वास्तु ज्योतिषी शिव पोखरेल
२०७२ फागुनपछि झन्डै ४ वर्षको अन्तरालमा नेपालबाट खण्डग्रास सूर्य ग्रहण देखिन लागेको छ। २०७६ पुस १० गते बिहीबार (आज) धनु राशिको मूल नक्षत्रमा काठमाडौंको स्थानीय समय बिहान ८ बजेर ४२ मिनेटमा सुरू भएर १०ः१ मिनेटमा मध्य भई ११ः३१ मा सकिने गरी खण्डग्रास सूर्यग्रहण लाग्नेछ। ग्रहण लाग्ने पूरा समय २ घन्टा ४९ मिनेट हो। यो ग्रहण अधिकांश एसिया, पूर्व यूरोप, उत्तर–पश्चिम अस्ट्रेलिया, पूर्व–उत्तरी अफ्रिका तथा हिन्द महासागरबाट देखिन्छ।
ग्रहणको प्रधान कारण पृथ्वीमा ठूलो परिवर्तन हो भनी ग्रन्थहरूमा उल्लेख छन्। व्यक्तिगतभन्दा सामाजिक एवं भूमण्डलीय फलादेशमा ग्रहणको प्रभाव महत्वपूर्ण मानिन्छ। जस्तै : गएको असार ३१ गते देखिएको खण्डग्रास चन्द्रग्रहणको अनेकौं प्रभावमध्ये बृहत् संहितामा जनाइएको मात्र एक प्रकारको प्रभावको अध्ययन गरौं। यसभन्दा अगाडि ७६ को खण्डग्रास र २०७५ को खग्रास दुवै चन्द्रग्रहण असारमा लागेको थियो।
असार महिनामा ग्रहण लाग्दा नदी, पानीको बाँध, पानीको स्थानमा संकट एवं अशान्ति, पिउने पानीको समस्या, फल र सब्जी (तरकारी) को हानि अफगानिस्तान, चीन, कश्मीरमा संकट उत्पन्न हुन्छ।। बृ.सं,५,७७।।
ग्रहण सकिएको १४ दिनमा अफगानिस्तानको कान्धारमा भएको बम विस्फोटमा तत्कालै ३४ जनाभन्दा बढीको मृत्यु भयो र त्यसपछि पनि निरन्तर विस्फोटका घटना भइरहेका छन्। ग्रहणको २०औं दिन ५ अगस्त– भारतमा मोदी सरकारले कश्मीरका विषयमा गरेको ऐतिहासिक निर्णयले पूरै विश्व तरंगित भएको थियो र कश्मीर अझै अशान्तै छ।
यस्तै नेपालमा पनि तरकारीमा विषादीका विषयमा विशेष चर्चा पनि यो डेढ वर्षबीचमै भयो र मेलम्ची खानेपानी आयोजना पनि पूर्ण हुन नसकेको सबैलाई थाहै छ। हजारौं वर्षअघि प्राचीन ऋषिहरूले गहन चिन्तन एवं अनुसन्धान गरेर भनेका कुरा अहिले पनि मेल खाएको देखिन्छ।
ग्रहण भनेको छायाद्वारा सूर्य वा चन्द्रमाको मण्डललाई घेर्ने, ढाक्ने, छोप्ने अथवा ग्रहण गर्ने स्थिति हो। यो एउटा निश्चित समयको अन्तरालमा नियमित तथा अनिवार्य रूपमा हुने प्राकृतिक आकाशीय घटना हो। सूर्यग्रहण नियमतः औंशीको अन्तमा र चन्द्रग्रहण पूर्णिमाको अन्तमा नै हुन्छ। संहिता ज्योतिषको क्षेत्र भूगर्भबाट अन्तरिक्षसम्म छ। यसभित्र हुने परिवर्तन र परिणामको निरुपण संहिता स्कन्धले गर्छ।
उपलब्ध संहितामा फलित ज्योतिषको आचार्य तहमा अनिवार्य पढ्नुपर्ने पाँचौं शताब्दीका वराह मिहिरले रचेका बृहत् संहिता विश्वमै सर्वाधिक प्रतिष्ठित र सुव्यवस्थित ग्रन्थमध्ये एक हो। ठूलठूला साहित्य मर्मज्ञलाई पनि आश्चर्यचकित पार्ने यो ग्रन्थ संस्कृतको काव्यात्मक शैलीमा लेखिएको छ।
म आजको यस सूर्यग्रहणको सामाजिक फलादेशमा बृहत् संहितामा आधारित कुरा मात्र गर्नेछु। गणनाअनुसार यो पुस महिनाको सूर्यग्रहण दोस्रो नम्बरको चन्द्रमा पर्वमा पर्छ, जसको फल बृहत् संहितामा यसरी उल्लेख गरिएको छ : ब्राह्मण र पशुको वृद्धि हुन्छ। सर्वत्र कुशलता रहन्छ। जनमानसमा निरोगता रहन्छ तथा फसल एवं सम्पत्ति वृद्धि हुन्छ। चन्द्र पर्वमा ग्रहण लाग्दा ब्रह्मा पर्वको सबै शुभ फल हुन्छ, तर वर्षाको कमी तथा विद्वान्हरूलाई पीडा हुन्छ।।बृ.सं ५,२०।।
सूर्य दक्षिणायनमा ग्रस्त फलः वैश्य वर्ग, व्यापारी वर्ग एवं निम्न वर्गका लागि हितनाशक हुने मानिन्छ।।बृ.सं, ५,३२।।
पुस महिनामा ग्रहण लाग्दा ब्राह्मण र क्षत्रियहरूलाई पीडा एवं उपद्रव हुन्छ। सिन्ध प्रदेश, विदेह (मिथिला प्रदेश)मा हानि तथा कम वर्षा एवं अनिकालको भय हुन्छ।।बृ.सं,५,७१।।
सूर्य धनुमा ग्रस्त फल : धनु राशिमा ग्रहण हुँदा मन्त्री, प्रधान पुरूष, प्रधान अमात्य, घोडा, विदेह (मिथिला) प्रदेश, पहलवान्, वैद्य, चिकित्सक, व्यापारी, क्रूर व्यक्ति तथा हतियारको तकनीकी जानकारी राख्नेहरूलाई कष्ट हुने मानिन्छ।।बृ.सं ५,४१।।
आकाशलाई ७ भागमा बराबर पार्दा कुन सप्तम भावमा सूर्य अथवा चन्द्र ग्रहणको प्रारम्भ तथा अन्त (मोक्ष) हुन्छ, त्यसका आधारमा पनि फल भनिएको छ।
ग्रहण लाग्ने दिनको दिनमानलाई ७ भाग गर्दा द्वितीय सप्तम भागमा ग्रहणको प्रारम्भ भएकाले (किसान, खेती गर्ने मजदुर, पशुपालक, स्थानीय नेता, सेनापति र सैन्य अधिकारीहरूलाई कष्ट हुने मानिन्छ।। बृ.सं,५,२९।।
तृतीय सप्तम भागमा ग्रहणको मोक्ष भएकाले (कालिगढ, मन्त्री र हस्तकला क्षेत्रमा काम गर्नेहरूलाई शुभ रहने हुन्छ।। बृ.सं,५,२९।।
ग्रहण लाग्ने ग्रह सूर्यका साथमा वृहस्पति पनि ग्रस्त देखिँदा राष्ट्रप्रमुख, सचिव, मन्त्री, बालक, विद्वान्, धर्माधिकारी जनलाई कष्ट, सिन्धु नदीआसपासका भूभाग (भारत पाकिस्तानको सीमान्त क्षेत्र कश्ीमरलगायत) तथा उत्तर दिशाको प्रदेशहरूमा हानि हुन्छ।।बृ.सं ५,६६।।
बुध ग्रस्त हुँदा–
अन्तर्वेदीं सरयूं नेपालं पूर्वसागरं शोषणम्।
स्त्रीनृपयोधकुमारान् सह विद्वद्भिर्बुधो हन्ति।।बृ.सं ५,६५।।
अर्थात् सूर्य एवं चन्द्रमाका साथमा बुध ग्रह पनि ग्रस्त हुँदा भारतको उत्तर प्रदेश, नेपालको सीमा, बिहार, बंगाल, भारतको पूरै पूर्वी सीमान्तमा उपद्रव, स्त्री, उच्च शिक्षित मान्छे र शासकहरूलाई कष्ट हुन्छ।
कात्तिक २८ गते उदय भएको बुध पुस २ गते बिहानै अस्त भएको थियो। हालसालै बुध उदयास्तको बीचमै भारतमा ल्याइएको नागरिकता संशोधन कानुनका कारण माथि उल्लिखित ठाउँमा भइरहेका आन्दोलन र हिंसासँग पनि जोडेर हेर्न सकिन्छ।
ग्रहण लाग्ने नक्षत्रको कारक क्षेत्रमा पनि कष्ट हुन्छ भनिएको छ। जस्तै ः मूल नक्षत्रको कारक क्षेत्र– सबै जैविक औषधि, बीउ, खाद्य, ठूला किसान, खेतीका उपकरण, चिकित्साका विभिन्न पद्धति, वामाचार तान्त्रिक, वामपन्थी विचारधारा, जैविक, अंग प्रत्यारोपण आदि।
कूर्म (कछुवा) चक्रअनुसार यो ग्रहणको अशुभ प्रभाव कुनै पनि देश, प्रदेश, राज्य एवं नगरको पश्चिम दिशातर्फ बढी देखिन सक्छ।।बृ.सं।।
यो सूर्यग्रहणले सबै राशिलाई पर्न सक्ने प्रभाव ः तुला, कर्कट, कुम्भ र मिन राशि भएका व्यक्तिलाई जन्म राशिदेखि क्रमशः ३, ६, ११ र दशौं राशिमा स्थित ग्रहण भएकाले सुखदायी हुन्छ। वृश्चिक, सिंह, मिथुन र मेष राशि भएका व्यक्तिलाई जन्म राशिदेखि क्रमशः२, ५, ७, र नवौं राशिमा स्थित ग्रहण भएकाले मध्यम फलदायी हुन्छ। धनु, कन्या, वृष र मकर राशि भएका व्यक्तिलाई जन्म राशिदेखि क्रमशः १, ४, ८ र बारौं राशिमा स्थित ग्रहण भएकाले अनिष्ट फल दिने हुन्छ।
यो ग्रहण खग्रास नभएर खण्डग्रास भएकाले माथि भनिएका सम्पूर्ण शुभ–अशुभ प्रभावको मात्रा आधा भन्दा कम हुन सक्ने बुझिन्छ।
ग्रहण समाप्तपछिको शुभ लक्षण :
कुनै पनि ग्रहण सकिएको १ सप्ताहभित्र सामान्य पानी प-यो भने त्यो ठाउँमा सुभिक्ष तथा त्यो वर्षाले पूर्वोक्त ग्रहणको लक्षणका अशुभ फल पनि शान्त हुने मानिन्छ।।बृ.सं,५,९६।।
ग्रहणको समयमा स्नान गरी संयम राखेर जप, ध्यान होम, श्राद्ध, दानलगायत आध्यात्मिक कार्य गर्नाले शुभ हुन्छ भन्ने मान्यता छ।
प्रकाशित: १० पुस २०७६ ०५:१० बिहीबार