विचार

आशाको दियो कि जुनकिरी?

प्रधानमन्त्री बाबुराम भट्टराईले कुनै एक प्रसंगमा वर्तमान सरकारलाई 'आशाको दियो' भनेका छन्। नेपाली समाजमा आशाको दियोसम्बन्धी केही कहावत प्रचलित छन्। पुस्तौँदेखि समाजमा प्रचलित ती कहावतको सामयिक अर्थ र सन्दर्भ हुन्छन्। यहाँ केही त्यस्ता कथनहरू प्रस्तुत छन् :

१. कुनै गाउँमा एउटा गरिब किसान परिवार रहेछ। अनिकाल लागेका बेला ती गरीब किसान बाबुआमा दुवै छोराछोरीलाई अगेनामा ढुंगा हालेर यो आलु हो, पाकेपछि तिमीहरू खानु। हामी बेसाहा लिएर छिट्टै नै फर्किहाल्छौँ भनेर अन्नको खोजीमा गएछन्। धेरै दिनसम्म पनि आमाबाबु फर्केनन्। केटाकेटीहरू अँगेना कुरेर बसिरहे। त्यस्तैमा गाउँका एक जना आएर तिम्रा बाआमा कहाँ गए? तिमीहरू के खाएर बसेका छौ भनेर सोधेछन्। केटाकेटीले अँगेनामा आलु पोल्न हालेको छ, त्यो पाकेपछि खान्छौँ। भनेछन्। आगन्तुकले अँगेनु खोतलेर हेरे। त्यहाँ ढुंगा भेटियो। छिमेकीले यो त ढुंगा हो, आलु हैन भनिदिएछन्। आलु पाक्ला र खाउँला भन्ने आशामा बाँचेका ती केटाकेटी निराश भएपछि तत्कालै भोकले मरे!
त्यस्तै अर्को एउटा कहावत यस्तो छ :
एक जना जोगी रातभर तपस्या गरेर नदीको पानीमा बस्दा रहेछन्। उनलाई कसैले यस्तो रातमा यति चिसोमा कसरी बस्छौ भनेर सोधेछन्। जोगीले उत्तर दिएछन् : बाहिर किनारमा देखिने जुनकिरीको उज्यालोले मलाई यो चिसोमा पनि बस्न प्रेरणा दिएको छ। कुनै न कुनै दिन त्यो उज्यालोको तातो कसो पाउँदा भनेर पर्खिबसेको छु।
अहिले देशको स्थिति यी जोगीको भन्दा पनि गरिब किसानका छोराछोरीको जस्तो भएको छ। स्थितिमा अपेक्षित सुधार हुनुको साटो झन् बिग्रँदै गएको छ। हामीलाई यो यथार्थ कुनै गाउँलेले बताइदिएका दिन हाम्रो अवस्था कस्तो होला? नेपाली जनताको दुर्भाग्य, हामीले कहिल्यै असल नेता र सक्षम नेतृत्व नै पाउन सकेनौ। तर, केही त होला भनेर अँगेनामा हालेको ढुंगा पाक्ने दिन पर्खेर बसेका छौँ।
यस्तै बाबु, छोरा र गधा पात्र भएको एउटा कथा छ। आत्मविश्वास कमजोर हुनेको नियति यस कथाले कहेको छ। कुनै गाउँमा बाबु छोरा बस्थे। तिनले एउटा गधा पालेका थिए। एक दिन बाबु छोरा अलिक टाढाको गाउँमा लाग्ने मेलामा जाने भएछन्। छोरो कलिलो उमेरको र बाबु अलिक पाको। गधालाई एक्लै घरमा छोड्न नमिल्ने भएकाले संगै लिएर हिँडेछन्।
बाबुछोरा गधालाई आलोपालो डोर्‍याउँदै हिडीरहेका थिए। केही बेरपछि एक जना बटुवाले भनेछ : के हो गधा डोर्‍याएर आफुहरू पैदलै पो हिंडेका छन् त। कस्ता मूर्ख? बाबुलाई लाग्यो, कुरा सही नै हो। छोरो थाक्यो पनि होला। छोरालाई गधामा चढाएर बाबु पैदल हिँड्न थाले। बाटो लागे। केही बेरपछि अर्को बटुवाले भनेछ : हेर कस्तो जमाना! लाजै नभएको रहेछ यो छोरो त! बुढो बाबुलाई हिंडाएर तन्देरी छोरो गधामा चडेको छ। छोरोलाई पनि लाग्यो ­ गाउँलेले ठिकै भन्यो। बाबु छोराले सल्लाह गरे बरु दुवै जना गधामा चढे कसैले केही भन्न्न पाउने छैनन्। तर, भन्नेले त भनिहाले ­ हेर कस्ता अधर्मी बाबुछोरा! मरन्च्याँसे गधामा बाबुछोरै चढेर हिंडेका। बाबुछोरा दुवैलाई लाग्यो कुरा सही नै हो। बरु हामी नै यस गधालाई बोकेर हिडौँ। बाबुछोराले सकिनसकी गधा बोकेको देखेपछि बटुवाहरू मरीमरी हाँस्न थाले । आफू विचार नगर्ने अरूका कुरामा बहकिने बाबुछोराले अन्त्यमा निधो गरे यो गधालाई नै भिरबाट फालिदिएपछि कसैले केही भन्न पाउने छैन।
आशाका अन्तिम दियोका रूपमा आफैँले आफूलाई तुलना गर्ने प्रधानमन्त्री भट्टराई नेपाली राजनीतिलाई शान्तिपूर्ण अवतरण गराउन कति योग्य सिद्ध होलान् भन्ने प्रश्नको उत्तर भविष्यले दिनेछ। तर नेपाली राजनीतिका अडकलवाज विश्लेषकहरू भने भट्टराईको नेपाली मोडेलको मुस्ताङको यात्रा सत्ता राजनीतिको कमजोर धरातलतर्फ ओरालो लागिसकेको चर्चा गर्न थालिसकेका छन्। लाग्छ, नेपाली जनताले अँगेनामा ढुंगो भएको थाहा नपाउँदै जुनकिरीको उज्यालो मर्न नदिन सजिलो छैन। गन्तव्यमा पुग्न आवश्यक अठोट र आत्मविश्वाश लिएर अगाडि नबढे भट्टराईको नियति पनि कथाका बाबुछोराको भन्दा फरक हुनेछैन।
माओवादीभित्रै डाक्टर र वैधको झगडा, दोस्रा र तेस्रा राजनीतिक दलको सरकारमा असहभागिता र सत्ता साझेदार दलको अपेक्षा मुख्य बाधक हुने देखिएका छन्। तर यी सबै चुनौती व्यवस्थापनको दायित्व प्रधानमन्त्रीको मात्र होइन भन्ने जनधारणा भने बन्न सकेको छैन। प्रमुख राजनीतिक पार्टीका नेताको समेत सहयोगी व्यवहार नदेखिनु सम्भवतः प्रधानमन्त्री भट्टराईको मुख्य चुनौती हो।

प्रकाशित: २७ भाद्र २०६८ ०२:१० मंगलबार