विचार

कोरोना उपचारमा आयुर्वेद

चीनको वुहान सहरबाट विश्वव्यापी महामारीकारूपमा फैलिएको कोरोना भाइरसले मानिसका सबै पक्षलाई कमजोर बनाउँदै लगेको छ । यो भाइरस रोक्ने खोप/औषधि अहिलेसम्म बनेको छैन । यसविरुद्ध सम्भावित खोप परीक्षणमा विश्वका वैज्ञानिक जुटिरहेका छन् ।जुन खोप बनेर आम मानिसको पहुँचसम्म पुग्न २–३ वर्ष लाग्ने अनुमान गरिएको छ । यो नयाँ प्रजातिको भाइरस भएकाले यसको आयु, फैलिनसक्ने क्षमता, रोग (कोभिड–१९) उत्पन्न गराउने  समय आदिबारे संसारका सबै वैज्ञानिक अझै एकमत हुन सकेका छैनन् । जसले जहाँजस्तो अवस्थामा फेलापारे त्यसैका आधारमा विश्वका वैज्ञानिकले आआफ्ना निष्कर्ष प्रस्तुत गरिरहेका छन् । यो भाइरस सिंगान, थुकबाट मात्र सर्ने हो वा दिसा, पिसाब, यौन सम्पर्क  घाउ, खटिराबाट पनि सर्छन् ?यसबारे अध्ययन हुन बाँकी छ । अहिलेसम्म पत्ता लागेको कुरा भनेको व्यक्तिले एकअर्काबीच दूरी बनाएर बस्ने नै हो । 

को संक्रमित छ भन्ने थाहा नहुने भएकाले नजिक बस्दा कुनै व्यक्तिमा संक्रमण रहेका खण्डमा उसले खोक्दा, हाच्छिउँ गर्दा उछिट्टिने थुक तथा सिंगानका छिट्टामा कोरोना भाइरस हावामा फैलिने र त्यो श्वासप्रश्वासका माध्यमबाट नाक, मुख हुँदै अर्का व्यक्तिको शरीरमा प्रवेश गर्ने तथ्य अहिलेसम्मको अनुसन्धानले पत्ता लगाएको छ । यसैकारण व्यक्ति–व्यक्तिबीचको दूरी कम्तीमा १ मिटर राख्न, मास्क लगाउन तथा खोक्दा, हाच्छिउँ गर्दा रुमाल वा कुहिनाले मुख छोप्न भनिएको हो । यस्तै संक्रमितका तरल पदार्थ लागेको वस्तुमा पनि भाइरस रहने भएकाले त्यस्ता वस्तुमा निरोगी व्यक्तिको हातले छोयो र उसले त्यो हात आफ्नो नाक/मुखमा लग्यो भने पनि संक्रमण सर्न सक्ने बताइएको छ । तसर्थ कुनै पनि शंकास्पद वस्तुमा छोइएपछि साबुन–पानीले २० सेकेन्डसम्म मिचीमिची हात धुन सुझाव दिइएको छ । 

यस्तै यो भाइरससँग लड्ने क्षमता पुरुषमा भन्दा महिलामा बढी भएको पाइएको छ । युवाभन्दा वृद्ध र रोगी मानिसले यो भाइरसलाई जित्न नसकेको देखिन्छ । यसो भनिरहँदा ९०–१०० वर्षका वृद्धवृद्धा पनि उपचारपछि कोरोनाबाट मुक्त भएका उदाहरण पाइएका छन् । तीमध्ये एक भारतका ८० वर्षीय वृद्ध, जो शरीरमा ६ वटा रोग हुँदाहुँदै पनि कोरोनालाई जित्न सफल भए । क्षेत्रगत रूपमा हेर्दा युरोप, अमेरिकाभन्दा नेपाल, भारत, बंगलादेश, पाकिस्तान आदि देशका नागरिकमा यो रोगसँग लड्ने क्षमता बढी भएकोहो कि भन्ने देखिन्छ । संक्रमण तथा मृत्युदरमा समेत ठूलो अन्तर देखिएको छ ।

विश्व मानव समुदायमा आयुर्वेदप्रति विश्वास छ । तर यसप्रति सरकारलगायत सरोकारवाला पक्षले ध्यान दिएको पाइन्न ।

एउटै परिवारसँग बस्दा एक जनामा कोरोना संक्रमण देखिनु, अर्कामा नदेखिनु, सँगै रहेका सात जनामध्ये एकलाई मात्र भाइरस सर्नुजस्ता घटनाक्रमले पनि हाम्रो क्षेत्रतर्फका मानिसमा कोरोना प्रवेश गरे पनि शरीरमा फैलिन नसकेको त होइन भन्ने पनि अनुसन्धानकै विषय बनेको छ । संक्रमितको संसर्गमा रहँदा पनि भाइरस नसरेका एक–दुई प्रतिनिधि घटनाका आधारमा हामी कोरोनालाई जित्न सक्छांै भनी ढुक्क हुने अवस्था भने छैन । त्यसैले वैज्ञानिकले दिएका सुझाव र सरकारले अपनाएका उपाय अपनाउन आवश्यक छ । 

विभिन्न देशमा निको भएका बिरामीका अनुभव तथा चिकित्सकका सल्लाहबमोजिम तातो तरल पदार्थ बढी पिउने,अमला, कागती, सुन्तलाजस्ता भिटामिन सी प्राप्त हुने फलफूल सेवन गर्ने बानीको विकास गर्न जरुरी छ । यस्तै आत्मबल बलियो बनाउनेहरूले कोरोनालाई पराजित गरेको पाइएकाले त्यसतर्फ पनि ध्यान पु-याउन आवश्यक देखिन्छ । 

तर सबैभन्दा बुद्धिमानी रोग लाग्नै नदिनु हो । सदैव शारीरिक दूरी कायम गर्ने, व्यक्तिगत तथा बजारबाट ल्याइएका सामान सरसफाइमा ध्यान दिने, साबुन–पानीले राम्रोसँग हात धुने,सामानअनुसार साबुन–पानी वा अल्कोहलले सफा गर्ने, हरिया तरकारीलाई पहिले नुन हालिएको तातो–पानी वा पोटास–पानीमा १५–२० मिनेट डुबाएर मात्र फ्रिजमा राख्ने, बजार जाँदा लगाएका कपडा, जुत्ता, चप्पल तत्कालै धुने वा ४–५ घण्टा चर्को घाममा सुकाउने गर्नुपर्छ । विशेषगरी जुत्ता/चप्पलमा ध्यान पु-याउनुपर्छ, किनभने संक्रमितले थुकेको थुकमा कुल्चेर घर आइयो भने त्यसैबाट घरभरि भाइरस फैलिने डर हुन्छ । कोरोना संक्रमित दर हेर्दा जुत्तालाई आफ्नो ओछ्यानसम्म पु-याउनेहरूलाई बढी संक्रमण भएको अध्ययनले देखाएको छ । 

साबुन–पानीले हात धुने भन्ने व्यापक प्रचार भएका कारण हात धुँदै नधुने मानिस पनि हात धुनेसम्म त भएका छन्, तर साबुनसहित होइन, पानीले मात्र पखाल्ने गरेको पाइयो । त्यसो गर्दा हात कीटाणु/विषाणुरहित हुँदैन । त्यसका लागिकम्तीमा २० सेकेन्ड मिचिमिची, औंलाका काप, हातको पछाडिका भाग सबैठाउँमा साबुनको फिँज पुग्ने गरी धुनुपर्ने हुन्छ । यस्तै अर्काे समस्या के देखियो भने बजारबाट ल्याइएका झोला/सामान त्यसै राख्ने, हात मात्रै धुने । अदृश्य भाइरसजुनसकै सामानमा पनि टाँसिएर आउन सक्छन् ।यसर्थ ती सबै सामानलाई पनि माथि उल्लिखित विधिबमोजिम सफा गर्नुपर्छ । भाइरस हरेक ठाउँमा गमजस्तै टा“सिने हुँदा चिल्लो लागेको हात वा भाँडाकुँडा सफा गर्न जसरी साबुन–पानी उपयोगी हुन्छ, त्यही नियम यसमा पनि लागू हुन्छ । 

अहिले हामी बन्दाबन्दी (लकडाउन) का कारण घरभित्र बसेका छौं । शारीरिकश्रम गर्न पाएका छैनौं । तर घरमा बसिरहँदा सधैंको भन्दा खानपिन पनि बढी हुन सक्छ । त्यस्तो अवस्थामा पाचन प्रणाली बिग्रिने र रोग/भाइरससँग लड्ने शरीरको आन्तरिक शक्ति, जसलाई रोग प्रतिरोधात्मक क्षमता भनिन्छ, पनि घट्न सक्छ । यसर्थ त्यस्तो क्षमता बढाउन बिहान–बेलुकाखाना सँगै अश्वगन्धाको धुलो १/१ चम्चा खानु उत्तम हुन्छ । सावधानी अपनाउँदा अपनाउँदै पनि ज्वरो आउने, खोकी लाग्ने, गन्ध थाहा नपाउने, स्वाद छुट्याउन नसक्ने जस्ता लक्षण देखिए भने  तुरुन्त सरकारले तोकेका अस्पतालमा गएर जँचाउन जानुपर्छ । रोग लागेको रहेछ भने पनि आत्तिन पर्दैन, चिकित्सकले हेरचाह गर्छन् । आफूले पनि हिङ, बिरेनुन, ज्वानो, असुरो वा ल्वाङ, बेसार हालेको तातो–पानी घण्टैपिच्छे १/१ कपपिउने, घाँटी खसखसगरे ५० ग्राम अदुवा कुटेर १० ग्राम ज्वानो, ५ ग्राम बिरेनुन, ४० एमएल पानीमा पकाउने र पानी सुकिसकेपछि केही बेर सेलाउन दिएर १०० ग्राम मह मिसाएर राख्ने र हरेक ६/६ घण्टामा त्यो अदुवा पाक सेवन गर्ने गरिएमा सममस्याबाट चाँडै मुक्त हुन मद्दत पुग्छ । 

आयुर्वेदको इतिहासमा नेपाल विश्वकै अग्रणी देश हो । हाम्रो देशमा योग्य आयुर्वेद चिकित्सक छन् । आयुर्वेद विभाग छ । आयुर्वेदिक औषधि उत्पादन गर्ने कम्पनीछन् । विश्व मानव समुदायमा आयुर्वेदप्रति विश्वास छ । तर यसप्रति सरकारलगायत सरोकारवाला पक्षले ध्यान दिएको पाइन्न ।

प्रकाशित: २२ वैशाख २०७७ ०२:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App