विचार

महेन्द्र विचारधाराको मूल्यांकन

चीनमा सन् १९१२ मा राजतन्त्र निर्मूल भयो। सम्राट पु यी साढे दुई वर्षका थिए। दरवारभित्रको षडयन्त्र, विद्रोहको ज्वारभाटा र बाह्य हस्तक्षेपको बहुआयामिक चोट खप्न सकेन चीनले। जापान र सोभियत संघसँग पनि दुश्मनी बढ्यो। यही मौकामा माओले अरुको नक्कल होइन, आफ्नै अक्कल काम लाग्छ भन्दै लाखौँ युवालाई एकजुट गराए। उनको नेतृत्वमा चिनिया कम्युनिस्ट पार्टीले सन् १९४९ देखि शासन हातमा लियो। सन् १९७६ मा देहान्त भयो माओको। त्यसबेलासम्म उनैले राष्ट्र सम्हाले।

नेपालले फरक ढंगले सोच्न थाल्यो २००७ सालपछि। जहानियाँ शासन समाप्त भएपछि ‘प्रजातन्त्र’ शब्द घर–घरसम्म पुग्यो। कतिपयले प्रजातन्त्र भनेको ‘जे गरे पनि हुने रहेछ’ भन्ने बुझे। गाउँमा कसैले जाँड खाएर उपद्रो ग¥यो भने त्यसलाई प्रजातन्त्रवादी भन्दै व्यंग्य गर्न थाले। ब्रिटेनले भारतलाई स्वाधीन गराएकै बेला पाकिस्तानलाई टुक्राएर लन्डनका शासकले आफ्नो प्रभाव देखाए। चीनमा ‘माओ विचारधारा’ र भारतमा ‘नेहरु चिन्तन’ प्रस्फुटित भइरहेका बेला राजा महेन्द्रले राष्ट्रवादको पुनर्जागरण अभियान चलाए।

नेपाल एकदिन गम्भीर संकटमा पर्न सक्छ भन्ने संकेत पाएका राजा महेन्द्रले राष्ट्रवादको धरातलमा उभिएर केही कठोर निर्णय गरे। तसर्थ, ऊबेलाको विश्व परिस्थिति, भूराजनीति र धरातलीय यथार्थको विवेचना गरेर उनले जति काम गरे, त्यसमा राष्ट्र तथा जनताको हित प्रतिविम्बित भएको पाइन्छ। महेन्द्रकालको मूल्यांकन गर्दा ‘२०१७ साल पुस १ गते’ भएको घटनाको आधारमा मात्र राजा महेन्द्रका सम्पूर्ण कर्मको मूल्यांकन गर्न सकिँदैन। आज सत्ता चलाइरहेको दलले बीस महिने शासनकाल जनताका दृष्टिमा ‘सन्तोषजनक बन्न नसकेको’ स्वीकार गरेझैँ बहुमत ल्याएर सरकार बनाएको तत्कालीन सत्तारुढ दलले महेन्द्रप्रति पूर्वाग्रह राख्नुभन्दा उनले गरेका असल कामलाई असल भन्न सक्नुपथ्र्यो। किनभने ‘जननिर्वाचित’ सरकारले आत्मसमीक्षा गरेको भए आफ्ना कमजोरी पनि भेट्न सक्थ्यो।

कुनै एनजिओ/आइएनजिओ वा दूतावासको दानापानी खाएर इतिहास सराप्नेहरूको इतिहास बन्दैन। ती त हतियार र मतियारमात्र हुन्।

२०१२ सालमा राजा भएका महेन्द्रले ब्रिटेनकै शैलीमा संविधान बनाएर २०१५ साल फागुन १ गते त्यसको घोषणा गरे। दरवारका राजज्योतिषीसमेत रहेका पाटन क्याम्पसका पूर्वप्रमुख प्रा. मंगलराज जोशी भन्थे– ‘वसन्त पञ्चमीको साइतमा संविधान ल्याएको र त्यसले जनतामा सकारात्मक प्रभाव पारेको हुँदा राजालाई जनसमर्थन मिल्यो।’ हजारौँ जमिनदारका हदभन्दा बढी देखिएका लाखौँ बिघा जमिन भूमिहीनलाई बाँडेपछि महेन्द्रलाई जनताले ‘गरिबका राजा’ भन्न थाले। श्रमिक, किसान, महिला, मजदूर, भूतपूर्व सैनिक, युवकलगायत हरेक तह र तप्कालाई स्पर्श गर्ने कार्यक्रम ल्याएर महेन्द्र विचारधारा लोकप्रिय बन्दै गयो। ‘सक्दिनँ देख्न भन्छिन्, सन्तान थरीथरीका’ कविता लेख्ने राजा समता र समानताको पक्षधर थिए भन्ने कुरा उनले ल्याएका विभिन्न आर्थिक र सामाजिक कार्यक्रमले नै स्पष्ट गरेको देखिन्छ।

महेन्द्रले प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालालाई थुनेपछि अमेरिका र युरोपका सञ्चारमाध्यममा पनि त्यो खबरले महŒव पायो। सन् १९६१ फेब्रुअरी ३ मा प्रकाशित अमेरिकी पत्रिका ‘टाइम’ ले राजा महेन्द्र र प्रम कोइरालाका धारणा छाप्यो। ‘बिपीले आफूलाई ठूलो अप्ठ्यारोमा पार्न खोजेपछि कठोर कदम चालेको’ महेन्द्रको टिप्पणी थियो। बिपीले दलहरूमाथि प्रतिबन्ध लगाइएको घटनालाई ‘जनताका प्रजातान्त्रिक आकांक्षाको हत्या’ भनेका छन्। न्युयोर्क टाइम्स पत्रिकाले सन् १९६० को डिसेम्बर १६ को घटना चर्चा गर्दै राजाले प्रधानमन्त्रीलाई ‘राष्ट्रियता विरोधी’ ठानेका छन् भन्यो।

राजा महेन्द्रको परलोक भएपछि अमेरिकी न्युज एजेन्सी एसोसिएटेड प्रेसलाई उद्धृत गर्दैै द न्युयोर्क टाइम्सले ‘पन्ध्र वर्ष राजगद्दीमा बसेका विश्वका एकमात्र हिन्दु राजा’ दिवंगत भएको समाचार लेख्यो। सत्ता हातमा लिएको पाँच वर्ष नपुग्दै राजा महेन्द्रले किन बिपी कोइरालाको सरकार र राजनीतिक दलहरूलाई दण्ड दिए ? यसमा सत्तारुढ र अन्य दलकै बीचमा मतभिन्नता पाइन्छ। २०१५ सालको संसदीय चुनावमा चारवटा सिटमात्र जितेको नेपाल कम्युनिस्ट पार्टीले बिपीको सरकार भंग हुँदा राजधानीमै दीपावली ग¥यो किन ? किन खुच्चिङ भन्यो ? ‘अप्रजातान्त्रिक’ राजाको निमन्त्रणामा ब्रिटेनकी महारानी एलिजावेथ (सेकेन्ड) नेपाल भ्रमणमा आइन् किन ? प्रजातन्त्र विरोधी ठानेको भए प्रजातान्त्रिक मुलुकहरूले राजा महेन्द्रको इज्जत गर्ने थिएनन्। तसर्थ महेन्द्र प्रजातन्त्र विरोधी नभएर तत्कालीन सत्तारुढ दलका मात्र विरोधी देखिन्छन्।

सरकारले निर्णय गरेर हजारौँ अपराधीलाई आममाफी दिने कुरा सामान्य मानिन्छ यहाँ। राजा महेन्द्रलाई प्रजातन्त्र विरोधी भन्नेहरूले महेन्द्रले भन्दा उत्तम काम के/के गरेका छन् त ? त्यसबारे खुला बहस चलाउने हो भने महेन्द्र विचारधाराको स्वतः सही मूल्यांकन हुनेछ।

किन आइजनहावर र लिन्डन बि. जोन्सनजस्ता शक्तिशाली अमेरिकी राष्ट्रपतिहरूले ‘प्रजातन्त्र विरोधी’ राजाको भव्य स्वागत गरे ? अमेरिका र ब्रिटेनमात्र होइन, जापान, रसिया, जर्मनी, फ्रान्स, चीन, भारत जहाँ गए पनि महेन्द्रको सत्कार किन गरियो ? उनले कुनै जादु गरेका थिएनन् तर चीन र भारतबीच बसेको सानो स्वतन्त्र राष्ट्रले जसरी मौलिक शैलीमा आफूलाई उभ्याएर शिर ठाडो पारेको थियो, त्यो देखेर विश्व चकित भयो। कम्युनिस्ट र पुँजीवादी धारमा विभक्त संसारका सबै प्रमुख नेतासँग महेन्द्रको व्यक्तिगत मित्रता थियो। कूटनीतिमा यसको छुट्टै महत्व हुने गर्छ।

‘भीमदत्त नगरपालिका भन्नू’ भनेर सरकारले उर्दी जारी गरेर महेन्द्रको नाम मेट्न खोज्यो। जनताले महेन्द्रनगर नै भनिरहेका छन्। अधिकांशलाई ‘भीमदत्त’ थाहा छैन। इलाममा महेन्द्र रत्न क्याम्पस छ। त्यहाँका सज्जनहरूले सभ्य व्यवहार देखाएर महेन्द्रको नाम मेटेनन्। धेरै ठाउँमा मूर्खहरूले महेन्द्रका सालिक भत्काए। इतिहास भनेको इतिहास हो, त्यो न रेटिन्छ न मेटिन्छ। पृथ्वीनारायण शाहले काठमाडौँ, भक्तपुर र ललितपुर राज्य जितेपछि त्यहाँका राजाका सालिकहरूमा सुनको जलप लगाइदिएर झन् उज्यालो तुल्याए। मल्लकालीन र त्यो भन्दा पुराना धरोहर, संस्कृति बचाए। सभ्यहरूले मात्र इतिहास, धर्म र संस्कृति शिरोधार्य गर्छन्। असभ्यले भत्काउनमात्र जानेका हुन्छन्। उनीहरू गुट र दललाई मात्र आफ्नो ठान्छन्, साँघुरो घेरा लगाएर धेरैलाई पाखा पार्छन्। तसर्थ संसद्मा बहुमत भए पनि जनताको हृदयमा तिनीहरू अल्पमतमै हुने गर्छन्।

कुनै शासक, समय र सन्दर्भप्रति पूर्वाग्रही भएर इतिहासको अपव्याख्या गर्नु उचित हुँदैन। हजारौँ डिग्री तापक्रममा पोले पनि सुनको आधारभूत चरित्र हराउँदैन। त्यस्तै, इतिहास भएका घटना र त्यसका नायकहरूले गरेका सत्कर्मको समीक्षा गर्दा विदेशी पैसालाई होइन, विवेकलाई सम्मान गर्नुपर्छ। कुनै एनजिओ/आइएनजिओ वा दूतावासको दानापानी खाएर इतिहास सराप्नेहरूको इतिहास बन्दैन। ती त हतियार र मतियारमात्र हुन्।

एकजना मन्त्रीले शिक्षकहरूलाई हालै लामो भाषण सुनाए– ‘तपाईँहरू पेशाप्रति इमानदार नहुने हो भने पेशा बदल्नुहोस्।’ सर्वसाधारणले राजनीतिज्ञ हुँ भन्नेहरूलाई अब यही कुरा भन्नेछन्। जनताले तिरेको अर्बौँ रुपियाँ हजारौँ नेता र दलहरू पाल्नका लागि हो ? २०४६ सालको चैतमा राजा वीरेन्द्रले दलहरूमाथि लागेको प्रतिबन्ध फुकुवा गरे तर तीस वर्षे पञ्चायतकाललाई ‘अँध्यारो युग’ भन्नेहरूले बितेका तीस वर्षमा सर्वाधिकार पाएर के के गरे त राष्ट्र र जनताका लागि ? जनताले प्रश्न गर्न पाउने कि नपाउने ?

महेन्द्रले राजकाज सम्हाल्दा परिस्थिति सहज थिएन। अमेरिकालगायत धेरै राष्ट्रमा २०१७ सालपछिको कालखण्ड (सन् १९६० को दशक) पीडादायक थियो। अमेरिकामा राष्ट्रपति जोन एफ केनेडीको हत्या भयो, साठीको दशकमा। सन् १९५५ देखि बीस वर्ष चल्यो भियतनाम युद्ध। सन् १९६५ मा भारत–पाकिस्तानबीचको लडाइँमा हजारौँ नेपाली युवकले प्राण गुमाए। त्यसअघि सन् १९६२ मा भारत र चीनको युद्धमा भारतीय फौजमा कार्यरत धेरै नेपाली मरे। भारतको रक्षा गरिदिनेहरूको मातृभूमिमाथि आज दिल्लीले नै निर्ममतापूर्वक बलात्कार गरिरहेको छ।

अरब–इजरायल तनाव, पार्क चुङ हिले दक्षिण कोरियामा गरेको सैनिक द्रोह, ग्रिसमा सुरु भएको सैनिक शासन, सन् १९६९ मा महमर गद्दाफीले सैनिक विद्रोह गरेर लिबियाको राजतन्त्र समाप्त पारेको घटना, सन् १९६१ मा जर्मनीको अंशबन्डा गरेर बर्लिन पर्खाल ठडिएको खबर तथा पूर्वी युरोपका सात राष्ट्रमा साम्यवादको लहर आदिले संसार नै चकित बनिरहेको थियो। ऊबेला महेन्द्रले कसरी कूटनीति चलाए होला, विचारणीय छैन त ?

राजा महेन्द्र र राजा वीरेन्द्रलाई मानव अधिकार विरोधी देखाउन २०४६ सालको परिवर्तनपछि पञ्चायतकालका तीस वर्षमा हराएका, मारिएका र बेपत्ता पारिएका व्यक्तिबारे छानबिन गर्न सूर्यबहादुर शाक्यको अध्यक्षतामा समिति बनाइयो। त्यसमा वासुदेवप्रसाद ढुंगाना, डा. सच्चेकुमार पहाडी र प्रकाश काफ्ले सदस्य थिए। २०१७ सालपछि कानुनी कारबाहीमा परेका मानिसको ‘लिस्ट’ लामो भए पनि गैरन्यायिक हत्याका घटना थोरै देखियो। समितिले पञ्चायतकालमा ३५ जना राज्यबाट बेपत्ता पारिएको र तीमध्ये पाँचजना मारिएको रिपोर्ट दियो। तर २०५२ सालदेखि २०६३ सालसम्म द्वन्द्वका कारणले १८ हजारको हाराहारीमा राज्यपक्ष र विद्रोही पक्षका मानिस मारिएको शान्ति मन्त्रालयको अभिलेखमा छ। पञ्चायतकालका तीस वर्षमा जति भ्रष्टाचार भयो, त्यसपछिका तीस महिनामै त्यो रेकर्ड तोडियो। हत्या, हिंसा र आतंक त आजका युवाले पनि देखिरहेकै छन्।

अमेरिकी गुप्तचर विभागसँग निकट मानिने एसिया फाउन्डेसनले २०६३ सालपछि पाँच वर्षमा मात्र तराईमा १ हजार ६ सयजना मारिएको प्रतिवेदन सार्वजनिक गरेको छ। त्यसमा उपेन्द्र यादवको नेतृत्वमा भएको गौर नरसंहार अत्यन्त विवादास्पद मानिए पनि ‘मुख्य अपराधी’ भनिएका व्यक्ति नै पटक पटक पुरस्कृत भए। कूटनीति स्खलित भएकाले अनमिनलगायतका संस्था वा मिसनमार्फत राष्ट्र टुक्र्याउन चाहनेहरू नै प्रोत्साहित भए। राष्ट्रिय सुरक्षा कमजोर पार्नेहरूसँग सरकारले नै सम्झौता ग-यो।

राष्ट्रपति डोनाल्ड ट्रम्पका कारण अमेरिकाको राष्ट्रिय सुरक्षा र प्रजातन्त्र खतरामा परेको भन्दै उनीविरुद्ध संसद्मा महाभियोग लगाइयो। संविधान र विधिको शासनले चलेका राष्ट्रमा राष्ट्र सर्वोच्च हुन्छ भन्ने मान्यता स्थापित भएको छ। त्यसो गर्दा राष्ट्र र राष्ट्रियता सुदृढ बन्छ। दलको शासनलाई ‘जनताको शासन’ भन्दै जनतालाई नै निचोर्ने प्रवृत्ति देखिएको छ नेपालमा। सरकारले निर्णय गरेर हजारौँ अपराधीलाई आममाफी दिने कुरा सामान्य मानिन्छ यहाँ। राजा महेन्द्रलाई प्रजातन्त्र विरोधी भन्नेहरूले महेन्द्रले भन्दा उत्तम काम के-के गरेका छन् त ? त्यसबारे खुला बहस चलाउने हो भने महेन्द्र विचारधाराको स्वतः सही मूल्यांकन हुनेछ।

प्रकाशित: ४ पुस २०७६ ०३:४४ शुक्रबार

महेन्द्र_विचारधारा राजतन्त्र