विचार

उद्यमतर्फ तामाङ महिला

पाखो र दुर्गम। बसोबास तामाङ जातिको। हो, राजधानीसँग जोडिएको दक्षिण ललितपुरस्थितकोन्ज्योसोम यही परिचयमा चिनिन्थ्यो। रक्सी बनाउने, बेच्ने र खाने काम मुख्य थियो। पाखो जमिन बढी हुने भएकाले धान खासै नहुने। मकै÷कोदो आदि उत्पादन त हुन्थ्यो तर त्यसले पनि नधान्ने। त्यसैले दुःखी जीवन बिताउँथे तामाङहरू।

अहिले भने यो समुदायमा परिवर्तन देखापर्न थालेको छ। खासगरी तामाङ महिलाअहिले रक्सी बनाउने र बेच्नेभन्दा फरक भूमिकामा देखिन थालेका छन्।उनीहरू प्रायः यतिबेला तरकारी किसानमा परिणत भएका छन्। आफ्नै धेरथोर खेती हुनेहरू आफ्नै खेतीमा तरकारी लगाउन थालेका छन्। अझ कतिपय त आफ्नो खेतीमा नपुगेर बगरमा समेत लगाउन थालेका छन्। आफ्नो जमिन नहुने पनि बगरमा तरकारी लगाएर जीवनस्तर उकास्ने प्रयासमा तल्लीन देखिन्छन्।

आर्थिक स्तरमा आएको वृद्धिसँगै उनीहरूमा ज्ञानको स्तर पनि वृद्धि भएको छ। तरकारी बिक्रीका उपयुक्त स्थलहरू खोजी गर्ने, मूल्यमा बार्गेनिङ गर्ने, कृषिसँग जोडिएका कार्यालयहरूमा गएर आफ्ना लागि के कस्ता सेवा÷सुविधा छ भनेर सोधखोज गर्नेलगायत कार्यमा उनीहरू सक्रिय भएका छन्। यसले एकातिर उनीहरूलाई घरबाहिर पनि सुन्दर दुनिया छ भन्ने जानकारी दिलाएको छ भने अर्कोतिर आर्थिक अवस्था अन्य अवस्था पनि सुधार्ने मुख्य माध्यम रहेछ भन्ने ज्ञान हासिल गराएको छ।

खासगरी विकासका लागि स्थानीय स्वयमसेवकहरूको प्रयास (सल्भ नेपाल) द्वारा महिलालाई आर्थिक गतिविधिमा आधारित सिप, ज्ञान र अवसर सिर्जना गरी व्यक्तिगत हैसियतमा परिवर्तत ल्याउने उद्देश्यले महिला उद्यम विकासको पहल गरिएपछि उनीहरूमा योखाले परिवर्तन देखिएको हो। साविकको यो भारदेउ गाउँ महिलामा आएको यही परिवर्तनका कारण सामाजिक दृष्टिमा मात्र होइन, शिक्षा र स्वास्थ्यका दृष्टिमा पनि गति लिँदो छ क्रमशः।अर्थात धुलोमा खेलेर बिताउने बालबालिका पढ्न जान थालेका छन् भने बीचमै पढाइ छाड्नेहरू निरन्तरता दिन थालेका छन्।

आज पनि कोन्ज्योसोमका अधिकांश पुरुष खाडी मुलुक पुगेका छन् कामका लागि।त्यस्तामध्ये कतिपय पुरुष त घर नफर्केको पनि ८–१० वर्ष नै बितिसकेको छ। शायद कमाउन नसकेर होला।महिलाहरू काममा ब्यस्त हुनै परिहाल्यो। त्यसैले गाउँमा बूढापाका र बालबालिका मात्र देखिनु यहाँका लागि सामान्य हो।यस्तो अवस्थामा आफ्नै खुट्टामा उभिनुपर्छ भनेर यहाँका तामाङ महिलाले देखाएका साहस अनुशरणीय मान्नुपर्छ।

अहिले कोन्ज्योेसोम गाउँपालिकाको साबिक भारदेउका ८ र ९ नं. वडाका महिला केहीन केही व्यवसायमा हात हालेकै देखिन्छन्। कसैसँग कपडा सिउने सिप छ कसैसँग कसैसँग बाख्रा पालन। अनि कसैले बंगुर पालन गरेका छन् त कसैको कस्मेटिक पसल राखेका छन्। त्यसैगरी कपडा पसल राख्ने, होटल व्यवसाय गर्ने, च्याउ खेती गर्ने तथाकुखुरा पालनमा हात हाल्ने पनि धेरै देखिन्छन्। जसले उनीहरूलाई एकातिर आर्थिकरूपले सबल बनाएको छ भने अर्कोतिर आत्मविश्वासी पनि बनाएको छ। ‘गरे जे पनि सकिँदोरहेछ, महिला हौँ,  केही गर्न सकिन्न भनेर बस्यो भने त जिन्दगी नै त्यत्तिकै बित्ने रहेछ’– अहिले भारदेउका महिलाले निकालेका निष्कर्ष यही हो।

 

प्रकाशित: ७ आश्विन २०७६ ०५:०० मंगलबार

दुर्गम बसोबास उद्यम