विचार

महाशिवरात्रिको तयारी

हिन्दु धर्मालम्बीले भगवान् शिव, शंकर र पशुपतिनाथको पूजा एवं आराधना गरेर शिवरात्रि मनाउने गर्छन्। त्यसैले पनि फागुन कृष्णपक्षको चतुर्दशीका दिन पशुपतिनाथमा भव्य तयारी र चहलपहल हुने गर्छ। शिवरात्रिलाई शिवको उत्पत्ति तथा जन्मदिनका रूपमा लिइन्छ। त्यसैले उनलाई सम्झने दिनका रूपमा पनि शिवरात्रिलाई लिने गरिन्छ। यसपटक पशुपतिनाथ परिसरमा शिवरात्रि मनाउने तयारी पूरा भएको छ। तर यसपटक शिवरात्रिको पूर्वसन्ध्यामा विगतमा झैं पशुपतिनाथ क्षेत्रमा त्यतिसाह्रो चहलपहल देखिएको छैन। विश्व सम्पदा सूचीमा पर्ने पशुपतिनाथ क्षेत्रमा विभिन्न संरचना पुनर्निर्माणको काम बाँकी रहेको र सडकको अवस्थासमेत भद्रगोल भएकाले पनि विगतका वर्षहरूमा जस्तो भव्य चहलपहल देखिएको छैन। भूकम्पमा ढलेका कैयौं संरचना पुनर्निर्माणको पर्खाइमा छन् भने मृगस्थलीमा अवस्थित विश्वरूपा मन्दिर भग्नावशेषले पुरिएको छ। एक हिसाबले भन्ने हो भने विगतमा पशुपति क्षेत्र विकास कोषले यस क्षेत्रको पुनर्निर्माणलाई जुन हिसाबले गति दिनुपर्ने हो, त्यसो गर्न नसक्दा पनि कोषमाथि प्रश्न उठ्न थालेको छ। कोषले पशुपति क्षेत्रलाई व्यवस्थित पार्न सक्रियता देखाएको भए यो क्षेत्र अहिले व्यवस्थित हुने थियो। त्यस सवालमा कोषका तर्फबाट कमजोरी भएकै हो।

महाशिवरात्रि मनाउन जुन किसिमको तयारी गर्नुपर्ने हो, त्यसतर्फ पनि कोषको पर्याप्त ध्यान पुगेको देखिन्न । सडकमा ढुंगा छाप्नेदेखि कतिपय संरचना निर्माण कार्य अलपत्र पारेर छाडिएका छन् । साधुसन्त बस्न व्यवस्था गरिएको दक्षिणपट्टिको स्थानको फोहोर सफाइमा ध्यान दिइएको देखिँदैन । भक्तजन हिँड्ने भित्री सडकका खाल्डाखुल्डी पनि त्यत्तिकै छाडिएका छन् ।

त्यसो त यसपटक महाशिवरात्रि मनाउन जुन किसिमको तयारी गर्नुपर्ने हो, त्यसतर्फ पनि कोषको पर्याप्त ध्यान पुगेको देखिन्न। सडकमा ढुंगा छाप्नेदेखि कतिपय संरचना निर्माण कार्य अलपत्र पारेर छाडिएका छन्। साधुसन्त बस्न व्यवस्था गरिएको दक्षिणपट्टिको स्थानको फोहोर सफाइमा ध्यान दिइएको देखिँदैन। भक्तजन हिँड्ने भित्री सडकका खाल्डाखुल्डी पनि त्यत्तिकै छाडिएका छन्। पशुपति क्षेत्र विकास कोषको कमजोर व्यवस्थापनका कारण यो वर्ष शिवरात्रिको तयारी फितलो बन्न पुगेको छ। जस का कारण शिवरात्रिको चहलपहलमा समेत कमी आएको भनेर बुझ्न सकिन्छ। सडक मर्मत नगरेको, साधुसन्तलाई उचित बस्ने व्यवस्था नगरेको, सरसफाइ नगरेको, पार्किङ क्षेत्र पनि व्यवस्थित गर्न नसकेकोजस्ता समस्या यसपटक टड्कारो रूपमा देखिएका छन्। त्यति मात्र होइन, विभिन्न निजी क्षेत्रको संघसंस्थासँग समन्वयसमेत राम्रोसँग गरेको पाइँदैन।

विगत वर्षका तथ्यांकलाई हेर्ने हो भने शिवरात्रिमा देश–विदेशबाट १० देखि १२ लाखको हाराहारीमा भक्तजन पशुपतिनाथको दर्शन गर्न आउँछन्। त्यसैले पनि शिवरात्रिको दिन भक्तजनलाई तीनवटा ढोकाबाट बिहान ४ बजेदेखि नै दर्शन गर्न सक्ने व्यवस्था मिलाइएको छ। शिवरात्रिभर सुरक्षार्थ सात हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ। सादा पोसाकका ३५ सय सुरक्षाकर्मी परिचालन गर्ने तयारी कोषको छ। बत्तीसपुतली, गौशाला हुँदै आउने दर्शनार्थीका लागि गौशाला–पिंगलास्थान, चार शिवालय पञ्चदेवल हुँदै दक्षिण ढोकाबाट मन्दिर प्रांगण प्रवेशको व्यवस्था छ। कोटेश्वर, एयरपोर्टतर्फबाट आउने दर्शनार्थीका लागि तिलगंगा–पिंगलास्थान हुँदै दक्षिण ढोकाबाट मन्दिर प्रवेशको प्रबन्ध गरिएको छ। गुह्येश्वरी हुँदै आउने दर्शनार्थीका लागि गौरीघाट–उमाकुण्ड–दक्षिणामूर्ति–बासुकीनाग हँुदै उत्तरढोकाबाट मन्दिर प्रवेशको व्यवस्था मिलाइएको छ। समग्रमा हेर्ने हो भने यसपटक पशुपति क्षेत्र विकास कोषले सुरुदेखि नै पर्याप्त तयारी गरेको देखिँदैन। यो अवस्थामा कोषले आगामी दिनमा यस्ता कमीकमजोरीलाई सुधार गर्न आवश्यक छ। र, महाशिवरात्रि र यस्ता चाडपर्वहरू मनाउनुअघि पर्याप्त तयारी गरी भव्यता दिन सके आगामी दिनमा धार्मिक पर्यटनको पनि विकास गर्न सकिन्छ। त्यसतर्फ पनि सरोकारवाला पक्षको ध्यान जानु जरुरी छ।

प्रकाशित: २० फाल्गुन २०७५ ०४:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App