विचार

यस्तो छ फ्रान्सको लकडाउन

कोभिड–१९ को महामारीका कारण फ्रान्स सरकारले मार्च १६ मा पन्ध्र दिनका लागि फ्रान्सभरि लकडाउन घोषणा गर्‍यो। पछि लकडाउन पन्ध्र दिनका लागि थपियो। खाद्यान्न पसल र औषधि पसल अतिरिक्त सबै सार्वजनिक कार्यालय, रेस्टुरा, होटेल र भण्डारहरू बन्द गरिए। कम्पनीहरूलाई मजदूरलाई बिदा दिन आग्रह गरियो। फ्रान्सभरि अत्यावश्यक मानिएकाबाहेक सबै सेवा र उत्पादन कार्य बन्द गर्न भनियो। 

फ्रान्समा ७८ हजारभन्दा बढी कोभिड–१९ का संक्रमित छन्। अप्रिल ७ सम्ममा मर्नेको संख्या दस हजार पुगिसकेको थियो। यो क्रम अझैपनि उत्कर्षमा पुगिसकेको छैन। फ्रान्समा लकडाउन गरिएको तीन साता बितिसकेको छ। यतिञ्जेल फ्रान्सेली समाजमा गहिरो वर्ग विभाजन सतहमा देखापरेको छ। फ्रान्सको ठूला सहरमा बस्दै आएका धेरै मध्यवर्गीय र धनी परिवार बिदा मनाउन ग्रामीण भेगका आफ्ना घर र दरबारमा गएका छन्। १ करोड २० लाख जनसङ्ख्या भएको पेरिस महानगरबाट मार्च १३ देखि २० सम्ममा १२ लाख मानिस बाहिरिएको अनुमान छ। लकडाउनका बखतपनि सौखिन जीवन बाँचेको भनी धेरै सेलिब्रिटीको आलोचना भएको छ। लेखकमारी डारिसेकले ग्रामीण भेगमा आफ्नो मनमौजी भ्रमण र उनको आँगनमा आएका मृगबारे लेखेका लेखको चर्को आलोचना भएको थियो। त्यस्तै कलाकार तथा गायिकालो डायलनले यतिबेला कलाकृतिको भण्डार नखुलेकामा दुःख व्यक्त गरिन्। उनका लागि कलाकृतिको भण्डार पनि देशको लागि अत्यावश्यक सेवा थियो। 

कुनै दोस्रो घर नभएका निम्नमध्यम तथा कामदार वर्ग भने कुनै बगैँचा वा बालकोनी नभएको सानो कोठाभित्र कुचुक्क परेर बस्न बाध्य छन्। उनीहरूलाई ताजाश्वास फेर्न स्वच्छ हावासमेत उपलब्ध छैन। फ्रान्स सरकारको आधिकारिक तथ्याङ्क अनुसार फ्रान्सको कुल जनसङ्ख्यामध्ये दस प्रतिशत अति भीडभाड बस्तीमा बस्छन्। पेरिस महानगरमा धेरै आप्रवासी र गरिब जनता ससाना कोठामा खुम्चिएर बस्न बाध्य छन्। उनीहरू बस्ने कोठा २.५ वर्ग मिटर (२७वर्गफिट) को मात्र हुन्छ। त्यति सानो कोठाका लागि उनीहरू सयौँ युरो भाडा तिर्न बाध्य छन्। बस्नका लागि घर नभएका पनि छन्। घर नभएका, आप्रवासी र शरणार्थी तथा केही मागिखाने जनता सरकारले जारी गरेको घरभित्र बस्ने, सरसफाइ र आपसी दूरीको निर्देशन पालना गर्न सक्दैनन् किनभने उनीहरूको न घर छ न मनग्गे सफापानी नै छ। फ्रान्समा घरबार नभएका मानिसको संख्या कति छ कुनै औपचारिक तथ्याङ्क छैन। तर एउटा संस्थाले गरेको अनुमान अनुसार आपत्कालीन बन्दोबस्त वा शरणार्थीका लागि बनाइएका आश्रयस्थलमा बस्नेहरूको सङ्ख्या झन्डै २ लाख ५० हजार छ।

अवस्था यस्तै रहे र सरकारले कुनै ठोस कदम नचाले फ्रान्सेली समाजको सामाजिक–आर्थिक विभाजनको रेखा अझ खतरनाक र घातक बन्दै जानेछ। 

सरकारले सर्वसाधारणलाई अत्यावश्यक परेको अवस्थामा बाहेक छरछिमेकी, काम, तरकारी पसल, हिँडडुल वा केटाकेटी र घरपालुवाका लागि पनि घरबाहिर नआउन सूचना जारी गरेको छ। कसैलाई बाहिर जानुपरे ठेगाना, मिति र घरबाहिर जानुपर्नाको कारणसहित खुलाएको अनुमतिपत्र बोकेर जानुपर्छ। यसको अर्थ तपाइँ साक्षर हुनुपर्‍यो अथवा त्यस्तो अनुमतिपत्र बनाइदिने तपाईँसँग कोही सहयोगी हुनुपर्‍यो। तपाईँसँग लकडाउन अवधिभरका लागि कम्तीमा एउटा प्रिन्टर हुनुपर्‍यो अथवा मनग्गे छाप्ने कागज हुनुपर्‍यो। फ्रान्सका केही घरबारविहीन र गरिब जनता यस्ता अनुमतिपत्र बनाउन सक्दैनन्। लिओन सहरका धेरै घरबारविहीन मानिसलाई सडकमा आएको भन्दै प्रहरीले गिरफ्तार गर्‍यो। गरिब र ग्रामीण क्षेत्रका जनताले खाद्य पसलसम्म पुग्न लामो समय हिँड्नुपरेको र त्यसकारण घरबाट बाहिर आउनुपरेको गुनासो गरेका छन्।

सर्वसाधारण फ्रान्सेलीको अर्को समस्या भनेको उनीहरूका केटाकेटीको पढाइसम्बन्धी हो। मार्च १६ देखि सबै विद्यालय र विश्वविद्यालय बन्द छन्। बन्दको एकसाता पछि अनलाइन कक्षा सुरु भयो। अनलाइन कक्षामा बस्न सबै केटाकेटीको कम्प्युटरमा सहज पहुँच हुनुपर्‍यो। फ्रान्सका धेरै गरिब परिवारका निम्ति सबै केटाकेटीको घरमा अलग ठाउँ हुनु र आरामसँग बसेर स्कुलको काम गर्नु भनेको ऐयासी व्यवस्था हो। धेरै अभिभावक आफ्ना केटाकेटीको पढाइको हेरविचार गर्न सक्ने गरी पढेलेखेका पनि छैनन्। फ्रान्सको कामदार जनताका लागि घरमै बसेर काम गर्ने सुविधा सहज छैन। उनीहरूसँग कि भाइरस संक्रमणको जोखिम मोलेर बाहिर गर्नुपर्छ नभए घरमा बेरोजगार भएर बस्नुपर्छ। घरमा केटाकेटी स्याहार्दै बस्नुपर्छ। त्यसरी घर बस्नु फ्रान्सेली कामदार जनताका लागि वास्तवमै असम्भव छनोट हो। एक जना सामान घर घर पुर्‍याउने मजदूर लकडाउनका कारण आफ्नो परिवारसँग भेट्न पनि नपाएको भन्दै निराशा पोख्दै थिए। आफूले बिना सुरक्षा सामग्री काम गर्नुपरेकाले परिवारसँग भेट्न नसकेको उनले दुःख पोखे। ‘राष्ट्रपति म्याक्रोले हामीलाई बिर्सिसके’–उनले भने। 

त्यस्ता दुःख भएका मानिस उनी एक्लै होइनन्। बितेका केही सातायता मजदूरहरूले आफ्नो जीवन नै दाउमा राखेर देशलाई ‘अत्यावश्यक वस्तु’ पुर्‍याउने काम गरिरहेका छन्। उनीहरू निकै असुरक्षित अवस्थामा काम गरिरहेका छन्। उनीहरूको अवस्थाका निम्ति जिम्मेवार कम्पनीका प्रबन्धकहरू भने घरमा बसेर काम गरिरहेका छन्। सर्वत्र विरोध भएपछि एमेजन जस्ता केही कम्पनीले आफ्ना मजदूरको सुरक्षा सामग्री बन्दोबस्त गर्ने निर्णय गरेका छन्। यसरी केही मानिसका लागि लकडाउन भ्याकेसन भएको छ। आफ्नो जीवनबारे समीक्षा गर्ने वा रमाइलो गर्ने समय भएको छ। तर अरु धेरै मानिसका लागि यो बाँच्नका लागि संघर्ष गर्नुपर्ने समय भएको छ। यस्ता समस्या समाजमा पहिले पनि थिए तर भाइरस प्रतिरोधका लागि सरकारले लिएका पछिल्लो निर्णयले ती समस्यालाई सतहमा ल्याएको छ। यदि अवस्था यस्तै रहे र सरकारले कुनै ठोस कदम नचाले फ्रान्सेली समाजको सामाजिक–आर्थिक विभाजनको रेखा अझ खतरनाक र घातक बन्दै जानेछ। 
(फ्रान्सका पत्रकारको लेख अलजजिराबाटनीरज लवजूको अनुवादमा)

प्रकाशित: ५ वैशाख २०७७ ०३:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App