विचार

बेलुनको मुटु

भूमण्डलीकरणको प्रतापस्वरूप 'भ्यालेन्टाइन्स डे' नेपाल छिर्‍यो पन्ध्र/सोह्र वर्षअघि। यसको प्रचार र विज्ञापन त्यतिबेला एक दुई भोटामात्रै फटाएका एफएमको ठूलो पौरख थियो। आज प्रमुख सहर, सहरोन्मुख गाउँ र काँठ क्षेत्रको 'फेसनेबल' पर्व भइसकेको छ प्रेम दिवस। कुनकाप्चाका गाउँले पनि यसको मेसो पाइसकेका त होलान् तर रातो बेलुनको मुटु, सभ्य ढंगले सुसज्जित गुलाब, आकर्षक चकलेटको पुरिया र सुन्दर कार्डजस्ता 'ग्याजेट'का अभावमा त्यहाँको युवायुवती भ्यालेन्टाइन्स डेको 'न्यानो'बाट वञ्चित छन्।

'सिंगो संसार एउटा रंगमञ्च हो, सारा मानिस पात्रमात्र हुन्' भन्ने सेक्सपिएरको महावाणी अब मननीय रहेन। यसको सट्टा 'सिंगो संसार एउटा बजार हो, सारा मानिस क्रेता/विक्रेता मात्रै हुन्' भनियो भने बढी यथार्थपरक होला। बजारको नैसर्गिक चरित्र के हो भने यसले बेच्न सकिने हरेक चीज बेच्छ र बेच्न नसकिने वस्तु जतिलाई अँध्यारो गोदाममा थन्काइदिन्छ। यसले सन्त भ्यालेन्टाइनको प्रेमविम्बलाई बेच्न सक्यो, बेच्यो तर उनको विद्रोह विम्बलाई बेच्न सकेन, त्यसैले बेचेन।

सम्राट क्लाउडियसको अत्याचार र क्रुरताविरुद्ध उभिएका थिए उनी। विवाह प्रतिबन्ध तानाशाहको सनक थियो। जोडीहरूको विवाह गराइदिनु त एउटा हतियारमात्रै थियो, सन्त भ्यालेन्टाइनको। विद्रोहको अश्त्र। उनका सन्दर्भमा उपभोगवादले यति झुर चलखेल गर्‍यो कि यस्तो साहसी विद्रोहीलाई हल्काफुल्का रोमान्टिक उपन्यासको पिलन्धरे प्रेमी पात्रजस्तो बनाइदियो। भोलि चे ग्वेभारा पनि उदासी, अकर्मण्यता र निराशाको प्रतीक बन्न सक्छन्। किनभने बजार शोकसन्तप्त चेको तस्बिर वर्षौंदेखि बेचिरहेको छ।

मानव जीवनमा प्रेमको अपरिहार्यतामाथि विमति राख्न सकिन्न। राखियो भने त्यो सबैभन्दा घातक जीवनविरोधी दुष्कर्म हुनेछ। विमति त गरिब देशका नागरीकलाई दिग्भ्रमित पार्ने धनी देशका व्यापार रणनीतिस“ग हो। विरोध त मानिसको जीवन्त मुटुलाई निर्जीव बेलुनको मुटुले प्रतिस्थापन गर्न खोज्ने नाफामुखी खेलको हो। असहमति त प्रेमको वस्तुकरणसँग हो।

भ्यालेन्टाइन्स डेको सहरिया तामझाम हेर्दा लाग्छ– प्रेम समवयी भाले–पोथी समीकरणमात्रै हो। अर्थात्, यसैमा विश्वास गर्ने हो भने प्रेम गर्न लायक अरू कुनै सम्बन्ध या पात्र छैनन् कि भनेर शंका गर्नुपर्ने खण्ड आइलाग्छ। चनौटोमा जिन्दगीभर चन्दन घोटेझैं हाड घोट्ने कर्तव्यपरायण बाबुआमालाई छोराछोरी एक खेप प्रेम प्रकट गर्न भ्याउँदैनन्। उसो त, यसका लागि 'फादर्स डे, मदर्स डे'जस्ता नागपञ्चमी खाले दिवस हाजिर छन् क्यारे। जीवनशैली नै कस्तो भइसकेको छ भने यसले मानवीय सम्बन्धलाई सतही, औपचारिक, यान्त्रिक र बनावटी बनाउन कुनै कसर छोडेको छैन।

युवापुस्ताले भ्यालेन्टाइन्स डेलाई स्वीकार गरिसकेको छ। यसमा आपत्ति किन जनाउनु? जिन्स ग्रहण गर्नुहुन्छ, पप संगीत ग्रहण गर्नुहुन्छ, फास्टफुड ग्रहण गर्नुहुन्छ भने भ्यालेन्टाइन्स डे ग्रहण गर्नुमा के हानि? कोस“ग के सिक्ने, के नसिक्ने, कोसँग के लिने, के नलिने, यसमा तेस्रो विश्वले कुनै आचारसंहिता पालन गर्न सक्दैन। दिनेले जे जे दिन्छन्, ऊ बस् हात थापेर लिन अभिशप्त छ। हो, सांस्कृतिक अतिक्रमण भयो भनेर केही बुज्रुकहरू च्याँठि्ठन चाहिँ सक्लान्।

यसपालिको भ्यालेन्टाइन्स डे गुल्मीका कलानिधि भट्टराईका नाउँमा। दमका रोगी ६८ वर्षीय गरिब कलानिधिले उपचार पाएनन्। उपचार पाउने सम्भावना रित्तिएपछि उनले आत्महत्या गरे। राज्य निकम्मापनको कति आशक्त भ्यालेन्टाइन भएको छ भन्ने सशक्त दसी उनको आत्महत्या हो। राज्य तीन सय ६५ दिनै ऊ हातमा बेलुनको मुटु बोकेर आफ्नी भ्यालेन्टाइन 'मिस निकम्मापन'को वरिपरि फन्फनी घुमिरहेको छ।

प्रकाशित: २ फाल्गुन २०६७ ००:५२ सोमबार