चीनमा अलपत्र परेका ४४ नेपाली चेली उद्धारको पर्खाइमा छन्। सजिलो काम र राम्रो आम्दानीको प्रलोभनमा परी चीन आएर विचल्ली भएको २ महिना हुन लागेको छ। उनीहरूलाई कपडा प्याकिङ गर्ने सजिलो काम भनी झुक्याएर गार्मेन्ट कारखानामा सिलाइको काममा लगाइएको छ। तर उनीहरूले कहिल्यै सिलाइ मेसिन छोएका थिएनन्।
उनीहरूलाई आकर्षक तलब सुविधाको प्रलोभन दिइएको थियो। तर चीनमा आएपछि चिनियाँ कम्पनीले उनीहरूलाई नेपालमा तोकेभन्दा आधा मात्र पैसा दिएको छ र दैनिक ११ घन्टा काममा लगाएर बन्दी जीवनजस्तै जिउन बाध्य पारेको पीडीतहरुको गुनासो छ। यसभन्दा अगाडि नेपाली दलालहरूले नेपाली चेलीलाई चीनमा बिहे गराएर तस्करी गर्दै आएका थिए भने हङकङ तथा मकाउ गएर धेरै पैसा कमाउन सकिने प्रलोभन देखाएर युवाको तस्करी गर्दै आएका थिए। नेपालबाट चीनमा हुने मानव तस्करीका केही उदाहरण यस्ता छन् :
सन् २०१५ को फेब्रुअरी ३ मा चीनको सान्तोङ प्रान्तको युन्छन काउन्टीमा बिहे गरेर आएकी काभ्रेकी २१ वर्षीया कल्पना तामाङ (नाम परिवर्तन) लाई २०१५ जुलाईमा नेपाली दूतावासले उद्धार गरेर काठमाडौँ पठायो। कल्पनालाई सान्तोङका २५ वर्षीय वु फुसिङले बिहे गरी काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा बिहे दर्ता गरेर चीन ल्याएका थिए। काठमाडौँमा म्यारिज ब्युरो खोलेर बसेकी एकजना शेर्पा महिला र चिनियाँ दलाल पापाले उनलाई चीनमा गएपछि महिनाको १ लाख रुपियाँभन्दा बढी कमाइ हुने र हङकङ जाने भनेर फकाएका थिए। तर चीनमा आएपछि उनले बन्दी जीवन जिउनुपरेको थियो।
हङकङ र मकाउको सपना देखाएर नेपाली युवालाई मानव तस्करले पासो थापेर चीनमा ल्याएर बिचल्ली बनाउने गरेका छन्।
सन् २०१५ को अगस्ट १ मा हैलुङचाङ प्रान्तमा बिहे गरेर आएकी धरानकी २२ वर्षीया रीना राई (नाम परिवर्तन) लाई उनका चिनियाँ श्रीमान्ले कुटपिट गरेर घरमा बस्नै नसक्ने वातावरण बनाए। उनी सोही वर्षको फेब्रुअरी ३ मा २९ वर्षीय लिउ याङसँग बिहे गरेर चीन आएकी थिइन्। उनलाई सासू र लोग्नले दैनिक पिट्थे। रीनासँगै बिहे गरेर आएका अन्य चार नेपाली महिला गर्भवती भइसकेका थिए। तर उनी गर्भवती नभएपछि उनका लोग्ने र सासूले उनीमाथि हिंसा गर्न थालेका थिए। बारम्बारको पिटाइ सहन नसकेर उनी सन् २०१५ अगस्ट १ शनिबार हैलुङच्याङ प्रान्तको पूर्वउत्तर रुससँग सीमा जोडिएको थोङच्याङस्थित घरबाट भागिन्। उनलाई पछि दूतावासले उद्धार गरी नेपाल पठाइदियो।
सिन्धुपाल्चोककी सुनिता तामाङ (नाम परिवर्तन) चीनको हबेइ प्रान्तमा रहेका यिन स्याउपोसँग विवाह गरी २०७१ भदौ १८ गते चीन आएकी थिइन्। चीनमा आएपछि उनी नारकीय जीवन बाँच्न बाध्य हुनुप¥यो।
उनका श्रीमान् र चिनियाँ परिवार उदण्ड स्वभावका थिए। सुनितालाई भेट गर्न गएका दुई नेपाली चेलीलाई पनि सुनिताका परिवारले मरणासन्न हुनेगरी कुटेर पठाए। दुई वर्षअगाडिदेखि उनलाई श्रीमान्ले भिसा लगाउन सहयोग गरेनन्। सुनिता बिहे गरेर डिपेन्डेन्ट भिसामा बसेकीले उनी एक्लै केही गर्न सक्थिनन्। फलस्वरूप १ महिनाअगाडि मात्र उनलाई चिनियाँ प्रहरीले नेपाल डिपोट गरिदियो।
नेपालबाट चीनमा हुने तेस्रो मानव तस्करीचाहिँ नेपालको कानुनी कमजोरीलाई आधार बनाएर म्यानपावर कम्पनीले गर्न थालेका छन्। चिनियाँ कम्पनीले दक्ष कामदार माग गर्दा अदक्ष र निरक्षर नेपाली महिलालाई महँगो पैसा असुलेर चीनमा ल्याएर बिचल्ली बनाउने खेती मौलाएको छ।
झापाका सुर्जेबहादुर लिम्बू, मेघराज लिम्बू र जेतबहादुर लिम्बूलाई दलालले सवा ४ लाख रुपियाँ लिएर सन् २०१६ डिसेम्बरमा चीनको सानतोङ प्रान्तमा ल्याएर अलपत्र बनाए। मासिक ६ हजार चिनियाँ युआन अर्थात् १ लाख रुपियाँ कमाइ हुने प्रलोभन देखाएर उनीहरूलाई आफन्तले नै झुक्याएका थिए। उनीहरूलाई प्याकिङको काम भनेर झुक्याइएको थियो। चीन आएपछि काम अत्यन्त कठिन र पारिश्रमिक निकै थोरै थियो। त्यसमाथि उनीहरू पर्यटन भिसामा आएका थिए र भिसा अवधि सकिएपछि स्वतः अवैध भए। दूतावासको सहयोगमा उनीहरू सन् २०१७ अप्रिलमा नेपाल फर्किए। नेपाल फर्कने बेला उनीहरूले नेपालबाट आफन्तसँग पैसा मागेर टिकट किनेर फर्किएका थिए।
सन् २०१६ जुनमा दीपकसिंह सामन्त र हुमबहादुर कुँवरले पाँच नेपाली युवालाई भारतको बाटो हुँदै चीनको क्वाङ्चौ ल्याए। हङकङ गएर मासिक २ लाख रुपियाँ पाउने काम खोजिदिने कुरा दलालले गरेका थिए। त्यही प्रलोभनमा परेर उनीहरूले १० देखि १५ लाख रुपियाँसम्म बुझाएका थिए। क्वाङ्चौबाट सन्चजनमा पु¥याइएका उनीहरूलाई नेपालमा कथित राजनीतिकपीडित भएका हुनाले देश फर्किने अवस्था नरहेकोे र आफूहरू हङकङमा शरणार्थी बन्न चाहेको बेहोराको कागजमा हस्ताक्षर गर्न लगाइ मानव तस्करले हङकङ छिराउने प्रयास गरेका थिए। तर मानव तस्करले हङकङ छिराउन सकेनन्। फलस्वरूप उनीहरू यताउता गर्दागर्दै भिसा अवधि सकिएर चीनमा अवैध भए। त्यसरी अवैध भएका उनीहरू केही दिन प्रहरीको हिरासतमा बसेर नेपाल फर्किए।
२०७५ असार तेस्रो साता २ चरणमा १४ नेपाली युवालाई चीनको साङहाइभन्दा केही दक्षिण चच्याङ प्रान्तको निङ्पोमा रेन्टुरेन्टमा काम गर्न भनी ल्याइएको थियो। चिनियाँ र मलेसियनले खोलेका भारतीय परिकार बनाउने उक्त रेस्टुरेन्टमा २१ वर्षदेखि ३५ वर्षसम्मका नेपाली युवालाई राम्रो आम्दानी हुने प्रलोभनमा चीन ल्याइएको थियो। मलेसियन स्याङ खु र चिनियाँ लिङ छिले संयुक्तरूपमा चलाएको सो रेस्टुरेन्टमा ३ महिना काम गरेका ती नेपाली युवाले कुनै पारिश्रमिक पाएनन्। तीन महिनापछि रेस्टुरेन्ट बन्द भयो। धेरै पैसा कमाउने आशामा आएका उनीहरू भिसा अवधि सकिएर अवैध भए। चिनियाँ प्रहरीले २ महिना डिटेन्टसनमा राखेर गत पुसमा उनीहरूलाई नेपाल फिर्ता पठायो।
उल्लिखित घटना विश्लेषण गर्दा नेपालबाट चीनमा तीन प्रकारबाट मानव तस्करी हुने गरेका छन्। १ अर्ब ४० करोड जनसंख्या भएको चीनमा लैंगिक खाडल ठूलो छ। महिलाका तुलनामा पुरुषको संख्या धेरै भएकाले बिहे गर्न केटी पाउन मुस्किल छ। चिनियाँ प्रचलनअनुसार बिहे गर्दा बेहुला पक्षबाट बेहुलीलाई धेरै पैसा र धनसम्पत्ति दिनुपर्ने भएकाले पनि अलिक गरिब व्यक्ति बिहे गर्नबाट वञ्चित हुने गरेका छन्। तसर्थ उनीहरू भियतनाम, बंगलादेश, नेपाल, पाकिस्तान, म्यान्मार, कम्बोडियालगायत मुलुक जान्छन्। दलाललाई पैसा तिर्छन् र श्रीमती किनेर चीन फर्कन्छन्। त्यसरी किनेर ल्याइएका श्रीमतीले चिनियाँ भाषा जानेका हुँदैनन्। काम गर्ने सिप पनि हुँदैन। त्यसमाथि बच्चा जन्माउन असमर्थ भए भने त चरम यातना भोग्न तयार हुनुपर्छ।
नेपालमा दलालले १० लाखदेखि १८ लाख रुपियाँसम्म लिएर चिनियाँ नागरिकलाई नेपाली महिला भिडाउने गर्छन्। त्यसरी बिहे गरेर आएका महिलालाई सुरुमा चीनको भिसा लगाउनमात्र बिहे दर्ता गर्नुपरेको हो भन्दै हङकङ गएर छिटै लाखौँ रुपियाँ कमाउन पाइने लोभ देखाइने गरेको चीनमा बिहे गरेका नेपाली महिला बताउँछन्। मानव तस्करको चंगुलमा परेर चीनमा बिहे गरेर आएका ३६ महिलामध्ये ६ जनालाई दूतावासले उद्धार गरेर नेपाल फर्काइसकेको छ। बाँकी ६ नेपाली चेली आफ्नै खुसीले नेपाल फर्किएका छन्। अहिले चीनमा रहेका २४ जनाजति नेपाली महिलाको वैवाहिक जीवन सन्तोषजनक छ। चिनियासँग बिहे गरेका ती नेपाली महिलाले भाषा पनि जान्ने र अधिकतर त आमा पनि बनिसकेका छन्।
मानव तस्करले हङकङ र मकाउमा गएर राम्रो आम्दानी गर्न पाइन्छ भनी नेपाली युवालाई झुक्याएर चीनमा ल्याएर अलपत्र पार्ने गरेका छन्। नेपालबाट चीनमा हुने गरेको मानव तस्करीको यो दोस्रो तरिका हो। सन् १९९७ मा हङकङ मातृभूमि चीनमा फर्कनुअगाडि बेलायतको उपनिवेश थियो। त्यो बेलामा गोर्खा सैनिकका लागि हङकङ आकर्षणको थलो थियो। त्यो ह्याङओभर नेपालीमा अझै छँदै छ। मकाउमा छ्यापछ्याप्ती रहेका क्यासिनोमा अहिले पनि नेपाली सुरक्षाकर्मीको बाहुल्य छ। उनीहरूको पारिश्रमिक पनि राम्रै छ। हङकङ र मकाउको सपना देखाएर नेपाली युवालाई मानव तस्करले पासो थापेर चीनमा ल्याएर बिचल्ली बनाउने गरेका छन्।
नेपालबाट चीनमा हुने तेस्रो मानव तस्करीचाहिँ नेपालको कानुनी कमजोरीलाई आधार बनाएर म्यानपावर कम्पनीले गर्न थालेका छन्। चिनियाँ कम्पनीले दक्ष कामदार माग गर्दा अदक्ष र निरक्षर नेपाली महिलालाई महँगो पैसा असुलेर चीनमा ल्याएर बिचल्ली बनाउने खेती मौलाएको छ। मानव तस्करले यही तरिका अपनाएर यसअगाडि खाडी मुलुक, सिरिया, इराक, लेबनान, कुवेतदेखि अफ्रिकी मुलुकसम्म पु¥याउने गरेका थिए। अब त्यो पेसा चीनतिर सोझिएको छ। चीनले नेपालीलाई सहजै भिसा दिने भएकाले पनि मानव तस्करका आँखा चिनियाँ बजारतिर सोझिएका हुन सक्छन्।
चिनियाँ सार्वजनिक सुरक्षा मन्त्रालयले जुन २१ मा पैचिङमा आयोजित पत्रकार सम्मेलनमा जनाएअनुसार गत वर्षदेखि चिनियाँ सार्वजनिक सुरक्षा मन्त्रालयले म्यान्मार, कम्बोडिया, लाओस, भियतनाम र थाइल्यान्डका प्रहरीसँग संयुक्तरूपमा अन्तर्राष्ट्रिय मानव तस्करी र वैवाहिक धोखाधडी अपराधविरुद्ध कारबाही सुरु गरेको छ। उल्लिखित मुलुकबाट चीनमा मानव तस्करी भएका ६३४ मुद्दा चलाउनाका साथै १ हजार १ सय ३० जना मानव तस्करलाई पक्राउ गरेको छ। पक्राउ परेकामा १ सय ५३ विदेशी छन्। चिनियाँ प्रहरीले १ हजार १ सय ३ जना विदेशी महिला तथा १७ बालबालिकाको उद्धार गरेको छ।
प्रकाशित: १९ असार २०७६ ०३:१२ बिहीबार