विचार

चकचकेलाई रडको कलम

सोच्ने शैली र संस्कार बदलेर व्यक्तिवादी मानसिकता छोड्ने हो भने हामी एसियाकै केन्द्र बन्नसक्छौँ। माटो खोस्रिँदै जाने हो भने पहिरो जान धेरै समय लाग्ने छैन।

चालीस वर्ष स्कुल पढाएर हालै अवकाश पाएका मेरा बुबा केटाकेटी छँदा हाम्रो चकचके र उद्दण्ड स्वभाव देखेर आजित हुँदै भन्नुहुन्थ्यो- तिमीहरूलाई तीनसुते रडको कलम दियो भने पनि एकै दिनमा भाँचिदिन्छौ। हामीले दिनदिनै नयाँ डटपेन वा पेन्सिल भाँचेको देखेर उहाँ दिक्क मान्नुहुन्थ्यो। हामी हाँस्थ्यौं र सुन्यानसुन्यै गरिदिन्थ्यौं।


भरखरै तीन दिन मोटरसाइकलमा काठमाडौंवरपरका गाउँ घुम्दै राजविराजसम्म पुगेर फर्कंदा मैले बुबाको त्यही भनाइ झलझली सम्भि्करहेँ। लाग्यो- नेपाल तीनसुते फलामको रड हो, हामी नेपाली चाहिँ चकचके र उद्दण्ड केटाकेटी जोसँग न कुनै संस्कार छ, न फराकिलो सोच्ने दिमाग।


संस्कार नहुनु स्वाभाविकै हो किनभने हाम्रो देशमा राणाशासन, पञ्चायत, बहुदल, जनयुद्ध र गणतन्त्र एकपछि अर्को गर्दै कति दुत गतिमा आइरहेका छन् भने संस्कार विकास हुन समाजले समयै पाएको छैन। फराकिलो सोच्ने दिमाग त प्रकृतिले सबैलाई दिएकै छ तर व्यक्तिवादी मानसिकताले हामीलाई कुन रूपमा बाँधेको छ भने आफूभन्दा बाहिर निस्किएर सोच्नै सक्दैनौ। समाज, देश र विश्वका लागि सोच्ने दिमाग त कहाँ पाएर हुनु?
तिहारअघिको आल्हादपूर्ण मौसममा काठमाडौंबाट सिन्धुली हुँदै राजविराज पुगेर हेटौंडा-कुलेखानी बाटो झन्डै ७ सय किलोमिटर तय गरी राजधानी फर्कंदा मलाई लाग्यो- सुन्दर र प्रशस्त सम्भावना भएको हाम्रो देश यही दरमा खोसि्रँदै जाने हो भने केही दशकमै कति रूपहीन र रोगी भइसक्नेछ भने पुरानै अवस्थामा फर्काउन कुनै बाटो बाँकी रहने छैन।
ट्रान्सपरेन्सी इन्टरनेसनलले हालै नेपाललाई विश्वकै दुर्नाम मुलुकको सूचीमा राखेको छ- भ्रष्टताका कारण। विश्वमै अब नेपालजति भ्रष्ट राष्ट्र कमै छन् भने दक्षिण एसियामा हामीले अफगानिस्तानलाई मात्र उछिन्न बाँकी छ।


सडक निर्माण भ्रष्टाचारको एउटा प्रमुख स्रोत हो- हाम्रा लागि। विकासको यो प्रमुख आधारका लागि हाम्रो गरिब मुलुकलाई दाताले भनेजति रकम दिन्छन् भने सरकार आफैं पनि वार्षिक अरबौं छुट्ट्याउँछ। जहाँ दाम, त्यहाँ भ्रष्टाचार। मन्त्रीदेखि पिउनसम्म, दलका प्रमुखदेखि कार्यकर्तासम्म बाँडिन्छ त्यो रकम, कुनै न कुनै रूपमा। सडकचाहिँ पहाड खोस्रिएकै अवस्थामा रहन्छ।


सरकारले भरखरै मध्यपहाडी लोकमार्गका चार प्रमुख खण्ड निर्माणका लागि दातासँग सहयोग मागेको छ जसमा उसले खुर्कोट-घुर्मीलाई पनि सामान्य रेखांकन नभएको बाटो मानेको छ। जबकि काठमाडौंबाट १ सय १४ किलोमिटर टाढा पर्ने सिन्धुली, खुर्कोटबाट ६७ किलोमिटर पूर्व ओखलढुंगा, घुर्मीसम्म कामचलाउ बाटै बनिसकेको छ, रेखांकनको त कुरै भएन! बन्ने क्रममा रहेको बाटोलाई रेखांकनै नभएको भन्दै दातासँग हात फैलाउने सरकारले भ्रष्टाचार गर्न दाउ हेरेर बसिरहेकालाई झनै सजिलो पारिदिएको छ। यी चारै खण्डलाई गरेर भौतिक योजना मन्त्रालयले दातासँग करिब १० अर्ब रूपैयाँ मागेको छ जसमध्ये ठूलो रकम व्यक्तिकै खल्तीमा जाने प्रस्ट छ।

देश घुम्यो भने बाटो बनाउने नाममा जताजतै पहाड खोस्रिएको देखिन्छ। अलिअलि खोस्रियो, सबारी साधन दौडायो, अलपत्र छाडिदियो र अर्को पहाड खोस्रिन थालिहाल्यो।
बीपी राजमार्ग हुँदै काठमाडौंबाट बर्दिबास (१ सय ९० किलोमिटर) पुग्न नारायणघाट भएर जाँदाभन्दा १ सय ६० किलोमिटर नजिक पर्छ। अहिले बीपी राजमार्ग (बनेपा-बर्दिवास, १६२ किलोमिटर) मा भाडाका सबारी चल्न थालिसकेका छन् तर यो बाटो काठमाडौंबाट बर्दिबास जान चारवटा बस फेर्नुपर्छ। काठमाडौंबाट बनेपा, त्यहाँबाट खुर्कोट, फेरि सिन्धुलीमाडी र बल्ल चौथोपल्टको बसमा बर्दिबास। यसरी दुःख पाउनुको कारण हो- बस व्यवसायीको सिन्डिकेट जुन भ्रष्टाचारको अर्को उत्कट नमूना हो। सरकार देख्यानदेख्यै गरिरहन्छ।
राजमार्गले जग्गाको मूल्य त बढाएको छ तर उत्पादनशील क्षेत्र विस्तार हुन सकेको छैन। बीपी राजमार्गको खुर्कोट स्टेसनवरपर जग्गाको भाउ चर्केर चार लाख आनासम्म पुगिसक्यो तर त्यहाँ खेतीपाती वा अन्य उत्पादनशील क्षेत्रको सम्भावना खोजिएको छैन। सिन्धुली, रामेछाप र ओखलढुंगाको केन्द्र बन्ने क्रममा छ यो बजार। सायद १० वर्षभित्र ठूलै व्यापारिक थलो बनिसक्ला। भट्टी, भातहोटल र माछापसलमा ग्राहकको लाम लाग्ला। तर, दिगो विकासको कुनै आधार नबन्दा अर्को १० वर्षपछि खुर्कोट अहिलेको धनकुटा वा मुङलिङ बजारजस्तै निर्जीव र सुनसान बन्न बेर छैन।

हामीले बर्दिबासमा पूर्वपश्चिम राजमार्ग भेट्टायौं र राजविराज पुग्यौं। राणाकालमै व्यवस्थित बसोवासका लागि विकास गरिएको यो सहर झन्डै १० वर्षपछि पाइला टेक्दा मलाई कान्तिहीन र उराठ लाग्यो, भारतसँग सीमा जोडिएका तराईका अन्य ठूला बजारजस्तै। एक सरकारी अधिकारीका अनुसार सगरमाथा अञ्चलकै सदरमुकाम राजविराजमा स्वास्थ्य क्षेत्रको स्थिति कति दयनीय छ भने अचानक ठूलो रोग लाग्यो भने मर्नुको विकल्प छैन। यहाँबाट सबभन्दा नजिकको अस्पताल धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान हो जुन झन्डै १ सय २० किलोमिटर टाढा छ। एम्बुलेन्स जति नै द्रुत गतिमा कुद्यो भने पनि बाटाको दुर्दशा र ट्राफिकले अस्पताल पुग्न कम्तीमा अढाइ घन्टा लाग्छ।
केही वर्षयता तराईमा चलेको अधिकारमुखी आन्दोलनसँगै भित्रिएको असुरक्षाका कारण यस क्षेत्रमा अस्पताल बनाउनु व्यापारी नाफामूलक देख्दैनन्। सरकारको सूचीमा त अस्पताल अहिले धेरै नम्बरपछिको प्राथमिकता होला!

तराई आन्दोलनसँगै जन्मेको असुरक्षाकै कारण मधेसका पहाडीहरू बिस्तारै उकालो चढिरहेका छन्। सक्ने काठमाडौं वा हेटौंडा, नसक्ने कम्तीमा पूर्वपश्चिम राजमार्गवरपर। भारतीय सीमाको गौर सुक्यो तर ४२ किलोमिटर उत्तर राजमार्गको चन्द्रनिगाहपुर गुल्जार बन्दै छ। हेटौंडाको त कुरै नगरौं, त्यहाँ जग्गाको भाउ कति चर्किएको छ भने चानचुनेले किन्ने आँटमात्र पनि गर्न सक्दैनन्।

देशमा भ्रष्टाचारको अर्को ठूलो संयन्त्र प्रहरी हो जो अहिले तिहार-छठमा पटाका भित्रिन नदिन ठूलो स्वर गरिरहेको छ। पूर्वपश्चिम राजमार्गको पथलैयामा हामीले थाहा पायौं - १० किलोमिटर दक्षिण जितपुर बजारमा भनेजति पटाका किन्न पाइन्छ। वीरगन्जको त कुरै भएन, त्यहाँ हरेक साँझ आतसबाजी हुन्छ, तैपनि प्रहरी विष्फोटक पदार्थ रोकेको प्रचार गरिरहन्छ।

काठमाडौं प्रहरी प्रमुख रमेश खरेलले प्रमाण नपुगेका तर अपराध गरेको बुझिएका अभियोगीलाई कालभैरव घुमाई 'अबदेखि गर्दिनँ' भनाएर छोडाएजसरी सम्बन्धित प्रमुखले वीरगन्जका एसपीसाप्लाई छातीमा हात राख्न लगाएर सोधौं न, उनको क्षेत्रमा पटाका भित्रिएको छ कि छैन?

तेस्रो दिन हामी कुलेखानी आइपुग्यौं जुन बाटो दैनिक ६ सय सुमो काठमाडौं-हेटौंडा (७८ किलोमिटर) गर्छन्। भाडाका सुमो, मोटरसाइकल र निजी गाडी गरेर दैनिक झन्डै २ हजार सबारी गुड्ने यस बाटाको विस्तार कति सुस्त गतिमा भइरहेको छ भने काठमाडौंदेखि हेटौंडासम्मै पिच भएको देख्न हाम्रो पुस्तालाई हम्मे नै पर्ला। बाटो चारैतिर दर्जनौं सहायक सडक खोस्रिइँदै छन् जहाँ स्थानीय र माथिल्लो संयन्त्र मिलेर 'मोज' गरिरहेका छन्।
हाम्रो देश अपत्यारिलो ढंगले सुन्दर र सम्भावनायुक्त छ। सोच्ने शैली र आयाम तथा संस्कारमा परिवर्तन गरेर व्यक्तिवादी मानसिकता छोड्ने हो भने हामी एसियाकै केन्द्र बन्न सक्छौं। भौगोलिक दृष्टिले त हामी एसियाको केन्द्रमा छँदै छौं। तर, यसरी नै माटो खोस्रँदै जाने हो भने देशमा पहिरो खस्न धेरै समय लाग्ने छैन। हामी चकचकेले रडको कलम भाँचिछाड्ने छौं।

प्रकाशित: १७ कार्तिक २०६७ ००:५३ बुधबार