विचार

किन गलहत्याइए लीलामणि ?

यही फागुन १८ गते बसेको मन्त्रिपरिषद् बैठकले गरेको एउटा निर्णयका कारण नेपाल सरकारको तीव्र आलोचना भएको छ। चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याललाई ८ महिना कार्यकाल बाँकी छँदै फिर्ता बोलाउने निर्णय गरेपछि सरकारको आलोचना भएको हो। विभिन्न देशमा बदनाम नेपाली राजदूत कार्यरत रहँदा तथा कतिपय देशमा महिनांैदेखि राजदूतको स्थान खाली हुँदा पनि  ध्यान दिन नसकिरहेको सरकारले हठात् पौड्याललाई राजदूतबाट हटाएपछि प्रश्न उठेको छ।

विभिन्न देशका लागि राजदूत बनेका व्यक्तिले के कति काम गरे भनेर लेखाजोखा होला। राजदूत सरकारको एउटा प्रतिनिधि मात्र हो। दुई देशका सरकारबीच पुलको काम गर्ने कूटनीतिज्ञ नै राजदूतको औपचारिक आवरण भए पनि उसले ‘ट्र्याकटु डिप्लोम्यासी’ अपनाउँदै थुप्रै काम गर्न सक्छ भन्ने कुरा पौड्यालले पुष्टि गरेका छन्।

पौड्यालको कार्यकालमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोआवो फोरमपछि बेइजिङ भ्रमण गरेर चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेट गरे। त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण र नेपाल गणतन्त्र भएपछि नेपालका राष्ट्रपतिको पहिलो औपचारिक चीन भ्रमण पनि पौड्यालकै कार्यकालमा सफल भए। अनि सबैभन्दा ठूलो सफलता २३ वर्षपछि चिनियाँ राष्ट्रपतिले नेपाल भ्रमण गरे। नेपाल र चीनबीच यातायात तथा पारवहन सम्झौता भएपछि नेपाल भूपरिवेष्टित मुलुकबाट भूजडित मुलुक बन्न सफल भएको छ। राजदूत भएर आउनासाथ चिनियाँ राष्ट्रपति र चिनियाँ रेर्ल नेपाल पु¥याउने महत्वपूर्ण दुईवटा जिम्मेवारी आफ्नो काँधमा रहेको पौड्यालले बताएका थिए। उनको एउटा जिम्मेवारी त पूरा भइसकेको छ भने चिनियाँ रेल नेपाल पु-याउन केही आधार तय भएका छन्। यी राजनीतिक उपलब्धिका साथै उनले नेपाल–चीन सम्बन्ध जनस्तरसम्म पु-याउने थुप्रै काम गरेका छन्।

पौड्यालमा गुणैगुण छन् भन्नु अत्युक्ति हुन्छ। उनको सबैभन्दा ठूलो अवगुण भनेको सत्ताका मान्छे र सत्ताधारी पार्टीका कार्यकर्ता खुसी बनाउन नसक्नु हो।

पौड्याल राजदूत हुनेबत्तिकै नेपालमा चिनियाँ लगानी तथा पर्यटकीय पचारप्रसार गर्ने उद्देश्यले दूतावासमै महिनाको कम्तीमा एकपटक प्रभावकारी कार्यक्रम गर्ने चलन सुरु गराएका थिए। यो क्रम कोभिड–१९ संक्रमण हुनु अगाडिसम्म जारी थियो। दूतावासमा सीमित स्रोत÷साधन भएकाले प्रायः कार्यक्रम उनले दूतावासमै गर्थे। पाँचतारे होटलमा एउटा कार्यक्रम गर्दाको खर्चमा उनले दूतावासमा आधा दर्जनभन्दा बढी कार्यक्रम गर्न सकिन्छ भन्ने बुझेर त्यसो गर्ने गर्थे। दूतावासले आयोजना गर्ने कार्यक्रममा नेपालमा लगानी गरिरहेका र गर्न चाहने चिनियाँ कम्पनी, चिनियाँ पर्यटन व्यवसायी, चिनियाँ बुद्धिजीवी तथा थिंकट्यांक, नेपाल उडान गर्ने हवाई कम्पनी, नेपालबाट चीनमा आयात गर्न चाहने व्यापारीका प्रतिनिधि सहभागी हुन्थे। तीन वर्षअगाडि नेपालमा भएको पहिलो लगानी सम्मेलनमा चिनियाँको वर्चस्व रहनुको मुख्य कारण राजदूत पौड्यालको सक्रियता नै थियो। नेपालमा लगानी सम्मेलन हुनुअघि दूतावासमा ‘फच्र्युन ५००’ भित्र पर्ने ठूला चिनियाँ कम्पनीलाई बोलाएर नेपालमा लगानीका अवसरहरू शीर्षकका दुइटा गोष्ठीले नै नेपालको पहिलो लगानी सम्मेलनमा त्यति धेरै चिनियाँ लगानीकर्ता भेला गर्न सफल गराएका थिए।

आफ्नो कार्यकालमा उनले चीनका सबै प्रान्त पुगेर नेपालको पर्यटन तथा लगानी प्रवद्र्धन गरिरहे। त्यसरी आयोजना गर्ने कार्यक्रममा पनि प्रायोजक खोजेर उनले नेपाल सरकारको ढुकुटी जोगाउने काम गरे। उनकै प्रयासमा चिनियाँ पत्रकारलाई नेपाल भ्रमण गराएर नेपालका पर्यटकीयस्थलको प्रचारप्रसारमा अहिलेसम्मकै उपलब्धि हासिल गराएका थिए। चिनियाँ भाषामा लेखिएका सयौं लेख, भिडियो, फोटोफिचर, ब्लग चिनियाँ वेबसाइटमा छ्यासछ्यास्ती भेटिन्छन्। चीनका ख्यातिप्राप्त फोटोग्राफरले नेपाल भ्रमण गरेर ल्याएका फोटोको पुस्तकसमेत प्रकाशन भएका छन्। केही चिनियाँ प्राध्यापकले नेपालको अनुभव समेटेर चिनियाँ भाषामा किताब पनि लेखेका छन्। आफ्नो कार्यकालमा पौड्यालले चीनका ११ सहरसँग नेपालका विभिन्न सहरको भगिनी सम्बन्ध स्थापना गराएका छन्। बेइजिङस्थित नेपाली दूतावासबाट वितरण हुने भिसाको संख्या पौड्याल आउनुभन्दा अघिको तुलनामा ४ गुणा बढेको छ।

यसअगाडिका राजदूतका तुलनामा कैयौं गुणा बढी गुणात्मक काम पौड्यालले गरेका छन्। अब आउने राजदूतलाई उनका काम नै सबैभन्दा ठूला चुनौती हुनेछन्।

लीलामणि पौड्याल सन् २००३ देखि २००७ सम्म चीनको स्वायत्त प्रदेश तिब्बतको ल्हासामा महावाणिज्य दूत थिए। सोही समयमा नेपालको तिब्बतसँग जोडिएको सीमा क्षेत्रमा कहाँ–कहाँ नाका खोल्न सकिन्छ भनेर उनले स्थलगत अध्ययन÷भ्रमण गरी नेपाल सरकारलाई प्रतिवेदन पठाए। त्यही आधारमा अहिले नेपाल र चीनबीच मुख्य रूपमा ८ नाका खोल्ने काम भइरहेको छ। ल्हासाबाट फर्केपछि विशिष्ट श्रेणीको कर्मचारीका रूपमा उनले नेपाललाई विदेशी भूमिको क्रीडास्थल हुनबाट जोगाएर छिमेकी राष्ट्रसँगको सुमधुर सम्बन्ध बनाउन महŒवपूर्ण भूमिका निर्वाह गरे। सन् २००८ अगस्टमा चीनमा २९औं गृष्मकालीन ओलम्पिक खेलकुद समारोह हुँदै थियो। सन् २००८ को सुरुदेखि नै चीनले ओलम्पिक मसाललाई विश्वका विभिन्न स्थानमा पु¥याउने सिलसिलामा सगरमाथाको चुचुरोमा पनि लाने घोषणा गरेको थियो। त्यसका लागि नेपालतर्फबाट सगरमाथा आरोहण रोकिदिन चीनले नेपाललाई अनुरोध गरेको थियो। त्यतिबेला पौड्याल पर्यटन–सचिव थिए। सिजनमै सगरमाथा आरोहण रोक्नु नेपालको पर्यटन उद्योगका लागि ठूलो क्षति हुन्थ्यो।

पौड्यालले सगरमाथा आरोहणलाई त रोकेनन्, तर नाम्चेबजार कटेपछि नेपाली सेनाबाट सगरमाथा आरोहीको कडा सुरक्षा जाँच गर्ने व्यवस्था गरे। पर्यटकलाई सेनाले खानतलासी गरेको भनेर पर्यटन व्यवसायी पौड्यालसँग रुष्ट बने। नेपाल पर्यटन बोर्डमा बैठक बसिरहेका बेला ५ सयजति पर्यटन–व्यवसायीले घेरा हाली उनलाई त्यहीं आगो लगाएर जलाउने कुचेष्टा गरे। आफ्नो निर्णयमा अडिग रहँदै पौड्यालले पर्यटन व्यवसायीलाई सोधे, ‘तपाईंहरू पर्यटन व्यवसायी हुनुहुन्छ। तपाईंहरूको काम पर्यटक ल्याउने हो। पर्यटकले अवैध सामग्री बोकेर सगरमाथामा जानु हुँदैन भनेर जाँच गर्दा तपाईंहरूलाई किन टाउको दुख्यो ?’

त्यतिबेला विश्वका सञ्चारमाध्यमको ध्यान सगरमाथा शिखरतिर सोझिएको थियो। पौड्यालको कदमका विषयमा पर्यटन– व्यवसायीले कडा आलोचना गरेको केही दिनमै एक अमेरिकी पर्यटक कथित स्वतन्त्र तिब्बतको झण्डासहित सगरमाथा आधार शिविरबाट पक्राउ परे। विश्वको ध्यान सगरमाथातिर केन्द्रित भइरहेका बेला सगरमाथा शिखरबाट कथित स्वतन्त्र तिब्बतको झण्डा फहराएर चीनको बदनाम गर्ने योजना असफल भयो। ती पर्यटकलाई सचिवस्तरीय निर्णय गरेर पौड्यालले देशनिकाला गरे। तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले पौड्यालको निर्णयमा हस्तक्षेप गर्दै ती अमेरिकी नागरिकलाई देशनिकाला नगर्न भनेका थिए। तर कोइरालाले थाहा पाउँदा ती अमेरिकी नागरिकलाई पौड्यालले देशनिकालाको पत्रसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पु¥याइसकेका थिए। पौड्यालको चलाखीले गर्दा प्रधानमन्त्री कोइरालाले समेत ती अमेरिकीलाई देशनिकाला हुनबाट रोक्न सकेनन्।

पर्यटन–सचिव भएकै बेला पौड्यालले मातृभूमि नेपालका लागि अर्को महŒवपूर्ण कुरामा अडान लिए। तत्कालीन पर्यटनमन्त्री हिसिला यमीले भारतीय सुरक्षा कमान्डोलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राख्ने प्रस्ताव मन्त्रिपरिषद्मा लान निर्देशन दिँदा उनले त्यस्तो राष्ट्रघाती कदम सफल हुन दिएनन्। फलतः यमीले उनलाई पर्यटन मन्त्रालयबाट तत्काल सरुवा गरी सहसचिवबाट प्रस्ताव तयार गर्न लगाएर मन्त्रिपरिषद्मा लगिन्। त्यस्तो षड्यन्त्र थाहा पाएर पौड्यालले तत्कालीन सञ्चारमन्त्री कृष्णबहादुर महरा र सामान्य प्रशासनमन्त्री पम्फा भुसाललाई भनेर भारतीय सुरक्षा कमान्डो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राख्ने निर्णय हुनबाट रोके।

उल्लिखित उदाहरणबाट पौड्याल राष्ट्रहितमा काम गर्ने बफादार व्यक्ति हुन् भन्ने प्रस्ट हुन्छ। उनले विदेशीले नेपाललाई खेल मैदान बनाउन खोजेका कैयौं कदम रोकेका छन्। त्यसो त पौड्याललाई नेपालमा चीनको पक्षपाती भनेर पनि आरोप लगाइएको छ। उनी चीन पक्षधर होइनन्। उनका क्रियाकलापले उनी सधैं नेपाल पक्षधर हुन् भन्ने पुष्टि गरेका छन्। उनी प्रधानमन्त्री कार्यालयमा सचिव भएका बेला नेपाल–चीन सीमाबाट बग्ने भोटेकोसी नदीमा चीनले आफ्नो क्षेत्रतर्फ पक्की पर्खाल लगाएको थियो। त्यो थाहा पाएपछि पौड्यालले तुरुन्तै नेपालपट्टि पनि उस्तै पर्खाल लगाउन लगाएका थिए। नेपालमा एउटा चिनियाँ कम्पनीले भ्रष्टाचार गर्न बनाएको योजना पौड्यालले रोकेको कसैले बिर्सिएका छैनन्।

‘माथिल्लो त्रिशूली ३ ए’लाई ६० मेगावाटबाट विस्तार गरी ९० मेगावाट बनाउन चिनियाँ कम्पनीले भरमग्दुर प्रयास गरेको थियो। चिनियाँ कम्पनीको प्रस्तावलाई आर्थिक प्रभावमा परेर ऊर्जा मन्त्रालय÷सरकारले समेत सहमति जनाइसकेका थियो। त्यसबेला मुख्य–सचिव रहेका पौड्याल नेपाल विद्युत् प्राधिकरणको अध्यक्ष पनि थिए। उनले उक्त अनुचित काम हुन दिएनन्। फलस्वरूप चिनियाँ कम्पनी ६० मेगावाटमै बनाउन बाध्य भयो।

यसअगाडिका राजदूतका तुलनामा कैयौं गुणा बढी गुणात्मक काम पौड्यालले गरेका छन्। अब आउने राजदूतलाई उनका काम नै सबैभन्दा ठूला चुनौती हुनेछन्। पौड्यालमा गुणैगुण छन् भन्नु अत्युक्ति हुन्छ। उनको सबैभन्दा ठूलो अवगुण भनेको सत्ताका मान्छे र सत्ताधारी पार्टीका कार्यकर्ता खुसी बनाउन नसक्नु हो। वर्तमान सरकार र सत्ताधारी दलका नेता÷कार्यकर्ताका लागि राजदूत पौड्याल पक्कै प्रिय थिएनन्÷होइनन्। मितव्ययी र पारदर्शी व्यवहारका पौड्यालले सत्ताधारी दलका कार्यकर्ता चीन घुम्न आउँदा उनीहरूको चाहनाअनुसार गाडी सुविधा कहिल्यै दिएनन्। सरकारी पाहुना र राज्यले सुविधा दिनुपर्ने व्यक्तिका लागि प्रोटोकलले दिएको सुविधा उनले उपलब्ध गराएकै थिए। आफ्नो पार्टीको सरकार भएकाले विशेष सुविधा पाउनुपर्छ भन्ने पार्टीका कार्यकर्ता र अनावश्यक दबाब दिन चाहने कथित पत्रकारलाई उनले कहिल्यै वास्ता गरेरनन्। सधैं राज्यको ढुकुटी दोहन गर्न चाहने व्यक्तिले पौड्याललाई तगारो मान्नु स्वाभाविकै हो। हरेकपटक चीन भ्रमणबाट फर्केपछि उनीहरूले भ्याएसम्म सरकारका आसेपासेलाई पौड्यालविरुद्ध कुरा लगाइरहे।

केही समयअघि तत्कालीन एमालेको विदेश विभागमा रहेका एक नेताले भने, ‘म जुन–जुन देश गएको छु, ती देशमा रहेका नेपाली राजदूतले मलाई गाडी सुविधा दिएका थिए। यहाँ त राजदूतलाई भेट्न आउँछु भन्दा पनि लीलामणिले गाडी पठाएनन्।’ यस्तै सोच र राजनीतिक संस्कार बोकेका सत्ताधारी पार्टीका कार्यकर्तालाई खुसी बनाउन नसक्दा राजदूत पौड्याल गलहत्याइए।
(आचार्य बेइजिङस्थित चिनियाँ अन्तर्राष्ट्रिय रेडियो (सिआरआई) नेपाली सेवामा विदेशी विशेषज्ञका रूपमा कार्यरत छन्।)

प्रकाशित: २३ फाल्गुन २०७६ ०२:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App