विचार

अर्जुन विरक्ति: विद्रोहीदेखि वैदिक यात्रीसम्म

राजु स्वामी
सम्पन्न घरानाका अर्जुन शर्मा ‘विरक्ति’ ११ वर्षकै कलिलो उमेरमा विद्रोहको तरंगसहित तत्कालीन पञ्चायती शासनविरूद्ध काठमाडौँका सडक गल्लीहरूमा बोल्दै हिँडे। बोलेर मात्र आफ्नो कुरो सुनिएन भनेर कलम चलाउन सिके। यति सानो उमेरमा सम्पन्न परीवारको मान्छेमा विद्रोही स्वभाव हुनाको कारण थियो– २०२३ चैतमा दाइ भीमनाथ शर्मा (भीमसेन) लाई षड्यन्त्रपूर्वक हत्या। विराटनगर जुट मिलमा मजदुरको हकहितबारे आवाज बुलन्द गर्नेमध्ये एक थिए– भीमसेन। जसलाई तत्कालीन पञ्चायती शासकले रूचाएनन् र हत्या गरे। उक्त घटनाविरुद्ध अर्जुनकी आमा भद्रकाली शर्मा, जो त्यसबेला काग्रेस समर्थक थिइन्, ले आवाज उठाइन्। जसका कारण त्यस बेलाका शासकले उनलाई पनि जेल हाले र यातना दिँदै दुवै कानका जाली फुटाइदिए,  करङ भाँचिदिए। यसको प्रत्यक्ष साक्षी बनेका अर्जुन अन्याय टुलुटुलु हेरी रोएर बसेनन्, बरू यसको चोटले उनमा गहिरो विद्रोहको ज्वाला पैदा भयो।

विडम्बना, पञ्चायती शासनका पक्षधर उनकै काका, आफन्तहरूले शर्माको विद्रोहलाई समर्थन गरेनन्। र, शर्माका आफ्नै पिता, उनकी अर्की आमा र उनीपट्टिका दाइ सबैले उनलाई साथ दिएनन्, बरू उल्टै सम्पत्ति जायजेथाबाट अलग गरेर घरबाट निकाले। आमा भद्रकाली शर्माका नाममा रहेको सम्पत्ति र माइतीको पेवा सबै पञ्चायतले सर्वस्व हरण ग¥यो। यसरी सम्पन्न परिवारका शर्मा एकैचोटि सडकवासी बन्न पुगे। श्रम, मजदुरी नगरी बाँच्न पनि नसकिने स्थिति सिर्जना भयो। उनी राति–राति नन्दी रात्रि पाठशाला (नक्साल)मा पढ्न् जान थाले। सानैदेखि आमाको संस्कारले प्रेरित उनले कम उमेरमै संस्कृत अध्ययन, वैदिक पूजापाठ पद्धति सिकिसकेका थिए। र, यो उनको नित्यकर्म भइसकेको थियो। त्यसैले उनी मिठुदेवी उपाध्यायकहाँ बालुवाटारमा बिहानको पाञ्चायन पूजापाठ गर्न जान्थे भने छाक टार्न दिउँसो गिटी कुट्ने काम गर्थे। यसरी उनले कक्षा ८ सम्मको पढाइ पूरा गरे।

आमा भद्रकाली शर्मा जेलमा हुँदा विश्वेश्वरप्रसाद कोइराला, गणेशमान सिंह, गिरिजाप्रसाद कोइरालालगायत नेताको भित्री सहानुभूति थियो, तर पार्टी प्रतिबन्धित भएकाले उनीहरूले चाहेर पनि भेट्न नसकेको कुरा पछि गिरिजाबाबुले शर्मालाई बताउँथे। त्यसै बेलादेखि उनी बिपीको सम्पर्कमा थिए। यहाँको प्रारम्भिक पढाइ पूरा भएपछि बिपी भेट्न वनारसको सागरनाथ पुगे र बिपीले उनलाई माइला दाइ (पुष्पलाल श्रेष्ठ) लाई गाह्रो छ, तिमी पूजापाठ गर्न पनि जान्ने, केही कर्मकाण्ड गरेर आर्थिक उपार्जन गरी माइला दाइकोमा दशपुत्र गल्ली जाऊ र त्यहाँ उनलाई सहयोग गर भनेपछि उनी पुष्पलालको सम्पर्कमा पुगे र वनारसको हरिश्चन्द्र घाट र विश्वनाथ मन्दिरनजिक पूजा, कर्मकाण्ड गराएर आएको भेटी, सिदा आदिले पुष्पलालको गुजारा चल्न थाल्यो। पुष्पलालले पनि उनलाई कम्युनिस्ट आदर्श र सिद्धान्त सिकाउँदै गए। यसले उनमा वामपन्थी विचार र साहित्य पढ्न लेख्न प्रेरित ग¥यो। यस बेलासम्म नेपालमा झापा आन्दोलन चर्किसकेको थियो। र, उनले पञ्चायती शासनविरूद्ध कलम चलाउँदा आफूलाई लेखे– अर्जुन विरक्ति।

२०२८ सालमा झापा आन्दोलनको समर्थनमा ‘यहाँ सृष्टि दोहोरिन्छ’ शीर्षकमा काव्यात्मक गीती रचना लेखे। जसका केही अंश– ‘दिनभरि काम गरी भोकै मर्ने हो, एकपेट खानलाई रहर गर्ने हो, संघर्षमा अघि बढ दिनदुःखी हो, अन्यायको विरूद्धमा गोली खाने जो।’ जुन त्यतिबेला हरेक विद्रोहीको मुखमा गुन्जिरहेको थियो। यो रचना पछि गएर पञ्चायती शासन व्यवस्थाले प्रतिबन्ध गरायो, तर डढेलो लागिसकेको वनजस्तो २०३२ सालमा फेरि देशको वस्तुस्थितिमा आधारित कथा संग्रह ‘आँशुको नदी’ जन्मियो। यो कथा केहीले पढ्न पाउँदा नपाउँदै राजद्रोही र देशद्रोही संज्ञा दिएर यसमा प्रतिबन्ध लगाइयो भने कथाकार विरक्ति पञ्चायती व्यवस्था र यसले अवलम्बन गरेको नयाँ शिक्षा तथा त्यसबेला प्रतिबन्धित नेपाली कांग्रेस, माक्र्सवादी आन्दोलनका योद्धाहरूविरुद्ध लगाइएको प्रतिबन्ध फुकुवा गरियोस् भनी ३२ वटा माग कालो कपडामा सेता अक्षरले लेखेको ब्यानर टाँसेर न्युरोड पीपलबोटमा बुट पालिस गरेर विरोध जनाउँदै थिए। लगत्तै सेनाका अधिकारीहरू आएर उनलाई २ घण्टा भद्रगोल जेल घुमाएर सिधै सिंहदरबार सैनिक क्याम्पको अँधेरो चिसो छिँडीमा लगियो।

आरोह–अवरोहबीच २०३३ सालमा भद्रगोल जेल भित्रबाटै उनले प्रवेशिका परीक्षा दिन पाउँ भनेर अनसन बसे र त्यसको छैठौँ दिनमा बेहोस अवस्थामा उनलाई वीर अस्पताल पु¥याइयो। तत्कालीन अञ्चलाधीश सूर्यप्रसाद श्रेष्ठले अनसन तोडाए र प्रवेशिका परीक्षा दिन पाउने सहमति भएपछि भद्रगोल जेलबाटै विरक्तिले गान्धी डिभिजन (थर्ड) मा परीक्षा उत्तीर्ण गरे। जेलबाट छुटेपछि २०३४ सालमा रत्न राज्यलक्ष्मी कलेजमा राजनीति शास्त्रमा विषय लिएर भर्ना भए। त्यहाँ पनि उनको विद्रोह रोकिएन र २०३६ सालमा ‘जीवनका केही धड्कनहरू’ शीर्षकमा रचना बजारमा आयो। यो पनि राजद्रोहको सिकार भयो र विरक्ति पोखराको पृथ्वीनारायण क्याम्पसमा विद्यार्थीको कार्यक्रममा बोल्दाबोल्दै पक्राउ परे। अनि फेरि मुद्दा लागेर डिल्लीबजार सदरखोर जेल चलान भए। उक्त जेलमा हँुदा प्रसिद्ध नाटककार बालकृष्ण सम पान र पुष्पगुच्छा लिएर विरक्तिलाई भेट्न जाँदा जेलरले मिल्दैन भन्दा ‘बालकृष्णशमशेर’को शेर काटेर सम भएको व्यक्ति हो, परिचय चाहियो भने धेरै कुरा निस्कन्छ, किन धेरै कुरा चाहियो भनेर जेलरसामु कड्किए र विरक्तिलाई भेटेर उनको साहसको प्रशंसा गरे।

झापा आन्दोलनका अगुवाहरू र त्यसबेलाका नायक तथा अहिलेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई अर्जुन विरक्तिका प्रतिबन्धित लेख रचना, राजनीतिक स्तम्भ आदिका विषयमा राम्रै जानकारी हुनुपर्छ। पछि जेलमुक्त भएपछि विरक्ति वनारस गए र ‘सञ्जीवनीकी दर्पण’ त्रिखण्डी काव्य प्रकाशन गरेर नेपाल आउँदा थानकोटमै समातिए र सबै किताब त्यसबेलाको अञ्चलाधीशको रोहवरमा प्रहरीले जलाएर नष्ट गरे। त्यसपछि उनलाई स्वदेशमा बस्न मन लागेन र पुनः वनारस गए। अनि कर्नाटक, रामेश्वरम, आदि ठाउँको यात्रा गर्दै जाँदा उनमा प्राचीन ब्राह्मी लिपि र सारलगायत विषयमा अध्ययन गर्ने तीव्र इच्छा जाग्यो। यसपछि उनले सोही विषयमा वनारस हिन्दु विश्वविद्यालय र सम्पूर्णानन्द संस्कृत महाविद्यालयबाट आचार्य स्नातकोत्तर र विद्यावारिधि पनि पूरा गरे। उनले प्राचीन कला कौशल, लुप्त भाषा र लिपि, पूर्वीय वेद रचना, साहित्य, दर्शन, योगतन्त्र, आयुर्वेद, वनस्पति आदि धेरै विधामा खोज र साधनालाई गहिरो बनाउँदै लगे। त्यस क्रममा उनले धेरै महात्मा गुरूबाट दीक्षा पनि लिए। 

स्वदेश फर्केलगत्तै विश्व विख्यात विद्रोही स्वभावका आध्यात्मिक दार्शनिक गुरू ओशो रजनीश पनि नेपाल आएको थाहा पाएपछि सिधै होटल सोल्टीमा गएर भेट्न जाँदा प्रहरीले रोक्न खोज्यो, तर ओशोका आँखा विरक्तिमा परिहाल्यो र उनलाई छाड्न संकेत गरेपछि विरक्तिले विचार विमर्श गर्न अवसर पाए। उनले लगातार ५ दिन भेटे, ओशोलाई। ओशोले सितिमिति कसैलाई ‘आप’ भनेर सम्बोधन गर्दैनथे, तर यसो भने– ‘आपका एकदिन विद्रोहका ज्वाला शान्त होजाएगा और आप शान्तिका कैवल्य साधक बनजाओगे। मेरा आशीर्वाद आपके साथ है।’

२०४३ सालकै उत्तराद्र्धमा ‘आर्ष वाङमय’ र ‘धर्म वाणी’ त्रैमासिक, अर्ध वार्षिक पत्रिकाहरू प्रकाशन गर्नेतर्फ अग्रसर भए, विरक्ति। करिब ६ वर्ष यो क्रम निरन्तर चलिरह्यो र पत्रिकाले आफ्नो वार्षिक विशेषांक पनि प्रकाशन गरिरहन्थ्यो। जुन पत्रिकाको सल्लाहकार कमिटीमा खप्तड बाबा (२०४३) सालमै जोडिए र साथमा योगी नरहरिनाथ तथा स्वामी प्रपन्नाचार्य पनि थिए। पछि २०४६ सालमा अम्बिकाप्रसाद अधिकारी दरबारका बडागुरुज्यू पनि जोडिए।

पछि थाहा दर्शनका अभियन्ता रूपचन्द्र विष्ट पनि विरक्तिको बौद्धिक स्तर, कविताबाट प्रभावित भए र छिट्टै मित्रता गाँसियो। नेकपा एमालेका शिखर नेता पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीसँग पनि विरक्तिको छिट्टै लगाव भयो र धेरैचोटि एकै मञ्चमा बसेर भाषण पनि गरेको उनलाई आज जस्तै लाग्छ।

पछिल्लो समय भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी प्रथमचोटि प्रधानमन्त्री हुँदा पशुपतिनाथ दर्शन गर्न आउँदा भारतका गुरूहरूको सिफारिसमा आचार्य विरक्तिले पूजाअर्चना गराएका थिए। त्यसपछि उनी अहिले कुनै पनि सार्वजनिक कार्यक्रम पूजा, अनुष्ठान आदिमा भन्दा घरमै नित्य पूजा, वैदिक अनुसन्धान र मनुष्य, वनस्पति, जीवजन्तु कल्याणार्थ अनेकौँ दुर्लभ वैदिक यन्त्र आविष्कार र निराकार अद्वैत साधनामै समर्पित भइरहेका छन्।

प्रकाशित: ८ श्रावण २०७६ ०५:४१ बुधबार

विद्रोह अर्जुन_विरक्ति पञ्चायती_शासन