विचार

नेपालमा दूर तथा अनलाइन शिक्षणको सम्भावना वास्तविक अवस्था, चुनौती र गर्नुपर्ने कार्यहरू

महामारीका रूपमा रहेको कोभिड १९ का कारणबाट देशभर विद्यालयहरू चैत्र ६ गतेदेखि पूर्ण रूपमा बन्द छन् । विद्यालयहरू कहिले खुल्छन् त्यो पनि अन्योल छ । उपलब्ध सबै सूचकहरूले विद्यालयहरू अझै तीन महिनासम्म खुल्नसक्ने देखिँदैन । एकातिर विद्यालय नखुलेको र बालबालिकाको सिकाइको समय खेर गएको तथा तुरुन्तै दूर तथा अनलाइन विधिबाट शिक्षण गर्नुपर्ने तर्कहरू आइरहेको अवस्था छ भने अर्को तिर नेपालमा यो विधिबाट शिक्षण गर्न तत्काल सम्भन छैन भन्ने विचारहरू पनि त्यत्तिकै मुखरित भै रहेका छन् । यस विषयमा छलफल गर्दा दूर तथा अनलाइन शिक्षण तथा अध्ययनका लागि हाल प्रयोग गर्ने सम्भावना भएका साधनहरू रेडियो, मोबाइल, टेलिभिजन, कम्प्युटर र इन्टरनेटको उपलब्धता, तनलाई आवश्यक पर्ने डिजिटल सिकाइ सामग्री, सफ्टवेयर, तीनको प्रयोगको अवस्था, र सम्भावना के के छन् भनी स्पष्ट हुनु पर्दछ । 

नेपालमा, केही बर्षदेखि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र साझा शिक्षा ईपाटी (ओयली नेपाल) तथा डेरवाल्क जस्ता संस्थाहरूले गुणस्तरीय डिजिटल सिकाइ सामग्रीहरू तयार पारि निशुल्क वितरण गरेका छन्। तर ती सिकाइ सामग्रीहरूमा बालबालिकाहरूको पर्याप्त मात्रामा पहुँच पुर्याई सोको फाइदा लिन सकिरहेका छैनौँभने अर्कोतिर धेरै बिज्ञहरूले यस मुद्दाका पक्ष र विपक्षमा आफ्ना धारणाहरू पनि  दिइरहुनु भएको छ । यो लेखमा राष्ट्रिय रूपमा प्रतिनितिध्व गर्ने गरी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको विद्यार्थी उपलब्धिको राष्ट्रिय परीक्षण (एनएएसए) र केन्द्रीय तथ्याङ्क विभागको राष्ट्रिय जनगणना र सर्वेक्षणहरुको तथ्याङ्कका आधारमा अवस्थाहरूको विश्लेषण गरी तथ्यहरू उजागर गर्ने प्रयास गरिएको छजसमासुरूमा सूचना तथा सञ्चारका साधनहरूको पहुँच हुने घरधुरीहरूको विश्लेषण र त्यसपछि शैक्षिक विश्लेषण गरिएको सम्भावना र चुनौतीको आंकलन गरिएको छ । 

नेपालमा मोबाइल फोनको प्रयोगको प्रतिशत उच्च छः देशभरबाट विद्यालय तहमा पढ्ने विद्यार्थी भएका ८८ प्रतिशत घरधुरीमा मोबाइल चलाइन्छ भने यो सङ्ख्या शहरी क्षेत्रमा ९१ प्रतिशत र ग्रामीण क्षेत्रमा ८४ प्रतिशत छ । सबै प्रदेशहरूलाई तुलना गर्दा कुनैपनि प्रदेशमा मोबाइलको प्रयोग गर्ने घरधुरी ७९ प्रतिशतभन्दा कम छैन । शिक्षा र यसको अवसरमा जातजाति अनुसार पनि फरक पाइने हुनाले जातजातिगत रूपमा हेर्दा पनि यो तथ्याङ्कमा समानता देखिन्छ । शिक्षण सिकाइको लागि उपयोगी हुने स्मार्ट फोनको उपलब्धता कति छ भनी हेर्नु निकै महत्वपूर्ण हुने देखिन्छ तर यससम्बन्धी तथ्याङ्क उपलब्ध नभएको हुनाले यसमा बोल्न सक्ने अवस्था देखिएन । 

आजभोली धेरैजसो मानिसहरू रेडियो चलाउँदैनन्स् नेपाल श्रमशक्ति सर्वेक्षण २०७४र७५ अनुसार नेपालभरमा २६ प्रतिशत मात्र घरधूरीमा रेडियो प्रयोग हुन्छ । यो तथ्याङ्क बालबालिका ग्रामीण र शहरी क्षेत्र जहाँ बसोबास गरेपनि उस्तै रहेको छ किनकी ग्रमिण क्षेत्रमा ३० प्रतिशत सम्म परिवारमा रेडियो रहेको तथ्य पाइएको छ । प्रदेशगत रूपमा पनि यो तथ्याङ्क उस्तै उस्तै छ । सात प्रदेश मध्ये कुनै प्रदेशमा पनि ३० प्रतिशत  भन्दा बढी परिवारमा रेडियो उपलब्ध छैन । जातजातिगत रूपमा हेर्दा पनि तथ्याङ्क उस्तै छ । राष्ट्रिय जनगणना २०५८ र २०६८ अनुसार ५२ प्रतिशत घरधूरीमा रेडियो उपलब्ध भएकोमा अहिले त्यसको आधामा मात्र रेडियोको प्रयोग देखिएको छ। 

घरमा टेलीभिजनको उपलब्धतामा ठूलो असमानता रहेको छः करिव ५० प्रतिशत घरधुरीमा टेलिभिजन रहेको पाइए पनि केवल ३७ प्रतिशत परिवारका बालबालिकाहरूले आफ्नो घरमा केवल टेलिभिजन हेर्न पाएका छन् । यो तथ्याङ्क प्रदेशै पिच्छे फरक फरक छ । साथै जातजाती,ग्रामीणसहरी र परिवारको आर्थिक अवस्था अनुसार पनि भिन्न भिन्न छ । जस्तैः वाग्मति प्रदेशमा ५७ प्रतिशत घरधुरीमा केवल टिभी रहेको देखिन्छ भने सुदुर पश्चिममा २१ प्रतिशतसँग टेलिभिजन रहेको छ । त्यसै गरी शहरी क्षेत्रमा ४६ प्रतशितमा केवल टेलीभिजन छ भने ग्रामीण क्षेत्रमा २२ प्रतिशतसँग मात्र घरमा उपलब्ध छ । टेलीभिजनको गुणस्तरका हिसावले पनि उपलब्धतामा यस्तै आँकडा देखिएको छ । 

ईन्टरनेटको पहुँच न्यून र असमान वितरण छः निकै थोरै घरधूरीसँग मात्र उनीहरूको आफनै कम्प्युटर र इन्टरनेटको सुविधा छ । उदाहरणका लागि, नेपालका केवल ८ प्रतिशत घरधुरीसँग घरमै कम्प्युटर छ र त्यतीकै प्रतिशतमा इन्टरनेटको समेत जडान भएको देखिन्छ । तर यो प्रतिशत ग्रामीणशहरी तथा जातजातीगत रूपमा निकै भिन्नता रहेको देखिन्छ । शहरी क्षेत्रमा १२ प्रतिशत घरधूरीमा कम्प्युटर रहेको छ भने ग्रामीण क्षेत्रमा २ प्रतिशतमा मात्रकम्प्युटर रहेको छ। त्यसै गरी प्रदेशअनुसार हेर्दा वाग्मती प्रदेशमा २३ प्रतिशत घरधूरीमा कम्प्युटर रहेको छ भने प्रदेश २, कर्णाली र सुदुरपश्चिम प्रदेशमा ३ प्रतिशत भन्दा पनि कमी घरधूरीमा कम्प्युटर रहेको छ । जातजातिगत रूपमा हेर्दा दलित परिवारमा १ प्रतिशत, मुस्लिम परिवारमा २ प्रतिशत, ब्राह्मण र क्षत्री परिवारमा १२ प्रतिशत र नेवार परिवारमा २९ प्रतिशतमा घरमा आफ्नै कम्प्युटर रहेको पाइएको छ ।

विद्यालयको प्रकार अनुसार अनलाइन सिकाइ सामग्रीको उपलब्धतामा ठूलो अन्तर छः ल्ब्क्ब् को तथ्याङ्क अनुसार कक्षा ५ मा अध्ययन गर्ने ३७ प्रतिशत निजी विद्यालयका विद्यार्थीले आफ्नो घरमा कम्प्युटर उपलब्ध भएको बताएका छन् भने सामुदायिक विद्यालयका १० प्रतिशत बालबालिकाहरूले मात्र कम्प्युटर उपलब्ध भएको बताएका छन् । त्यसैगरी, २२ प्रतिशत निजी विद्यालयमा कम्प्युटर उपलब्ध भएको बताएका छन् भने केवल ४ प्रतिशत सामुदायिक विद्यालयमा अध्ययनको लागि कम्प्युटर उपलब्ध भएको बताएका छन् । अझै महत्वपूर्ण कुरा त के छ भने केवल ३५ प्रतिशत जति विद्यालयमा बिजुलीबत्तीको सुविधा छ भन्ने अनुमान छ । एकातिर शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको तथ्याङ्कले देशभर लगभग १० हजार जति सामुदायिक विद्यालयमा मात्र कम्प्यूटर उपलब्ध भएको देखाए पनि ती पनि शिक्षण सिकाइमा प्रयोग भएका छन् कि छैनन् जानकारी छैन । ती मध्ये पनि केबल १२ प्रतिशत जति विद्यालयमा मात्र इन्टरनेट सुविधा छ भन्ने देखिन्छ । विद्यालयमा नै विद्युत छैन भने ती विद्यालय भएका गाउँमा विद्युत छैन भन्ने कुरा सहजै अनुमान गर्न सकिन्छ । अर्कोतिर, सामुदायिक विद्यालय पढ्ने बालबालिकाका अभिभावक न्यून आय भएका छन् । कम्प्युटर हुनेका मध्येशिक्षित बाबुआमा र धनी परिवार तथा अशिक्षित बाबुआमा र गरिव परिवार छुट्याइ हेर्दा कम्प्युटर हुनेहरू धनी परिवारका मात्र ६५ प्रतिशत बालबालिका हुन् भने गरिव परिवारका १३ प्रतिशत बालबालिका हुन् । त्यसैले पहुँच नपुगेमा अधिकाधिक बालबालिका गरिव परिवारका हुनेछन् ।  

अबको बाटो  
वर्तमान समयमा, अनलाइन र दूर शिक्षा विधिबाट सबैमा सकाइको पहुँच उपलब्ध गराउनु निकै चुनौतिपूर्ण देखिन्छ । चार घरधुरी मध्ये एक घरधूरीमा मात्र रेडियो उपलब्ध हुनुले दूर विधिबाट रेडियोको माध्यम प्रयोग गरी शिक्षा प्रदान गर्न पनि कठिन देखिन्छ । त्यसैगरी, टेलीभिजन पनि आधाजसो बालबालिकालाई उपलब्ध छैन । त्यसैले टेलिभिजन प्रयोग गरी शिक्षा दिने विधिमा केन्द्रित हुँदा पनि आधाजसो बालबालिका शिक्षाको पहुँचबाट बाहिरिने सम्भावना रहन्छ । १० घरधूरी मध्ये ९ घरधूरीमा मोबाइल उपलब्ध भएपनि ती सबै मोबाइलमा सिकाइ सम्भब नहोला किनकी स्मार्ट फोनमा मात्र बालबालिकाहरू सिकाइ गर्न सक्दछन् । नेपाल टेलीकमले भनेजस्तै आधा जति इन्टरनेट प्रयोगकर्तासँग स्मार्टफोन छ भन्ने तथ्यलाई आधार लिइ काम गर्ने हो भने पनि ५५ प्रतिशत बालबालिकाको पहुँचमा इन्टरनेट सहितको स्मार्टफोन उपलब्ध हुँदैन र ती सबै पिछडिनु पर्ने देखिन्छ । त्यसैगरी, एकदम थोरै घरधूरीसँग मात्र कम्प्युटर उपलब्ध छ । यसका साथै सूचना प्रविधिका साधनहरू चलाउन सक्ने विद्यार्थी र सामग्री विकास गर्ने क्षमता भएका कति शिक्षक छन् भन्ने तथ्याङ्क त अध्ययन कै विषय छ । त्यसैले, कम्प्युटरलाई सिकाइको साधन बनाउन पनि अहिलेकै अवस्थामा असम्भव प्राय देखिन्छ । 

कोभिड१९ को लकडाउन लम्बिने हो भने विद्यार्थीको पारिवारिक अवस्था अनुसारनै यसको नकरात्मक असर पर्ने देखिन्छ । केही निजी विद्यालयले मात्र यसरी अनलाइन र दूर विधिबाट शिक्षा दिन सुरू गर्न सक्दछन् तर ती विद्यालयका पनि सबै विद्यार्थीले समान अवसर भने पाउँदैनन् । जुन परिवारमा यी सुविधा छन् ती परिवारका बालबालिकाहरू नहुने भन्दा थोरै छन् जसले निकै ठूलो विद्यार्थीको समूह शिक्षाको पहुँच र सिकाइ वातावरणबाट बाहिरिने निश्चित छ । तर जो सँग यी सुविधाहरू छन् तिनले भने अनलाइनबाट गुणस्तरीय सामग्रीको पहुँच भने प्राप्त गर्न सक्ने कुरामा दुइमत छैन । सामग्रीको पहुँच हुनुले मात्र त्यसको उपयोग हुन्छ भन्ने कुरा भने सुनिश्चित गर्दैन । 

यी समग्र तथ्यहरूका आधारमा निश्चित रूपमा के विश्वास गर्न सकिन्छ भने अहिलेकै अवस्थामामा दूर तथा अनलाइन शिक्षाको सुरूवात गरियो भने अहिले भै रहेको शैक्षिक असमानता जति छ त्यो भन्दा झन् धेरै बढ्नेछ जसबाट शैक्षिक समता कायम गर्न अझै कठिन हुनेछ । त्यसैले तीनओटै तहका सरकारहरूले ती पिछडिएको वर्ग झन् पिछडिनु नपरोस भन्ने तिर निकै ध्यान दिएर अघि बढ्नु पर्दछ ।यो समयलाई समस्या कै रूपमा नलिई एउटा अवसरको रूपमा परिणत गर्न र समता कायम गर्ने कुरामा सम्झौता नगर्ने इच्छा शक्ति लिएर अगाडि बढ्ने हो भने असम्भव भने हैन । दूर तथा अनलाइन विधिबाट शिक्षा प्रदान गर्ने दीर्घकालिन र अल्पकालिन रणनीति सहित सरकार जनताको तर्फबाट ठूलो लगानी गर्नका लागि तयार हुनु पर्दछ र प्रविधिको खरिद तथा क्षमता विकासका कार्यक्रमहरू केन्द्रविन्दुमा राखी लागु गर्नु पर्दछ । संघीय सरकारले टेलिभिजनमा शिक्षण प्रसारण गर्नुका साथै इन्टरनेट सेवा प्रदायकहरूसँग सहकार्य गरी बालबालिकाहरूले अध्ययन सामग्रीहरू निश्चित वेभसाइटहरुबाट निशुल्क डाउनलोड गर्नसक्ने सुविधा उपलब्ध गराउनु पर्दछ । तीन तहकै सरकारहरूले साझेदार ब्यक्तिरसंस्थाहरूको सहकार्यमा अति विपन्न परिवारका बालबालिकाहरूलाई स्मार्टफोन वा उच्च गुणस्तरका अध्ययन सामग्रीहरू सहितका ट्यावलेट उपलब्ध गराएर पहुँच उपलब्ध गराउने तर्फ पनि विशेष रुपमा सोच्नु पर्दछ ।शिक्षकहरुले पनि अति बिपन्न परिवारका बालबालिकाहरूलाई फोनमार्फत सम्पर्कमा बसी निरन्तर रुपमा सहयोग गर्नुपर्दछ। महामारी कै समय भएपनि शिक्षाको सामान्य पहुँच पुर्याएर मात्र पुग्दैन, उपलब्ध गराइएको शिक्षा गुणस्तरीय नै हुनु पर्दछ भन्ने कुरामा पनि सधै सजग रहनु पर्दछ ।
आचार्य शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको शैक्षिक गुणस्तर परीक्षण केन्द्रसँग आवद्ध र शर्मा स्वतन्त्र अनुसन्धानकर्ता हुन्।

प्रकाशित: १२ वैशाख २०७७ ०८:०९ शुक्रबार

काेराेना_भाइरस अनलाइन_शिक्षण