केही सय वर्षदेखि मात्र कृषिमा बाली–चक्र, उन्नत बीउबिजन, प्रांगारिक मल, पशु–नश्ल सुधारजस्ता प्रयोग तथा उत्पादन र उत्पादकत्व वृद्धिमा जोड दिन थालिएको हो। जनसंख्याको तीव्र वृद्धिसँगै जब खाद्यान्न अभाव हुन थाल्यो, तब कृषि–क्षेत्रमा अध्ययन/अनुसन्धान अगाडि बढ्यो र केही दशकअगाडि मात्रमानव–निर्मित रासायनिक मल, रोग/कीरा नियन्त्रणका लागि विषादी प्रयोग रबाली तथा पशु प्रजननजस्ता उन्नत प्रविधिमार्फत कृषिक्रान्ति सुरु भएको हो। तर यसले पारेकानकारात्मक असर र जलवायु परिवर्तनले गर्दा अहिले कृषि तथा पशुपालन क्षेत्रमाचुनौती थपिँदै गइरहेको छ। यसैले अहिले कृषिमा चौथो क्रान्ति भनेर संसारभर जलवायुमैत्री स्मार्ट कृषि–प्रविधिमा जोड दिन थालिएको छ।
२०७४/७५ को तथ्यांकअनुसार नेपालको कूल गार्हस्थ्य उत्पादनमा कृषि–क्षेत्रको योगदान २७ प्रतिशत छ भने जनसंख्याको ६०.४ प्रतिशत मानिस कृषि पेसामा आश्रित छन्। नेपालका खेतीयोग्य जमिनमध्ये जम्मा४० प्रतिशत भागमा मात्र सिँचाई सुविधा उपलब्ध छ। अधिकतर किसान आकासे पानीको भरमा खेती गर्न बाध्य छन्। जसले गर्दा जलवायु एवं मनसुनी वर्षाले ७० प्रतिशतसम्म कृषि उत्पादनमा प्रभाव पार्ने अनुमान गरिएको छ। मुख्य खाद्यान्न बाली धानर मकै देशको माग धान्न सक्नेगरी उत्पादन हुन सकेका छैनन्। यसैकारण यसआर्थिक वर्षको ५ महिनामा १० अर्ब ९९ करोड र अघिल्लो वर्ष १३ अर्ब २२ करोड रुपैयाँको चामल आयात गरिएको छ।
अन्य नगदे बाली, फलफूल एवं पशुजन्य उत्पादन पनि उल्लेख्य मात्रामा आयात भइरहेको छ र मौसम परिवर्तनले खेती प्रणालीमा पारेका नकारात्मक असर, वर्षभरि सिँचाइउपलब्ध नहुनु,रासायनिक मल अभाव हुनु, रोग÷कीरा नियन्त्रण हुन नसक्नु, उन्नत बीउबिजन एवं पशु–नश्ल नहुनु, युवा विदेश पलायन हुनु,जग्गा बाँझो रहनु, दक्षप्राविधिक तथा व्यवस्थित बजार नहुनु कृषि–क्षेत्रका मुख्य समस्या हुन्।
स्मार्ट कृषि–प्रविधि विकसित देशमा मात्र होइन, विकासोन्मुख देशमा समेत लोकप्रिय छ र नेपालमा पनि प्रदेश ५ र गण्डकी प्रदेशले आफ्ना नीति, कार्यक्रम तथा बजेटमार्फत स्मार्ट कृषि कार्यक्रम सञ्चालन गरिरहेका छन्।
संयुक्त राष्ट्रसंघीय विश्व खाद्य तथा कृषि संगठन (एफएओ)का अनुसार विश्वको बढ्दो जनसंख्या, परिवर्तित खाद्यान्न उपयोग प्रवृत्ति तथा प्रतिकूल जलवायुका आधारमा सन् २०५० सम्म अहिलेको भन्दा ६० प्रतिशत बढी खाद्यान्न आवश्यक देखिन्छ। अर्को एक अध्ययनअनुसार प्रति १ डिग्री तापक्रम वृद्धिसँगै करिब ५ प्रतिशत खाद्यान्नको उत्पादकत्व घट्नेछ। उल्लिखित तथ्यलेसाँच्चैबृहत् चुनौतीतर्फ इंगित गर्छन्। जसको सामना गर्न प्राकृतिक स्रोत÷साधनको समुचित प्रयोग गरी स्मार्ट कृषि–प्रविधि अपरिहार्य छ।
स्मार्ट कृषि प्रणालीअन्तर्गत जलवायु परिवर्तनको नयाँ यथार्थस्वीकार गर्दै कृषि प्रणालीलाई परिमार्जन÷परिवर्तन गरी नवीनतम प्रविधिको एकीकृतप्रयोगमा जोड दिइन्छ।जलवायु स्मार्ट प्रविधि भन्नाले जलवायु परिवर्तनका नकारात्मक असरसँग जुध्न र अनुकूलन गर्न सहयोग गर्ने, जलवायु परिवर्तनको मुख्य कारण हरितगृह ग्यास उत्सर्जन कम गर्ने, बालीनाली तथा पशुको उत्पादन तथा उत्पादकत्व बढाई खाद्य सुरक्षामा सहयोग पु¥याउने प्रविधि भन्ने बुझिन्छ।
मौसममैत्री स्मार्ट प्रविधिमा कृषकलाई बाली रोप्नेदेखि भित्र्याउने बेलासम्म मौसमको जानकारी दिइन्छ। मौसमसम्बन्धी पूर्वसूचनाले बालीनाली एवं पशुवस्तुमा हुन सक्ने क्षति न्यूनीकरण गर्न सकिन्छ। जलवायु परिवर्तनले गर्दा जमिनमा रहेको पानीको भण्डार कम हुँदै हुने एवं आकासबाटकम पानी पर्ने कारणले कृषि–क्षेत्रमा सिँचाइको अभाव दिनानुदिन बढिरहेको छ। त्यसैले सिँचाइ स्मार्ट भन्नाले कम पानीबाटै उत्पादन बढाउनु भन्ने बुझिन्छ। सिँचाइका लागिपानीको संरक्षण, वितरण एवं खेर गएको पानीको उपयोग भन्ने बुझिन्छ। भूमिगतपोखरी, आकासे पानीसंकलन, प्लास्टिक पोखरी, थोपा सिँचाइ, जमिनको रिचार्ज एवं समुचित वितरणमार्फत स्मार्ट सिँचाइ प्रविधिको अभ्यास भइरहेको छ।
बीउ एवं पशु–नश्ल स्मार्ट भन्नाले जलवायुबाट हुने जोखिम सहन गर्न सक्ने बालीनालीको बीउ एवं पशु–नश्ल भन्ने बुझिन्छ। जस्तै ः सुक्खा, गर्मी, ठण्डी सहने, रोगसँग लड्न सक्ने बीउ एवं पशुका जात प्रयोगबाट किसानले बढी फाइदा लिन सक्छन्। उन्नत एवं रैथाने जातको क्रस ब्रिडिङ, समुदायमा आधारित बीउ एवं पशु–नश्ल बैंक कृषकमाझ लोकप्रिय भइरहेको छ। सौर्य ऊर्जामार्फत विद्युत् सेवा नपुगेका दुर्गमका खेतबारीमा समेतभूमिगत सिँचाइ, चिस्यान एवं प्रशोधनका लागि ऊर्जा प्रयोग गर्न सकिन्छ। कम खनजोतविधि अपनाउने, कृषि वन, बालीका अवशेष माटोमा छाड्ने, बाली–चक्र अपनाउने, भकारो सुधार, लिफ कलर चार्ट, ग्रिन–सिकर आदि स्मार्ट पोषक तत्व व्यवस्थापनका विधि हुन्।
कृषि मजदुरको अभाव एवं कृषि उत्पादन लागत घटाउन कृषि यान्त्रीकरण अत्यावश्यक हुन्छ। खनजोतदेखि बालीनाली लगाउने, भण्डारण/प्रशोधनगर्नेसम्म यान्त्रीकरण प्रयोग आवश्यक हुन्छ। यसैगरी घाँस काट्ने,दूध दुहुने, चिस्याउने एवंउत्पादन र प्रशोधनमा विभिन्न मेसिन प्रयोग हुन्छ।
जलवायु परिवर्तनले पारेका असर न्यूनीकरण गर्न विकास भइरहेको जलवायुमैत्री स्मार्ट कृषि–प्रविधिको पनि तीव्र विकास भइरहेको छ र खासगरी कृषकमा इन्टरनेट र मोबाइल फोनको प्रयोगले स्मार्ट कृषि–प्रविधिलाई कृषि–क्षेत्रको ‘गेम–चेन्जर’ का रूपमा हेरिएको छ। सूचना–प्रविधिको सहज पहुँचले संसारका कुनै कुनामा वैज्ञानिकले आविष्कार गर्ने प्रविधि क्षणभरमै कृषकका खेतबारी पुग्छन्। नेपालजस्ता अल्पविकसित देशमा उत्पादन–प्रविधिको प्रयोगदेखि बजारीकरणसम्म सूचना–प्रविधिको पहुँचले कृषिमा आधुनिकीकरण भइरहेको छ।
अचेल स्वचालित रोबोट यन्त्रमार्फतबालीनालीएवं पशुका रोग, कीरा एवं उत्पादनको तथ्यांक संकलन गर्न सकिन्छ। त्यसैगरी रोबोटबाटै छोटो समयमै मल, बीउ विषादी छर्नेजस्ता प्रविधिको प्रयोग दिनानुदिन बढिरहेको छ।पशुमा पनि स्वचालित सेन्सरजडित यन्त्रहरूले साँढे खोजेको, उल्टेको ब्याउने भएको, रोग संक्रमण एवं दूध दिने समयबारे फार्म प्रबन्धकले सजिलै जानकारी पाउँछ र तत्काल आवश्यक निर्णय गर्न सक्छ।
स्मार्ट प्रविधिले कृषिमा मल, पानी, श्रम,कृषि बिमा,बिउ एवं अन्य स्रोत/साधनको प्रयोगमा उल्लेख्य कमी ल्याउँछ। साथैस्थान–विशेषकोमौसमी पूर्वजानकारी, रोग/कीरा, बजार एवं उत्पादनको पूर्वप्रक्षेपणलेजोखिम कम गराउँछ र कृषकलाई बढी नाफा दिन्छ। यसले थप अवसरसमेत सिर्जना गर्छ जस्तै: कृषकबाहेक अन्य व्यक्ति पनि मूल्य–शृंखला, प्रविधिको व्यापारमा संलग्न हुन सक्नेछन्। यान्त्रीकरणले उत्पादन लागत घटाउने र कृषि–मजदुरको अभाव पूर्ति गर्ने गर्छ। यसैगरी उपभोक्ताको रुचिअनुसारका उत्पादन बजारम पु-याउने हुनाले स्मार्ट कृषि–प्रविधि विकसितदेशमा मात्र होइन, विकासोन्मुख देशमासमेत लोकप्रिय छ र नेपालमा पनि प्रदेश ५ र गण्डकी प्रदेशले आफ्ना नीति, कार्यक्रम तथा बजेटमार्फत स्मार्ट कृषि कार्यक्रम सञ्चालन गरिरहेका छन्।
सरकारको स्पष्ट नीति, विज्ञान र प्रविधि बुझ्ने चुस्त प्रशासनिक संरचना, सरकारी, सहकारी, निजी क्षेत्रको सामूहिक प्रयास र कृषि–क्षेत्रमा आन्तरिक तथा बाह्य लगानीको वातावरण भएमा नेपालको कृषि–क्षेत्र जलवायुमैत्री स्मार्ट प्रविधिमार्फत छोटो समयमै गुणात्मक फड्को मार्न सफल हुनेछ।
(कडरिया कृषि वन विज्ञान विश्व विद्यालयका सहप्राध्यापक एवं जैविक प्रविधि केन्द्रका निर्देशक हुन्।)
प्रकाशित: २१ फाल्गुन २०७६ ०४:२८ बुधबार