विचार

राजनीति र पात्रता

सधैँझैँ अहिले पनि सामाजिक सञ्जाल अत्यन्त सक्रिय छ । अभिव्यक्तिका निम्ति सम्भवतः सामाजिक सञ्जाल जति स्वतन्त्र अन्य कुनै ठाउँ नै छैन । हो न हो, लोकतान्त्रिक अभ्यासको सर्वाधिक प्रकट रूप नै सामाजिक सञ्जाल जस्तो भएको छ । कसैका अगाडि सशरीर उपस्थित नभइकनै, कसैको अनुहारको भाव नहेरिकनै, कसैबाट तत्कालै शारीरिक वा मानसिक आक्रमण खेपिने सम्भावनाबाट पूरै बचेर, अचम्मको अपरिमित स्वतन्त्रता भोग गर्न पाइने स्थल बनेको छ यो । साँच्चै भन्ने हो भने सामाजिक सञ्जालले लोकतान्त्रिक अभ्यासको स्वरूप नै फेरिदिएको छ । एउटासिङ्गो नयाँ आयाम नै थपिदिएको छ । यति फराकिलो अभिव्यक्ति स्वतन्त्रता कुनै पनि किसिमको लोकतन्त्रमा कुनै पनि कालखण्डमा मानिसले उपभोग गर्न पाएको थिएन । 

वर्तमानमै पनि सामाजिक सञ्जालमा पाइने अभिव्यक्ति स्वतन्त्रता अन्य कुनै सम्भाव्य नागरिकस्थलमा पाउन असम्भव छ । तर यो स्वतन्त्रताको मूल्य त्यत्तिकै चर्को पनि छ । र, मानवसमाजले त्यो मूल्य लगातार तिरिरहेको छ । अति स्वतन्त्रताका कारण सामाजिक सञ्जालमा स्थान पाएका सामग्रीले पार्ने प्रभाव र ल्याउने परिणाम त्यत्तिकै चर्का हुनसक्छन् । यस्ता परिणाम साँच्चै सकारात्मक, रचनात्मकदेखि लिएर अत्यन्तै नकारात्मक, हानिकारक विध्वंशकसम्म हुन्छन् । सामाजिक सञ्जालमा ज्यादै स्वस्थ, सार्थक र विवेकपूर्ण छलफलदेखि लिएर सस्ता, फोहोरी रोगी गफगाफले पनि ठाउँ पाइरहेकै हुन्छन् । 

यतिबेला पनि सामाजिक सञ्जाल अनेक किसिमका अन्तरक्रियाले भरिएको छ । त्यसमा ‘राजनीतिक स्थिरता कि अस्थिरता?’, ‘विधिको शासन कि मनपरी?’, ‘व्यक्ति केन्द्रीयता कि लक्ष्य केन्द्रीयता?’, ‘लोकतन्त्रमा आचारको महत्व’ जस्ता सार्थक सवालसँगै मुछिएर अनेक किसिमका फोहोरी गालीगलौज र आत्मश्लाघाका अति सस्ता उदाहरणसम्म देखापरिरहेका छन् । 

अलि पछि बुझेँ– ‘वैकल्पिक राजनीति’ भनेको त हुँदै नहुने कुरा पो रहेछ । राजनीति भनेको त राजनीति नै रहेछ ।

लोकतन्त्रको वर्तमान चरणमा यो अत्यन्त स्वाभाविक हो । यो स्वाभाविकतालाई जसले स्वीकार गर्छ र यसैमा टेकेर आफ्नो सिर्जनशीलताको सदुपयोग गर्छ, ऊ सफल हुन्छ । यो स्वाभाविकतालाई जसले स्वीकार गर्न सक्दैन, ऊ कुनै न कुनै किसिमले विभिन्न किसिमका मानसिक संवेग वा क्लेसबाट प्रभावित, प्रताडित भएर आफ्ना अभिव्यक्तिमा वा निर्णयमा सन्तुलन गुमाइरहेको हुन्छ । यस्तो असन्तुलनबाट ठूला जिम्मेवारी लिएर बस्नेहरू, खास गरी राजनीतिक नेता बढी प्रभावित भइरहेका हुन्छन् । जति ठूलो जिम्मेवारी, उति नै ठूलो हानि । जति ‘ठूला’ मान्छे असन्तुलित हुन्छन्, त्यति नै धेरै नागरिकले त्यसको परिणति खप्नुपर्ने हुन्छ । अहिले हामीले देखिरहेको यही हो । निश्चय नै सामाजिक सञ्जाल बढी रचनात्मक र कम विध्वंशक हुँदै जानु भनेको लोकतन्त्रले परिपक्वता हासिल गर्दै जानु हुनेछ । तर सत्ताले जबर्जस्ती गर्दैमा यसो हुँदैन । बरु उल्टो हुन्छ । यो काम त नागरिक तप्कामा रहेका सामाजिक उत्तरदायित्व भएका मानिसहरूको यत्नले नै क्रमशः हुँदै जाने कुरा हो । र, साँच्चै सामाजिक उत्तरदायित्व बहन गर्ने नागरिकको संख्या भने रातारात बढ्ने कुरा पनि हैन ।   

अहिले सामाजिक सञ्जाल राज्यको लगाम सम्हालेका र सम्हाल्न चाहने विभिन्न पात्र वरिपरिका छलफलले भरिएको छ । तिनै छलफलका बीच हालसालै ट्विटरमा डम्बर खतिवडाले डा. सूर्यराज आचार्यलाई लक्षित गरेर लेख्नुभएको एउटा कुरा मलाई अर्थपूर्ण लागेको छ– ‘कि राजनीतिमा आउनु हुन्न, आइसकेपछि यसको निर्ममतालाई सामना गरेर हिँड्नुपर्छ ।’ यी हरफबाट मैले बुझेको कुरा के भने ‘राजनीतिमा लाग्नु’ भनेको सबैका निम्ति उपयुक्त हुँदैन । कसैकसैका निम्ति त राजनीति भनेको पटक्कै नसुहाउने कुरा मात्र हैन, अत्यन्त हाँस्यास्पद, प्रत्युत्पादक र मूर्खतापूर्ण कुरा पनि हुनसक्छ । यहाँ म कसैको पक्षपोषण गरिरहेको छैन । डम्बरजी र सूर्यराजजी दुवै नै मेरा नजरमा असल मान्छे हुनुहुन्छ । राजनीतिमा लाग्न पटक्कै नसुहाउने कुनै मान्छेले जानेर नजानेर छोटै समयको निम्ति भए पनि ‘राजनीतिमा पस्दा’ कस्तो हाँसो उठ्दो स्थिति सिर्जना हुने रहेछ भन्ने कुरा म आफैँ भोगेकाले पनि होला, डम्बरजीको कुरा मनपरेको । 

राजनीतिमा पसिसकेपछि यसको निर्ममतालाई सामना गरेरै हिँड्नुपर्ने रहेछ । राजनीतिमा पटक्कै नसुहाउने असल मानिस त्यसबाट मुक्त होउन् भनी कामना गर्दैछु यतिबेला ।

‘वैकल्पिक राजनीति’ भन्ने शब्दावली म आफैँले पनि २–३ दशकदेखि नै प्रयोग गरिरहेकाले यसबारे गफ गर्न खुब मज्जा लाग्थ्यो । तर अलि पछि बुझेँ– ‘वैकल्पिक राजनीति’ भनेको त हुँदै नहुने कुरा पो रहेछ । राजनीति भनेको त राजनीति नै रहेछ । अहिले हालीमुहाली गरिरहेका पार्टीका ठाउँमा ‘वैकल्पिक’ पार्टी आउन सक्लान् । ठूलठूला राजनीतिक आन्दोलन, विप्लव, विद्रोह, क्रान्ति जस्ता गतिविधिले ल्याउनेभन्दा अझै ठूला परिवर्तन् ‘वैकल्पिक आन्दोलन’ ले, ‘वैकल्पिक अभियान’ले ल्याउन सक्लान् । निश्चित उद्देश्य प्राप्तिका निम्ति राजनीतिक गतिविधिका ‘विकल्प’का रूपमा विभिन्न सामाजिक, प्राविधिक, वैज्ञानिक, प्राज्ञिक, आध्यात्मिक यत्न हुन सक्लान् र ती सफल पनि होलान् । तर राजनीति नै चाहिँ ‘वैकल्पिक’ भन्ने नहुँदो रहेछ ।

झण्डै पच्चीस–तीस वर्षअघि देखि परम्परागत राजनीतिका अनेक रूप हेरिरहँदा मनमा अनेक प्रश्न आइरहन्थे । ‘राजनीतिमा किन अर्काको दानवीकरण नगरी नहुने होला?’, ‘राजनीतिज्ञहरू किन भिन्नताका बीचमा समानता खोज्न अक्षम हुने होलान् ?’, किन स्वाभाविक भिन्नतालाई जबर्जस्ती ठूलो र फराकिलो बनाएर प्राप्त मैदानमा आफ्नो निहीत स्वार्थको खेती गर्छन् राजनीतिज्ञहरु?’, ‘क्रान्तिकालमा परिवर्तनका निम्ति आफ्नो जीवन नै उत्सर्ग गर्ने मानिस राज्यसत्ताको नजिक पुगेपछि किन यति भ्रष्ट हुने होलान् ?’ यी प्रश्नले स्पष्ट उत्तर नपाउँदै लाग्न थाल्यो–एक्काइसौँ शताब्दीको पहिलो एक चौथाइ बित्दा÷नबित्दा यस्तो राजनीति काम नलाग्ने भैसक्छ होला । 

जब भारतमा आम आदमी पार्टीको उदय भयो र नेपालमा पनि ‘विवेकशील नेपाली’ भनेर फरक धारका युवाहरूको गतिविधि सुरु भयो, मलाई मज्जा लाग्यो । साझा पार्टी गठन तयारीताका छलफलमा म पनि निम्त्याइएपछि ‘वैकल्पिक राजनीति’को सम्भावना रमाइलै मानेर ‘ठीक छ, म तपाईँहरूको साथमा छु’पनि भनेँ । तर ‘साझा पार्टी’ स्थापनाकालमा छलफलका क्रममा देख्न थालेँ– मैले भनेको ‘वैकल्पिक राजनीति” र ‘साझा’ का संस्थापक साथीहरूको बुझाइबीच धेरै फरक छ । बेलाबेलामा प्रश्न गर्थेँ– ‘हामीले खोजेको वैकल्पिक राजनीति हो कि अहिलेका राजनीतिक पार्टीहरूको विकल्पमा अर्को कुनै पार्टी ?’ 

यो प्रश्नको स्पष्ट उत्तर आउनुअघि नै जब ‘संस्थापक सदस्य’ कै रूपमा मेरो नाम पनि पत्रपत्रिकामा आउन थाल्यो, अप्ठेरो अनुभूत गर्न थालेँ । ‘आइ एम् विथ यु’ भन्नु कति गह्रौँ कुरा हुने रहेछ । यस्तो वाक्य उच्चारण गर्नुको अर्थ कति ठूलो भारी बोक्नु रहेछ भन्ने कुरा बुझ्न थालेँ । पत्रपत्रिकामा फोटोसहित नामै आइसकेपछि ‘ए..., म त हैन है हैन’ भन्न पनि असजिलो भयो । फेरि आफ्ना पाठक वा स्रोताको ठूलो भीडभाड नभए पनि दुई तीन दशकदेखि नै विभिन्न माध्यममा ‘वैकल्पिक राजनीति’ को गफ दिइरहेको हुँदा परेकै बेलामा चाहिँ पन्छिनु ठीक हुँदैन भन्ने धर्मसंकट पनि थियो । अनि सूर्यराजजीसँग ‘म राजनीतिको निम्ति उचित पात्र हैन’ पनि भनेँ । 

तर हल्लाखल्ला यति भइसकेको थियो कि हो न हो ‘साझा पार्टी’को ‘नेता’ नै जस्तो बन्न पुगेँ । साझा र विवेकशीलको एकता हुने परिस्थिति जतिसुकै अपरिपक्व भए तापनि, त्यसपछि दिशामा स्पष्टता आउला जस्तो लागेको थियो । तर त्यसो भएन । नहुनुमा अनेक व्यक्तिगत कमी त थिए होला, तर मुख्य कुरा के देख्न थालेँ भने सत्ताप्राप्तिलाई जतिसुकै ‘साधन’ भने पनि राजनीतिको साध्य नै सत्ता हुने रहेछ । र, सत्ताप्राप्तिका निम्ति मानिसले अहिलेसम्म जानेका जति उपाय छन्, तिनलाई अपनाएपछि राज्यसत्ताका अनुवांशिक वा जन्मजात रोगबाट कोही पनि मुक्त नहुने रहेछ । 

यी रोगबाट ग्रस्त हुँदाहुँदै पनि जनाताका लागि, देशका लागि, विश्वका लागि केही गर्न सक्ने ‘महामानव’ अत्यन्त कम हुने रहेछन् । यो कुराको बोध भएपछि कुनै गालीगलौज नगरी, कसैलाई नसरापी म साझा पार्टीबाट सर्लक्क निस्किएँ । साझा र विवेकशील फेरि फुट्दा पटक्कै आश्चर्य लागेन । अहिले बेलाबेलामा मनमा प्रश्न आइरहन्छ– धेरै असल मान्छे, खासगरी जीवनशक्तिले भरिएका जेहेनदार र मेधावी युवाहरू यो राजनीति नामको अनौठो खेलमा लाग्दा मानवताले भोगिरहेको नोक्सानी धेरै होला कि पाएको उपलब्धि ?

यति नै बेला भने लाग्दैछ– डम्बरजीले भनेको ठीक हो । सबैका लागि राजनीति उपयुक्त हुँदैन र राजनीतिका निम्ति सबै उपयुक्त हुँदैनन् । आफूलाई सुहाउँदैन भन्ने लाग्दालाग्दै राजनीतिमा लाग्नु भनेको त अनावश्यक दुःखै निम्त्याउनु रहेछ । राजनीतिमा पसिसकेपछि यसको निर्ममतालाई सामना गरेरै हिँड्नुपर्ने रहेछ । राजनीतिमा पटक्कै नसुहाउने असल मानिस त्यसबाट मुक्त होउन् भनी कामना गर्दैछु यतिबेला ।

प्रकाशित: १९ वैशाख २०७७ १०:२३ शुक्रबार

राजनीति लकडाउन काेराेना_भाइरस