विचार

तराईका विषालु सर्प काठमाडौँ सर्दै !

उल्लिखित शीर्षक सम्भावित अवस्था अनुमान गरेर राखिएको हो। अहिले नै यस्तो अवस्था आइसकेको त छैन तर भविष्यमा यस्तो हँुदैन भन्न सकिएला र ! यो प्रश्न किन पनि सान्दर्भिक छ भने पहिले तराईमा मात्र हुने मलेरिया र कालाज्वरो अहिले क्रमशः पहाड र हिमाल चढ्दै छन्। यो पंक्तिकारले नेपालमै पहिलोपटक अनुसन्धान गर्दा कालाज्वरो पहाडतिर सर्दै गएको छ भनेर पत्ता लगाएको थियो जुन त्यसबेला अरूका लागि अपत्यारिलो विष्या थियो। तर अहिले यो रोग देखिने क्रम नियमितजस्तो भइसक्यो। त्यस्तै अवस्था मलेरियाको पनि छ। कुनै समय तराईमा मात्र देखिने कालाज्वरो, मलेरिया पहाड हुँदै हिमालतिर पुग्नाका कारण के हुनसक्छ ? सबैजसोको मत सायद जलवायु परिवर्तन भन्नेमा एक हुन सक्छ। त्यसो हो भने हाल तराईमा देखिने विषालु मानिने गोमन, करेतजस्ता सर्प काठमाडौँलगायत नेपालका विभिन्न पहाडी इलाकामा बसाइँ नसर्लान् त ?

विश्वको तापक्रम बढ्दै जाँदा नेपाल पनि यसबाट अछूतो रहेको देखिँदैन। स्वदेशी तथा विदेशी वैज्ञानिकहरूको अनुसन्धानहरूले पनि नेपालमा तापक्रम बढ्दो क्रममा रहेको र त्यसमा पनि विशेष गरेर पहाडी इलाकामा तापमान तीव्र रूपमा वृद्धि भइरहेको देखाएका छन्। यसको प्रत्यक्ष प्रभाव पृथ्वीका जीवजन्तुमा पर्नेमा दुईमत हुँदैन। फलस्वरूप एक ठाउँका जीवजन्तु अर्को ठाउँ वा पहिले कहिल्यै नदेखिएको ठाउँमा देखिन थालिसकेका पनि छन्। यसमा सर्प अपवाद रहन सक्दैन। पहाडीया सर्पहरूमा तराईमा पाइनेजस्तो तुरुन्त मृत्यु गराउने विष भएको भने हुँदैन। तसर्थ पहाडमा सर्पदंशका कारण मानिसको मृत्यु भएको सुनिँदैन। तर गत वर्ष काठमाडौँमा एक व्यक्तिको मृत्यु सर्पदंशका कारण भएको थियो। सर्प कस्तो थियो, त्यो धेरैले खासै याद गरेनन्, तर त्यो अत्यधिक विषालु थियो होला भनेर अनुमान गर्न सकिन्छ। त्यसो हो भने त्यो कतै तराईमा पाइने कोब्रा वा करेतमध्ये कुनै एक पो थियो कि ? वा, पहाडमै पाइने तर पहिले थाहा नभएको कुनै विषालु सर्प पो हो कि ?

विभिन्न अनुसन्धानले के देखाएका छन् भने अन्य जीवजन्तुसँगै सर्पहरूले पनि आफ्नो बासस्थान परिवर्तन गर्दै गएका छन्। यहाँको हावापानी उपयुक्त हुँदै गए वा उनीहरूले आफूलाई यहीँको वातावरणमा बस्नसक्ने क्षमता विकास गरे भने एक दिन काठमाडौँमा पनि तराईमा पाइने विषालु सर्पहरू देखिन थाल्नेछन्।

बिनाअनुसन्धान यसै भन्न त सकिँदैन तर जलवायु परिवर्तन तीव्र गतिमा हुँदै जाँदा यस्तो सम्भावना हुँदै हँुदैन भनेर भन्न सकिने स्थिति पनि छैन। स्मरण रहोस्, सन् २०१८ जुलाईमा ‘गौरीशंकर संरक्षण क्षेत्र’ मा तराईमा पाइने ‘किङ कोब्रा’ देखिएको थियो। यो नै यति उच्च स्थानमा (हिमाली क्षेत्रमा) अति विषालु सर्प (किङ कोब्रा) देखिएको नेपालमा पहिलो घटना थियो। सामान्यतया यो सर्प १३ सय मिटर उचाइ र नेपालका तराई र भित्रि मधेशमा मात्र पाइन्छ। विश्वको तापक्रम वृद्धि हुँदै जाँदा जीवजन्तुहरूले या त त्यहीँ बस्ने क्षमता विकास गर्छन् वा बसाइँ सर्छन् अथवा तिनको मृत्यु (विलुप्त) हुन्छ। यी तीन नतिजामध्ये एक हुने गर्छ। ‘गौरीशंकर संरक्षण क्षेत्र’ मा ‘किङ कोब्रा’ देखिनु जलवायु परिवर्तनले गर्दा सर्पले चिसो ठाउँमा बस्नसक्ने क्षमता वृद्धि गरेको वा हिमाली क्षेत्रमा पनि तापक्रम बढ्दै जाँदा सर्पका लागि उपयुक्त वातावरण सिर्जना भएको अनुमान गर्न सकिन्छ। पहिले तराईमा मात्र पाइने जीवजन्तुुहरू पहाड तथा हिमाली क्षेत्रतिर देखिँदै गएको हुनुपर्छ।

गत वर्ष काठमाडौँमा सर्पदंशका कारण मानिसको मृत्यु भएको घटना धेरैका लागि खासै महŒवको विषय नहोला तर अनुसन्धानको पाटोबाट हेर्दा यसले ठूलै अर्थ राख्छ। धरानमा हाल देखिएको डेंगुको महामारी पनि सुरुमा अपत्यारिलो थियो र धेरैले यसले यसरी महामारीको रूप लेला भनेर सायदै सोचेका थिए। ढिलो गर्दा ‘डेंगु संकटकाल’ नै घोषणा गर्नुप¥यो र नयन्त्रण गर्न हम्मेहम्मे नै प¥यो। पूरै नियन्त्रण त अझै भएको छैन।  त्यसैले आगामी वर्षहरूमा खासगरी तराईमा मात्र पाइने किङ कोब्रा, करेतजस्ता विषालु सर्पहरू राजधानी (काठमाडौँ)सम्म आइपुग्दैनन् भन्न सकिँदैन।

हाल सर्पदंशका बिरामी ह्वात्तै बढेका छन्। हरेक वर्ष असारदेखि असोजसम्म यस्ता बिरामी बढी अस्पताल आउने गरेका छन्। सामान्यतः एन्टिइस्नेक भेनम (सर्पदशंविरुद्ध औषधि) चलाउनु पर्दैन। यी बिरामी काठमाडौँवरिपरिका पहाडी जिल्लाहरूबाट आउने गरेका छन्। त्यहाँ हरेउ सर्पले डस्ने भएकाले स्नायु प्रणाली वा मुटुमा सोझै असर गर्दैन तर डसेको ठाउँमा अत्यधिक पीडा हुने, सुन्निने, पानी फोकाहरू देखिने र रगतमा प्रत्यक्ष असर भने हुन्छन्। लक्षणका आधारमा यस्ता बिरामीको उपचार गर्दै जानुपर्छ भने रक्तश्राव बढी भए कहिलेकाहीँ रगत चढाउनुपर्ने अवस्था पनि आउनसक्छ। घाउमा संक्रमण देखिए एन्टिबायोटिक पनि प्रयोग पनि गर्नुपर्ने  हुनसक्छ। गाउँघरतिर धेरैजसो धामीझाँक्रीकोमा जाने, डसेको ठाउँमा धारिलो चिजले काट्ने, चुस्ने, रसायन लगाउने र डसेको ठाउँनजिकै रबर वा कपडाले कसेर बाँध्नेजस्ता गलत चलन छन्। विशेष गरेर कसेर रबर वा कपडाले बाँध्दा रक्त प्रवाहमा गतिरोध उत्पन्न भई शरीरको त्यो भाग निक्रोसिस वा गंग्रेन हुने र  पछि काटेरै फ्याँक्नुपर्ने हुन सक्छ। कोब्रा, करेतजस्ता अति विषालु सर्पले टोकेमा वान्ता हुने, आँखाका परेला उठाउन गाह्रो हुने, स्वर परिवर्तन हुने, घाँटी भाँचिएजस्तो हुने(ब्रोकेन नेक साइन), श्वास फेर्न कठिन हुने र नाडीको गति छिटो–छिटो हुने आदि लक्षण देखिन्छन्।

तराईमा भए विषालु सर्पले नै टोकेको सम्भावना बढी हुने भएकाले ढिला नगरी अस्पताल पु¥याउनुपर्छ। अस्पताल लानुअघि बिरामीलाई शान्त पार्ने प्रयास गर्नुपर्छ। सबै विषालु सर्पले विष छाडेका हँुदैनन्, जसलाई ‘ड्राइ बाइट’ भन्ने गरिन्छ। तर बिरामीलाई यातायातका साधनमार्फत छिटोभन्दा छिटो अस्पताल पु¥याउने कोसिस गर्नुपर्छ। यसको उपचार पहाडमा देखिने सर्पदंशभन्दा फरक हुने भएकाले काठमाडौँका धेरै अस्पतालका चिकत्सकलाई अध्यावधिक नभएको पनि हुनसक्छ। तसर्थ काठमाडौँका अस्पतालहरू  तराईमा पाइने विषालु सर्पले डसेको उपचारका लागि पूर्ण तयारी अवस्थामा नभएका पनि हुन सक्छन्। यसका लागि हरेक अस्पतालमा विशेष गरेर वर्षात्का बेला छुट्टै सर्पदंश उपचार कक्ष स्थापना गरी त्यहाँ काम गर्ने स्वास्थ्यकर्मीहरूलाई विशेष तालिम दिन आवश्यक छ। यसो गरे विषालु सर्पले डसेका बिरामीहरूको ज्यान बचाउन सकिनेछ।

अनुसन्धान एउटा महत्वपूर्ण पाटो हो। बिनाअनुसन्धान स्वास्थ्य विज्ञान अपुरै रहन्छ। सर्पहरू कसरी बसाइँसराइ गर्दै छन् र कुन–कुन ठाउँमा विषालु सर्पको जोखिम छ ? थाहा पाउन अनुसन्धान एक मात्र विकल्प हो। सर्पसम्बन्धी धेरैजसो अनुसन्धान तराईका जिल्लामा केन्द्रित हुने गरेका छन्। तर त्यहाँ पाइने विषालु सर्पको बासस्थान परिवर्तनबारे भने खासै अनुसन्धान भएको पाइँदैन। यस्ता खाले अनुसन्धानले नेपालका कुन ठाउँ अत्यन्तै विषालु सर्पहरूको जोखिममा छ भनेर थाहा पाउन सकिन्थ्यो। जसले गर्दा हामीले त्यस्ता स्थानमा स्वास्थ्यकर्मीलाई मात्र नभएर सर्वसाधारणलाई पनि सर्पदंशबारे तालिमहरू दिन सकिन्थ्यो।

किनभने विभिन्न अनुसन्धानले पनि अन्य जीवजन्तुलगायत सर्पहरूले पनि आफ्नो बासस्थान परिवर्तन गर्दै गएको देखाएका छन्। काठमाडौँ, नेपालको संघीय राजधानी तथा मुख्य व्यापारिक केन्द्र पनि भएकाले तराईबाट यातायातका साधन खासगरी मालबाहक गाडीहरूको आवतजावत बाक्लो हुने गर्छ। त्यसमा पनि विशेष गरेर काठ ओसार्ने ट्रकमार्फत तराईमा रहेका अति विषालु सर्पहरू काठमाडौँसम्मै आउने सम्भावना प्रबल देखिन्छ। यदि माथि उल्लेख गरेझैँ यहाँको हावापानी तराईमा पाइने ती सर्पहरूका लागि उपयुक्त भएको वा उनीहरूले आफूलाई यहीँको वातावरणमा बस्नसक्ने अवस्था विकास गरे एक दिन काठमाडौँमा पनि तराईमा पाइने विषालु सर्पहरू देखिन थाल्नेछन्। त्यस्तो अवस्था सामना गर्न काठमाडौँले तयारी त के सायद कल्पनासम्म गरेको छैन होला ! तसर्थ यस विषयमा बेलैमा बृहत् आधारभूत सर्प अनुसन्धान थाल्नु आवश्यक देखिन्छ। संयोजक, क्लिनिकल रिसर्च युनिट/शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल, टेकु, काठमाडौँ

प्रकाशित: १५ असार २०७६ ०२:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App