विचार

लकडाउन : कति सदुपयोग?

नेपाली सामाजिक मनोविज्ञानमा अधिकांश व्यक्तिमा कार्यतालिका बनाएर घर व्यवहार वा त्यस्तै आफ्ना दैनिकी व्यवस्थापन गर्ने बानी परेको हुँदैन । नियमित दैनिकीअन्तर्गत चिया, बिस्कुट, पाउरोटी वा अण्डा आदि खाएर बिहानीलाई बिदा गर्दा÷नगर्दै कार्यालय, स्कुल–क्याम्पस वा व्यवसायमा जानुपर्ने हुँदा सम्भव भएसम्म मध्याह्नअघि नै बिहानको खाना खाइसक्ने, कार्यालय वा व्यवसायमा रहेका व्यक्तिले प्रायः दिनको खाजा बाहिरै खाने तथा रातमा कम र हल्का खानुपर्ने औषधि विज्ञानको मान्यताविपरीत धेरै र गरिष्ठ भोजन गरेपछि अधिकांश नेपालीको दैनिकीचक्र पूरा हुने गर्छ । यसरीआवश्यकतालाई आर्थिक र व्यावहारिक हैसियतमा सम्पादन गर्दै आइएको हुँदा भोलिका लागि खासै चिन्ता नलिने मनोविज्ञानबाट ग्रसित हुनु अन्यथा मानिँदैन ।

घटनाबाट पाठ सिक्नुपर्ने हुन्छ । २०७२ सालमा भूकम्प आएपछि सबैको मनोविज्ञानमा अकल्पनीय त्रास र दैनिकीमा अनपेक्षित व्यवस्थापन गर्न बाध्य भइएको पीडा सम्भवतः धेरैले बिर्सिसकेको हुनुपर्छ । भूकम्पजस्ता प्राकृतिक दुर्घटनाको पूर्वकल्पना र अनुमान गरिँदैन । विज्ञानले यसतर्फ धेरै प्रगति गरिसकेको हुँदा केही मुलुकमा राष्ट्रियस्तरमा सतर्कता कायम गर्न सूचना सार्वजनिक गर्ने गरिन्छ तर नेपालमा त्यस्तो सम्भावना नहुँदै भूकम्प आएको हुँदा हताहतको संख्या पनि बढेको थियो । अधिकांश नेपालीलाई ‘परेपछि देखाजाला’ भन्ने भूतले पछ्याइरहेको पाइन्छ । प्रायः नेपालीमा काम सकिइसकेपछि चेत खुल्नेगर्छ भनेर सम्भवतः त्यसै भन्ने गरिएको होइन । प्रारम्भिक दिनमा लकडाउनको पालना नगरिएकामा व्यंग्य गर्दै नेपालीलाई बाहिर निस्केमा गोली हानिन्छ भनेर आदेश जारी भएमा पनि ‘साँच्चै गोली हान्छ कि हान्दैन वा गोली हानेको छ कि छैन’ भनेर बाहिर निस्कन्छन् भनेर सामाजिक सञ्जालमा सम्प्रेषित भनाइलाई साभार गर्नु उचित होला ।

केहीदिन पत्रपत्रिका प्राप्त हुन नसकेकामा नागरिक र रिपब्लिका दैनिकले निःशुल्क पत्रिका वितरण गरेर धेरैलाई समय बिताउन राहत प्रदान गरेको हुनुपर्छ ।

२०७२ सालकैजस्तो अवस्था यस लकडाउनमा परेको होइन । सरकारले लकडाउन सुरु हुने अग्रिमसूचना सार्वजनिक गरेपछि अधिकांश व्यक्ति चामल, दाल, तरकारी, ग्यास, चिनीआदि सञ्चय गरेर राखेपछि बन्दअवधि सजिलैसित टरिहाल्छ भन्ने मनोविज्ञानले गर्दा आवश्यकताभन्दा बढी नै खाद्यान्न र ग्यास आदि सञ्चय गर्न लागेका हुँदा नियमितभन्दा बढी नै आपूर्ति हुँदा पनि बजारमा ग्यास अभाव सिर्जना गरियो । कहिलेकाहीँ नेपालीको मनोविज्ञान उदरपूर्तिभन्दा माथि उठ्न सकेको रहेनछ भन्न मन लाग्छ । कसैगरी खानु अनि त्यसपछि फेरि खानुको तालिकाभित्र दैनिकी बित्छ वा बिताउनुपर्छ भन्ने सोच भएपछि अन्यथा सोच्न सक्ने अवस्था आउँदैन । त्यसैले आजको पुस्ताले भोग्दै र महसुस गर्दै आएको दैनिकीभित्र बौद्धिक, सिर्जनात्मक र रचनात्मकजस्ता काम हुनसकेका पाइँदैन । आखिरमा घरभित्र बस्ने न हो, नियमित तालिकाअनुसार खायो र दिन बितायो भन्ने सोचमा कुनै सुधार र परिवर्तन हुन नसक्दा लकडाउनको घोषणा भएपछि धेरैमा थप चिन्ता पाइएको होइन । केही नलागे दिनभर टेलिभिजन हे-यो, अनि कोरोना भाइरसले मच्चाएको विश्वव्यापी आतङ्कका समाचार हेरेर झनै त्रसित हुने तनावप्रति ध्यान जानसकेको होइन । यसबाट धेरैमा एकप्रकारको मनोवैज्ञानिक तनावले गर्दा कतिजनामा उच्चरक्तचाप र मधुमेहको समस्या बढ्न सक्छ भन्ने जानकारी त्रिवि शिक्षण अस्पताल, मनमोहन कार्डियोथोरासिस भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरका प्रा.डा. रत्नमणि गजुरेलबाट प्राप्त भएको हो ।

गृहिणी महिलामा यसको कुप्रभाव परेको देखिन्छ । लकडाउन नहुँदा परिवारका धेरै सदस्य कार्यालय र व्यवसाय तथा विद्यार्थी उमेरका सन्तान स्कुल–क्याम्पसतिर जाने हुँदा प्रायः घरको काम समय मिलाएर सम्पन्न गर्नेगरिएको दैनिकी अकस्मात भङ्ग भएको छ । जतिबेला पनि चिया र खाजाको व्यवस्था गर्दागर्दै झनै थकित हुनुपर्ने निजहरूको पीडा प्रायः पुरुषसदस्यले बुझ्ने गरेका हुँदैनन् । हिजो विद्यार्थी जीवनमा भात पकाउने, भाँडा माझ्ने र लुगा धुने गरिएको अनुभव मानौँ सम्पन्न वा जागिरे भएपछि विस्मृतिमा पुगेजस्तै घरभित्रको काममा सघाउँदा आफ्नो मानमर्दन हुनेगरेको हुन्छ भन्ने ठानेको हुन्छ । सम्पन्न र राम्रै जागिर भएपछि आपूm ‘मालिक’ र श्रीमती ‘नोकर्नी’ मा रूपान्तर भएको ठान्ने बौद्धिकदरिद्रताले धेरै घरमा धेरै महिला सदस्य झनै आक्रान्त हुनेगरेका हुन्छन् । जीवनमा पहिलोपटक आफूले खाना वा खाजा बनाएको र झुक्किएर भाँडा माझेको फोटो फेसबुकमा सार्वजनिक गरेपछि आफ्नो बहादुरी प्रमाणित भएको ठानेको हुनुपर्छ । तिनै काम घरमा महिला सदस्यले गरिरहँदा त्यस्ता पुरुषसदस्यमा तृणबराबरको ग्लानि देखापरेको हुँदैन ।

कोरोना भाइरसबाट बच्नु र बचाउन आफू पनि शारीरिक र मनोवैज्ञानिकरूपमा तनावमुक्त भएर सधैँ स्वस्थ र मस्त हुन सकिएमा अरुले सकारात्मक पाठ सिक्नेछन् भन्ने विश्वास पनि लिनसकिन्छ ।

एककिलो मकैमा कतिदाना हुन्छन् भन्दै गनेर, कतिपटक त्यसदिन चिया पिइएछ, कतिपटक खाजा खाइएछ, कतिघण्टा सुतिएछ, दिनमा कतिवटा फिल्म हेरिएछअथवा यसरी नै कतिघण्टा टेलिभिजन हेरेर बिताइएछ भन्नेजस्ता सूची बनाएर फेसबुकमा राखेपछि रमाइलोसित दिन बितेको अर्थमा लिइएको हुनुपर्छ तर दैनिकी कति पीडादायी रहेछ भनेर मनोवैज्ञानिक र बौद्धिक मूल्याङ्कन गर्न सकेका होइनन् ।कसैले त श्रीमतीको जुम्रा मार्दै गरेको फोटो राख्नुभएको छ । कति वकिल मित्र परिवारभित्रै नृत्य र सङ्गीतको माध्यमबाट दिन काट्ने कोसिसमा देखिनुहुन्छ । कति लोग्नेमानिसले यस अवधिमा बढेको दारीजुँगासहितको फोटो राख्नुभएको छ ।

कतिले यस अवधिमा सामाजिक सञ्जालमा भरपुर मनोरञ्जन गर्नमिल्ने संवादआदि राख्नुभएको छ । अरु कुनै काम नभएको अर्थमा बुझ्नुपर्ने यस्ता फोटो तथा संवादले ‘एक कामको विकल्प अर्को काम हुन्छ’ भन्ने सोच तयार गर्ननसक्नुको नतिजा हो । घरमा बसेर चिया पिउनु, खाजा÷खाना खानु, टेलिभिजन हेर्नु र अल्छी लाग्नासाथ सुत्नुमात्र लकडाउन बिताउन सकिने अवस्था होइन रहेछ भनेर धेरैले महसुस गरेको हुनुपर्छ ।२०७२ को भूकम्पको प्राकृतिक प्रकोप अकस्मात भएको हुँदा त्यसबेला सुरक्षातर्पm बढी ध्यान दिनुपर्ने हुँदा दिन बिताउन मिल्ने स्रोत र साधनको व्यवस्था गर्नेतर्पm पूर्वतयारी गर्न नसकिएको हुन सक्छ तर त्यसबखत कठिनपूर्वक दिन बिताइएको पीडा सम्झेर मानवचित्तको तृष्णालाई यसपटक पनि बुझ्नसकेका होइनौँ । बन्दअवधिकोपूर्वजानकारी हुँदाहँदै पनि खाना र रमाउनु मात्र दिन बिताइने साधन नहुने रहेछ भनेर पूर्वतयारी गर्न नसकिएको पीडा धेरैले भोग्नुभएको हुनुपर्छ ।

यस अवधिले धेरैजनालाई टुक्रे कवि वा लेखक बनाएको देखिन्छ भने भावनात्मक संवादआदि सम्प्रेषण गरेर देश, काल, परिस्थितिप्रति चिन्तित रहेको भावना जाहेर गर्नुभएको पाइन्छ । केही फेसबुक मित्रलाई दृष्टान्तमा राखेर सिर्जनशीलतातर्फ चर्चा गर्नु उचित देखेको छु । कोही निरन्तर सामाजिक सचेतनातर्फ लागिरहनुभएको छ भने कोही दिनहुँजसो कुनै न कुनै सन्देशमूलक विषय लिएर देखापरिरहनु हुन्छ । पूर्वतयारीको सोच नहुँदा केही मित्र आफ्ना सङ्ग्रहमा रहेका पुस्तक पढेर दिन बिताउन बाध्य हुनुुभएको छ । केही मित्रले महाभारतजस्ता पुस्तक पढेर बिताउने गरेको भनाइ सार्वजनिक गर्नुभएको छ । केही चित्र कोर्नमा ब्यस्त भएतापनि ‘बोर्ड’ किन्न नपाइएको पीडामा हुनुहुन्छ । यस्तो हुनुमा पूर्वतयारीको अभाव हो भनेर बुझ्न सकिन्छ । आफ्नो मनोविज्ञान आफैँले बुझ्न नसक्नुको परिणति यस्तै हुन्छ  । यसबीच केहीदिन पत्रपत्रिका प्राप्त हुन नसकेकामा नागरिक र रिपब्लिका दैनिकले निःशुल्क पत्रिका वितरण गरेरधेरैलाई समय बिताउन राहत प्रदान गरेको हुनुपर्छ ।

यसबीच देशभित्र आउन नपाएर सीमापारि अलपत्र परेका केही नेपालीका पीडाको विषयलाई त बिबिसी नेपाली सेवाले अन्तर्वार्तासमेत प्रस्तुत गरेर विशेषस्थान दिएको पाइन्छ । सरकार सम्बद्ध राजनीतिक दलका केही सांसदले यसतर्पm सरकारको ध्यानाकर्षण गरेका देखिन्छ । साथै कोरोना सम्बद्ध औषधिलगायतका सामान पैठारीमा करोडौँ रुपियाँको भ्रष्टाचार भएको र पत्रिकामा प्रकाशित समाचार गैरकानुनी तकनिकी प्रयोग गरेर हटाइएकोजस्ता विषयले बजार तताएकै हो । फेरि ख्यातिप्राप्त उद्योगपतिबाट मेडिकल उपकरणमा कालोबजारी गरेको समाचारप्रति धेरैको चासो बढेको देखिन्छ । यसबाट फुर्सदमा टिकाटिप्पणी गर्न केही मित्रलाई समय मिलेको देखिन्छ तर बन्दअवधिलाई मनोरञ्जनात्मक र औषधीय दृष्टिकोणमा सकारात्मक सन्देश दिन दीपक वज्राचार्यसहितको टोलीले ‘म्युजिकल मेडिसिन लाइभ कन्सर्ट’ प्रस्तुत भएको सकारात्मक सोचको प्रशंसा गर्नैपर्ने हुन्छ ।लकडाउनमा गर्नुपर्ने कामको सूची राखेर टेकनारायण कुँवरले सकारात्मक सन्देश प्रवाह गर्नुभएको छ । नागरिक दैनिकले बन्दअवधिमा प्राप्त सकारात्मक अनुभवलाई संक्षिप्त लेख्न लगाएर विद्यार्थीलाई पुरस्कारसहित उत्प्रेरित गर्नु राम्रो कदम मान्नुपर्ने हुन्छ ।
आफ्नो सिप वा कौशललाईयस्तै अवस्थामा बुझ्नुपर्ने हुन्छ । ‘नागरिक वर्ष व्यक्ति’ चयन गर्न अभिमत संकलनका लागि नागरिक दैनिकले विज्ञापन गरिरहेको तथ्यलाई आत्मसात गरेर मित्रहरूबीच ‘फेसबुकमा सम्प्रेषित विषयमा कसलाई मुक्तकण्ठले प्रशंसा गर्नुहुन्छ ?’ भनेर मैले सोधेको थिएँ । यस्ता विषय पनि जानकारी लिनुपर्ने विषय हो र, वा यस्ता विषय कुनैदिन कुनै लेखमा सन्दर्भसामग्री बन्नसक्नेछ भनेर कल्पना गर्ननसक्दा धेरैले सहभागिता जनाउनुभएन । तर जति जनाले सहभागिता जनाउनुभयो, त्यसबाट यस्ता लेख तयार गर्न ऊर्जा प्राप्त हुँदोरहेछ । 

विमला गुरुङले ‘यमुना घले’ लाई नमुना व्यक्ति बनाउनुपर्ने विचार राख्नुभयो । त्यसपछि घलेको ‘वाल’ हेर्दा वास्तवमा उहाँले बन्द अवधिमा बनाइने स्थानीय खानाको परिकार, अर्गानिक तरकारीलगायत बगैँचामा पनि आफू व्यस्त रहेको विवरण दिने गर्नुभएको रहेछ । कसैले महावीर पुनको पनि नाम लिनुभएको थियो तर पिपिइ तयार गर्ने जस्ता प्रशंसनीय काम गरिरहनुभएको यथार्थतामा पनि उहाँको काम उहाँकै फेसबुकमार्पmत सार्वजनिक नहुने हुँदा त्यसतर्पm हाम्रो चासो रहन सकेको होइन । केही मित्रको नामै लिएर भन्नुपर्दा बगैँचा र फूलको स्याहारमा रत्ना कार्कीको निःसन्देह मुक्तकण्ठले प्रशंसा गर्नैपर्ने हुन्छ । अरुलेजस्तै आफ्ना फोटा नराखेर उहाँले फूल र फूलबारीको उत्कृष्ट स्याहार र सजावट गर्नुभएको देखिन्छ । फूल, गमला, बगैँचा, अक्वारियमप्रतिको मोहमा चुर्लुम्म डुब्नुहुनेमा परशुराम सिंहको नाम लिनैपर्ने हुन्छ । साथसाथै बगैँचा आदिका लागि आवश्यक पर्ने काठका सामान उहाँ आफैँले तयार गर्ने गर्नुभएको देखिन्छ । बगैँचाको कुरा गर्दा केही दिनदेखि अञ्जना महरा बस्नेत, मीना राईजस्ता मित्र फेसबुकमा देखापर्नुभएको छ । सिर्जनशीलता भनेको एउटा प्यास हो, त्यसलाई पूरा गर्न मानिस सधैँ उत्सुक र तयारी अवस्थामा रहन्छन् ।

यस्ता झिनामसिना कुराबारे पनि लेख लेखिन्छ र? भन्ने प्रश्न र जिज्ञासा देखा पर्न सक्छ तर यी सीमित मित्रको दृष्टान्तमा प्रस्तुत आलेखले हाम्रो सामाजिक मनोविज्ञान र वैयक्तिक आचरण वा स्वभावको प्रवृत्तिलाई आगामी दिनमासचेतना अभिवृद्धि गर्नेछ भनेर अभिलेखीकरण गर्न यस्तो आलेख लेखिएको हो । र, यस्ता लेख लेखिरहनुपर्छ भन्ने मेरो मान्यता हो । सानो सुकर्म र सिर्जना पनि यसरी अभिलेखीकरण हुँदोरहेछ भन्ने सन्देशले आगामी दिनमा सकारात्मक र सिर्जनात्मक काममा लागिरहन र आफ्नो मानवचित्तलाई तुष्टि गर्नका निमित्त सबैले समयमै पूर्वतयारी गर्नसक्नुपर्छ भन्ने सन्देश पनि प्रवाह हुनेछ भन्ने अपेक्षा राखिएको हो । कोरोना भाइरसबाट बच्नु र बचाउन आफू पनि शारीरिक र मनोवैज्ञानिकरूपमा तनावमुक्त भएर सधैँ स्वस्थ र मस्त हुन सकिएमा अरुलेसकारात्मक पाठ सिक्नेछन् भन्ने विश्वास पनि लिनसकिन्छ ।

प्रकाशित: १ वैशाख २०७७ ०३:४७ सोमबार

लकडाउन दैनिकी_व्यवस्थापन