विचार

धार्मिक पर्यटनका लागि पूर्वाधार

केही समयअघि रिपब्लिक मिडियाको अंग्रेजी संस्करणमा केशव शर्माले एक आलेखमार्फत झक्झकाउने प्रयास गर्नुभयो । उहाँको कथन थियो–‘पूर्वाधारबिना पर्यटनको सम्भावना छैन ।’ उहाँको निचोड थियो– नेपालले बितेका केही दशकमा सामाजिक सूचक जस्तो कि मानवीय विकास सूचकांक, शिशु मृत्यु दर, गरिबी, साक्षरता जस्ता सूचकमा उल्लेख्य सुधार गरेपनि अपर्याप्त पूर्वाधारले गर्दा समग्र देशको विकास र जनताको जीवनस्तर न्यून छ । यो निष्कर्ष अकाट्य देखिन्छ । यहाँ म पर्यटकीय पूर्वाधारका विविध विषयमा थप कुरा राख्ने प्रयास गर्नेछु । पूर्वीय दर्शन, कला र संस्कृतिले सिँचिएको यो देश धार्मिक तथा आध्यात्मिक पर्यटनबाट  लाभान्वित भइरहेको छ त ? यिनै सवालमा आलेख केन्द्रित छ ।

विश्व बैंकले एसियाली अर्थतन्त्र ४० वर्षयताकै सबैभन्दा कमजोर हुने बताउँदै नेपालको वृद्धि दर २.७ प्रतिशत ननाघ्ने दाबी गरिसकेको कुरा सञ्चार जगतमा आइसकेको छ । यसबाट समग्र देशको उत्पादन, आय र विकासका सूचक उत्साहजनक नहुने स्पष्ट छ ।  विकसित देश चीन, अमेरिका, युरोपेली देशका नागरिक जुन विश्व पर्यटनका लागि मुख्य आधार हुन्, अहिले कोभिड–१९ को महामारीले सबैभन्दा प्रभावित छन् । यसको प्रत्यक्ष प्रभाव आगामी दिनमा नेपाल भ्रमण वर्ष २०२० अभियान सञ्चालन गरेको नेपाली पर्यटनलाई पनि पर्ने देखिन्छ ।

धार्मिक तथा आध्यात्मिक पर्यटन 
धार्मिक पर्यटन तथा तीर्थयात्रा संसारकै पुरानो पर्यटन मानिएको छ । युनेस्कोका अनुसार संसारका ६० प्रतिशत मानिस कुनै न कुनै धर्मको अभ्यास गर्छन् र उनीहरू नै धार्मिक पर्यटनका मुख्य आधार पनि हुन् । धार्मिक पर्यटन एसिया अनि दक्षिण एसियाली देशहरूमा झनै महत्वपूर्ण छ । यसर्थमा कि यहाँ प्रशस्त मात्रामा धार्मिक तथा आध्यात्मिक पर्यटकका लागि इतिहास बोकेका धरोहर छन् । भारत वर्ष अनि नेपाल त संसारको प्राचीनतम् सनातन धर्म र यसको अभ्यासका लागि विश्वमै प्रख्यात रहिआएको छ ।

धार्मिक र आध्यात्मिक पर्यटन कतिपय सन्दर्भमा उस्तै÷उस्तै लागे पनि केही खास भेद छन् । आध्यात्मिकता धार्मिकताको परिस्कृत रूप हो । विश्व पर्यटन संगठनका अनुसार धार्मिक पर्यटन मूलतः सांस्कृतिक र छुट्टी मनाउने उद्देश्यले प्रेरित हुन्छ भने आध्यात्मिक पर्यटन बहुआयामिक हुन्छ, यो आंशिक या पूर्णरूपले धार्मिक विश्वास र उद्देश्यले आयोजित हुन्छ । यसर्थ धार्मिक पर्यटनलाई एक प्रकारको आध्यात्मिक पर्यटन मान्न सकिन्छ तर आध्यात्मिक पर्यटनलाई पूर्ण धार्मिक पर्यटनको उपमा दिनु आवश्यक छैन । यसैबीच, तीर्थयात्रा धार्मिक पर्यटनको सन्निकट रहेको मान्न सकिन्छ । नेपालमा धार्मिक तथा आध्यात्मिक पर्यटन विशेषत तीन प्रकारले भएको पाइन्छ । एक– तीर्थयात्रा जस्तै पशुपतिनाथ क्षेत्र, लुम्बिनी, मुक्तिनाथ, स्वर्गद्वारी आदि । दुई– गुम्बा÷बिहार भ्रमण तथा ध्यान योगा । र, तीन– ग्रामीण होम स्टे । यो क्रम बढ्दो छ । यदि सरोकारवालाहरू र नीति निर्माताहरू बेलैमा सचेत हुने हो भने राज्यको आम्दानीमा यसको हिस्सा बढ्दै जाने देखिन्छ ।

धार्मिक पर्यटन तथा तीर्थयात्रा संसारकै पुरानो पर्यटन मानिएको छ । युनेस्कोका अनुसार संसारका ६० प्रतिशत मानिस कुनै न कुनै धर्मको अभ्यास गर्छन् र उनीहरू नै धार्मिक पर्यटनका मुख्य आधार पनि हुन् ।

अर्कोतर्फ समयको विकास क्रमसँगै मानिसको चेतनामा पनि व्यापक फेरबदल भएको छ । विज्ञान र प्रविधिको अति विकासले मानिस थप यान्त्रिक भएका छन् । मानिस तथा समाज अत्यन्तै सापेक्षिक भएको प्रमाण आजका घटनाक्रमले देखाएका छन् । मानिस आफ्ना आवश्यकता परिपूर्तिका लागि प्रकृतिको दोहन गर्न कत्ति पनि डराएका देखिँदैन । फलतः पर्यावरणीय सन्तुलनमा खलल पुगेको छ । विश्वव्यापी महामारी, प्राकृतिक प्रकोप, वायु प्रदूषण, जलवायु परिवर्तन जस्ता दुष्परिणामका लागि मुख्यतः मानवीय गतिविधि जिम्मेवार छन् । यसै परिप्रेक्ष्यमा मानिसलाई आफ्नो मूल केन्द्रमार्फत प्रकृति, पर्यावरण, मानवीयता र विकासको खास महत्व जगाउन आध्यात्मिकता र धार्मिकताको भूमिका अहम् हुन्छ । यसका लागि धार्मिक तथा सांस्कृतिक महत्वका क्षेत्रको संरक्षण र संवद्र्धन आवश्यक छ ।

बढ्दो सामाजिक र राजनीतिक चेतले मानिसलाई स्वावलम्बी त बनाएको छ नै, अर्कोतर्फ सामाजिक वैमनश्यता र असहिष्णु पनि बनाएको छ । मानिस अनुदार हँुदै गएको छ । यसप्रकार पौराणिक मूल्य÷मान्यता, सांस्कृतिक सम्पदा, धार्मिक समभाव हराउँदै गएको गएको प्रतीत हुन्छ । इतिहासको गरिमा बोकेका कलाकृति लोप हँुदै गएका छन् ।पुरातात्विक महत्वका कतिपय धरोहर लोप भइसके । केही संरक्षणको पर्खाइमा छन् । २०७२ सालको भूकम्पले क्षतविक्षत बनाएका कतिपय पुरात्वित्क महत्वका संरचना केही निर्माणाधीन छन् भने थुप्रै जीर्ण अवस्थामा गुज्रिरहेका छन् जुन राज्यको प्राथमिकतामा परेको देखिँदैन । चोरी निकासीले बहुमूल्य कलाकृति र मूर्ति हराइरहेका छन् ।
खै पूर्वाधार ?

धार्मिक तथा आध्यात्मिक पर्यटक सात्विक र प्राकृतिक स्वभावले अनुप्राणित हुन्छन् । यसका लागि प्राकृतिक आहारबिहार, प्राकृतिक सौन्दर्य र ग्रामीण परिवेशप्रति उनीहरूको रुझान हुन्छ । यसको लागि मुख्यतः आधारभूत पर्यटकीय पूर्वाधारको यथोचित प्रबन्ध गर्नु पहिलो कार्य हो । हाम्रो मुलुकमा उचित पूर्वाधारको अभाव एउटा प्रमुख समस्या हो जसले पर्यटन उद्योगका साथै अन्य क्षेत्रको विकास गर्न गाह्रो बनाएको छ । सडक, ऊर्जा, स्वास्थ्य र सञ्चारको अभाव जस्ता समस्या नेपालले झेल्दै आएको छ । उन्नत र सुरक्षित उड्डयन उद्योगको अभाव पनि नेपालको पर्यटन विकासको प्रमुख अवरोध हो । जस्तो कि नेपाल अहिले पनि अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्धित छ । नेपालका सबै भागमा उचित बासस्थानको अभाव छ, फलतः पर्यटकले आफ्नो समय उक्त स्थानमा कम व्यतीत गर्छन् । यसबाट नेपाली पर्यटनको प्रभावकरिता कम हुन गएको हो । तारे होटलहरू सबै सहरकेन्द्रित या राजधानीकेन्द्रित छन् । नेपालको दुर्गम क्षेत्रहरूमा यी सबै चीज अभाव छ जसले पर्यटकलाई त्यस्तो गन्तव्य स्थानमा आकर्षित गर्न गाह्रो बनाएको छ ।

केही पहलकदमी जस्तो कि संघीयताको अभ्याससँगै गाउँ÷गाउँमा विकासको आवाज त मुखरित भएको छ तर के ती विकास निर्माणका गतिविधि पर्यावरणमैत्री छन् ? कुनै लेखाजोखा छैन । निर्माण उपकरणको जथाभावी प्रयोगले जमिनको स्थायित्व बिग्रने कुरामा सचेतना नभएको महसुस भएको छ । जसले गर्दा बाढी÷पहिरोको जोखिम बढाएको छ । जलाधार क्षेत्र क्षय हँुदैछन् । आधुनिक निर्माण सामग्रीको अनुचित प्रयोगले सांस्कृतिक सुन्दरता र ऐतिहासिकता मेटिँदैछ । यसर्थ प्रशस्तै सम्भावना बोकेको पर्यटन क्षेत्रमा गम्भीर आघात पुगेको कुरा लुकाउनुपर्ने देखिन्न । यसैगरी निर्माण सामग्री आफँैमा महत्वपूर्ण होला, त्यो भन्दा बेसी त्यसमा प्रयोग हुने प्रविधि हो । पारम्परिक निर्माण सामग्रीको प्रयोग भरपर्दो र आधुनिक प्रविधिले गर्दा कुनै पनि संरचना दिगो र बलियो गर्न सकिन्छ । तर भूकम्पले भत्किएका कतिपय पुरातात्विक संरचना, मठमन्दिर निर्माण गर्न हामी परिपक्व देखिएका छैनौँ ।

नेपाल जस्तै विकासोन्मुख देशहरू नवनिर्माण भन्दा मर्मत÷संहारमा अधिक केन्द्रित भएका देखिन्छन् । केही संरचना निर्माण गर्ने, तिनीहरूको उचित सञ्चालन, रेखदेख नगर्ने र अन्तमा पटक–पटक मर्मत गर्ने प्रवृत्ति हामीले भोग्दै आएका छौँ । यो सुशासन कदापि होइन । यसबाट पर्यटन र देशको विकास केवल कल्पना मात्र हुनेछ ।

धार्मिक पर्यटनका लागि थप पूर्वाधार 
प्रत्येक प्रदेशमा हामी धार्मिक, सांस्कृतिक र पुरातात्विक महत्वका सम्पदा, मठमन्दिरले सुसज्जित छौँ । वार्षिक लाखौँलाख तीर्थयात्री तथा पर्यटक उक्त स्थान पुग्ने गर्छन् तर दुर्भाग्य, ती स्थानमा केवल दर्शनार्थी पुग्ने, पूजा पाठ गर्ने र फर्कने क्रम भन्दा वेसी अरु गतिविधि हुँदैनन् । नेपालमा सबैभन्दा धेरै भारतीय पर्यटक आउने गर्छन् । त्यसमध्ये सबैभन्दा धेरै धार्मिक पर्यटक हुन्छन् तर यो सबै स्वतःस्फुर्त भएको देखिन्छ ।

नेपाल सरकारको पर्यटकीय तथ्यांक सन् २०१८ अनुसार पशुपति क्षेत्रमा १,६३,३११ जना पर्यटक भ्रमण गरेका देखिन्छ । त्यस्तै १,६९,१८० जनाले लुम्बिनी भ्रमण गरेको देखिन्छ । स्मरण रहोस्, स्वर्गद्वारी धाम प्युठानका अनुसार स्वर्गद्वारीमा एक वर्षमा २ लाख भन्दा बढी भारतीय तीर्थयात्रीले भ्रमण गर्ने गर्छन् तर विडम्बना यो तथ्यांक सरकारको कुनै आधिकारिक दस्तावेजमा देखिँदैन । यसरि भेट्न सकिन्छ खेलवाडको नमुना र राज्य बेवास्ताको दृष्टान्त ।

यी समस्याका बाबजुद अब आगामी दिनका लागि धार्मिक पर्यटनका क्षेत्रमा केही सुझाव दिनैपर्दा हरेक प्रदेशको मुख्य धार्मिक क्षेत्र घोषणा गरिनुपर्छ । यसो गर्दा प्रचारप्रसारमा सहज हुनेछ । विकासको प्राथमिकीकरण गर्दा यो आधार हुन सक्छ । बाहुल्यता र प्रभावकारिताका आधारमा त्यो कुनै पनि धार्मिक वा सम्प्रदायको हुन सक्छ । त्यस्तै प्रत्येक प्रदेशमा एक सुविधा सम्पन्न विमानस्थल व्यवस्था गर्ने र नियमित सञ्चालनको प्रत्याभूत गरिनुपर्छ । प्रत्येक प्रदेशमा कम्तीमा एउटा ५ तारे होटेलको व्यवस्था गर्नुपर्छ ।

यतिमात्र हैन, हरेक पर्यटकीय स्थलमा निःशुल्क ब्रोसर, नक्सा र प्रचार सामग्री उपलब्ध गराइनुपर्छ । प्रत्येक पर्यटकीय क्षेत्रमा पर्यटकमैत्री सुरक्षा तथा सूचना डेस्क स्थापना हुनुपर्छ । यसैगरी पर्यटकीय स्थलमा आधिकारिक पर्यटकीय तथ्यांक संकलन गरी राज्यको सम्बन्धित निकायमा दर्ता गराउनुपर्छ । पर्यटकलाई थप समय व्यतीत गर्ने वातावरणका लागि स्थानीय स्रोत सामग्री र सेवाको अधिकतम उपयोग गरिनुपर्छ । पर्यटक गन्तव्यमा पूर्वाधार सुविधा र आधारभूत सुविधाको प्रावधान, जस्तै– पिउने पानी, शौचालय सुविधा, रेस्टुरेन्ट, विद्युत्, सञ्चार, स्नान स्थल आदि व्यवस्था हुनुपर्छ । त्यसैगरी बच्चाहरूको पार्क, सडक बत्तीहरू, पार्किङ  स्थल, सूचना बोर्डको प्रावधान पनि हुनुपर्छ । एक भन्दा बढी पर्यटकीय गन्तव्यको आन्तरिक सञ्जाल बनाउन सकिएमात्यसले पर्यटकलाई थप समय बिताउन मद्दत गर्छ ।
(विद्यार्थी, निर्माण व्यवस्थापन)

प्रकाशित: १९ वैशाख २०७७ ०४:०१ शुक्रबार

धार्मिक_पर्यटन पूर्वाधार