विचार

पुरुष–हिंसा र प्रेम

नगर हेला छोरीलाई
अर्काकी भित्तो (नासो) भनेर
छोरीले पनि केही गर्छे
आफू योग्य बनेर
           –पंक्तिकार
सन्दर्भ   
तत्कालीन उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेलाई मार्ग–प्रशस्त गर्न दबाब पर्दै थियो। अन्ततः उनी पदबाट राजीनामा दिन बाध्य भइन् र भनिन्– ‘पितृसत्ता त राजतन्त्रभन्दा बलियो रहेछ।’ त्यही बेला बलिउड अभिनेत्री दीपिका पादुकोण अभिनित चलचित्र ‘छपाक’ रिलिज भयो। यो चलचित्र केही वर्षअगाडि भारतको दिल्लीमा एसिड आक्रमणमा परेकी एक युवतीको वास्तविक जीवन–कथामा आधारित छ।

एसिड आक्रमण
भारतबाट सुरु युवतीलाई एसिड छ्याप्ने अपराध नेपालमा पनि फैलिएको छ। यो अपराधको नक्कल यहाँका युवाले पनि गर्न थालेसँगै युवती असुरक्षित हुने अवस्था सिर्जना भइसकेको छ। सीमा बस्नेत र भर्खरै वीरगन्जकी मुस्कान खातुनलाई एसिड फ्याँकिएको घटनाले हाम्रो समाज कततिर जाँदै छ ? समाजमा कस्ता नयाँ–नयाँ किसिमका अपराध बढ्दै छन् भन्ने सन्देश दिएका छन्।

जसलाई प्रेम गरिएको हो उसलाई शारीरिक रूपमा प्राप्त गर्नु नै प्रेम हो भन्ने बुझाइले समाजमा एसिड आक्रमण घटना बढेका हुन्।

सानैदेखि सिकाउनुपर्ने संस्कार
परिवारमा छोराछोरीलाई समान व्यवहारसाथ हुर्काउन सकियो भने महिलाविरुद्ध हुने हिंसा ९० प्रतिशत कम हुनेछ। परिवार र समाजले छोरा र छोरीलाई गर्ने व्यवहार, सानैदेखि उनीहरूलाई दिने संस्कार तथा उनीहरूको मानसिकतामा भरिने भेदभावको विचार नै लैंगिक असमानताका प्रमुख कारण हुन्। छोरा र छोरी असमान हुन् भन्ने सोचलाई सयौं वर्षदेखि राज्यले नै संस्थागत गरेकाले यसले अहिले विकराल रूप लिएको हो।

लैंगिक असमानता अन्त्य गर्न मानिसलाई सानैदेखि दिइनुपर्ने शिक्षा हो के हो भने छोरा–छोरी बराबर हुन्, जन्मँदै कोही उच्च र कोही नीच हुँदैनन्। अझ छोराहरूलाई के सिकाउन जरुरी छ भने दिदीबहिनी कुनै पनि मानेमा कमजोर छैनन् र अवसर पाए उनीहरूले भन्दा ठूलो काम र प्रगति गर्न सक्छन्। आजका जति पनि सफल पुरुष छन् तिनले हिजो आफ्नै दिदीबहिनीको भाग काटेर बढी र विशेष सुविधा र मौका पाएका कारण भएका हुन् भन्ने कुरा तिनलाई बुझाउन आवश्यक छ।  

बदल्नुपर्ने परिभाषा
हिंसा महिलालाई हुने तर त्यसको नामचाहिँ महिला–हिंसा रे ! यो नसुहाउने कुरा हो। त्यसैले यसलाई अबदेखि ‘पुरुष–हिंसा’ नामकरण गर्न जरुरी छ। अर्को बदल्नुपर्ने महŒवपूर्ण कुरा हो– प्रेमसम्बन्धी परिभाषा। हाम्रो समाजमा प्रेम गर्नु भनेको प्रेम गरिने व्यक्तिमा आफ्नो स्वामित्व स्थापित गर्नु हो भन्ने बुझाइ छ। आफूले प्रेम गर्ने व्यक्तिलाई आफ्नो निजी अधिकारको वस्तु ठान्ने सोच अहिलेको युवा पुस्तामा व्याप्त छ। जसलाई प्रेम गरिएको हो उसलाई शारीरिक रूपमा प्राप्त गर्नु नै प्रेम हो भन्ने बुझाइले समाजमा एसिड आक्रमण घटना बढेका हुन्।

प्रेमप्रतिको बुझाइ कहाँनेर बदल्नुपर्ने देखिन्छ भने वास्तवमा जसलाई प्रेम गरिन्छ उसको खुसी नै आफ्नो खुसी हो। जीवनमा आफूले माया गरेका व्यक्तिको हित, सफलता र सुखलाई स्वीकार गर्नु नै खासमा प्रेम हो। प्रेम गर्नु भनेको कसैलाई आफ्नो अधीनमा पार्नु होइन। यो आत्मज्ञान अभावकै कारण समाजमा प्रेमका नाममा एसिड आक्रमणजस्ता जघन्य अपराध बढेका हुन्। आफूलाई मनपरेको युवतीलाई उसको इच्छाविपरीत जबर्जस्ती आफ्नो बनाउने प्रयत्न गर्नु कदापि प्रेम होइन। प्रेम त त्यो हो जहाँ आफूले मन पराएकी युवतीले अर्का युवकलाई मन पराउँछिन् र त्यसैमा उनको खुसी र भलाइ छ भने त्यसलाई हृदयदेखि स्वीकार गर्दै उनीहरूको जोडी बाँध्न सकेको सहयोग गर्नु पो हो।

पुरुष सशक्तीकरण !
समाजमा एकअर्कालाई सम्मान गर्ने, एकअर्काको मानव–अधिकार र आत्मसम्मानमा ठेस नपु¥याउने सोच विकास हुन आवश्यक छ। जब हाम्रा छोरी सबल हुन सक्छन् तब हाम्रा बुहारी, आमा अनि समग्रमा महिला सबल हुन सक्छन्। प्रतिभा, क्षमता तथा भूमिकाका आधारमा महिलालाई सम्मान दिन जरुरी छ। महिलाका योग्यता र अस्तित्वलाई स्वीकार गर्न नसक्नु पनि एक प्रकारको मानसिक दुर्बलता हो। समाजको मात्रै होइन, सृष्टिकै आधा हिस्सालाई उपेक्षा गरेर समाजरूपी रथ कसरी अगाडि बढ्न सक्छ ? भनिरहनु नपर्ला– महिलाबिना पुरुषको अस्तित्व सम्भवै छैन।

डा. शिवमाया सबै योग्यता पुगेर पनि सभामुख बन्न नपाउनु एउटा पाटो होला। तर अन्तिम समयसम्म उनको अडान थियो– ‘मैले के गल्ती गरेको छु र सजायस्वरूप राजीनामा दिने ?’ तर अन्ततः उनी अर्को पुरुषलाई सभामुख बनाउन उपसभामुखबाट राजीनामा दिन बाध्य भइन्। महिलालाई कमसल ठान्ने पुरुषको रोगी मानसिकताको उपचार नगरीकन न शिवमायाहरू सभामुख हुन सक्छन् न मुस्कान खातुनहरू एसिड आक्रमणबाट बच्न। त्यसकारण खाँचो छ– पुरुषको संकीर्ण सोच र रोगी मानसिकताको उपचार अर्थात् पुरुष सशक्तीकरणको। तर हामी महिला सशक्तकीरण अभियान चलाइरहेका छौं।

पुरुषलाई लैंगिकमैत्री (जेन्डर फ्रेन्डली) सोच र संस्कार दिन पनि हामीले महिला सशक्तीकरण होइन, पुरुष सशक्तीकरण अभियान सञ्चालन गर्न जरुरी छ। हाम्रा युवकहरूलाई कुनै युवतीले आफ्नो जीवन कुनै केटाको आशक्तिअनुसार होइन, उसकै इच्छाबमोजिम बाँच्ने पाउने मानव अधिकारको पाठ पढाउन जरुरी छ। त्यसो गर्न सके समाज स्वतः पुरुष–हिंसाबाट मुक्त हुनेछ। समस्या र रोग छोराहरूमा छ तर उपचार छोरीहरूको गरिरह्यौं, महिला सशक्तीकरणका नाममा।

प्रकाशित: २६ माघ २०७६ ०३:३३ आइतबार

पुरुष–हिंसा प्रेम