विचार

चिनियाँ दसैं

चीनमा यतिबेला दसैं आएको छ। सडक, गल्ली, बजार, कार्यालय, घर, विद्यालय, विश्वविद्यालय, सार्वजनिक स्थल सबैतिर लालटिन र भाग्यशाली गाँठोले सजाइएको छ। राता कपडा, राता खेलौना, राता तुल, रातै सिँगारपटारले चीन यतिबेला राताम्मे बनेको छ। नेपालको दसैं–तिहारकै झल्को दिने गरी चीनमा मनाइने वसन्त चाडमा अहिले चिनियाँ नागरिक झुमिरहेका छन्।

यो    चिनियाँको सबैभन्दा ठूलो पर्व हो। परम्परागत चिनियाँ पात्रोअनुसार यो चिनियाँको नयाँ वर्ष हो। नेपालका शेर्पा, तामाङ, गुरुङले जस्तै चिनियाँ परम्परागत पात्रोको पनि मुसा वर्षबाट सुरु भएर सुँगुर वर्षमा टुंगिने १२ वर्षको चक्र हुन्छ। यही माघ १० गते मध्यरातदेखि चिनियाँले सुँगुर वर्ष बिदा गरेर मुसा वर्षलाई स्वागत गर्दै छन्। तसर्थ चीनमा शुक्रबारदेखि एक साता सार्वजनिक विदा हुन्छ। यस अवधिमा आकस्मिक सेवाबाहेक सबै सरकारी तथा निजी कार्यालय बन्द गरिन्छन्। ठूला मल खुले पनि साना बजार र खुद्रा पसल बन्द रहन्छन्। अध्ययन, जागिर, अवसर र सुविधा खोजीमा परिवारबाट टाढा भएकाहरू वसन्त चाडमा घर भेला हुन्छन्। लामो बिदा भएकाले परिवार लिएर घुमफिर गर्ने मौका पनि यही हो।

चिनियाँ वसन्त चाडमा थुप्रै रूढिवादी प्रचलन छन्। नयाँ वर्षको अघिल्लो दिनदेखि एक साता मनाइने यो पर्वको परम्परागत मान्यता र अन्धविश्वास पनि घतलाग्दो छ। चिनियाँ चन्द्रमासको पात्रोअनुसार वर्षको अन्तिम दिनलाई ‘छु सी’ भनिन्छ। यो रात बत्ती निभाउनु हुँदैन र चाँडै सुत्न पनि हुँदैन। नयाँ वर्षको स्वागत गर्न घरपरिवारका सबै जना रातको १२ बजेसम्म जाग्राम बसेका हुन्छन्। यो रात कचौरा, प्लेट, कप फुटाइयो भने त्यसलाई सबैभन्दा अशुभ मानिन्छ। कुनै व्यक्तिलाई गाली गर्ने अथवा हप्काउने गर्नु हुँदैन। विशेषगरी बालबच्चालाई गाली गर्नु हुँदैन भन्ने विश्वास छ। यो दिन घरमा बढार्न तथा फोहोर बाहिर फाल्न पनि हुँदैन। फोहोरसँगै नयाँ वर्षका लागि साँचिएको धनसम्पत्ति पनि फ्याँकिन्छ भन्ने मान्यता चीनमा छ।

नयाँ वर्षको पहिलो दिन घर सार्नु हुँदैन। बिरामी भए पनि डाक्टरलाई देखाउनु हुँदैन। लुगा धुन हुँदैन। कपाल काट्न हुँदैन। कुराकानी क्रममा कसैसँग पनि मृत्यु, रोग, प्रकोपका प्रसंग झिक्नु हुँदैन। यसो गरेमा वर्षभरि नै यस्तै समस्या थोपरिने विश्वास चिनियाँमा छ। राम्रा र शुभ विषयमा मात्र गफ गर्ने परम्परा छ। यो दिन रुनसमेत हुँदैन। नयाँ वर्षको पहिलो दिन बिहे गरेर घर गएकी छोरी माइतीमा आउनु हुँदैन।

यही माघ १० गते मध्यरातदेखि चिनियाँले सुँगुर वर्ष बिदा गरेर मुसा वर्षलाई स्वागत गर्दै छन्। तसर्थ चीनमा शुक्रबारदेखि एक साता सार्वजनिक विदा हुन्छ।

नयाँ वर्षको दोस्रो दिन बिहे गरेकी छोरीले कोसेली र उपहार लिएर माइती आउने चलन छ। त्यसैगरी तेस्रो दिन कोही पनि घरबाहिर जान हुँदैन र आफ्ना साथीलाई पनि घरमा  निमन्त्रणा गर्न हुँदैन। चौथो दिन परिवारका सदस्यले घरमा बसेर रमाइलो गर्छन् र पाँचौं दिन सबै जना एक हप्तादेखिका फोहोर सफा गर्ने, घर बढार्ने काम गर्छन्। छैटौं दिन साथीहरूसँग भेटघाट गर्ने, साथीका घर जाने र आफ्ना घरमा उनीहरूलाई निमन्त्रणा गर्ने र बजार गएर किनमेल गर्ने चलन छ। वसन्त चाडको अन्तिम दिन अथवा नयाँ वर्षको सातौं दिन पनि सकेसम्म घरबाहिर जान हुँदैन भन्ने विश्वास छ। वसन्त चाडको हप्ताभरि धारिला हतियार चलाउन हुँदैन, काटमार गर्न हुँदैन। जनावर मार्नाले घरमा प्रकोप उत्पन्न हुने मान्यता छ। तर मासु नभई नहुने चिनियाँले एक हप्ताअगाडि नै मासु किनेर फ्रिजमा राखेका हुन्छन्। बजारबाट ल्याएका मासु टुक्रा पार्न पनि नहुने भएकाले सबै हातहतियार लुकाएर राखिन्छन्। कपाल काट्ने कैचीदेखि नङ काट्ने नेलकटरसम्म यस अवधिमा चलाउन पाइन्न।

वसन्त चाडका अवसरमा परिवार भेला भएर खाइने सबैभन्दा लोकप्रिय खानेकुरा ‘चआवो च’ हो। यो एक प्रकारको मःमः हो तर पानीमा डुबाएर पकाउने गरिन्छ। वसन्त चाडमा पानीकमलको बियाँ खायो भने छोरा जन्मिन्छ भन्ने विश्वास छ। सामान्यतः वसन्त चाडमा रातो लुगा लगाउने चलन छ। यो वसन्त चाडबाट मुसा वर्ष सुरु हुने भएकाले मुसा वर्षमा जन्मिएका हरेकले यो चाडमा अनिवार्य रूपमा भित्री लुगा रातो लगाउनु पर्छ भन्ने मान्यता छ। चिनियाँ नयाँ वर्ष आउनुभन्दा एक महिना अगाडिदेखि नै बजारमा राता बिकनी सजाएर  राखिएका हुन्छन्। रातो पोसाकले शुभ र सुस्वास्थ्य हुने विश्वास छ।

चीनमा वसन्त चाडको सबैभन्दा ठूलो महŒव भनेका टाढा रहेका परिवारका सदस्य भेला हुनु हो। औपचारिक रूपमा एक साता बिदा भए पनि वसन्त चाड सुरु हुनुभन्दा केही दिन अगाडिदेखि ४० दिनसम्म चिनियाँको यात्रा जारी रहन्छ। यस अवधिलाई चीनमा ‘छुनयुन’ भनिन्छ र यसबेला चीनमा हवाई तथा रेल टिकट महँगो र पाउन धेरै गाह्रो हुन्छ। वसन्त चाडमा हुने चिनियाँको यात्रा नै संसारको सबैभन्दा ठूलो मानव आवतजावत हो। गत वर्षको वसन्त चाडका बेला चीनमा विभिन्न सवारीसाधनमा यात्रा गर्नेको संख्या ३ अर्ब ९० करोड थियो। १ अर्ब ४० करोड जनसंख्या भएको चीनमा वसन्त चाडका बेला सरदर हरेकले तीनपटक यात्रा गर्छन्। यो चाडको अर्को महŒवपूर्ण विशेषता भनेको सार्वजनिक पार्कमा आयोजना हुने मेला हो। यस्ता मेलामा सिंह नृत्य, लौरीखुट्टी नृत्य, ओपेरा, सर्कस, एक्रोब्याटिक सो तथा सांगीतिक समारोहम आयोजना गरिन्छन्। चिनियाँ टेलिभिजनले नयाँ वर्षको अघिल्लो राति प्रत्यक्ष प्रसारण गर्ने सांगीतिक गाला विश्वमा सबैभन्दा धेरै दर्शकले हेर्ने टेलिभिजन कार्यक्रम हो।

नेपालीको दसैंसँग वसन्त चाडका केही मिल्दाजुल्दा पक्ष छन्। नेपालामा दसैंमा लामो बिदा हुन्छ। टाढा पुगेका आफन्त घर आउँछन् र मीठोमसिनो खाँदै रमाइलो गर्छन्। चीनमा पनि वसन्त चाडमा लामो समय बिदा हुन्छ र टाढा पुगेकाहरू भेला भएर मीठो खाँदै चाड मनाउँछन्। दसैंमा आफूभन्दा सानालाई टीका लगाएर दक्षिणा दिने चलन छ भने चीनमा टीका नलगाए पनि दक्षिणा दिइन्छ। पहिले बैंकबाट नयाँ नोट ल्याएर रातो खाममा हालेर दिइन्थ्यो। चीनमा दक्षिणा दिने रातो खामलाई ‘होङ पावो’ भनिन्छ। चिनियाँ भाषामा ‘होङ’ भनेको रातो हो र ‘पावो’ भनेको लिफा हो। डिजिटल युगमा प्रवेश गरिसकेकाले विच्याट, अलिपे, पाइतुजस्ता विभिन्न सामाजिक सञ्जालमार्फ दक्षिणा आदानप्रदान गरिन्छ। सन् २०१९ को वसन्त चाडमा ८२ करोड ३० लाख व्यक्तिले विच्याटबाट दक्षिणा आदानप्रदान गरेका थिए। सोही वर्ष पाइतुबाट १ अर्ब ९० करोड चिनियाँ युआनको दक्षिणा आदानप्रदान भएका थिए। गत वर्ष चीनका विभिन्न ८  इन्टरनेट एपले ४ अर्ब ४० करोड युआनबराबर दक्षिणा आफ्ना प्रयोगकर्तामाझ वितरण गरेका थिए। नेपालमा दसैं निकै खर्चिलो भएजस्तै चिनियाँको वसन्त चाडमा पनि वर्षभरिको एक तिहाइ खर्च हुने गर्छ।

परम्परागत चिनियाँ पात्रोअनुसार अब ४७१८ नयाँ वर्ष लाग्दै छ। तर धेरै चिनियाँलाई यो कतिऔं वर्ष हो थाहा हुँदैन। उनीहरू मुसा वर्ष २०२० भनेर सम्बोधन गर्छन्। परम्परागत चिनियाँ पात्रो दैनिक जीवनमा प्रयोग नभएका कारण यसो भएको हो।

आचार्य बेइजिङस्थित चिनियाँ अन्तर्राष्ट्रिय रेडियो (सिआरआई) नेपाली सेवामा विदेशी विशेषज्ञका रूपमा कार्यरत छन्।

 

प्रकाशित: ९ माघ २०७६ ०२:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App