विचार

प्रशासनमा पुस्तान्तर प्रभाव

समयको अन्तरालमा विचार, दृष्टिकोण, मूल्य, विश्वास, प्राथमिकता र व्यवहार परिवर्तन हुनु सामान्य अर्थमा पुस्तान्तर हो। यसक्रममा सामाजिक व्यवहार र शैली परिवर्तन (परिमार्जन) हुँदै जान्छन्। तर एकै समयमा पनि फरक उमेर र विचार समूहका मानिसबीच अन्तरसम्बन्ध रहने अवस्थामा पुस्तान्तर महसुस बढी हुने गर्छ। अठारौँ शताब्दीसम्म पुस्तान्तर प्रक्रिया ढिलो थियो। एकै परिवारमा तीन पुस्ता सहज रूपमा अटाउँथे। एकअर्काका सोच र प्रवृत्तिले नाति–नातिनी, बुबा–आमा र हजुरबुवा–हजुरआमामा खासै असजिलो महसुस हुँदैनथ्यो। तर साठीको दशकदेखि असहज महसुस गर्न थालियो र पछिल्ला दिनमा पुस्तान्तर प्रक्रिया यति गतिवान् भयो कि एकै पुस्ताभित्र पनि अनुकूलनमा जटिलता देखिन थाल्यो। परम्परागत विश्वासमा आएको स्खलन र सामाजिक गतिशीलताले पुस्तान्तरलाई थप तीव्र बनाएको छ र एकप्रकारको उकुसमुकुस देखिएको छ। भनिन्छ– अमेरिकी समाजमा अहिले ६ पुस्ता छन्,  इस्वी १९०१ देखि १९२४ सम्म जन्मिएका भेटेरानहरू, त्यसपछि दुई दशकका मौन पुस्ता, त्यसपछिका बेबी बुमर, जेनेरेसन एक्स, मिलेनियल्स र जेनेरेसन जेड। प्रत्येक पुस्ताका आफ्नै मूल्य र चरित्र छन्, जुन एकअर्का पुस्तालाई अनौठा लाग्न सक्छन्। अनुकूलित हुनुको विकल्प छैन तर अनुकूलित हुने कसरी ? यही चुनौती हो।

पुस्तान्तर प्रभाव समाज व्यवस्थाका सबै पक्षमा पर्छ, सार्वजनिक प्रशासन त्यसबाट अछुतो रहन सक्दैन। सार्वजनिक प्रशासन समाजको बिम्ब हो। प्रत्येक पुस्ताले आफ्नो परिवेश, पृष्ठभूमि र पीडालाई बोकेका हुन्छन् र त्यसको प्रभाव उसका व्यवहारमा देखिन्छन्। जस्तो कि परम्परागत पुस्ता (ग्रेटर जेनेरेसन) जुन १९२५–१९४५ सम्म जन्मिए, अहिले उनीहरू सार्वजनिक सेवाबाट निवृत्त पनि भइसके। यस पुस्ताले महामन्दीको पीडा अनि दोस्रो विश्वयुद्धको दुःखान्त पनि भोग्यो। उनीहरूमा नीति एवम् संस्थाप्रति विश्वास र निष्ठा, उच्च आदरभाव र आहोदामुखी व्यवहार देखिन्छ, औपचारिकता र आदर्श यस पुस्ताको जीवनमूल्य हो। त्यसपछिको पुस्ता बेबी बुमर (१९४६–१९६०) मा वेस्टफेलियाको अन्त्य र विश्व संस्थाहरूको जन्म, सामाजिक–आर्थिक पुनर्निर्माणको प्रभाव देखियो। गुणस्तरमा मोह, पदीय अहम्, वैयक्तिकता, अवसर र अधिकारप्रति सचेत रहनु यस पुस्ताका मूल्य थिए। यो पुस्ता तुलनात्मक रूपमा दम्भी पनि छ, सितिमिति सम्झौता गर्न रुचाउँदैन। धेरैजसो मुलुक र विश्व संस्थाका नीतिमा यसै पुस्ताको वर्चस्व छ। दम्भ र अभिमानले संस्था र मुलुकहरू संकटमा पनि परेका छन्। भियतनाम युद्ध, विभिन्न मुलुकमा नव स्वाधीनताका संग्राम एवम् गृहयुद्ध, द्वन्द्व, शक्तिका लागि हत्या (जे एफ केनेडी, मार्टिन लुथर, रबर्ट केनेडी), विश्व राजनीतिमा द्वीध्रुवीयता र शीतयुद्ध, हेनरी किसिन्जरीय कूटनीति, सामाजिक आन्दोलनजस्ता कारण यस पुस्ताको मूल्यवृत्ति ह्वात्तै परिवर्तन भएको पाइन्छ। जसको स्पष्ट प्रभाव प्रशासनमा देखियो।

पुस्तान्तर प्रभाव समाज व्यवस्थाका सबै पक्षमा पर्छ, सार्वजनिक प्रशासन यसबाट अछुतो रहन सक्दैन। सार्वजनिक प्रशासन समाजको बिम्ब हो।

१९६५–१९८० सम्म जन्मिएका जेनेरसन एक्स वैयक्तिक असुरक्षा, पारवारिक परिवेशबाट न्यून माया, आफ्नै कमाइले जीवन व्यवस्थापन गर्नुपर्ने बाध्यताले गर्दा विविधतामुखी, संघर्षशील, सन्तुलित र ‘ग्लोबल माइन्ड सेट’मा देखिए। प्रविधिलाई उच्च आदर गर्न थाल्यो। मौजुदा संगठन संरचना र कार्य वातावरणमा असहमति जनाई नवीन आविष्कार गर्न थाल्यो। १९८०–२००० सम्म जन्मिएका मिलेनियल्स डिजिटल समाजका पारखी हुन्। सानो र खण्डीकृत परिवार, परम्परागत संस्थाप्रति असहमति, उच्च कार्यउपलब्धि, उच्च तलब, लचकदार कार्यसमय, तर परम्परागत नियम र कार्यविधिप्रति विद्रोह मिलेनिल्सका विशेषता हुन्। यो पुस्ता २४सै घण्टा आइफोन, आइप्याडजस्ता ग्याड्जेट र सञ्जालीकरणमा रमाउँछ, फरासिलो छ र हरेक कुरा गर्न सकिन्छ भन्ने आशा राख्छ। विज्ञान, इन्जिनियरिङ, प्रविधि र गणितप्रतिा आकर्षण छ। बोल्दा पनि गणितमा (सटिक) भन्छ। कर्मप्रति समर्पण छ तर अरूको मतलब राख्दैन। विकासक्रममा रहेको जेनेरेसन जेड कति डिस्रप्टिभ भएर आउने हो, कल्पनाभन्दा बाहिर छ।

तर यी पुस्ताबीच आधारभूत भिन्नता मात्र होइन, समानता पनि छन्। पुस्ताहरू समाजको विवेकशील पुनर्निर्माणमा इँटा थप्दै जान्छन्। कार्यकुशल कार्यविधि, अन्तरवैयक्तिक विश्वास र अर्गनाइजेसनल पोलिटिक्स अनि सांगठनिक मूल्य (जिम्मेवारी बोध, प्रतिस्पर्धा, उच्च पारिश्रमिक) मा पुस्ताबीच समानता छन्, केवल यी कुरामा प्रोटोटाइप खाका हुनुहँुदैन भन्नेमा आआफ्नै विचार, दृष्टिकोण र विश्वासमा पुस्तेनी परिस्कृत परिष्करण आएको हो, जसको प्रभाव वृत्ति, प्रवृत्ति र कार्यसंस्कृतिमा  देखिँदै आएको हो। सञ्चार अन्तरक्रियाको माध्यम छापा हुँदै रेडियो, टेलिभिजन र डिजिटलमा रूपान्तरण हँुदा, शासकीय प्रणाली र सामाजिक मञ्चहरू परिवर्तन हँुदा र तेस्रो औद्योगिक क्रान्तिपछि विचार विस्फोट हँुदा सार्वजनिक व्यवस्थापनलाई यसले प्रभाव नपारी रहनसक्ने अवस्था रहेन। चेतना स्तर बढ्यो, सेवाग्राही सेवाका नवीन स्वादका पारखी बने, सेवाप्रदायक बनेका वृत्तिसेवकहरू सेवाग्राही स्वाद सन्तुष्टिमा निरन्तर आविष्कारमुखी बने।

नेपालको सार्वजनिक प्रशासनमा पनि पुस्तान्तर प्रभाव पर्दै आएको छ। अब प्रशासन भद्रहरूको मात्र रहन सक्दैन, न असल, कार्यकुशल र प्रतिस्पर्धी मात्र भएर सुख पाउँछ, न परम्परागत संरचना र कार्यविधिका आधारमा मात्र चल्न सक्छ !

विश्वमा सार्वजनिक प्रशासनको विकासक्रम विश्लेषण गर्दा पाँच चरण (पुस्ता) रहेको र जसमा थुप्रै लहर आएको देख्न सकिन्छ। पहिलो पुस्तालाई प्रिजेनेरेसन चरण भन्न सकिन्छ। यो, सार्वजनिक प्रशासनको उद्भवभन्दा पहिलाको चरण हो जुन समयको नेतृत्व प्लेटो, एरिस्टोटल, मेकियवेलीले गरे र अठारौँ शताब्दीपूर्वसम्म रह्यो। त्यसपछि विशेषतः सन् १८८० देखिको अवधि दोस्रो पुस्ता हो जहाँ प्रशासनलाई विधागत रूपमा चिन्ने, चिनाउने र स्वतन्त्र भूमिका दिन बहस र वैचारिक आन्दोलन भयो। लरेन्ज भोन स्टोइन, विड्रो विल्सन, म्याक्स बेबरजस्ता विचारक यसका अभियन्ता थिए। त्यसपछि १९४० देखिको अवधि तेस्रो पुस्ताको थियो। लुथर गुलिक, उर्बिक, हेनरी फोयल र हुबर कमिसन प्रतिवेदनसम्मका अवधिलाई तेस्रो पुस्ता मानिन्छ। विकास प्रशासनको सुरुवात, योजना प्रणाली, व्यवस्थापनवाद प्रयोग, आयोजना प्रणाली सुरुवात यस समयका महŒवपूर्ण कार्य थिए। १९८० पछि नयाँ सार्वजनिक व्यवस्थापन र अलगोरको प्रतिवेदनले भिœयाएका नयाँ व्यवस्थापन र नतिजावाद चौथो पुस्ताका रूपमा आए। यसले संगठन संरचना, कार्यप्रणाली, जवाफदेहिता सम्बन्ध, आन्तरिक लोकतन्त्र र कार्यसम्पादन प्रणालीमा पुनर्बोध गरायो। प्रविधि, विचार र चेतना परिवर्तनलाई सार्वजनिक प्रशासनभित्र ल्याउने अभीष्ट यस पुस्ताको थियो। एक्काइसौँ शताब्दी आसपास डेनहार्ट–डेनहार्टको वैचारिक आन्दोलनपछि नयाँ सार्वजनिक सेवाको अवधारणालाई पाँचौ पुस्ताका रूपमा लिइन्छ। प्रशासनको पुस्तान्तर हँुदा मूलतः सम्बन्ध प्रणाली, जवाफदेहिता संरचना, सफलता सूचक, प्रशासकका गुणहरू जस्ता पक्षमा परिवर्तन र परिष्करण हुँदै आएका छन्। यसले सरकारलाई उत्पादनशील बन्न, उत्पादन संरचना बदल्न, सेवाग्राहीसँग सम्बन्ध सुधार्न, नेतृत्वकर्ताको स्वभाव बदल्न, नीति व्यवस्थापनमा सेवाग्राही सहभागी बनाउन र सार्वजनिक क्षेत्र प्रतिस्पर्धी बनाउन जोड दिएको छ। पुस्तान्तर प्रक्रिया गतिवान् बनाउन (क) असाधारण रूपमा विस्फोट भइरहेका ज्ञान र प्रविधि, (ख) संस्थात्मक पुनर्संरचना, (ग) बढ्दो अन्तरआबद्धता र विश्वव्यापीकरण, (घ) जनसंख्या र सांस्कृतिक विविधता र (ङ) परम्परागत विश्वास स्खलनले ऊर्जा दिइरहेको छ। र, यो पछिल्ला दिनमा बढ्दै गएको छ।

नेपालको सार्वजनिक प्रशासनमा पनि पुस्तान्तर प्रभाव पर्दै आएको छ। अब प्रशासन भद्रहरूको मात्र रहन सक्दैन, न असल, कार्यकुशल र प्रतिस्पर्धी मात्र भएर सुख पाउँछ, न परम्परागत संरचना र कार्यविधिका आधारमा मात्र चल्न सक्छ ! उच्चस्तरीय प्रशासन सुधार आयोगको प्रतिवेदन (२०४८) ले सार्वजनिक प्रशासनका परम्परागत कार्यप्रणाली पुनर्संरचना गरी व्यावसायिक विस्तारमार्फत सेवाग्राही–सेवादायी सम्बन्धको सुदृढीकरण गर्न सुझाव दिएको थियो। यो प्रशासनको चौथो पुस्ताको सार्वजनिक प्रशासनका लागि प्रस्थानबिन्दु थियो। दोस्रो चरणको सुधार सुरुको बिन्दु थियो। संगठन संरचना कार्यमूलक बनाउने, कार्यसम्पादन सूचक उपयोगमा ल्याउने, सेवा प्रवाह प्रविधि प्रयोग गर्ने, सक्दो डिजिटलसेभी बन्ने, सहउत्पादनका प्रणाली सुरु गर्नेजस्ता कार्य भएका छन्। साथै प्रणालीभित्र विविधता व्यवस्थापन र प्रतिस्पिर्धात्मकतालाई पनि प्रोत्साहन गरिएको छ। सुधार माग प्रशासनभित्रैबाट र बाहिरी दबाब पनि छ। सेवाग्राही पनि डिस्रप्टिभ बन्दै गएका छन्, समय र संयमको सीमा खुम्चिएका छन्। सेवाग्राही, प्रशासनिक सास्तीबाट मुक्ति खोजिरहेका छन्। चौथो पुस्ताका प्रशासकहरू प्रत्येक हिजोभन्दा राम्रो र सेवाग्राहीको मन जित्नेगरी प्रस्तुत हुने वातावरण निर्माण गर्न तल्लीन छन्। आफ्नै पुस्तामा काम गर्ने अघिल्ला पुस्ताका शैली, वृत्ति र प्रवृत्तिका साथीहरूले उसलाई घोचिरहेको छ। अघिल्ला पुस्ताले पोख्दै आएका निराशा र आलोचना प्रवृत्तिबाट मुक्त हुने संघर्षमा छ यो पुस्ता।

एउटा उदाहरण यहाँ प्रस्तुत गर्नु सान्दर्भिक हुन्छ– केही दिनअघि विश्व नापनक्सा दिवसका दिन नापी विभागले आयोजना गरेको सुधार विमर्श कार्यक्रममा पाँच पुस्ताबीचको नापनक्सा पेसा (सर्भे प्रोफेसनल) को स्थितिले बडो गजबको चित्र देखाएको थियो। पहिलो पुस्ताका सर्भेयर बुिद्धनारायण श्रेष्ठ, दोस्रो पुस्ताका बाबुराम आचार्य, तेस्रो पुस्ताका गणेशप्रसाद भट्ट, चौथो पुस्ताकी भूषण रञ्जित र पाँचौ पुस्ताका उत्तम पुडासैनीका विचार, अपेक्षा, दृष्टिकोण एकै समयमा रहेर पनि पाँच पुस्तामा छरिएका थिए। नेपालको जग्गा प्रशासन जन्जिरबाट ड्रोनमा पुग्दै गरेको संक्रमणमा छ। यो पेसा ‘जन्जिरबाट ड्रोन’ मा पुग्दाको पुस्तान्तरले प्रतिक्रिया, कार्यसम्पादन र कार्यसंस्कृतिमा पनि छलाङ मारेको छ। यो एउटा सांकेतिक उदाहरण मात्र हो। बैंक, बिमा, नागरिकता, राहदानी, परीक्षा, उद्योग, कृषिलगायत सार्वजनिक व्यवस्थापनका सबै क्षेत्रमा पुस्तान्तर गतिशीलता र संक्रमण देखिएका छन्। यो यात्रा निरन्तरको हो र समाजको विवेकपूर्ण निर्माण यसको काम हो। तर के भुल्नु हुँदैन भने पुस्तालाई सोच, वृत्ति र प्रवृत्तिले छुट्याउने हो, उमेर, प्राज्ञिकता र परिवेशले होइन। पुस्तान्तर गति समात्न नसके पुस्ताहरू अवसरबाट किनारा लाग्नेछन्, जसरी कोडाक, फुजीजस्ता कम्पनीहरू एप्पल र सामसुङबाट विस्थापित भए। पुस्तान्तर गति पछ्याउन नसकेकै कारण कैयन् सरकार, समयका अवसर फुत्किए।

प्रकाशित: २४ वैशाख २०७६ ०३:५६ मंगलबार

प्रशासन पुस्तान्तर प्रभाव प्राथमिकता