विचार

दुर्घटनाबाट बचाउने दायित्व

नेपाली कांग्रेसको १२ औं महाधिवेशनप्रति जनचासो हुनु स्वाभाविक हो। यसले दिने सन्देश र निकास नै सामान्य जनताको मूल चासोको विषय हो। साथै पार्टीको संगठन र संरचनामा पनि महाधिवेशनपछि परिवर्तन हुने अपेक्षा सामान्य जनता र कार्यकर्ताले गरेको पाइन्छ। आन्तरिक लोकतन्त्रमा अभ्यस्त हुन सकेमात्र क्षमतावान, इमान्दार, सक्रिय, जनप्रिय, जुझारु तथा सबैलाई समेट्नसक्ने नेतृत्व चयन हुनसक्छ। पार्टीमा कसैलाई पनि काखा र पाखा नगरी अगाडि बढाउने नेतृत्वको खाँचो अहिले देखिएको छ।

जनतामा लोकतन्त्र र समाजवाद तथा समता र शान्ति आफ्नो सम्पत्ति हो र यो कहिल्यै गुम्नु हुँदैन भन्ने भावना सञ्चार गर्न कांग्रेसजनले लोकतन्त्र र समानताका पक्षमा विचार निर्माण गर्न संस्थागतरूपमै आरम्भ गर्नुपर्ने देखिएको छ। आफ्नो अधिकारबारे जनता सजग हुनुभन्दा लोकतन्त्रको अर्को बलियो आधार हुनै सक्तैन।
भ्रष्ट र बेइमानले समाजलाई दूषित बनाउँछन्। राजनीतिक दलमा त्यस्तो तत्वको प्रभाव बढेमा लोकतन्त्र र उन्नतिमा प्रतिकूल प्रभाव पर्छ। त्यसैले त्यस्ता व्यक्ति र शक्तिलाई सबै मोर्चामा पछार्नु इमानदार र जनताको हित गर्नु हो। पार्टीको चुनावमा पनि त्यस्ता तत्व हराउन सके सकारात्मक सन्देश जानेछ। व्यक्तिगत इर्ष्या र प्रतिस्पर्धाभन्दा दलको वृहत्तर हित र एकतालाई ध्यान दिन सकियो भने आउँदा चुनावहरू बढी स्वच्छ र निष्पक्ष हुनेछन्। त्यसपछि आर्थिकरूपमा कमजोर तर सक्षम कार्यकर्ताले केन्द्रमा समेत चुनावमा उत्रने संस्थागत वातावरण बन्नेछ।
जननायक बीपी कोइराला, सुवर्ण शमशेर, गणेशमान सिंह, गिरिजाप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराई, महेन्द्रनारायण निधि, शेख इद्रिसजस्ता स्वनामधन्य अग्रजले हामीलाई नेपाली कांग्रेसका आदर्श र सिद्धान्तहरू सुम्पनु भएको छ। महिला, मधेसी, आदिवासी, जनजाति, दलित, दुर्गम क्षेत्र, मुसलमान, श्रमिक तथा अपांगता भएका र अल्पसंख्यकसमेत सबै क्षेत्रका युवा, विभिन्न व्यावसायिक समूह र समुदायसमेतको सम्मानलाई राष्ट्रिय एकताको आधार बनाउनुपर्छ। लोकतन्त्र मत दिने र चुनिने पद्धतिमात्र होइन। लोकतन्त्रमा विकास, समानता र सौहार्दको सुदृढीकरणका लागि जनस्तरमा पनि मिलेर काम गर्नुपर्छ। यसमा लोकतान्त्रिक पद्धतिका पक्षधर सबैमा सहमति निर्माण गर्नु आवस्यक छ। लोकतन्त्रको लागि मेलमिलापको पक्षमा काम गर्ने वातावरण र भावनाले नै देशलाई दुर्घटनाबाट बचाउन सक्छ। नेपाली कांग्रेसले मात्र यो दायित्व पूरा गर्नसक्ने हुनाले नेतृत्व चयनका क्रममा यसलाई बिर्सन मिल्दैन।
पहिले माओवादीमा लागेका वा त्यस दलको नजिक रहेका प्ानि कांग्रेसको महाधिवेशन प्रतिनिधि बनेर आएका छन् र तिनको संख्या पनि उल्लेख्य नै छ भन्नेे सुनिएको छ। यो सकारात्मक पक्ष हो। माओवादीले केही गछ कि भनेर त्यसमा लागेका इमानदार व्यक्तिहरू यथार्थ थाहा पाएपछि नेपाली कांग्रेसमा संगठित भएको हुनुपर्छ। यो उनीहरूको बुद्धिमत्ता र इमानदारीको प्रमाण हो। महाधिवेशनमा हुने लोकतान्त्रिक अभ्यासमा उनीहरूको सहभागिताले भ्रममा परेका अरूलाई पनि बाटो देखाउने छ। उहाँहरूबाट नेपाली कांग्रेसले पनि ठूलो अपेक्षा गरेको छ। संगठनमा उहाँहरूको जाँगर र विचारको सम्मान हुने वातावरण निर्माण गर्नुपर्छ।
पार्टीका तर्फबाट पदमा रहेका वा रहने तथा सरकारमा जानेहरूको काम र आर्थिक हैसियत पारदर्शी हुनुपर्छ। पार्टीको आर्थिक कारोबार संस्थागत र पारदर्शी बनाएर तल्लो निकायका कार्यकताले समेत सजिलै थाहा पाउने व्यवस्था मिलाउनुपर्छ। मूल्यांकनका आधारहरू निर्माण गरेर पार्टीका कार्यकर्ताका कार्य सम्पादन तथा अन्य वैचारिक र व्यावहारिक विषयको समेत उचित मूल्यांकनको परिपाटी बसाउनु आवश्यक छ।
सबैका अपेक्षालाई न्यायपूर्ण रूपमा सम्बोधन गर्न सकिएमा मात्र नेपाली कांग्रेसलाई नयाँ दिशामा लैजान सकिनेछ। जनहित, संगठन सुदृढीकरण, प्रशिक्षण, पारस्परिक सुरक्षा संजाल निर्माणजस्ता कार्य आवश्यक र उपयुक्त छन्। तर यत्तिले मात्र पर्याप्त हुँदैन। पार्टीका सबै काम र क्रियाकलाप जनमुखी र प्रभावकारी बनाउनुपर्छ। यसैले यस महाधिवेशनले अबको दिशा निर्देश गर्न सक्नुपर्छ। नत्र नेपाली कांग्रेस आफ्नो महान् ऐतिहासिक दायित्व र वर्तमानप्रतिको जिम्मेवारीबाट विमुख भएको ठहरिनेछ।

 

प्रकाशित: २८ भाद्र २०६७ २१:५० सोमबार