विचार

बिदामा बसेको म ‘नेपाल’

नमस्कार ! म नेपाल । कोभिड–१९ ले मलाई छुट्टीमा बसाएको छ । चैत ११ देखिको बिदा पटकपटक बढाएर वैशाख २५ सम्म पु-याएएको छ । मेरो दक्षिणको छिमेकीको पनि यस्तै हाल छ । यस्तो परिस्थितिले गरेर भोकमरी होला कि भनेर चिन्ता पो पर्न थाल्यो बा ! मेरो ‘जीवन’ र ‘जीविकोपार्जन’ कसरी सन्तुलन मिलाउने भनेर तनाव भइसक्यो । मसँग जादुको छडी पनि छैन, केही न  केही  उपाय  त लगाउनै पर्ला । फेरि यो कोभिड–१९ सँगको घम्साघम्सी पनि जारी राख्नैप-यो । 

मेरो रणनीति नै  परिवर्तन गर्नुपर्छ कि क्या हो ? प्रविधिको प्रयोग अलि बढाएर निर्णयमा वैज्ञानिकलाई विशेष भूमिका दिनुपर्छ होला । अनि कोभिड–१९ विरुद्ध काम गरिराखेका डाक्टर, नर्स आदिसँग हातेमालो गर्न समाज–शास्त्रीजस्ता विज्ञ त्यसमा थपेर तथ्यांकको उपयोग बढाउनुपर्छ । जीविकोपार्जनको कुरा गर्दा  मेरो बैंकमा कति पैसा छ र दराजमा कति खाद्यान्न छ, पहिले त्यो हेर्नुप-यो ।

राष्ट्र बैंकका अनुसार चैतमा मेरो खातामा लगभग ९ं महिनालाई पुग्ने पैसा थियो । अब यो  कोभिड–१९ ले  गर्दा त मेरो खर्च बढ्ने भयो, परीक्षण किट, पिपिई, भेन्टिलेटर, औषधि किन्नुप-यो । अनि उपचारमा पनि खर्च हुन्छ । यसका लागि ठ्याक्कै कति लाग्छ भनेर पनि मलाई थाहै छैन । विश्वका अरू सबै देशलाई पनि यी सामग्री चाहिएकाले  मूल्य अझै बढ्ला । 

अझ दुर्भाग्य त के छ भने खाद्यान्नजस्ता अत्यावश्यक वस्तुसमेत मैले उत्पादन गर्दिनँ । आयात नै गर्नुपर्छ । मैले उत्पादन र निर्यात गर्ने सामान अरूलाई अत्यावश्यक छैन । पैसा नभएर मेरो आयात घट्ला  कि ! मैले महँगा मोटरलगायत सामानको आयातमा कडाइ गर्ने भन्ने त सुनें । तर त्यो  त जम्मा ३.५ प्रतिशत आयात न हो । मैले अत्यावश्यक सामग्री खाद्यन्न, पेट्रोलियम, निर्माण सामग्री आदि किन्न नै आफ्नो आधा पैसा  (अर्थशास्त्रीको भाषामा कूल गार्हस्थ्य उत्पादनको ५१ प्रतिशत) खर्च गर्नपरेको छ । पैसा नभएर अरू देशलाई नि गाह्रो पर्छ भन्ने सुन्दै छु । यस्तो बेला मैले बेच्ने सामान बिक्ला त ? त्यो पनि मेरो कमाइको ९ प्रतिशत न हो!

मलाई पूर्ण विश्वास छ– हामी सबै एकजुट भएर बुलन्द तयारीसाथ अगाडि बढ्न सक्छौं । कोभिड–१९ मात्र होइन, भोकमरी, मलेरिया, डेंगी, अनि गरिबी पनि छिचोल्न सक्छौं ।

रेमिट्यान्स र पर्यटनबाट राम्रै कमाइ हुन्थ्यो । रेमिट्यान्सले त  मेरो लगभग २९ प्रतिशत खर्च धानिरहेको थियो । त्यो पनि  कोभिड–१९ का कारण २२ प्रतिशतले घट्छ भन्दै छ– विश्व बैंक । अब पर्यटन त ठप्पै पो हुने भयो त ! म मात्र निको भएर नि भएन, अरूहरू पनि त निको हुनप¥यो । अझ कोभिड–१९ पनि त रोकिनप¥यो नि ! यसो सोच्दा, चीन र अमेरिकाजस्ता साथीले मकहाँ घुम्न आउन खोज्नेलाई रोके भने, कोभिड–१९ विरुद्धका खोप सबैतिर सजिलै पाइएन भने, अझ हवाइ उडान नै कम भयो, बन्द भयो भने के पो गर्ने हो ? हुन त विश्व बैंकको तथ्यांकअनुसार पर्यटनले मेरो खर्चको ३ प्रतिशत मात्र धान्ने हो, तर पनि त्यो पैसा  १० लाख जनाको भागमा पथ्र्याे । यसैले यो मलाई महŒवपूर्ण छ । ‘सपना अहिले भ्रमणपछि’ भन्ने योजना आएको खबर सुन्दै छु । २०२१ का लागि यस्तो सुन्दाचाहिँ एकदम खुसी लाग्यो । 

मलाई मेरा साथीले माया गरेर सधैं मद्दत गरेका छन् । २०७२ सालको भुइँचालोको डरलाग्दो स्थिति याद आयो । त्यो बेला धेरैले सहयोग गरे, तर अहिले सबैलाई समस्या छ । मेरा साथीले चाहेर पनि दिल खोलेर मद्दत गर्न सक्ने अवस्था छैन । उनीहरूकै हात बाँधिएकाले मलाई अनुदानको आशा त छैन । बरु सम्भव भए कम ब्याजमा ऋण र ऋण माफीको आशाचाहिँ गरेको छु । तर मैले यस्तो ऋण लिएर जरुरी परेकाहरूसम्म कसरी पो पु¥याउने भन्ने सोचिरहेको छु । साना तथा मझौला उद्योग, मेरो अर्थतन्त्रको मेरुदण्ड हो भन्ने मैले सुनेको छु । नेपाल राष्ट्र बैंकको साना तथा मझौला उद्योग, २०७६ को रिपोर्टअनुसार उनीहरूले ६० प्रतिशत मानिसलाई काम दिएका छन् ।  तर उनीहरूले प्रायः ठूला वाणिज्य वा विकास बैंकबाट पैसा लिएका छैनन् । उनीहरूलाइ कसरी सहायता गर्ने भनेर मैले आर्थिक विज्ञबाट परामर्श लिनुपर्छ जस्तो छ । देशभरि छरिएर रहेका सहकारीलाई नेपाल राष्ट्र बैंकको निगरानीमा ल्याउनुपर्ला । यसो गर्दा अन्तर्राष्ट्रिय वित्तीय संस्थाको ऋण गाउँगाउँसम्म  पुग्ने बाटो खुल्छ । 

आर्थिक स्थिरता नै सामाजिक स्थिरता हो । मेरा लागि साना तथा मझौला उद्योगको योगदान समाजमा स्थायित्व र शान्ति छाउनु हो । यसैले म अर्थतन्त्र र जनजीवन कसरी पुनः सञ्चालन गर्ने भनेर चिन्तन गर्दै छु । मैले ठूला व्यापारलाई मात्र सञ्चालन र प्रोत्साहन गर्न मिल्दैन । यसो गर्दा त सामाजिक असमानता झन् बढ्छ, अनि साना तथा मझौला उद्योगलाई ठूलाले पेल्नेछन् । म अहिले नै आफ्नो पुरानो लयमा फर्किहाल्न नि सक्दिनँ । यो सबैका लागि अभूतपूर्व समय हो । पहिलो प्राथमिकता कृषिलाई ण्दिनुपर्छ, किनभने मेरो कमाइको २५ प्रतिशत यसबाट आउँछ  र धेरैलाइ रोजगारी पनि दिन्छ । 

विश्व खाद्य कार्यक्रम नेपालका अनुसार मसँग मनसुनको अन्तसम्म पुग्ने अन्न मात्र बाँकी छ र यसपालि गहुँ र अन्य हिउँदे बाली कम हुने सम्भावना छ । त्यसैले मैले खेतीमा जोड दिएर, खाद्यान्न र तरकारी (भिटामिनको मुख्य स्रोत) देशभरि पु¥याउने प्रबन्ध मिलाउनुपर्छ । मैले खाद्य बजार पुनः सञ्चालन गर्नैपर्छ । यी सबै शारीरिक दूरी कायम राख्दै र यन्त्र तथा प्रविधिको भरपुर प्रयोग गर्नुपर्छ । मलाई त कोभिड–१९ सँगै भोकमरीको माहामारीबाट पनि बच्नुछ । 

घरबाट सञ्चालन गर्न मिल्ने व्यवसाय घरबाटै गर्नुपर्छ । यी व्यवसायले नयाँ प्रविधि आत्मसात् गर्दै नयाँ ढंगले अगाडि बढेर समयानुकूल अवसर खोजी गर्नुपर्छ । यसले शारीरिक दूरी पनि कायम रहन्छ र मैले आर्थिक मन्दी र कोभिड–१९ को सशक्त ढंगले सामना गर्न सक्छु । मेरो नजरमा कोभिड–१९ को माहामारीसँग अग्रपंक्तिमा खटिएका डाक्टर, नर्स, ल्याब टेक्निसियन, स्वास्थ्य सेवाका अन्य कर्मचारी, सरसफाइ कर्मचारी, बिरामी ओसार्ने एम्बुलेन्स चालक, फोहरमैला व्यवस्थापक, कृषि श्रमिक, यातायात कर्मचारी, फलफूल तथा तरकारी बिक्रेतालगायत हुन् । 

मैले सम्भव भएसम्म विभिन्न प्रकारका कर छुट र निम्न तथा निम्न–मध्यम वर्गका लागि नगद सहयोगको  व्यवस्था गर्नुपर्छ भन्ने लाग्छ । मैले अनुदानसहितका सुपथ मूल्य–पसल र सार्वजनिक भान्छा खोल्नुपर्छ । अनि दैनिक मजदुरी र वैदेशिक रोजगारीबाट घर फर्केका मजदुरले काम पाउन् भनेर महŒवाकांक्षी ठूला पूर्वाधार आयोजना सुरु गर्नुपर्छ ।  

मलाई महिनौं पढाइ छुटाएका विद्यार्थीको चिन्ता लागेको छ । सबैसँग कम्प्युटर, ट्याबलेट र ब्रोड ब्यान्ड इन्टरनेट पनि छैन । त्यसैले अनलाइन शिक्षा लागू गर्न नि मिल्दैन । बरु रेडियो र टेलिभिजनका विभिन्न च्यानलमा गणित, विज्ञान, इतिहासलगायत कक्षा सञ्चालन गर्न सकिएला । 

आगामी योजनाका कुरा गरौं न । मैले के सुन्दै छु भने विश्वको आपूर्ति बाटो विविधीकरणको कुरा चलिराखेको छ । ‘चीनसँगै अर्को ठाउँ’ योजनाले अरू देशमा कारखाना खुल्ने सम्भावना छन् । यस्तो माहोलमा कूटनीतिक पहल गरेर  नेपालमा केही कारखाना ल्याउनसके हुन्थ्यो । अनि खाना पकाउने ग्यास र पेट्रोलियमलाई विद्युत्ले विस्थापन नगरी भएको छैन । बरु त्यसका लागि प्रतियुनिट बिजुलीको महसुल कम गरेर विद्युतीय चुलो किन्न छुटसमेत दिनुपर्छ । मेरो शरीरका विज्ञ–अंगले यस विषयमा अझ धेरै चिन्तन गरुन् । मलाई पूर्ण विश्वास छ– हामी सबै एकजुट भएर बुलन्द तयारीसाथ अगाडि बढ्न सक्छौं । कोभिड–१९ मात्र होइन, भोकमरी, मलेरिया, डेंगी, अनि गरिबी पनि छिचोल्न सक्छौं ।  
(स्टार्ट अप, विकास र व्यवस्थापन परामर्शदाता श्रेष्ठ एमआइटीको स्लोआन स्कुल अफ म्यानेजमेन्टबाट स्नाकोत्तर हुन् ।)

प्रकाशित: १९ वैशाख २०७७ ०८:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App