विचार

अमेरिकाले बन्धक बनाएको जीवन

महा हिलाल
मोहमेदु ओल्ड स्लाही कुनै बेला संयुक्त राज्य अमेरिकाको ग्वान्टानामो टापुका बन्दी थिए। आजभोलि उनलाई मानिसहरू अन्तर्राष्ट्रिय स्तरमा निकै चर्चित पुस्तक ‘ग्वान्टानामो डायरी’का लेखकका रूपमा पनि चिन्छन्। सन् २०१६ मा उनी ग्वान्टानामो कारागारबाट रिहा भई आफ्नो घर मौरिटानिया फर्केका थिए। हालसालै उनीसँग मेरो भेट भएको थियो। भेटघाटमा ग्वान्टानामोबाट आफ्नो घर पुग्दा आफ्नो नयाँ र स्वतन्त्र जीवन वास्तविक हो वा होइन भन्नेमा आफू अल्मलिएको अनुभूति सुनाउँदै थिए।

खासमा उनको त्यो अन्योल अस्वाभाविक र आश्चर्यजनक भने थिएन। ग्वान्टानामो कारागारका धेरै पूर्व बन्दीहरूलाई जस्तै कारागारमुक्त भएर घर पुग्दा स्लाहीलाई पनि एउटा दुःस्वप्नले छोप्न छाडेन। त्यो दुःस्वप्नको शिल्पी संयुक्त राज्य अमेरिका थियो। गोप्य पुनस्र्थापना सम्झौता, स्वतन्त्र रूपमा हिँडडुल गर्न बन्देज र कुनै गलत काम नगरेको भनी सफाइ नपाउँदा बन्दीहरूमा आतंकवादी करार हुनुको पीडाबोध बाँकी बसिरह्यो।

स्लाहीविरुद्ध कुनै अपराधको आरोप लागेको थिएन। तथापि उनले ग्वान्टानामो कारागारमा १४ वर्ष बिताए। कथित आतंकवादविरोधी युद्धका क्रममा मुसलमान बन्दीका लागि ग्वान्टानामो कारागार बनाइएको थियो। त्यहाँ बन्दीहरूलाई यौन दुव्र्यवहार गर्ने तथा  निदाउन नदिने लगायतका ज्यादै निर्मम प्रकारका यातना दिइयो। यसैकारण त्यो कालकोठरीबाट जीवित निस्कन पाउनु नै त्यहाँका बन्दीहरूका लागि ठूलो ‘भाग्य’ थियो। कम्तीमा उनीहरू ग्वान्टानामो छाडेर आफ्नो देश फर्कन त पाए। तर स्लाहीको नयाँ जीवनमा थोपरिएका नयाँ बन्देजहरू भने अझ बढी खतरनाक र पीडादायी बने। कुख्यात यातना केन्द्रमा भन्दा बाहिर पनि उनीहरूको जीवन कुनै कोणबाट स्वतन्त्र वा सुरक्षित बनेन।

मुसलमान भएकैले स्लाहीजस्ता निर्दोष मानिसलाई कारागारभित्र र बाहिर अमेरिकाले दिइरहेको यातनाप्रति संसार मुकदर्शक बन्न मिल्दैन।

आफ्नो उपचारका लागि विदेश जान राहदानी आवश्यक परेपछि स्लाहीले आवेदन दिए। तर मौरिटानिया सरकारले उनलाई राहदानी दिन मानेन। पहिले उनी कारागारका पर्खालभित्र बन्दी थिए भने अहिले आफ्नै देशको सिमानाभित्रका बन्दी बनेका छन्। संयुक्त राज्य अमेरिकाको तथाकथित ‘आतंकवादविरोधी युद्ध’का क्रममा खोट देखाइएका मानिसका निम्ति त्यो सिमानाको पर्खाल छिचोल्नु भने असम्भवप्रायः बनेको छ।

ग्वान्टानामो कारागारमै हुँदा उनको शल्यक्रिया भएको थियो। त्यही शल्यक्रियाको घाउ आजभोलि दुख्न थालेको छ। मौरिटानियाका चिकित्सकले उनको उक्त घाउको उपचार त्यहाँ हुन नसक्ने भनेपछि उनी उपचारका लागि विदेश जान चाहेका हुन्। ‘राति–राति देख्ने डरलाग्दा सपनाका के कुरा गर्नु ? रातभर सुत्न नसक्दाको पीडा म कसरी सुनाऊँ ? राति अचानक श्वास फेर्न गा-हो भएर ब्युँझेको कुरा म कसलाई भनुँ ? यस्ता सबै कुरा त मैले गरिरहेकै छैन।...मैले यतिबेला उपचार मात्र खोजिरहेको छु। चिकित्सकीय उपचार पाउनु मेरो अधिकार हो,’ स्लाही मलाई दुःख बिसाउँदै थिए।

मौरिटानियाली सरकारी अधिकारीहरूले संयुक्त राज्य अमेरिकाले नभन्दासम्म स्लाहीलाई राहदानी दिन नसकिने बताएका छन्। तर अमेरिकाले भने राहदानीको मामिलामा आफ्नो कुनै संलग्नता नहुने बारम्बार बताइरहेको छ। अमेरिकीहरू भन्छन्, ‘तिमी हाम्रो नागरिक होइनौ। तिमी हाम्रो सार्वभौमिकताअन्तर्गत छैनौ। तिमीले हामीसँग कुनै पनि कुरा माग्न मिल्दैन। तिम्रो देश सार्वभौम छ। उनीहरूले जे चाहन्छन्, त्यही गर्छन्।’

अमेरिका र मौरिटानियाको लुकामारीबीच स्लाहीले पश्चिमा देशहरूबाट पनि कमै मात्र सद्भाव बटुल्न सके। त्यही कारण अमेरिकाले मच्चाएको हिंसाप्रति पश्चिमा देशहरूको पनि समर्थन रहेको कुरामा उनको विश्वास बलियो बन्दै गयो। ‘जब तपाईं आफूलाई इजिप्ट सत्ता वा साउदी सत्ताले दुःख दिएको’ भन्नुहुन्छ, जो कोही पनि तपाईंलाई सहयोग गर्न अघि सर्छन्। पश्चिमा विश्वका धेरै मानिस तपाईंलाई सहयोग गर्न हात अघि सार्छन्। तर जब तपाई आफूलाई संयुक्त राज्य अमेरिकाले दुःख दिएको भन्नुहुन्छ, ‘संयुक्त राज्य अमेरिकाले कुनै गल्ती गर्दैन र तिमीबाटै केही गल्ती भएकाले तिमीलाई गिरफ्तार गरी यातना दिइएको हुनुपर्छ, ग्वान्टानामो कारागारमा कोचिएको हुनुपर्छ’ भन्ने मान्यतामा आधारित भएर काम भएको पाइयो। पश्चिमा विश्वका केही मानिस यो कुरा खुलेर गर्छन्, कोही यति खुलेर गर्दैनन्। तर मलाई उनीहरूले कसरी सोच्छन् भन्ने कुरा थाहा छ,’ स्लाहीले भने।

पटकपटक राहदानीका लागि दिएको आवेदन अस्वीकार भएपछि स्लाही मौरिटानियाका गृहमन्त्री अहमेदो ओल्ड अबदल्लाहसमक्ष निवेदन दिने निर्णयमा पुगे। ग्वान्टानामो कारागारबाट रिहा भएपछि उनलाई दुई वर्षपछि मात्र कहीं जान पाउने भनिएको थियो। उनले गृहमन्त्रीलाई दिएको निवेदनप्रति धेरै लेखक, सम्पादक, प्रकाशक, शिक्षक र मानवअधिकारवादीहरूले  समर्थन जनाएका छन्। उनीहरूले ओल्ड अबदल्लाहलाई पठाएको पत्रमा ‘कुनै पनि आतंकवादी गतिविधिमा नलागेको र कुनै पनि अपराधको अभियोगसमेत नलगाइएको व्यक्तिलाई गैरन्यायिक सजाय दिएको’ उल्लेख गरेका छन्। स्लाही आफूलाई राहदानी दिन फेरि पनि नमाने आफ्नो अधिकारका लागि अदालत जाने योजनामा छन्। तथापि उनको लडाइँ त्यत्ति सहज भने छैन। मौरिटानियाको न्यायालय आफैं स्वतन्त्र नभएको परिस्थितिसँग उनले सामना गर्नुको विकल्प छैन। उनी आफू गिनी पिगजस्तै प्रयोग गरिएको महसुस गर्दैछन्।

राहदानी प्राप्त गर्ने र औषधि उपचार गराउन पाउने आधारभूत अधिकारका लागि स्लाहीको संघर्ष अपवाद घटना भने होइन। ग्वान्टानामो कारागारबाट छुटेका अरू कैदीहरूले पनि दैनिकजसो यस्ता समस्या सामना गर्नु परिरहेको छ। कानुनी झमेलामा उनीहरू आफ्ना दिन बिताइरहेका छन्। ग्वान्टानामो कारागारमा अझै पनि ४० कैदी छन्। स्लाहीको कथाले ग्वान्टानामो कारागारबाट रिहा भइसकेकाहरू अवैध कारागारबाट भने मुक्त हुन सकेका छैनन् भन्ने देखाएको छ। ग्वान्टानामो कारागारका बन्दीहरूका देशसँग गोप्य सम्झौता गरेर देशको सिमानाभित्र निर्दोषलाई कैदीमात्र बनाइएको छैन, बरु संयुक्त राज्य अमेरिका स्वंयले कतिपयलाई उनीहरूले कुनै पनि गलत काम गरेका थिएनन् भनी सफाइ नदिँदा बन्दीहरू जहाँ जाँदा पनि अपराधको कालो धब्बा बोकेर हिँड्न बाध्य छन्।

‘म संसारसामु चिच्याएर भन्न चाहन्छु– हामी यही संसारका मानव हौं। हामी अमेरिकी नागरिक तथा डेनमार्क, जर्मनीका जनताजस्तै अधिकार र स्वतन्त्रतामा रमाउन चाहन्छौं। यो स्वतन्त्र संसारमा हामी पनि मानवले पाउने स्वतन्त्रता उपभोग गर्न चाहन्छौं,’ मसँगको भेटमा स्लाहीले भावुक भएर भने, ‘हामी त्यही अधिकार चाहन्छौं। भोलि होइन, आजै।’ मुसलमान भएकैले स्लाहीजस्ता निर्दोष मानिसलाई कारागारभित्र र बाहिर अमेरिकाले दिइरहेको यातनाप्रति संसार मुकदर्शक बन्न मिल्दैन। आतंकवादविरोधी युद्धका नाममा स्थापित क्रुर यातना गृहलाई बन्द गरिनुपर्छ। अनि मात्र पूर्वबन्दीहरूले लुटिएको आफ्नो जीवनमा त्राण प्राप्त गर्न सक्छन्। (लेखक संयुक्त राज्य अमेरिकाको अमेरिकी विश्वविद्यालयमा न्याय, कानुन र समाज विषयमा विद्यावारिधि गर्दैछिन्।) स्रोतः अलजजिरा / नेपाली अनुवादः नीरज लवजू

प्रकाशित: ५ चैत्र २०७५ ०६:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App