विचार

कोरोना जोखिममा नेपाल

चीनको राजधानी बेइजिङ अझै शान्त छ। सडकमा गाडी त्यति चलेका छैनन्। अत्यावश्यक कामबाहेक मानिस बाहिर निस्किएका कमै भेटिन्छन्। पाँच हप्तादेखि यो पंक्तिकारले शान्त बेइजिङ नजिकैबाट नियालिरहेको छ। विद्यार्थीकालीन (२००९–२०१२) र व्यावसायिक जीवन सुरु गरेको (२०१६) समय जोड्ने हो भने यो लेखकको बेइजिङ बसाइ लगभग ८ वर्ष भइसकेको छ। चिनियाँ नयाँ वर्ष र वसन्त चाडको समय भए पनि यो अवधिमा पंक्तिकारले यति शान्त बेइजिङ कहिल्यै महसुस गरेन।

केही दिन शान्त भए पनि बेइजिङको रात्रिकालीन समय पटकामय बन्थ्यो, तर त्यो क्रम पनि केही वर्षदेखि रोकिएको छ, प्रदूषण नियन्त्रणका लागि। तर सडक र रेस्टुराँहरूमा भने चहलपहल देखिन्थ्यो नै। सडक सजिएका हुन्थे, हिँड्दा बेग्लै रौनक हुन्थ्यो। हप्ता÷दस दिनको छुट्टीपछि उही दिनचर्या सुरु हुन्थ्यो। तर अहिलेको अवस्था फरक छ। स्कुल÷विश्वविद्यालय बन्द छन्, कार्यालय आंशिक सञ्चालन भएका छन्। कलकारखाना पूर्ववत् अवस्थामा आउन अझै समय लाग्ने देखिन्छ। चीनका अन्य प्रान्तको अवस्था पनि उस्तै हुनुपर्छ। उहानको परिस्थिति भने अन्य प्रान्तको भन्दा अझ संवेदनशील देखिन्छ। प्रसंग हो– कोरोना भाइरस अर्थात् कोभिड–१९ र यसले सिर्जना गरेको परिस्थिति।

भाइरस नेपालमा छिर्न नदिनु नै बुद्धिमानी हो। र, अहिलेसम्म संक्रमण फैलिएका मुलुकबाट जति पर्यटक नेपाल भित्रिएका छन्, उनीहरूको खोजी गरेर स्वास्थ्य निगरानी गर्नुपर्छ, ढुक्क हुने अवस्था छैन।

चीनमा भयावह बनेको यो भाइरसले अहिलेसम्म पृथ्वीका ६ वटै महादेशलाई छोइसकेको छ। पूर्वी एसियाली राष्ट्र– दक्षिण कोरिया र जापान, अनि मध्यपूर्वी राष्ट्र– इरान र खाडीक्षेत्र  हुँदै यो प्रकोप युरोपमा बढ्ने क्रममा छ। अहिलेसम्म विश्वका ७० भन्दा बढी देशमा यो भाइरस प्रवेश गरिसकेको छ। विश्वव्यापी रूपमा भाइरसबाट संक्रमित हुनेको संख्या ९० हजार भन्दामाथि पुगिसकेको छ भने ३ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ। विश्व स्वास्थ्य संगठनले चीनबाहेकका अन्य देशमा यो भाइरस दिनानुदिन फैलिन थालेपछि संक्रमणविरुद्धको लडाइँ अब निर्णायक चरणमा पुगेको बताएको छ। दक्षिण कोरिया, जापान, इटाली र इरानजस्ता राष्ट्र अहिले अत्यन्तै संवेदनशील अवस्थामा पुगेका छन्। त्यहाँ विद्यालय बन्द गरिएका छन्। धेरैजसो विकसित मुलुकले नियन्त्रणका लागि सशक्त कदम चलेका छन् भने कतिपय राष्ट्रले आफ्नो मुलुक वा एक सहरबाट अर्को सहरमा नसरोस् भनेर सतर्कता अपनाएका छन्। उनीहरूले सीमा नाकामा कडाइ गरेका छन्। संक्रमण फैलिएका मुलुक आवतजावतमा कडाइ गरेका छन्। जनचेतनाका लागि अभियान सुरु गरिएका छन्। ढिलै भए पनि नेपाल सरकारले भ्रमण वर्ष–२०२० स्थगन गरेको छ। 

अहिले निको भएर गएका केही बिरामीमा पुनः संक्रमण देखिएका घटना पनि भएका छन्। त्यसका लागि चीनमा थप सतर्कता अपनाएको देखिन्छ। साथै संक्रमण नबढोस् भनेर भर्खरै मात्र कार्यालयबाट अन्यत्र अर्थात् संक्रमित मुलुक भ्रमण नगर्न र ती मुलुकबाट यात्रा गरिएको छ भने निश्चित समयका लागि ‘क्वारेन्टाइन’मा बस्न भनिएको छ। स्थानीय समुदाय र निकायलाई अझ सशक्त बनाइएको छ।

विश्व स्वास्थ्य संगठनले ‘कुनै पनि देशले आफ्नो देश यो भाइरसबाट सुरक्षित छ’ भनेर बस्न नमिल्ने चेतावनी दिइसकेको छ। यसलाई अहिले विश्वमा फैलिँदो संक्रमणले पनि पुष्टि गरिरहेको छ।

अब कुरा गरौं– आफ्नै मुलुक नेपालको। चीनको उहानमा रहेका नेपालीले आफ्नो उद्धारका लागि आफैंले निकै ठूलो संघर्ष गर्नुप-यो। कोरोना संक्रमणको त्रासले नेपाली जनता विरोधमा उत्रिए। अभिभावक थप चिन्तामा परे। जोखिममा परेका ती नेपाली झन्डै–झन्डै अन्य ग्रहका प्राणीजस्तै ठानिए। जनतामा डर पैदा हुनु स्वाभाविक पनि हो। किनकि राज्यले न जनतालाई स्वास्थ्य सुरक्षाको प्रत्याभूति दिएको छ न त विश्वास र भरोसा नै। संवेदनशील स्वास्थ्य क्षेत्रप्रति मुलुककै जनताबाट असंख्य गुनासा गरिएका छन्। विवादबाट मुक्त छैन– स्वास्थ्य क्षेत्र पनि। सहज, सुरक्षित र व्यवस्थित उपचार साधारण नेपालीको पहुँचमा अझै छैन। यदाकदा लापरबाही र अस्पतालभित्रै संक्रमण फैलिएका घटना पनि सुनिएका छन्। कुनै पनि रोग नेपालमा महामारीका रूपमा फैलियो भने चीन र अन्य विकसित मुलुकजसरी लड्न सक्ने क्षमता पक्कै नेपालसँग छैन। न आर्थिक क्षमता छ, न पूर्वाधार। त्यसमा पनि गरिएका निर्णय कागजमै सीमित हुन्छन्। व्यवहारमा लागू भएको भेट्टाउन गाह्रो छ। एक सय ७५ नेपालीलाई उहानबाट उद्धार गर्न सरकारलाई महाभारत नै भएको देखियो। दक्षिण कोरिया र खाडीक्षेत्रबाट नेपालीको उद्धार गर्नुपर्ने अवस्था आयो भने के गर्ने ? प्रश्न जटिल छ।

हाम्रो देश नेपाल, चीनसँगै जापान र दक्षिण कोरियासँग पनि आकाश मार्गबाट जोडिएको छ। चीनमा घट्दो क्रममा भए पनि अहिले ती मुलुकमा संक्रमण व्यापक रूपमा फैलिँदै गएको छ। छिमेकी राष्ट्र भारतले पनि ती मुलुकबाट आउने यात्रुलाई सम्भावित खतरा टार्न तत्कालका लागि अनअराइभल भिसा खारेज गरेको छ। यसअघि नेपाल सरकारले मुलुकलाई भाइरसमुक्त राष्ट्र घोषणा गर्दै पर्यटकलाई आमन्त्रण गरिरहेको थियो। विश्वव्यापी रूपमा रोग नियन्त्रणका लागि सतर्कता अपनाएको अवस्थामा सरकारले बेलैमा चासो दिएको थिएन। दैनिक रूपमा चीनलगायत अन्य संक्रमित मुलुकबाट नेपाल भित्रिने पर्यटकको संख्या बढ्दो क्रम रहेको विभिन्न स्रोतबाट देखिन्छ। एक प्रान्त (वा सुरक्षित प्रान्त) बाट अर्को प्रान्तमा यात्रा गर्ने चिनियाँ नागरिकलाई त चीन सरकारले अनिवार्य ‘क्वारेन्टाइन’मा बस्न निर्देशन गरेको छ भने हाम्रो मुलुक त स्वाभाविक रूपमा संवेदनशील हुनुपर्ने थियो, उतिबेलै।

नियन्त्रणका लागि सबैभन्दा ठूलो नाका त हाम्रो हवाईअड्डा हो नि, त्यो क्षेत्रको सुरक्षा व्यवस्था कमजोर भयो भने पक्कै पनि त्यसले परस्थिति जटिल बनाउनेछ भन्ने कुरा सरकारलाई थाहा थिएन र ? यसका लागि दबाब र आलोचना नै पर्खिनुपथ्र्याे ? अर्को कुरा– संक्रमण फैलिएका मुलुकबाट नेपाल भित्रिएका पर्यटक कति निगरानीमा छन्, त्यो अझैसम्म बाहिर आएको छैन। यसले स्वाभाविक रूपमा संशय र डर पैद गराएको छ। हुन त देशका चालकले अवस्थाको संवेदनशीलता नबुझी मुलुकभित्र मात्र होइन, अन्य राष्ट्रको भ्रमणमा समेत असान्दर्भिक बोल्ने, आग्रह र आमन्त्रण गरिदिने र आश्वासन दिने प्रचलन सामान्य नै हो (पंक्तिकारको अनुभवमा)। र, उनीहरूको बौद्धिक क्षमताप्रति प्रहार गरिने तीखो टिप्पणी यस्तै व्यवहारमा आधारित हुन् भन्दा अत्युक्ति नहोला।

पछिल्लो ५ सातायता यो पंक्तिकार अध्ययन/अनुसन्धानमा सक्रिय भइसकेको छैन। त्रासको एउटा मनोविज्ञानले काम गर्ने ऊर्जामा ह्रास ल्याएको छ। फरक यत्ति हो– यहाँ (चीनमा) डरको अनुभूति छैन, सुविधा–सम्पन्न मुलुक भएर नै हुनुपर्छ। यहाँ सुरक्षाका उपाय व्यवस्थिततवरले अपनाइएका छन् (हरेक समुदाय, बजार, कार्यालय, अनि यातायातमा)। विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको राष्ट्र, जहाँ हरेक उपभोग्य वस्तु उपलब्ध छन्। उद्योग/कलकारखाना छन्, पर्याप्त जनशक्ति छ, आर्थिक स्रोत छ र पनि रोग नियन्त्रणमा चीनले ठूलो संघर्ष गरिरहेको छ। यो पंक्तिकारले महसुस गरेको महत्वपूर्ण पक्ष नै चीनको स्थानीय निकाय र समुदाय अत्यन्त चुस्त, सक्रिय र बलियो हुनु हो। यो नै सबैभन्दा महत्वपूर्ण संरचना हुनुपर्छ, जसले अत्यन्त कम समयमै १ अर्ब ४० करोडभन्दा बढी जनसंख्या भएको मुलुकका नागरिकको स्वास्थ्य अवस्थाको जानकारी दिन सक्छ र उनीहरूलाई निरन्तर निगरानीमा राख्न सक्छ। अरू विकसित मुलुकले यस्तो सायदै गर्न सक्लान्। हाम्रो त कुरै नगरौं।

महामारी नफैलियोस् भन्नका लागि यातायात, कामकाज र चहलपहल नगर्न चीनले चालेका कदम अत्यावश्यक र अत्यन्त महत्वपूर्ण छन्। यसैकारण चीनमा संक्रमण हुने दर कम हुँदै गएको छ। अहिले चीन कोरोना भाइरसविरूद्ध ठूलो युद्ध गरिरहेको छ। त्यसमा पनि चीनका राष्ट्रिय संरचना, व्यवस्थापन प्रणाली र नेतृत्व वर्ग उत्तिकै जवाफदेही र सशक्त छन्। अनि त्यही अनुभवलाई संक्रमण फैलिएका अन्य मुलुक (विकसित)ले पछ्याइरहेका छन्, कोरोना नियन्त्रण लागि। तर तुलनात्मक रूपमा नेपालसँग कुनै पनि विपत्तिसँग भिड्ने पर्याप्त स्रोत÷साधनै छैन, न छ जनशक्ति नै।

विश्व स्वास्थ्य संगठनले ‘कुनै पनि देशले आफ्नो देश यो भाइरसबाट सुरक्षित छ’ भनेर बस्न नमिल्ने चेतावनी दिइसकेको छ। यसलाई अहिले विश्वमा फैलिँदो संक्रमणले पनि पुष्टि गरिरहेको छ। उसले नेपाललाई पनि भाइरसको अति जोखिममा रहेको राष्ट्रका रूपमा राखेको छ। बढ्दो प्रकोपसँग लड्नुपर्ने अवस्थाको आर्थिक खर्चले विश्व अर्थतन्त्रमा असर त पर्छ नै, नेपाली बजारमा पनि प्रत्यक्ष/परोक्ष असर परेको त सुन्नमा आइरहेकै छ। अहिले चीनको हरेक क्षेत्र बन्दप्रायः हुनाले अर्थ क्षेत्रमा प्रभाव परे पनि सम्पूर्ण संयन्त्र र जनशक्ति पहिले नै स्थापित भइएसकेका कारण पूर्ववत् अवस्थामा फर्किन चीनलाई उति कठिन नपर्ला। त्यस्तै जापान, दक्षिण कोरिया, इटालीलगायत विकसित एसियाली र युरोपेली राष्ट्रलाई यो भाइरससँग लड्न त्यति कठिनाइ नहोला, तर दुर्भाग्यवश ! भाइरस नेपालजस्तो विपन्न राष्ट्रमा भित्रियो र फैलियो भने (असम्भव छैन) त्यसलाई राज्यले नियन्त्रण गर्न सक्ला ?

उत्तर सीधा छ– ज्यादै  कठिन। स्थानीयको त के कुरा, हाम्रा राष्ट्रियस्तरका संयन्त्र नै सबै राम्रा छन् भन्न सकिने अवस्था छैन। न त हामीसँग पर्याप्त स्रोत/साधन र पूर्वाधारै छन्। मुख्य कुरा– भाइरस नेपालमा छिर्न नदिनु नै बुद्धिमानी हो। र, अहिलेसम्म संक्रमण फैलिएका मुलुकबाट जति पर्यटक नेपाल भित्रिएका छन्, उनीहरूको खोजी गरेर स्वास्थ्य निगरानी गर्नुपर्छ, ढुक्क हुने अवस्था छैन। अनि जबसम्म गरिएका निर्णय कडाइसाथ लागू हुँदैनन्, तबसम्म सरकारको भरोसा गर्न सकिन्न। साथै नेपाली जनता पनि उत्तिकै सचेत हुन जरुरी छ।

प्रकाशित: २१ फाल्गुन २०७६ ०४:४१ बुधबार

कोरोना जोखिम