समयमा खोप नपाएर असमयमै ज्यान गुमाउनुपर्ने हुन्छ ।
कोरोनाप्रति नेपालीहरू विशेष सचेत हुँदै गएका छन् । विश्वका कतिपय देशले सामाजिकदूरी लगायत अन्य सुरक्षात्मक उपाय अवलम्बन गरेर बिस्तारै लकडाउन खुला गर्दै लगेका छन् । अमेरिकाको कुरा छाडौँ, अर्थतन्त्रलाई चलायमान गराउनुपर्छ भनेर भारत, पाकिस्तान जस्ता व्यापक संक्रमण भएका मुलुकमा समेत क्रमशः लकडाउनलाई खुकुलो पार्दै लगिएको छ । आर्थिक वर्षमा सुरुको आठ महिना कोरोनाबिना रहेको हाम्रो अर्थतन्त्र केवल २.३ प्रतिशतमा (अझ घट्ने हो कि ?) पुगेको छ । ‘आफू ताक्छ मुढो बन्चरो ताक्छ घुँडो’ भनेझैँ आर्थिक वृद्धिदरलाई बढाएर दुई डिजिटमा पु¥याउने नेपालको लक्ष्यमा कोरोनाले असिना पारिदियो । अबको दिनमा देशको अर्थतन्त्र कुन अवस्थामा पुग्ने हो, विज्ञ अर्थशास्त्रीले पनि अनुमान लगाउन सकेका छैनन् । अरु त अरु कुरा, यसको खोप तयार गर्न दिन–रात लागेका वैज्ञानिक समेत कहिलेसम्म खोप वा औषधि तयार गर्न सकिन्छ भनेर निधो गर्न सकेका छैनन्, त्यसैले कोरोना भाइरस अनिश्चित भविष्य बोकेर उभिएको छ । विश्वलाई यति संत्रस्त गराउन न त पहिलो विश्वयुद्ध, न त दोस्रो विश्वयुद्ध नै सक्षम थियो । ती ठूला युद्धले राष्ट्रहरू विशेषलाई संक्रमित बनाएको थियो, तर अहिले कोरोना भाइरसले जापानदेखि अमेरिकासम्म, सिंगापुरदेखि इटालीसम्म सबैलाई असर पारेको छ । कतिदिन असर गर्छ टुंगो छैन । आजको विश्व अनिश्चयको भुँमरीमा बाँचेको छ । अझै कतिदिन यस्तै जीवन धान्नुपर्ने हो, यसबाट मुक्ति पाइयोस भनेर प्रतिक्षा गर्नुबाहेक के नै गर्न सकिन्छ र ?
प्रकाशित: १९ जेष्ठ २०७७ ०५:०५ सोमबार