माटाका ससाना घर। प्राण बचाउन आवश्यक श्वास लिन पनि कठिन। त्यस्तो घर राखेर के काम ? खोजीखोजी र खोसीखोसी भत्काइयो। राम्रो भयो। स्थानीय अगुवारूलाई अघि लाउँदै सुरक्षाकर्मीको सहयोगमा भत्काइयो– ज्यानमारा छाउगोठहरू। अनि भनियो– महिनावारी भएका बेला छाउगोठमा बस्ने होइन। हामीले तपाईंहरूकै भलाइका लागि यस्तो अभियान चलाएका हौं।
छाउगोठ त भत्किए तर त्यसमा अडिएको मन ? छाउगोठका ढुंगामाटा, खर छिन्नभिन्न भए। तर मानसिकता ? अहँ ! डगमगाएन। यसैले ऊ महिनावारी भएको शरीर बोकेर बारीका पाटामा अनि चिसो छिँडीमा भए पनि डराईडराई बसिरहेको छ। भएको सम्पत्ति, घर, छोराछोरी, दाजुभाइ सबै चिज र सम्बन्ध बिग्रेला देवता रिसाउँदा भन्ने डरले भत्काएका छाउगोठका काठपात लिएर अर्को छाप्रो बनाउँदै बसिरहेको छ।
रूढिवादी छाउगोठ हो वा छाउगोठ बनाउने संस्कार ? अन्धविशवास त्यो सामाजिक परिवेश हो वा त्यो सामाजिक परिवेश चिर्न नसक्ने शिक्षा–प्रणाली ? छाउगोठमा अल्झिरेको मन जसले देउताका डरले शरीरलाई कष्ट दिई मृत्युसमेत निम्त्याउने गरेको छ। जसलाई सोध्यो– किन छ यो चलन ? किन भईरहेको छ यो विभेद ? उत्तर आउँछ– परम्परादेखि चलिआएको चलन, कसरी एकैचोटि छाड्न सकिन्छ र ? तर त्यो चलन हटाउन कुनै परामर्शले काम गर्देन ? कुनै शैक्षिक–नीति बनाउन सकिँदैन ? कुनै सामाजिक व्यवस्थालाई बदल्न र व्यवस्थति बनाउन सकिँदैन र ?
एक दिन स्कुलबाट फर्किंदै गर्दा आफ्नो खुट्टामा रगत देखेपछि दौडँदै फुपूलाई भन्न पुगेकी मलाई घरभित्र छिर्न नदिर्ई छिमेकीको घरमा पु-याइयो। दौडँदै र हतारिँदै मलाई छिमेकीको घरमा पु¥याइँदा मनमा लागिरह्यो– ‘मैले के अपराध गरेछु र मलाई यसरी लुकाइँदै छ ?’
लोग्नेलाई लागेको छैन यो विभेद हो। महिनावारी बार्नेलाई थाहा छैन यो प्राकृतिक मात्र हो। थाहा छ त केवल सामाजिक नियम। चलेको चलन अनि गर्नैपर्छ। महिनावारीसँग सीधा देउता र पितृ जोडिएका आवाजरू। यो सबै हटाउने उपाय छाउगोठ भत्काइनु हो ? तर विद्रोहका रूपमा छाप्रो, बारी र बाटाका ती रात्रिकालीन दुःखहरू कसले देख्ने ? व्यक्ति, परिवार, समाज वा राज्य ?
छाउगोठ भत्काउनुभन्दा पहिले त्यो संस्कार, त्यो रितीरिवाज, त्यो मनलाई बुझाउन जरुरी छ। अनि त्यो शिक्षा पढेलेखेका र ज्ञानीहरूलाई पनि आवश्यक छ। त्यो नीति÷नियम बनाउनेहरूलाई पनि त्यो चेत र ज्ञान प्रदान गर्न अनिवार्य छ। जसले गर्दा अर्को छाउगोठ नबनुन्। अनि भएका छाउगोठ आफैंले भत्काउन् र महिनावरी भएका बेला पनि स्वतःस्फूर्त घरभित्र बस्न थालुन्।
पश्चिमका केही जिल्लामा छन् छाउगोठ र पो भत्काउन सजिलो छ। ढुंगामाटोको सानो घर, किन नसक्नु ? एकै दिनमा सयौं भत्काइए। तर भत्काउन सजिलो छ, आकारप्रकार नभएका छाउगोठ जुन हरेक जिल्ला, गाउँ, घर अनि मनमा छन् ? त्यसलाई कसरी भत्काउने ? गाउँको मात्र के कुरा ? सहरका घरघर, काठमाडौंका कोठाकोठामा छन्, छाउप्रथा। त्यो कसरी हटाउने ? त्यो हटाउन त्यस्तै शिक्षा, नीति अनि संस्कारको विकास गरिनुपर्ने होइन र ?
देखिने ढुंगा र माटोका छाउगोठभन्दा धेरै बलिया छन्, नदेखिने मनका छाउगोठहरू। बाहिरबाट हेर्दा कुनै स्वरूप छैन। तर भित्रभित्र अझै कति पुस्तालाई आफ्नो पकडमा राख्ने हो, थाहा छैन। अझै कति बालिका÷किशोरी÷महिलाले आफूलाई अछूत र अशुद्ध प्राणीका रूपमा चिनाइरहनुपर्ने हो ? यो कुरा हाम्रा धार्मिक तथा सामाजिक अगुवा, शिक्षा नीति–निर्माता तथा समाजमा परिवर्तन गर्छु भनेर लागेका देशी–विदेशी संघ÷संस्था सबैले मनन गर्न जरुरी छ।
हाम्रा धार्मिक ग्रन्थ जसले महिलाका स्वाभाविक शारीरिक प्रक्रियालाई अपवित्रताका रूपमा औंल्याएका छन् र नारीलाई कमजोर बनाउने कोसिस गरिरहेका छन्। अनि धर्मलाई आफ्नो मुठीमा लिएर हिँडेका ती अगुवा जसले महिनावारीलाई आफ्नाअनुकूल व्याख्या गरेर अनेक नियम बनाएका छन्। अनि आफ्नो शक्ति बढाउन देवतालाई हतियार बनाएर अनेक चलन छन्। यसलाई परिमार्जन गर्न जरुरी छैन ? मुढेबलले मात्र समाज परिर्वतन हुँदैन भन्ने मनन गर्न जरुरी छ। देखिएका छाउगोठ मात्र होइन, नदेखिएका छाउगोठ, संस्कार र मन पनि भत्काउन जरुरी छ। छाउगोठ भत्काउने होइन, बन्न नदिने ज्ञान, शिक्षा अनि संस्कारको विकास गर्न जरुरी छ।
मभित्रको छाउगोठ
म मध्य–नेपालको सानो गाउँमा जन्मिएकी। मेरो परिवार शिक्षितै थियो। स्कुल, घर, परिवार, साथी यही नै ठूलो संसार थियो। एक दिन स्कुलबाट फर्किंदै गर्दा आफ्नो खुट्टामा रगत देखेपछि दौडँदै फुपूलाई भन्न पुगेकी मलाई घरभित्र छिर्न नदिर्ई छिमेकीको घरमा पु-याइयो। किताब घरमै छुटे, लुगाहरू दिदीबहिनी र साथीहरूद्वारा ल्याइयो। दौडँदै र हतारिँदै मलाई छिमेकीको घरमा पु-याइँदा मनमा लागिरह्यो– ‘मैले के अपराध गरेछु र मलाई यसरी लुकाइँदै छ ?’
मलाई लगेर बाहिरपट्टिको घरको कोठामा राखियो जहाँ परालको गुन्द्री थियो। यहीं बस्, अब यताउता नजा भनेर फुपूले भनेपछि चुपचाप बसें। एकछिनमा लुगा र केही खानेकुरा आयो तर किताब आएन। परीक्षाको मुखमा किताब नभएपछि ल्याइदिन अनुरोध गरें। साथीहरू घर गए। लामो छलफल र विवादपछि किताब दिने निर्णय भएछ र साथीहरूले लिएर आए। त्यो किताब हातमा पाउनु, त्यतिबेला मेरा लागि ठूलो सफलता थियो। एक हिसाबले विद्रोहपछिको प्राप्तिजस्तो।
बिहान उठ्ने, नुहाउने, लुकेर बस्ने। दिएका खानेकुरा खाने। यही नै मेरो दिनचर्या भयो। दाजुभाइले देख्लान् कि भनेर लुकेर स्कुल जान थालें। १४ दिनसम्म यही प्रक्रिया चलिरह्यो। १५औं दिनमा नुहाएर घर जाने निर्णय भयोे।
जुन तरिकाले मलाई छिमेकीको घर लगिएको थियो त्यही तरिकाले घर फर्कन पाउँछु होला भन्ने लागेको थियो। तर आधा दिन बितिसक्दा बल्ल गाईको गहुँत लिएर दिदी आइपुगी र भन्न लागी– ‘यो खा अनि आफू बसेको ठाउँ तथा वरिपरि सबैतिर र आफ्नो जिउमा पनि छर्केर घर हिँड।’ दिदीले भनेबमोजिम गरें अनि आफ्नो सामान पोको पारेर घरतिर लागें। घर पुग्दा नपुग्दै उताबाट आवाज आयो– ‘पख्पख् यत्तिकै नजा, फेरि गहुँत छर्किनुपर्छ।’ दोस्रो शुद्धीकरणपछि बल्ल कोठाभित्र पस्न पाएँ। त्यो दिन लामो वनवासपछि फर्किएको अनुभव भईरहेको थियो।
यसैगरी वर्षौं बित्दै गए। महिनावारी र यससम्बन्धी संस्कारले मनमा सधैं प्रश्न र विद्रोह भाव पनि जन्माउँथ्यो। तर पनि सामाजिक परिवेशको एकरूपता देख्दा यो निर्णय यस्तै रहेछ, सबैले मान्नैपर्ने रहेछ भन्ने निष्कर्ष निस्किन्थ्यो। समय बित्दै गयो। उच्च शिक्षाका लागि सहर जानुपर्नेभयो। गाउँमा त्यो सुविधा थिएन। जब सहरको जीवन सुरु भयो तब हरेक महिना हुने महिनावारीमा बार्नु नपर्नेभयो। एकाएक फेरिनुपर्ने भयो। आफैंले पकाएर खानुपर्ने भयो। तर केही समयपछि भाइ पनि आयो। अब त्यो पुरानो नियम फेरि पालना गर्नुपर्ने भयो। छोइन्छ कि भनेर दायाबायाँ गर्दै हिँड्न थालें। यतिबेलासम्म आइपुग्दा मलाई थाहा भइसकेको थियो कि पकाउँदा र छँुदा पनि केही नहँुदोरहेछ। तर पनि त्यो पहिलो दिन दौडिएर घरबाट भगाएर छिमेकीको घरमा लगिएको चित्र आँखामा आउँथ्यो। जसले अहिलेसम्म मभित्र जरो गाडैकै छ।
एमफिल, सामाजशास्त्र, कीर्तिपुर
प्रकाशित: ४ फाल्गुन २०७६ ०३:१३ आइतबार