करोना भाइरस (कोभिड १९) को महामारीले विश्व अक्रान्त बनेको छ । हाम्रो देश पनि यसबाट अछुतो रहेन । यस महामारी नियन्त्रण तथा रोकथाम गर्न विश्वका सबै मुलुकले आआफना देशका चिकित्साविद्को सल्लाह÷सुझावअनुसार विभिन्न विधि अपनाइरहेका छन् ।
सामाजिक दूरीका लागि लकडाउन पनि एक उपाय हो । नेपालमा मात्र होइन, विश्वभरि नै लकडाउनको अवस्था छ । प्रभावकारी ढंगले कोभिड–१९ को महामारी रोक्न सरकारसँग लकडाउनबाहेक विकल्प थिएन र छैन ।
बढ्दो संक्रमणबाट बच्न नेपाल सरकारले गत चैत ११ देखि वैशाख १५ सम्म लकडाउन लम्ब्याइएको छ । लकडाउन भनेको कफ्र्यु होइन । लकडाउनको अर्थ बन्दाबन्दी अर्थात् आपतकालीन अवस्था हो । यस्तो अवस्था विपद् तथा महामारीका बेला जनताको सुरक्षाको लागि राज्यद्वारा लागू गरिन्छ । लकडाउनका बेला घरबाट बाहिर निस्कने अनुमति हुँदैन ।
तर औषधि र खाने÷पिउने आवश्यक वस्तु किनमेल गर्न मात्र अनुमति दिइन्छ । घरबाट अनावश्यक रूपमा बाहिर सडकमा ननिस्किनु नै लकडाउनको अवस्था हो । लकडाउनमा अत्यावश्यकबाहेक अन्य सेवा बन्द रहन्छन् । मानिस–मानिसबीच ३ देखि ६ फिटसम्मको सामाजिक दूरी भनेको कोरोना भाइरसको संक्रमण हुनबाट रोक्ने विधि हो ।
चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी ज्यान जोखिममा राखेर कोरोनाविरुद्ध लडिहरेका छन् भने हामी आफ्नो घरमै बसेर सहयोग गर्न सक्दैनौ ?
कोरोना भाइरसको साङ्ला तोड्न सावधानी अपनाउन अत्यन्त जरुरी छ । यसका लागि सामाजिक दूरी र घरभित्र रहनु नै सबभन्दा उत्तम उपाय हो । लकडाउनका बेला छरछिमेक तथा गल्लीमा पनि ननिस्कौं । यति कुराका लागि सुरक्षाकर्मी वा अरू कसैले सम्झाउलान् भनेर पर्खनु हुँदैन । हामी आफैंले जान्नुपर्ने कुरा हो, जिम्मेवारी हो ।
अहिले लापर्बाही गरियो भने पछुताउने मौका पनि पाइँदैन । त्यसैले लकडाउनको नियमको पूर्ण रूपले पालना गरौं । घरमै बसौं । आफ्नो तथा परिवार एवं समाजको सुरक्षा गरौं । लकडाउनका बेला (घरमा) बस्नेहरूले ध्यान दिनुपर्ने केही विषय छन् ।
के गर्ने र के नगर्ने ?
–घरका सबै सदस्य एकैसाथ बसेर टिभी नहेर्ने
–एउटै सोफासेटमा तीन–चार जना एकैसाथ नबस्ने
–एउटै ओछ्यानमा धेरै जना नसुत्ने
–घरको हरेक सदस्यले आआफ्ना छुट्टै तौलिया प्रयोग गर्ने
–परिवारमा जमघट नगर्ने, घरमा पनि सामाजिक दूरी बनाएर बस्ने
–प्रत्येक १ वा २ घण्टाको फरकमा साबुन–पानीले २० सेकेन्डसम्म राम्ररी हात धुने
–यसैगरी केही घण्टाको फरकमा आँखालाई पानीले पखाल्ने
–स्वास्थ्यबद्र्धक र पोषिला खानेकुरा खाने
–झोल पदार्थ र मनतातो पानी बेलाबेला खाइरहने
–कुनै औषधि खाने गर्नुभएको छ भने नियमित रूपले सेवन गर्ने
–घरका केटाकेटी तथा बूढाबूढीको स्वाथ्यमा विशेष ध्यान दिने
–हाँछ्यु गर्दा, खोक्दा नाक र मुखमा सफा रुमाल राख्ने
–घरका सदस्यसँग कुराकानी गर्दा मास्क प्रयोग गर्ने
–अत्यावश्यक कामबाहेक घरबाट बाहिर ननिस्कने, घरका झ्याल÷ढोकाका हेन्डिल, रेलिङमा पनि सेनिटाइजर हाल्ने
–जथाभावी पान, खैनी, गुटखा खाएर नथुक्ने
–ट्वाइलेट सफा राख्ने, घरको एक सदस्यले शौचालय प्रयोग गरेपछि फिनाइल वा डिटोल वा ब्लिचिङ पाउडर हालेर तातो पानीले फ्ल्यास गरेर मात्र अर्को व्यक्तिले प्रयोग गर्ने
–मैलो लुगा एकै ठाउँमा राखेर नधुने
–खाना खाने बेला पनि एकअर्काबाट कमसेकम १ मिटरको दूरी बनाएर बस्ने
–खाना खाने थाल, बटुका, गिलास, कप, चम्चा आपसमा साटासाट नगर्ने
–नाकमा औंला नहाल्ने, केही व्यक्तिको नाकमा औंला हालिरहने बानी हुन्छ, यस्तो गर्नु हुँदैन। याद राख्नुस्, कोरोना भाइरसको संक्रमण हुने एक कारण यो पनि हो ।
–प्याकेट वा डिब्बा बन्द खाद्य पदार्थलाई सेनिटाइजर गर्ने, बाहिरबाट प्याकेटमा आउने दूध वा अन्य डिब्बा बन्द खाने÷पिउने चिजबिज पाकेटबाट झिक्नुभन्दा अगाडि प्याकेटलाई सेनिटाइज गर्ने र सफा हातले सामान निकाल्ने ।
–आफूलाई ज्वरो आएमा, रुघाखोकी लागेमा तुरन्त नजिकको अस्पताल वा चिकित्सककहाँ गएर जँचाउने
–प्रयोग गर्ने मोबाइलको कभरलाई झिकेर बेलाबेला टिस्यु पेपरमा सेनिटाइजर राखेर अगाडि र पछाडिको भाग सफा गर्ने र केही बेर सुकाउने
–म त घरबाट बाहिर निस्केको छैन, कोरोना भाइरसबाट संक्रमित वा सम्भावित व्याक्तिको सम्पर्कमा छैन । घरमै बसेको छु । पूर्ण रूपले सुरक्षित छु भनेर फुरुङ नहुनुस् । तपाईंको सानो लापर्बाही वा भूलले ठूलो समस्या निम्त्याउन सक्छ ।
त्यसैले चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी ज्यान जोखिममा राखेर कोरोनाविरुद्ध लडिहरेका छन् भने हामी आफ्नो घरमै बसेर सहयोग गर्न सक्दैनौ ? एकपटक गम्भीर भएर सोचौं । हाम्रो सानो प्रयासले पनि देशमा कोरोना भाइरसको संक्रमण फैलिनबाट रोकिन सक्छ ।
प्रकाशित: ८ वैशाख २०७७ ०६:२० सोमबार