रमेश न्यौपाने
गत साता एक विद्यालयको अध्ययन भ्रमणमा निस्केको थिएँ । उद्देश्य थियो, त्यहाँको शैक्षिक माहोलको अवलोकन गर्ने । झन्डै पाँच सय विद्यार्थी पढ्ने त्यो स्कुल पूरै सुनसान थियो । प्रधानाध्यापक हामी आएको थाहा पाएपछि गेटसम्मै निस्कनु भयो । मैले औपचारिकतापछि सोधे, आज विद्यार्थी छैनन् ? पूरै शान्त छ है। उहाँले गर्विलो मुहार बनाउँदै भन्नुभयो, हामीले कडा गर्छौं । यस्तो कडा कि कसैलाई हल्ला गर्ने छुट छैन। पूरै अनुशासनमा बस्छन्, हाम्रा विद्यार्थीहरू । भित्र कोठामा शिक्षकहरू पढाउँदै हुनुहुन्छ । स्कुल परिसरमा पूरै ‘पेनड्रप साइलेन्स मेन्टन’ छ । शिक्षकको अनुमतिबेगर दिसा पिसाब पनि बर्जित छ । टाइट नगरे त बदमास भइहाल्छन् नि। उहाँलाई गर्विले जेले बनायो, समस्या नै त्यही थियो । के मनमा लागेको कुरा भन्नु, जिज्ञासा मेटाउन खोज्नु, तर्क गर्नु लगायतका केही पनि गर्न नपाउनु विद्यार्थी अनुशासन हो ? शिक्षकले कक्षा कोठामा दिएको आदेशमा चुपचाप रहनुले बच्चाको विकास गर्ला ?
कसरी हिँड्ने, कसरी बोल्ने, के बोल्नेदेखि के गर्ने वा के नगर्ने भन्नेसम्मको कुरामा सोचेर निर्णय गर्ने अधिकार हाम्रा बच्चामा हामीले दिएका छैनौँ । उनीहरू अरुको इच्छा र रोजाइको जीवन बाँच्न बाध्य छन् । कसरी खाने, के खाने, अनि दिसा पिसाब कुन बेला जाने भन्ने कुराको समेत निर्णय गर्न हाम्रा बच्चाले पाउँदैनन्। उनीहरूमा निर्णय क्षमताको विकास हुन हामीले विद्यालयबाटै छेक्छौँ । बिहान उठेपछि सुरु हुने उसको कैदी जीवन साँझ सुत्नु अघिसम्म जारी रहन्छ । ‘चञ्चलता’ बालापनको सबैभन्दा ठूलो सम्पत्ति हो । यसले जिज्ञासु बनाउँछ । जिज्ञासुले प्रश्न गर्छन् । प्रश्नले उत्तर खोज्छ । अनि यही उत्तर खोज्ने सीप अन्तबाट थुपारिएको ज्ञानभन्दा धेरै गुणा बलियो, कामलाग्दो र दीर्घजीवी हुन्छ । तर विद्यालयहरू बालस्वभावको वधशाला बनिरहँदा, हामी भने अनुशासित शिष्यका अनुहारमा गर्व गरिरहेका छौँ ।
हाम्रा विद्यालय अनुशासनका नाममा ज्ञान निर्माण र सिकाइ क्रियाकलापको बाधक बनेका छन् । शिक्षकले पस्किने वा किताबमा कोरिएका सीमित कुराले उर्वर बाल्यकालका जिज्ञासाको भ्रुणहत्या भइरहेका छन् । यस्तो हत्याले उसको मनमा असन्तोष जन्माउँछ । असन्तोष कालान्तरमा डरलाग्दो हिंसाका रूपमा समाजमा फक्रन्छ । विद्यालयमा बच्चालाई दबाबमा राख्छौँ । ठूलाले सानालाई वा सक्नेले नसक्नेलाई दबाउनुपर्छ भन्ने ज्ञान विद्यार्थीले स्कुलबाटै सिकिरहेका छन् । त्यसैले त कक्षाको बलियो बच्चाले कमसललाई थर्काउँछ । आफ्नो नियन्त्रणमा राख्न खोज्छ । हामी जे सिकाइरहेका छौँ, उनीहरू त्यही नै सिकिरहेका छन् । आखिर उनीहरू स्कुल सिक्नैका लागि त आउँछन् नि, हैन र ?
हाम्रा बच्चाहरू खुसी छैनन् । अझ भन्दा खुसी हुन हामीले दिएका छैनाैं । कुनै समय एक विद्यालयमा थियौँ । एउटाले अर्को साथीलाई ‘कुहिएको आलु’ भनेर बोलायो । बोलाइनेवाला, उतै बोलाउने साथी कहाँ गयो । कुरा भयो । यो दृश्य अलि हजम भइरहेको थिएन । बोलाउने बच्चालाई सोधें, ‘उसको नाम के हो ? ‘विमल’ अनि किन तिमीले कुहिएको आलु भनेको त ? त्यो पढ्दै पढ्दैन, त्यसैले एकदिन सरले यही भनेर गाली गर्नु भयो । त्यसपछि हामीले सधै कुहिएको आलु भन्छौँ । सुरुमा रिसाउँथ्यो, अचेल त केही गर्दैन ।
विमल आफूलाई कुहिएको आलु भनिएकामा भित्रैबाट कति आक्रोशित होला ? उसले त्योे शिक्षकलाई कुन रूपमा बुझ्ला ? के अब यसरी उसको मनमा खुसी आउला ? विनाखुसी, विनाआत्मसम्मान, त्यो विद्यार्थीले ती शिक्षकको कक्षामा प्रगति गर्ला ? अवश्य गर्दैन । बच्चामा प्रगति गराउने, ज्ञान निर्माण गराउने वा कुनै सीप सिकाउने हाम्रो उद्देश्य यसरी पूरा होला ? अवश्य हँुदैन । हँुदैन भने, कतै हाम्रा चालचलन र व्यवहार नै विद्यार्थी बिगार्ने साधन भएकोतर्फ कहिल्यै ध्यान दिन सकेका छाँै ? हामीले किन हाम्रा बच्चाहरूमा खुसी छाउन बन्देज गरिरहेका छाैँ । हाम्रा एक–एक शब्दले एउटा बच्चाको जीवनमा कतिसम्म असर गर्ला भन्ने हामीले किन ख्याल गरेका छैनौँ ? एउटा सत्य हो, कुनै पनि बच्चाले आफूलाई मन नपर्ने मान्छेबाट कहिल्यै पनि सिक्न सक्दैन । सँगैको अर्को सत्य हो, विद्यार्थी तबमात्र सफल हुन्छ, जब ऊ खुसीसाथ कक्षाकोठामा छिर्छ ।
हामीले पढायौँ । समाजले भन्ने गरेको ठूलो मान्छे पनि बनायाँै । नेपालमा बसेर अमेरिकामा कनेक्सन गर्ने तागत हाम्रा बच्चामा विकास गरायौँ । धेरैका समस्या सामाधान गर्ने ल्याकत हाम्रा बच्चामा विकास गरायौँ । तर, साँझ घर फर्कंदा आफ्नो परिवारमा शान्ति र खुसी ल्याउन सक्ने बनाउन सकेनौँ । दुनियाँका समस्या सामाधान गर्ने, तर्क दिने, आफ्नो तर्कमा अरुलाई सहमत गराउने, सबै गर्न सक्ने भए । तर आफ्नो घर मिलाउने कला जानेनन् । परिवारमा दुःख र विग्रह निम्त्याउने खुराक विद्यालयमा पस्किरहेका छौँ ।
के विद्यालय खुसी उत्पादन गर्ने कारखाना बन्न सक्दैनन् ? के बच्चाले आनन्दपूर्वक सिक्न सक्दैन ? बच्चालाई कुहिएको आलु भन्नुको सट्टामा कुनै सकरात्मक तरिकाले परामर्श गर्न सकिँदैन । टाई कोट नलगाएको मान्छे पनि भद्र र सज्जन हुन सक्छ भन्ने कुरा हाम्रा बालबालिकामा पार्न सकिँदैन ? उनीहरूलाई दिसा पिसाब, खाना, लुगा, हिँडडुल लगायतमा निर्णय अधिकार दिन सकिँदैन ? शिक्षकले कक्षामा आफू विद्यार्थीभन्दा फरक स्तरको मान्छे जस्तो व्यवहार नगरी सिकाइ क्रियाकलाप सञ्चालन गर्न सकिँदैन ? विद्यार्थीलाई हँसिलो मुहारसहित बालकेन्द्रित तवरले पढाउँदै चञ्चलता उनीहरूको सम्पत्ति हो भनी स्वीकार गर्न सकिँदैन ? यी सबै गर्न के हाम्रो भौतिक सुविधाले रोकेको छ ? वा अरु केही । विश्वमा भएका द्वन्द्वको समाधान हतियारबाट खोजिरहेका छौँ । तैपनि विश्व शान्ति आएको छैन । कारण खोतलौँ त । कतै हाम्रा शिक्षण शैली नै कारक पो हुन् कि ? यदि यसो हो भने, हाम्रो पठनपाठन शैलीमा ल्याइने बदलावले संसारमा शान्ति निर्माण गर्न सक्छ भन्नेतर्फ सोचौँ न ।
गत महिना एउटा विद्यालय नेतृत्वसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन दिल्ली गएको थिएँ । दिल्लीका विद्यालयमा अहिले नयाँ प्रयोग भइरहेको देखियो । त्यहाँ खुसी निर्माण गर्ने कुरा सिकाउन थालिएको छ । दिल्लीका शिक्षा मन्त्रीको अग्रसरतामा ‘ह्याप्पी करिकुलम’को निर्माण गरिएको छ । अर्को पटक यसबारे विस्तृत चर्चा गरौँला । तर, फरक नतिजा पाउनका लागि फरक काम गर्नैपर्छ । अपेक्षा र चाहनाले नै हो, गन्तव्यमा पुर्याउने।
ramkalee1@gmail.com
प्रकाशित: २२ फाल्गुन २०७५ ०२:११ बुधबार