ज्ञानको शोध/खोज गर्नु मानव विशेषतै हो। नयाँ ज्ञानको शक्तिबाट नै समाज बदल्न सकिन्छ। ज्ञान उत्पादन गर्ने वैज्ञानिक विधि/प्रक्रिया अनुसन्धान हो। स्थापित सिद्धान्त पुनःपरीक्षण तथा नयाँ सिद्धान्त निर्माणका लागि अनुसन्धान गरिन्छ। यसले समाजमा भएका विभिन्न घटनाको तथ्यपरक अध्ययन तथा विश्लेषण गर्छ। वैज्ञानिक अनुसन्धान गर्दा अनुसन्धानकर्ताले स्वतन्त्र रही घटना, परिवेश र परिस्थितिको अध्ययन÷विश्लेषण गर्नुपर्छ। अनुसन्धानमा तथ्यांक/सूचना संकलन, वर्गीकरण र मूल्यांकन गरिन्छ।
एउटा अनुसन्धानकर्ताले राष्ट्रिय वा वैश्विक जटिल समस्या समाधानका लागि बौद्धिक गतिविधि सञ्चालन गर्छ। अनुसन्धानको मुख्य उद्देश्य कुनै क्षेत्रमा नयाँ ज्ञान निर्माण वा सिद्धान्त पुष्टि गर्ने प्रक्रिया अघि बढाउनु हो। यस अर्थमा हाम्रा विश्वविद्यालय खोज, अनुसन्धान र अविष्कारको केन्द्र बन्नुपर्छ। त्यसका लागि त्रिभुवन विश्वविद्यालय केन्द्रीय अंग बन्न सक्नुपर्छ र ज्ञान उत्पादनमा अग्रिम भूमिका खेल्नुपर्छ।
उच्च शैक्षिक संस्थाले अनुसन्धान–प्रकाशनहरू संकलन गरेर तिनको उद्धरण (साइटेसन), एच–इन्डेक्स, आई टेन–इन्डेक्स तथा प्रभाव (इम्प्याक्ट फ्याक्टर) हेर्नुपर्छ। व्यक्तिगत तथा सञ्चित अनुसन्धानको स्तर हेर्न त्यसको उद्धरण संख्या, उद्धरण–योग्य आलेख, प्रतिअंक उद्धरण, एच–इन्डेक्स तथा आई टेन–इन्डेक्स एवं जर्नलको इम्प्याक्ट फ्याक्टर रेटिङ हेर्नुपर्छ र स्वयं अनुसन्धानकर्ताले गुगल स्कोलर प्रोफाइल बनाउन पहल गर्नुपर्छ। अनुसन्धानकर्ताले अन्तर्राष्ट्रिय मञ्चमा मुलुकका तर्फबाट प्रतिनिधित्व गर्दै राष्ट्रिय गौरव बढाउने काम गर्न सक्नुपर्छ। राज्यसम्बद्ध मामिला हेर्नेलाई यस्तो सल्लाहकार पनि चाहिन्छ। अनुसन्धान र अनुसन्धानकर्ताको स्तरलाई निम्न कुराबाट मापन गरिन्छ :
उद्धरण (साइटेसन) : उद्धरण भनेको आफूले जसको ज्ञान उपयोग गरेको उसप्रति प्रकट गरिने सम्मान हो, बौद्धिक चोरीको आरापेबाट बचेर अनुसन्धानकर्ताको आचरण पालना गर्नु हो। यसले पाठकलाई ज्ञानको स्रोत तथा लेखक, विषय र प्रकाशनबारे सही सूचना दिन्छ। आफूले कुनै विचार निर्माण गर्नुअघि त्यस विषयमा अरू कसैले अभिव्यक्त गरेको मौलिक विचार सापटी लिनुपर्दा उद्धरण आवश्यक हुन्छ। यसले लेखक र स्रोत–लेखकको विचार छुट्याउन पाठकलाई सहज हुन्छ। उद्धरणको संख्याले एकातिर अनुसन्धानकर्ताले गरेको अनुसन्धानको गुण एवं वजन स्पष्ट पार्छन् भने अर्कातिर पाठकलाई पनि कति तथ्य कहाँबाट ग्रहण गरेको वा सापटी लिएको हो भन्ने सूचना दिन्छ। यसले अनुसन्धान मापनको काम गर्छ।
एच–इन्डेक्स
एच–इन्डेक्स भनेको अनुसन्धानको बौद्धिक उपलब्धि र गुण दुवै मापन गर्ने माध्यम हो। यो मापन अनुसन्धानकर्तामा व्यक्तिगत रूपमा मात्र होइन, अनुसन्धान समूह एवं आयोजना, जर्नल, प्रकाशन, शैक्षिक एवं वैज्ञानिक संस्था तथा सम्पूर्ण विश्वविद्यालय र देशमा समेत प्रयोग गरिन्छ। यस्तो सूचक अनुसन्धानकर्ताको उच्चतम उद्धरण जर्नल र उद्धरण संख्याले अर्को लेख एवं प्रकाशनमा पाएको स्थानमा आधारित हुन्छ। यो सूचक सन् २००५ मा भौतिकशास्त्री जर्ज ई हिक्र्सले प्रस्ताव गरेका हुन्, जसलाई हिक्र्स नम्बर वा इन्डेक्स पनि भनिन्छ। एच–इन्डेक्स गणना कुनै अनुसन्धानको प्रकाशन र उद्धरण संख्याका आधारमा गरिन्छ। जस्तै : १० एच–इन्डेक्स भनेको १० प्रकाशनमा कम्तीमा १० पटक उद्धरण गरिएको भन्ने बुझाउँछ। एघारौं प्रकाशनमा ९ पटक मात्र उद्धरण भएको छ भने १० एच–इन्डेक्स नै रहन्छ र जब एघारौं प्रकाशनको ११ वा बढी पटक उद्धरण भएमा एच–इन्डेक्स ११ हुन्छ। यसले प्रकाशन तथा त्यसको लेखकको लेखन–प्रभाव दुवै बताउँछ। तर यो सबै विधामा गर्न सकिँदैन किनकि भिन्न अनुसन्धानमा उद्धरण परम्परा र तरिका फरक हुन्छन्।
आई टेन–इन्डेक्स
आई टेन–इन्डेक्स भनेको प्रकाशन संख्या १० पटक वा यो भन्दा बढी पटक उद्धरण गर्नु हो। यो सरल र स्पष्ट मापन हो। यो जर्नल प्रकाशनको कूल संख्यामा कम्तीमा १० पटक उद्धरण भएको इन्डेक्स भनिएको हो। आई टेन–इन्डेक्स गुगल स्कोलरले सिर्जना गरेको लेखकको प्रभाव मापन गर्ने सूचकका रूपमा लेखकको कम्तीमा १० पटक उद्धरण भएको प्रकाशनको संख्या बताउँछ। त्यस्तै आई टवान्टी–इन्डेक्समा जर्नलको सम्पूर्ण संख्यामा प्रकाशित संख्या जसको कम्तीमा २० पटक उद्धरण भएको बताउँछ।
प्रभावकारक (इम्प्याक्ट फ्याक्टर) : यो जर्नलको मापन हो जसले जर्नलमा प्रकाशित लेखको उद्धरण जनाउँछ। इम्प्याक्ट फ्याक्टर जर्नलको स्तर अंकमा देखाउँछ। उच्च इम्प्याक्ट फ्याक्टर भएको जर्नलले उच्च जर्नलका साथै स्तरीय अनुसन्धानकर्ताको उच्च मान्यता बताउँछ। उच्च इम्प्याक्ट फ्याक्टर अंक भएको जर्नलले निम्न अंक भएको भन्दा बढी महत्वको भन्ने संकेत गर्छ।
इम्प्याक्ट फ्याक्टर सूचकको आविष्कार इन्सटिच्युट अफ साइन्टिफिक इन्फर्मसन (आइएसआई)का संस्थापक इयुजेन गारफिल्डले गरेका हुन्। इम्प्याक्ट फ्याक्टर गणना १९७५ देखि हरेक वर्ष जर्नल साइटेसन रिपोर्ट (जेसिआर)मा समावेश जर्नलका लागि सुरु गरिएको हो। पछि सन् १९९२ मा थोमसन साइन्टिफिक एन्ड हेल्थ केयरले आइएसआई लियो र यसको पहिचान थोमसन आइएसआई हुन गयो। सन् २०१८ मा थोमसन आइएसआई, ओभेक्स कर्पोरेसनलाई बेचियो र उनीहरूले नयाँ कर्पोरेसन क्लेरिभेट बनाए जुन अहिले जेसिआरको प्रकाशन छ। इम्प्याक्ट फ्याक्टर गणना २ वर्षको अवधिमा आधारित हुन्छ। यो २ वर्षमा लेख उद्धरण (साइटेसन) हुने संख्यालाई लेखको संख्याले भाग गरेर निकालिन्छ। नेचर भन्ने वैज्ञानिक जर्नल २०१७ को इम्प्याक्ट फ्याक्टर ४१.५७ पाइयो।
प्राज्ञिक क्षेत्रमा छनोट तथा पदोन्नति : यो उद्धरण, एच–इन्डेक्स, आई टेन–इन्डेक्स, पुरस्कार, प्रतिलिपि अधिकारजस्ता वैज्ञानिक योगदानमा आधारित हुनुपर्छ। उच्च संख्याको उद्धरण, एच–इन्डेक्स तथा उच्च आई टेन–इन्डेक्स नै वैज्ञानिक योगदान मानिन्छ र यसैका आधारमा वैज्ञानिक श्रेष्ठता स्थापित हुन्छ।
कम वा शून्य इम्प्याक्ट फ्याक्टर भएको जर्नलमा बढी प्रकाशन गर्नु, सम्मेलनमा शोधसार पेस गर्नु र विभिन्न सम्मेलनमा उपस्थित हुनुलाई अनुसन्धानको श्रेष्ठता मानिँदैन। प्राज्ञिक क्षेत्रमा पदोन्नतिका लागि विद्यावारिधिलाई गरिने मूल्यांकन पनि प्रकाशित लेखको इम्प्याक्ट फ्याक्टरका आधारमा गरिनु आजको आवश्यकता हो। यसले अनुसन्धानलाई स्तरीय बनाउँछ र क्षमतामा आधारित प्राज्ञिक संस्थाको विकास गर्छ।
यादव पाठ्यक्रम विकास केन्द्र, त्रिवि कार्यकारी निर्देशक हुन्।
प्रकाशित: २२ माघ २०७६ ०३:५७ बुधबार