विचार

अवोधगम्य ओशो

मेरो जीवनको सबैभन्दा ठूलो सौभाग्य हो कि विद्यार्थी जीवनमै अर्थात आजभन्दा पचास वर्षपहिले मैलै ओशोको दर्शन पाएँ २९ मार्च १९६९ मा। पचास वर्ष भयो, प्रत्येक दिन मैले ओशोलाई पढिरहेको छु, प्रवचन सुनिरहेको छु, ओशोको बारेमा बोलिरहेको छु। आफैँले पनि साधना गरिराखेको छु र अरुलाई पनि ध्यान सिकाइरहेको छु। मैले २० वर्ष ओशोको शारीरिक सानिध्य पाएँ र बाँकी ३० वर्ष उहाँले दिनुभएको साधना, साहित्य, ऊर्जा र आशीर्वादको सानिध्यमा बाँचिरहेको छु। यो ५० वर्ष निरन्तर उहाँकै बारेमा बोलिरहेको छु, लेखिरहेको छु। यसका बाबजुद पनि इमान्दारीका साथ म भनिरहेको छु– ओशोलाई अझै बुझ्न सकेको छैन।

हरेकपल्ट उहाँको किताब पढ्दा मलाई एकदमै नौला कुरा उहाँले बोलेजस्तो लाग्छ। उहाँको अभिव्यक्तिको सरलता, नीवनताले मन्त्रमुग्ध पार्छ। शब्दातीतलाई शब्दमा, अदृश्यलाई दृश्यमा खिच्न सक्ने ओशोको अलौकिक क्षमताले विस्मित पार्छ। जीवन जगतको विरोधाभाष बुझाउन तर्कको शिखर छुने ओशो स्वयम् तर्कातीत हुनुहुन्छ। त्यसले ओशो अबोधगम्य र अबुझ रहनुहुन्छ। उहाँका बारेमा मैले सबै कुरा पढिसकेँ, सबै कुरा जानिसकेँ, अब जान्नु छैन भनेर कसैले भन्न सक्दैन जस्तो लाग्छ।

ओशोको बुद्धत्व र प्रज्ञा अनुपम छ। ओशोको दर्शनमा आजको मनुष्यको समस्यालाई हेर्ने र सुल्झाउने एक वैज्ञानिक दृष्टि छ। हाम्रा प्रश्न र समस्या नयाँ छन् र धर्मको ठेक्का लिएकाहरूसँग जीणसिर्ण पुरानै उत्तर छन् जसले मनुष्यको खोज र प्यास सम्बोधन गर्न सकिरहेको छैन। धर्मबाट मनुष्यको आस्था ढलेको अवस्था छ। धर्मबाट आधुनिक मनुष्य विमुख हुन थालेको आजको परिस्थितमा ओशोले मनुष्यका लागि एक नवीन जीवनशैलीको दर्शन दिनुभएको छ। यसै कारण आज नाम चलेका गुरुहरूको प्रवचन सुन्यो, हे¥यो भने ओशोकै उद्धरण, ओशोकै कथा, ओशोकै जोक्सहरू प्रयोग भइरहेका हुन्छन्। अधिकांश प्रवचनमा ओशोकै सुगन्ध आइरहेको हुन्छ। तर त्यस्ता हिम्मतिला, इमान्दार व्यक्ति एकदमै कम छन् जसले ओशो दर्शनबाट आफू प्रभावित भएर प्रवचन गरेको स्वीकार्छन्।

सामान्य सुधारक योगी र ओशोमा फरक के छ भने सामान्य योगीले तपाईँको जीवनमा केही सुधार गर्न चाहन्छ, मर्मत तथा रेट्रोफिटिङ गर्न चाहन्छ तर ओशोलाई रेट्रोफिटिङमा विश्वास छैन।

सामान्य सुधारक योगी र ओशोमा फरक के छ भने सामान्य योगीले तपाईँको जीवनमा केही सुधार गर्न चाहन्छ, मर्मत तथा रेट्रोफिटिङ गर्न चाहन्छ तर ओशोलाई रेट्रोफिटिङमा विश्वास छैन। उहाँ पुरानो मान्यतालाई जडदेखि नै बिदा दिएर पारेर नयाँ संस्कृति बसाउन चाहनुहुन्छ। समाजमा हजारौँ वर्षदेखिका पुराना सडे÷गलेका मान्यता व्याप्त छन्। यिनले मनुष्यलाई मुक्त होइन, गुलाम बनाएर राखेका छन्। धर्महरू अवैज्ञानिक, जीर्ण, अव्यावहारिक भएको आजको अवस्थामा सेक्सको विषयमा, राजनीतिको विषयमा, अर्थशास्त्रको विषयमा, परिवार नियोजनलगायत जीवनका सबै महत्वपूर्ण विषयमा ओशोको आफ्नै क्रान्तिकारी दृष्टि छ। उहाँ रोगलाई सुधार गरेर बचाउने होइन, पूर्ण उन्मूलनमा विश्वास गर्नुहुन्छ। पुराना सडे÷गलेका मान्यतालाई सजाएर, मिलाएर, लिपपोत गरेर काम चल्नेवाला छैन। त्यस्ता मान्यतालाई पूर्णरूपमा बिदा दिएर नयाँ संस्कृतिको जग बसाल्ने हिम्मत अबको मनुष्यको हुनुपर्छ भन्ने उहाँको मान्यता छ।

ओशोको संन्यास निषेधको होइन, सिर्जनशीलता र सतत् साधनाको हो। ब्रह्मचर्यको पालना, यो खाउ त्यो नखाउ भन्ने हजार निमयले मनुष्यलाई अझ भ्रमित र अपराधभावले भरिदिएको छ। साधनायुक्त जीवनबाट अन्तअनुशासनको सिर्जन हुन्छ भन्ने ओशोको दृष्टि छ। प्याज, लसुन, चिया नखाँदा स्वर्ग नै पुगिने जस्तो कुरा गर्ने, ब्रह्मचर्य पालना गर्दा मोक्ष प्राप्त हुने भ्रम सिर्जना गर्ने पारम्परिक ढर्राका गुरुहरू नै पतन भएको वर्तमान पृष्ठभूमिमा पनि अझै ओशोलाई बुझ्न कठिन छ।

नयाँ संस्कृति, नयाँ सोच, नयाँ विचारधारा अंगाल्न सक्ने साहस गर्नेहरूले मात्र ओशोलाई बुझ्न सक्छन्। त्यसकारण जबसम्म ओशो शरीरमा रहनुभयो उहाँ अबुझ नै रहनुभयो। जति विवाद ओशोको वरिपरि सिर्जना गरियो त्यति अन्य कुनै गुरुका बारेमा भएन। यति आलोचना कुनै गुरुको भएन जति ओशोको भयो र आज पनि भइरहेको छ। यो संसारमा सिर्जनशील व्यक्तिले ढर्रायुक्त समाजमा नयाँ कुरा गर्न ठूलै मूल्य चुकाउनुपर्छ।

नेपालमा ओशोका एक सय तीनवटा आश्रम, सेन्टर र १५ वटा कम्युन छन्। नेपालमा हामीले उहाँका दुईवटा समाधि बनाएका छौँ। नेपालमा प्रत्येक वर्ष औसतमा ६ वटा नयाँ आश्रम बनिरहेका छन् र दुई हजार व्यक्ति दीक्षित भइरहेका छन्। असी राष्ट्रका मानिस योग ध्यानका लागि यहाँ आउने गरेका छन्।

ओशोको दरिद्रताको दर्शनमा विल्कुलै विश्वास थिएन। गरिबीलाई उहाँ श्राप अथवा समाजको क्यान्सर भन्नुहुन्थ्यो। दरिद्रता मनुष्यको मूर्खताले पैदा भएको हो। यो पृथ्वी आज ज्ञान र प्रविधिले यति सम्पन्न छ कि सारा मनुष्य जाति सुविधासाथले बस्न, खान र लाउन सक्छ। ओशो भन्नुहुन्छ– गरिबी कृत्रिम संरचना हो। यो हाम्रो मूर्खता हो, बाध्यता होइन। गरिबी बाध्यता होइन, मनुष्यतामाथिको जालसाँझी हो। पृथ्वीका सबै मनुष्यलाई एक मनुष्यता मानेर विश्वमा पैदा भएको सम्पन्नताको सानो भागको समान वितरणले मानिसका आधारभूत आवश्यकताहरू सजिलै पूरा हुन सक्छन्।

ओशो भन्नुहुन्छ– गरिबी मनुष्यताको स्वसृजित अभिशाप हो। अहिलेको वैज्ञानिक र प्रविधियुक्त युगमा हामीले बुद्धिमतापूर्वक मिलेर व्यवस्था ग¥यौँ भने गरिबी सदाका लागि बिदा हुन्छ। आज हाम्रो स्रोत र साधनको तीसदेखि पचास प्रतिशतसम्म युद्धका लागि अनावश्यक हातहतियार र सैन्य सामग्रीमा खर्च भइरहेको छ। जसलाई हामी प्रतिरक्षा भन्छाैं। हामी नाम बडो सुन्दर दिन्छौँ। तर कोबाट प्रतिरक्षा ? के अर्को ग्रहबाट कोही आएर आक्रमण गर्नेवाला छ यहाँ ?

ओशो भन्नुहुन्छ– विज्ञान र प्रविधिले यस पृथ्वीलाई एक ‘ग्लोबल भिलेज’ बनाइदिएको छ। अब रुग्ण राजनीति र पूर्वाग्रही धर्मान्धताले मात्रै मुनष्य विभाजित छ। सबै देश पृथ्वीमा विभिन्न राज्य समान हुनुपर्छ र तिनका सिमाना राष्ट्र सङ्घले निश्चित गरिदिनुपर्छ। र, विश्व शान्ति र सुरक्षाका लागि राष्ट्र सङ्घले एउटा सानो पिस किपिङ फोर्स राखे पुग्छ। विश्वका प्रत्येक राज्यले आन्तरिक सुरक्षा र सुव्यवस्थाका लागि प्रहरीमात्र राखे पुग्छ। 

एक्काइसौँ शताब्दीको संवेदनशील मनुष्यले सैन्य शक्तिलाई गौरव र सौर्य मान्न मिल्दैन। यस्ता देशहरू जहाँका साठी प्रतिशत नागरिक गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, सरसफाइ जस्ता आधारभूत आवश्यकताबाट पनि वञ्चित छन्, त्यस्ता राष्ट्रले अन्धो राष्ट्र, जाति र धर्मवादका नाममा आणविक हतियारमा असीमित पैसाको खोलो बगाएका छन्।
आफ्ना नागरिकका लागि सामान्य पिउने पानी र शौचालयको व्यवस्था गर्न नसकेका पाकिस्तान भारत, उत्तर कोरिया जस्ता देशले पनि आणविक अस्त्र र शस्त्र भण्डार बढाउन आफ्नो स्रोतको ठूलो हिस्सा खर्च गरिरहका छन्। विश्वमा गरिबीका यी मूल कारण हुन्।  

ओशोलाई युद्धखोरहरूले, हिंसामा विश्वास गर्नेहरूले, अतिराष्ट्रवादीहरू तथा धर्मान्धहरूले बुझ्न सकेनन्। उनीहरूले नै ओशोलाई जेलमा हाले। र, अन्ततः हत्या गरे। ५८ वर्षको सङ्र्घषमय जीवनकालमा उहाँले जति आलोचना, निन्दा र यातना सहनुप¥यो, त्यो अवर्णनीय छ। 

ओशोको साहित्यिक शैली, विषयवस्तुको गहिरो पकड, अभिव्यक्तिको क्षमताले ओशोलाई जति पढ्यो उहाँले उति नै आश्चर्यचकित पार्नुहुन्छ। उहाँका हरेक शब्द उद्धृत गर्न लायक छन्। ओशोका इमान्दार पाठकले मलाई भन्नुहुन्छ– उहाँका गहकिला विचारहरूले परिपूर्ण पुस्तकहरू पढ्दा पूरै पुस्तकै अन्डरलाइन गरेर रंगिन्छ।

ओशोको अर्को महत्वपूर्ण विशेषता के हो भने योगी भएर पनि उहाँमा अद्भूत सौन्दर्यबोध थियो। फाटेको, नमिलेको तथा फोहर लुगा उहाँले कहिल्यै लगाउनुभएन। जब उहाँलाई सुरुका दिनमा मैले भेटे उहाँ लुंगी लगाउनुहुन्थ्यो र एउटा खास्टो ओढ्नुहुन्थ्यो। सुरुका दिनमा भक्तहरू कम भएकाले उहाँ लुगा आफैँ सफा गर्नुहुन्थ्यो। 

एकपटक उहाँ पटना आउँदा (जुन कार्यक्रमको आयोजक म थिएँ) उहाँले बीसवटा भन्दा बढी लुंगी ल्याउनुभएको थियो र हरेक कार्यक्रमको अन्त्यपछि स्नान गरी उहाँ नयाँ लुंगी फेर्नुहन्थ्यो। उहाँ चट्ट आइरन गरी मिलेको कपडामात्र लाउनु हुन्थ्यो। यसैबाट बुझ्न सकिन्छ कि उहाँमा कति सौन्दर्य चेत थियो।

लुंगी लगाएर साइकल चलाउन कठिन हुने भए पनि उहाँले त्यतिबेला सबैभन्दा महँगो र प्रचलनमा रहेको साइकल चढ्नुहुन्थ्यो। कलेजबाट फर्किएपछि उहाँ आफैँले साइकल पुछपाछ गरेर टल्काउनुहुन्थ्यो। पछि गाडी खरिद गर्दा पनि सबैभन्दा महँगो र आकर्षक गाडी खरिद गर्नुभयो। उहाँले जति सफा कपडा लगाउनुहुन्थ्यो त्यत्तिकै सफा र सुन्दर थिए आश्रमहरू पनि। विश्वका जुनसुकै देशमा रहेका ओशो आश्रममा पुग्दा पनि त्यत्तिकै सफा र सुन्दर देख्न सकिन्छ। त्यसैले यो बुझ्न सकिन्छ कि ओशोको जीवनशैली सौन्दर्यबोधले युक्त थियो।

उहाँ आफूमात्र सुविधामा बाँच्नुभएन कि शिष्यहरूलाई पनि धर्ममा नाममा अनावश्यक दुःखबाट बच्न र सुविधामै साधना गर्न प्रेरित गर्नुभयो। अन्य योगीले सादा जीवन उच्च विचारको मान्यता राखे पनि ओशोले ‘हाइ लिभिंग, नो थिकिंग’ विश्वास गर्नुहुन्थ्यो। उहाँका अनेकौँ विशेषतामध्ये अर्काे महत्वपूर्ण विशेषता के हो भने सेन्स अफ ह्युमर। हाँस्यबोधले मिश्रित उहाँका प्रवचनहरूमा वेद÷गीता जस्ता क्लिस्ट ग्रन्थलाई पनि सरसता मिल्थ्यो र सटिक हुन्थे। बुद्धका धम्मपद होस् वा अन्य विषय, तिनलाई स्वच्छ अभिव्यक्ति र साहित्यिक व्यञ्जनाले संगीतमय बनाइदिनुहुन्थ्यो।

शंकराचार्य, बुद्ध, कृष्ण, गुरु नानक, येशु, मोहम्मद जस्ता आत्मज्ञान प्राप्त सत्तरीजना महापुरुषबारे उहाँले बोल्नुभएको छ। समस्त बुद्ध पुरुषहरूको दर्शनमा लागेको धुलो ओशोले सफा गरिदिनुभयो। यो उहाँको अर्को विशेषता हो। इसाईका एकजना पादरीले भन्नुभएको छ कि इशामाथि ओशोले जस्तो कसैले व्याख्या गरेको छैन। गीताको बारेमा उहाँले जुन व्याख्या गर्नुभयो, त्यो शायद श्रीकृष्णले मात्रै गर्न सक्नुहुन्थ्यो। गुरु नानकका बारेमा उहाँले बोलेका पुस्तक प्रत्येक सिखका लागि आदरणीय छ। उहाँले जुन गुरुका बारेमा बोल्नुभयो त्यो गुरुको सर्वोत्तम पुस्तक बन्न गयो। ओशोको यो अद्भुत विशेषता हो। त्यसैले उहाँ सम्प्रदायमुक्त व्यक्ति हो। त्यसैले मनुष्य जगत उहाँप्रति ऋणी रहनेछ। त्यो ठाउँ जहाँ उहाँले टेक्नुभयो ती सबै तीर्थसमान छन्। उहाँ काठमाडौँ ४५ दिन बस्नुभयो।

नेपालमा ओशोका एक सय तीनवटा आश्रम, सेन्टर र १५ वटा कम्युन छन्। नेपालमा हामीले उहाँका दुईवटा समाधि बनाएका छौँ। नेपालमा प्रत्येक वर्ष औसतमा ६ वटा नयाँ आश्रम बनिरहेका छन् र दुई हजार व्यक्ति दीक्षित भइरहेका छन्। असी राष्ट्रका मानिस योग ध्यानका लागि यहाँ आउने गरेका छन्। जसरी तिब्बत बुद्धलाई संरक्षित गर्ने राष्ट्रका रूपमा स्थापित भयो त्यसैगरी ओशो दर्शन संरक्षण गर्ने र विश्वमा फैलाउने राष्ट्रका रूपमा नेपाल स्थापित हुँदैछ।

भारतको मध्यप्रदेश सरकारले पहिलोपटक ओशोको जन्मदिन राजकीय ढंगले मनाउने निर्णय गरेको छ। यसका लागि मध्यप्रदेशका मुख्यमन्त्री कमलनाथजीप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु। यस्ता महापुरुष ओशोको जन्मदिवस ११ दिसम्बरका दिन नेपालका एकसय तीनवटा ओशो आश्रमहरूमा बडो उत्सवपूर्ण ढंगले उहाँका हजारौँं शिष्य तथा लाखौँं ओशोप्रेमीले मनाए।

प्रकाशित: २६ मंसिर २०७६ ०४:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App