विचार

स्व बन्दीको शिक्षा

प्राकृतिक विपत्ति समय चक्रका क्रममा नियमित रूपमा आइरहने, मानिसले भोग्नुपर्ने र विजय प्राप्त गर्नुपर्ने स्वाभाविक परिस्थिति हुन्। एकाइसौं शताब्दीको सुरुदेखि नै मानवले विभिन्न यस्ताविपद्, दुर्घटनासँग संघर्ष गरिरहेका छन्। अहिलेको कोरोना भाइरस (कोभिड–१९) ले निम्त्याएको संकटलाई पनि मानिसले निश्चय नै जित्नेछ। कालो बादलमा चाँदीको घेरा भएजस्तै आशाका किरणले नै मानवलाई विषम परिस्थितिसँग जुध्ने साहस प्रदान गर्छ। निश्चय पनि साहस र प्रयत्नले मात्रयी र यस्ता संकटबाट बाहिर निकाल्न मद्दत गर्छ।

हरेक विपत्ति कठोर हुन्छन्। मानिसका आँसु, पसिना र रगतले यसको मूल्य चुकाउनुपर्छ। परिवार ध्वस्त हुन्छन्। बस्ती अन्धकारमय हुन्छन्। यतिबेला कोरोना भाइरसका कारण उहान, रोम,न्युयोर्क वा माड्रिडले बेहोर्नुपरेको मानव क्षति अकल्पनीय  छ। नेपालजस्ता विकासोन्मुख र अझै राजनीतिक चिन्तनको संक्रमण चरणमा रहेका देशले कोरोनाको महाविपत्तिबाट पाठ सिक्न जरुरी हुन्छ। यो महामारी महिनौँ चलिरहने छैन। चीनले एक हदसम्म यसलाई नियन्त्रणमा लिइसकेको छ भने अन्य देशले पनि अनेक उपाय अपनाएर विस्तारै नियन्त्रणमा लिने नै छन्। नेपालजस्ता सीमित स्रोत/साधन भएका देशले महामारी विरूद्धको युद्धमा आफूलाई दुई तहमा सामेल गर्नु पर्छ। 

पहिलो तहमा अल्पकालीन र तत्कालीन परिस्थिति नियन्त्रणमा लिन सरकारले गरेका काम सराहनीय नै छन्। तर हालको अवस्थामा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र राजनीतिक नेतृत्व पंक्तिको त्रिकोणात्मक सम्बन्ध समकोण त्रिभुजको जस्तो भयो कि भएन भन्ने हो। सत्ताको आशीर्वाद आफूतिर ढल्काएर कुनै एउटा पक्षले विषम परिस्थितिमा लाभ लिन खोज्यो भने अरू पक्षले त्यसलाई कसरी नियन्त्रण गर्छ वा गरे भन्ने कुरा नै भोलिका दिनमा लेखाजेखाको प्रमुख विषय हुनेछ। सबै पक्षको प्रभावकारी संयोजनले मात्र हामीले यो तत्कालीन परिस्थितिबाट मुक्ति पाउनेछौं।त्यस्तै अर्को दीर्घकालीन तहमा पनि नीतिगत अभ्यास सुरू हुनु पर्छ। कोभिड–१९ भनेको सूक्ष्म विषाणुले ल्याएको विश्वव्यापी महामारी हो। २०७२ सालको भूकम्पले एक तहमा मानिसको अवधारणामा प्रहार गरेको थियो।

स्थिर मानिरहेको जमिन नै हल्लियो भने सबैभन्दा भयावह अवस्था आउँदो रहेछ भनेर हाम्रो युगमा बुझेको पहिलो घटना थियो। हुन त संस्थागत स्मृतिमा त्यसलाई हामीले त्यति राम्ररी राख्न सकेनौं र हाम्रा नीतिमा हुनुपर्ने जति सुधार हुन सकेनन्। तर अब कोरोनालाई मात्र नभएर विश्वव्यापी महामारीलाई हामीले संस्थागत सम्झनामा कसरी राख्छौं भन्ने कुराले नै हाम्रो दीर्घकालीन सोच देखाउनेछ। विपत्ति सामनाको तयारी राष्ट्रिय रूपमा गर्न सरकारले स्वास्थ्य, आपूर्ति र शिक्षालाई विपद् व्यवस्थापनको केन्द्रमा राखेर चिन्तन गर्नुपर्ने देखिन्छ। सहज समयमा हामीले डा. गोविन्द केसीले उठाएका मागलाई प्रहसनको विषयबनायौं। बर्डफ्लुका कारण पछिल्ला २० वर्षमा हामीले हजारौं कुखुरा मारिरहँदा मानिसमा कोरोनाजस्तो विषाणुको संक्रमण होला भनेर शंकासमेत गरेनौं।

बर्डफ्लुका कारण हामीले हजारौं कुखुरा मारिरहँदा मानिसमा कोरोनाजस्तो विषाणुको संक्रमण होला भनेर शंकासमेत गरेनौं। यहींनेर सत्ताले ठूलो ठूलो गल्ती गरेको छ।

यहींनेर सत्ताले सबैभन्दा ठूलो गल्ती गरेको छ। स्थापित मूल्य र मान्यताभन्दा माथि उठेर सोच्ने प्रबुद्ध वर्गलाई हामीले झोले बनायौं र तर्कसम्मत, विज्ञानसम्मत कुरा गर्नेहरूलाई समाजमा भडुँवा मात्र देख्यौं। हामीले स्वास्थ्य र शिक्षाका कुरा गर्दा यो विवेकहीन मार्गलाई छाडेर सबै वैकल्पिक सम्भावनालाई कुनै राजनीतिक आदर्शको रङभन्दा बाहिरबाट सोच्ने तयारी गर्न सक्छौं कि सक्दैनौं भन्नेमा भविष्यप्रतिको हाम्रो जिम्मेवारी बोध निर्भर रहन्छ। जनस्वास्थ्यलाई इमानपूर्वक राज्यको जिम्मेवारी मान्ने क्यानडाजस्तो देशबाट हामीले अहिलेको अवस्थामा सिक्न जरुरी छ। समाजवाद भनेको व्यापारीलाई चुनाव लड्ने टिकट दिएर उसका पैसाले पार्टी चलाउने र उसलाई चुनावी प्रतिस्पर्धाभन्दा बाहिरको चोरबाटोबाट राष्ट्रिय नेतृत्वमा लैजाने परिपाटी हो त ? यो प्रवृत्तिले राज्यलाई सबैभन्दा बढी घाटा हुन्छ भन्ने कुरा सत्ताले यस्तै विपद्का बेलो बुझ्न जरुरी छ।

राज्यको नियन्त्रणमा रहेका भएका स्वास्थ्य, शैक्षिक तथा आपूर्ति गर्ने संस्थाले मात्र विपद्का बेला साथ दिन सक्छन्। व्यापार र राजनीतिको बीचमा रहने झिनो रेखामा नेतृत्वकर्ता अर्जुन दृष्टि पुगेमामात्र भावी विपद्लाई सहज रूपमा हल गर्न सकिन्छ भन्ने कुरा दीर्घकालीन रणनीतिको हिस्सा हुनुपर्छ। विपद्सँग लड्न हामीले अहिलेसम्म गर्न नसकेको काम भनेको निश्चित किसिमको पूर्वतयारी हो। विद्यालय र विश्वविद्यालयमा भाषा, जाति, संस्कृति र समीक्षात्मक चिन्तन र लेखनका अनिवार्य विषय अध्ययन/अध्यापन हुने गरेका छन्, तर भविष्यका कर्णधारहरूलाई विपद् र यसको व्यवस्थापन सम्बन्धी कुनै विषय हामीले समावेश गरेका छैनौं। यसर्थ यस्ता विषय अब सबैभन्दा तल्लो तहदेखि नै गराउनुपर्ने आजको आवश्यकतालाई राज्यको स्मृतिले दीर्घकालीन चिन्तनका रूपमा विकास गर्नुपर्छ।

जसले मानिसलाई भौतिक, शारीरिक, मानसिक र संवेगात्मकलगायत अन्य परिवर्तन सम्बोधन गर्न सक्षम बनाउँछ। फलस्वरूप राज्य र नागरिकबीच देखिएको हालको रिक्ततापनि परिपूर्ति हुनेछ। हामीले अहिले प्रयोग गरिरहेको डिजिटल प्रविधिलाई पनि राज्यको प्राथमिकतातामा राख्न जरुरी छ भन्ने कुरामा यस महामारीले थप बल पुर्‍याएको छ। आधुनिक राज्य प्रणालीमा जनतालाई एउटा दूरीमा राखेर सामीप्यता अनुभूति गराउने भनेकैइ–शासनमार्फत हो। इन्टरनेटलाई अभिजात वर्गको भोगविलासको वस्तुमात्र ठान्ने राज्यको पराम्पगत दृष्टिकोणलाई यो कोरोना महामारीका बेला इन्टरनेट सेवामा २५ प्रतिशतमात्र छुट दिने मन्त्रिपरिषद्को निर्णयले पनि प्रस्ट पार्छ। भोलिका दिनमा स्वास्थ्य तथा अत्यावशकीय सेवाप्रवाह,सूचना सम्प्रेषण र वस्तु वितरणमा आपूर्ति शृखंला मिलाएर बजारको प्रभावकारिता कायम गर्न प्रविधि क्षेत्रमा राज्यको विशेष सुविधा र चिन्तन हुन जरुरी छ। 

विद्यालय र विश्वविद्यालयले पनि आफ्ना कक्षाकोठालाई अनिवार्य रूपमा प्रविधियुक्त बनाउन आवश्यक देखिएको छ। यसका कैयौं फाइदामध्ये प्रभावकारिता सबैभन्दा पहिलो नम्बरमा पर्छ। यसको अर्थ विश्विविद्यालय सबै अनलाइन होउन् भन्ने होइन। तर हरेक कार्यक्रममा एक वा दुई कोर्स अनलाइन हुनु नै पहिलो सर्त हुनु पर्छ भन्न खोजिएको हो। हामीले विपद्को विषम परिस्थितिका लागि हाम्रा स्रोत/साधनलाई चुस्त राख्नुपर्छ भन्ने कुरा हो। यसरी हेर्दा हामीले महामारीको समयमा काम लाग्ने शिक्षाको प्रारूप विकास गर्नुपर्ने देखिन्छ। शिक्षाको कुरा गर्दा यसको सबैभन्दा जटिल प्रक्रिया भनेको मूल्यांकन नै हो। हामीले अंगीकार गरेको परम्परागत मूल्यांकन प्रणाली विपद् मैत्री नभएको कुरा अहिले स्पष्ट देखिएको छ। वर्षको अन्त्यमा ३ घण्टा राखेर परीक्षा लिने र संघीय सरकारको कर्मचारी तन्त्रले नै विद्यालय शिक्षाको परीक्षा लिनुपर्ने बाध्यताबाट हामीले आफूलाई मुक्त गर्न सक्नुपर्छ। वैकल्पिक मूल्यांकन प्रणालीलाई हाम्रो शिक्षामा समावेश गर्नुपर्ने एउटा गम्भीर विषयलाई हाम्रा दीर्घकालीन पहलले समेट्नुपर्नेछ।

अबका दिनमा इन्टरनेट प्रविधिको विकास र पहुँचमा सरकारले विशेष जोडदिन जरुरी छ।विपद्का बेला स्वास्थ्य, शिक्षा र आपूर्तिलाई राज्यको दायित्वअन्तर्गत राखी डिजिटल प्रविधिसँग जोडेर मात्र हामीले अपेक्षाकृत लक्ष्य हासिल गर्न सक्छौं भन्ने कुरा यो महामारीले सिकाएको छ। सबै विपद्ले आ आफ्नै किसिमका दुःखद परिस्थिति निम्त्याउँछन्। मानिसको अन्तर्यमा विभिन्न चोट पार्छन्। तर हामीले मानवताको बृहत् तस्बिर हेर्ने हो भने त्यसले पनि केही शिक्षा दिइरहेका हुन्छन्। कोभिड–१९को महाविपत्तिले हाल हामीलाई यस्तै पाठ सिकाएको छ। हामीले यो अवस्थाबाट शिक्षा लिएर भविष्यका आइपर्न सक्ने विषम परिस्थितिका लागि आफूलाई तयार बनाउन आवश्यक छ। यसो गर्न सक्यौं भने मात्र हामीले अहिले भोगिरहेको स्व बन्दीकरणको मूल मर्म बुझेको ठहर्नेछ। 

प्रकाशित: २२ चैत्र २०७६ ०६:०९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App