हिन्दु धर्म संसारकै सबैभन्दा पुरानो र विशाल धर्म हो। यसभित्र अनेक ज्ञान, नीति–नियम छन्, जसलाई आधुनिक विज्ञानले समेत गतिलो स्रोतका रूपमा प्रयोग गरेको छ। हिन्दु धर्मका धेरै गुण छन्, जसमध्ये प्रकृतिप्रतिको सम्मान, प्रेम र श्रद्धा अन्य धर्मका भन्दा पृथक छन्। नदीनाला, पहाडपर्वत, रूखबिरुवा, जीवजन्तु, जस्तै ः मुसा, भ्यागुतालाई समेत पुजिन्छ। विडम्बना, हिन्दु धर्मका अनुयायीले जातका आधारमा छुवाछूत तथा अमानवीय विभेद गर्छन्। यो कुसंस्कारको जग मनुस्मृति, रामायण, महाभारतजस्ता हिन्दु धर्मग्रन्थ हुन्।
रामायणमा शूद्र वर्णका शम्बूक ऋषिले तपस्या गर्दा राज्यमा अनिष्ट भएको भन्दै रामले उनको टाउको काटेर हत्या गरेको वर्णन पाइन्छ। त्यस्तै माहाभारतमा पनि अर्जुनले कर्णलाई शूद्रका छोरा भनी आजीवन अपमान गरेको प्रसंग छ। मनुस्मृति तथा चाणक्य नीति पनि शूद्र वर्णलाई हेप्नै लेखिएजस्ता देखिन्छन्। यस्तो विभेदकारी, कुसंस्कारको सबैभन्दा बलियो स्तम्भ हो– वर्ण व्यवस्था। जसले एकै मानव जातिलाई विभिन्न जातमा विभाजन गर्दै उचनीचको पर्खाल खडा गरेको छ र छुवाछूतजस्तो अति नै असभ्य र अमानवीय परम्परा फैलाएको छ।
हाम्रो समाजमा शिक्षित परिवारले नै अन्तर्जातीय विवाहमा अवरोध तथा सामाजिक बहिष्कार गर्ने गरेका घटनाले नेपाली शिक्षित जनशक्ति रूढिवादी प्रवृत्तिको दास भएको देखिन्छ।
हिन्दु धर्मका अनुयायी– विशेषगरी जनैधारी समूहले जातका आधारमा छुन मिल्ने÷नमिल्ने, खान मिल्ने÷नमिल्ने तथा बिहेवारी कोसँग मिल्ने, कोसँग नमिल्नेजस्ता नीति आजसम्म अभ्यास गरेको देखिन्छ। राणाकालसम्म जातलाई आधार मानेर काम बाँडफाँड गरिएको थियो। तागाधारीलाई पढ्ने लेख्ने र शासन गर्ने, मतवालीलाई आयआर्जन तथा व्यापार–व्यवसाय तथा शूद्र अर्थात् दलितलाई कलात्मक र अन्य श्रमका काम गर्न दिइएको थियो। तागाधारीले गर्ने कामका आधारमा थर प्रदान गरियो– पण्डित, कार्की, रावल, लेखक, अधिकारी आदि। ब्राह्मण, क्षेत्रीले अपनाएका पेसालाई थरमा रूपान्तरण गरियो। तर यस्ता पेसा गर्न दलित समुदायलाई प्रतिबन्ध लगाइयो। राज्यको पहुँच÷प्रभाव रहने पदमा ब्राह्मण, क्षेत्री समुदायका मानिसमात्र जान पाउँथे। तर शूद्र वा दलितले पढ्ने–लेख्ने काम गरे जिब्रै काटिदिनेसम्मको नियम थियो। अन्तर्जातीय विवाह गरे मृत्यु दण्ड नै दिने चलन चलाइयो। यसरी कसैलाई पण्डित, काजी बनाइयो त कसैलाई पाजी, अछूत। आज दलित समुदाय जुन अवस्थामा छ, त्यो विगतमा अभ्यास गरिएको थुनछेक प्रवृत्तिको प्रतिफल हो।
वर्षांैदेखि धर्मका आडमा दलित समुदायलाई दलदलमा बस्न बाध्य पारियो। भलै, राष्ट्रिय राजनीतिमा ठूलो परिवर्तन आयो। राजतन्त्र, प्रजातन्त्र, लोकतन्त्र हुँदै गणतन्त्र आयो। देशले नयाँ संविधान पायो, राष्ट्रपति पायो, तर दलितले मुक्ति पाएनन्। राज्यका तर्फबाट दलित अधिकारमा विभिन्न ऐन–कानुन, नीति त बनाइएका छन्, तर जातीय छुवाछूत हुन छाडेको छैन। सभासद, जसले कानुन बनाए, उसैले जातका नाममा विभेद भोगेको घटना हाम्रो समाजमा भएका छन्। विद्यार्थी, जो ज्ञान आर्जन गर्न चाहन्छ, उसलाई विभेद गरेर मानसिक पीडा दिइन्छ। भाडामा कोठा लिएर बसेकालाई जात थाहा पाएपछि निकाल्ने, दलितले आयोजना गरेका भोजभतेर बहिष्कार गर्नेजस्ता नयाँ प्रकारका विभेद भइरहेका छन्।
नेपालमा करिब ६५ लाख संख्यामा दलित छन्। दलितहरूको मूल धर्म पनि हिन्दु नै रहेको कुरा उनीहरूका रहनसहन, रीतिरिवाज, वेशभूषा, परम्पराले पुष्टि गर्छन्। तर एउटै धर्मका अनुयायीबीच देखिएको जातीय खाडलले हिन्दु धर्ममा जटिल समस्याहरू निम्त्याएका छन्। जस्तो ः हिन्दु धर्मप्रति दलित समुदायको वितृष्णा बढ्दै जानु तथा धर्मै त्याग्नु, जसको प्रत्यक्ष असर अन्य धर्मका अनुयायी संख्या दिनप्रतिदिन बढ्नु, तर हिन्दु धर्मावलम्बीचाहिँ घट्दै जानु। एक हिन्दुले अर्को हिन्दुलाई गरेको दमन, पाप, अपराध र अमानवीय व्यवहारका कारण हिन्दु धर्म कमजोर बन्दै गएको हो। जातीय विभेदबाट आजित दलित समुदायभित्र विद्रोही समूह देखापरेको छ। फलस्वरूप हिन्दु धर्म त्यागेर इसाई धर्म मान्ने दलितको जमात ठूलो भइसकेको छ। अर्कातर्फ इसाई धर्मावलम्बी आफ्नो धर्म प्रचारमा जोडतोडसाथ लागेका छन्। उनीहरूले आफ्नो धर्ममा दलित तान्ने अस्त्र नै हिन्दु धर्मको जातीय विभेद बनाएका छन्। जातीय विभेदबाट मुक्ति पाउनाकै लागि धेरै दलितले धर्म परिवर्तन गरिरहेका छन्।
हिन्दु धर्मको सबैभन्दा कमजोर र विनाशकारी पक्ष भनेकै जातीय छुवाछूत हो। जातीय छुवाछूतलाई टेवा पु¥याउने ठूलो समूह तागाधारी हो। उसका हरेक कार्यले जातीय छुवाछूतलाई मलजल गरिरहेको छ। उनीहरू आफ्नो समुदायलाई सर्वश्रेष्ठ हिन्दु ठान्छन्। मठमन्दिरका पुजारी तथा अन्य आसेपासे आफ्नै समुदायका मानिसलाई राख्छन्। जनैधारीलाई भित्र, अरूलाई बाहिर, हामी सँगै बस्छौँ, तिमीहरू बस्नुहँुदैनजस्ता विभेदकारी सीमारेखा कोरेर सानो सुन्दर नेपाली समाजलाई खण्डखण्डमा विभाजन गरिरहेका छन् र सबैभन्दा पुरानो सनातन धर्मलाई मृत्यु शैयातिर धकेल्दै छन्। यही समुदायको अमानवीय गतिविधिले आज हिन्दु धर्मको अस्तित्व नै संकटमा पर्न लागेको छ।
मठमन्दिरमा प्रवेश निषेध हुँदाहँुदै पनि हिन्दु धर्मप्रति लम्पसार पर्दै गर्वसाथ हामी हिन्दु हौँ भन्छन्, दलित समुदाय। विडम्बना, तागाधारी समुदायले दलितलाई कहिल्यै आफ्नो सहधर्मी ठानेन÷ठानिरहेको छैन। हामीले आफ्नै दाजुभाइ÷दिदीबहिनीलाई अछूत भनेर अपराध गरिरहेका छौँ भन्ने चेत कहिले आएन, उनीहरूमा। हाम्रै कारण हिन्दु धर्म संकटमा पर्दै छ र त्यसको फाइदा अरू धर्मले उठाइरहेका छन् भन्ने ज्ञान कहिले आउने हो तागाधारीमा ?
हिन्दु धर्म बचाउने हो भने तागाधारी समुदायले दलित समुदायसँग माफी माग्नुपर्छ। गाउँ–गाउँमा गएर आफूले गरेको अमानवीय अपराध स्वीकार्दै आत्मालोचना गर्नुपर्छ। हिन्दु धर्मशास्त्रमा भएका दलितविरोधी व्याख्या हटाएर पुनर्लेखन गर्नुपर्छ। दलितलाई प्रवेश निषेध गरिएका ठाउँ जस्तै ः मठमन्दिरमा दलित पुजारी राख्नुपर्छ। समग्रमा समाजको हरेक अंगमा धार्मिक–सांस्कृतिक राजनीतिक क्रान्ति र रूपान्तरण अनिवार्य छ। अनिमात्र गुमेको हिन्दुत्व जगाउन सकिन्छ।
शिक्षालाई आधुनिक समाजले प्रमुख परिवर्तनकारी अस्त्र मानेको छ। आर्थिक, राजनीतिक, कानुनी र प्राविधिक विकास संरचना हेर्दा हो जस्तो पनि देखिन्छ। तर दलितका सवालमा शिक्षाले खासै परिवर्तन ल्याएको देखिँदैन। सहर–बजारमा शिक्षित परिवारबाट हुने विभेदका घटनाले पनि यो कुरा पुष्टि गर्छ। शिक्षक÷शिक्षिकाबाटै दलित छात्रछात्रालाई भेदभाव गरेका घटनाले प्रश्न खडा गर्छन्– ‘शिक्षाले खोइ त मानिसको मानसिकता परिवर्तन गरेको ? विगतको दाँजोमा नेपाली समाजको शैक्षिक अवस्था सुध्रेको छ। देशका कुना–कन्दरामा स्कुल स्थापना भएका छन्। वर्षकै लाखौँ विद्यार्थीले एसइई उत्तीर्ण गर्छन्। नेपालीहरू देश–विदेशका विश्वविद्यालयबाट विद्यावारिधि गर्छन्, तर तिनको सोच र चेतनामा परिवर्तन आएको देखिँदैन। युरोप–अमेरिकामा बस्ने नेपालीले समेत अझै जातीय अन्धविश्वास त्याग्न नसकेको बेला–बेला सार्वजनिक हुने विभेदका घटनाले देखाउँछन्।
धार्मिक–सांस्कृतिक रूपान्तरणमा शैक्षिक जनशक्तिको भूमिका प्रभावकारी हुनुपर्ने हो, तर समाजमा शिक्षित परिवारबाटै अन्तर्जातीय विवाहमा अवरोध तथा समाजिक बहिष्कार हुने घटनाले नेपाली शिक्षित जनशक्ति रूढिवादी प्रवृत्तिको दास भएको देखिन्छ।
जातीय विभेद अन्त्यका लागि मूलतः हिन्दुवादी जनैधारी समुदायमा सचेतना र शिक्षित जनशक्तिमा क्रान्तिकारी सोचको विकास आवश्यक छ। जबसम्म शिक्षित जनशक्ति जागरुक हँुदैन, तबसम्म सामाजिक रूपान्तरण असम्भव छ। सामाजिक न्याय र समानताका लागि शिक्षित समुदायले बुझपचाउने परिपाटी त्याग्नुपर्छ। अनिमात्र सुखी, सबल, संस्कारी समाज निर्माण गर्न सकिन्छ।
प्रकाशित: १९ श्रावण २०७६ ०३:०६ आइतबार