विचार

इतिहास लेख्ने बेला ?

२०७० साल साउन १६ गते राष्ट्रिय विभूति अमरसिंह थापा प्रतिष्ठानबाट नेपालको राष्ट्रिय गौरव अभिवृद्धि गर्न र देशको उन्नतिका लागि समर्पित रही नेपालको इतिहास तथा संस्कृति लेखन क्षेत्रमा गहकिलो योगदान गर्दै थुप्रै कृतिसिर्जनासमेत गर्नुभएकोमा तपाईँ इतिहासकार डा.साफल्य अमात्यलाई यो स्मृति पुरस्कार अर्पण गर्दछौँं भनी कदरपत्रबाट सम्मान गरेको दिन मैले नेपाल बार एसोसिएसनको सभा कक्षमा आफ्नो मन्तव्य र आयोजकहरूलाई धन्यवाद दिने क्रममा ‘नयाँ नेपालको इतिहासको संरचना गर्ने हो कि ?’ भनी आफ्नो विचार पोखेको थिएँ। यसै सिलसिलामा मैले यो लेख जोड्न खोजेको छु।

नेपालको प्रजातान्त्रिक आन्दोलनको सुरुवात राणा प्रधानमन्त्रीहरूको निरंकुश शासन प्रणालीको थालनी भएप्रश्चातदेखि नै सुरु भएको मान्नुपर्छ अर्थात् राणा शासनको जन्मदाता जंगबहादुरको समयदेखि नै राणा विरोधी षडयन्त्रहरू हुन थालेका देखिन्छ। केही इतिहासकार जंगबहादुरको विरोध गर्ने लखन थापालाई नै जनस्तरबाट राणा विरोधी आन्दोलनको सूत्रपात गर्ने पहिलो व्यक्ति मान्छन्।

तर परिस्थिति र समयको मागअनुसार नेपाली जनतामा पनि राणा विरोधी भावनाहरू उम्लन थालेको थियो। यस राणा विरोधी भावना भन्नु नै राणाहरूको एकतन्त्रात्मक क्रूर तानाशाही शासन प्रणाली अन्त गरी भर्खरैमात्र व्रिटिस साम्राज्यबाट स्वतन्त्रता प्राप्त गरेको प्रजातान्त्रिक गणतन्त्रात्मक शासन पद्धति अपनाएको भारतमा जस्तै प्रजातान्त्रिक शासन प्रणालीको सूत्रपात गर्ने थियो। यस भावनालाई केही शिक्षित एवं विद्वान् नेपालीहरूले नेपाल र भारतबाट नै नेपालमा प्रजातान्त्रिक आन्दोलन गर्नुपर्छ  र नेपालमा पनि प्रजातन्त्र ल्याउनुपर्छ भन्ने उद्देश्य राखी राजनीतिक क्रियाकलापहरू गर्न थालेका थिए।

यसरी राणा शासनको विरोधमा नेपाली जनतालाई प्रेरित गर्ने व्यक्तिहरूमा नेपालका चार सपुत शुक्रराज जोशी शास्त्री, धर्मभक्त माथेमा, गंगालालश्रेष्ठ र दशरथ चन्द नै थिए। यिनीहरूले के-कसरी राणा विरोधी आन्दोलन चलाउन खोजेका थिए र यिनीहरू के साँच्चै नेपालमा प्रजातान्त्रिक आन्दोलनका अग्रदूतहरू थिए भन्ने कुराको सत्य तथ्य इतिहास पनि समग्ररूपमा बाहिर आउन सकेको छैन। नेपालमा सर्वप्रथम राजनीतिक अपवाद लगाइ ज्यान सजाय दिइ राणाहरूले यिनीहरूलाई नेपालको शहीदहरूको प्रथम पंक्तिमा मात्र उभ्याएनन् बल्की यिनीहरूलाई नै देशमा भारतमाझैँ प्रजातान्त्रिक शासन प्रणाली स्थापना गर्न खोजेका व्यक्तिहरू थिए भनी नभनी गाथगद्दी ताक्ने विद्रोहीहरू हुन् भनीअभियोग लगाई यिनीहरूलाई ज्यान सजाय दिएका थिए।

यसै राणा विरोधी आन्दोलनमा राजा त्रिभुवन र राणाहरूकै परिवारका केही सदस्यले जुन किसिमसँंग भारतसँग हातेमालो गरी नेपालमा राणा शासनको अन्त्य गरी प्रजातन्त्र ल्याउने भूमिकाहरू खेलेका थिए ती विषय पनि अझै खुलस्तरूपमा बाहिर आएका छ्रैनन्,यो आन्दोलनमा राजा त्रिभुवन र भारतका प्रधानमन्त्री जवाहरलाल नेहरुको सम्बन्ध र मित्रता। राणा परिवारका विरोधी सदस्यहरूको भारतका राजनीतिक नेताहरूसँगको सम्पर्क र सम्बन्ध। राजा त्रिभुवन र यी प्रवासी राणाहरूको नेपाली राजनीतिक नेताहरूसंँगको सम्पर्क र सम्बन्ध आदिबारे अझै धेरै कुरा सोधखोजकै विषय भइरहेका छन्।

इतिहासले राष्ट्रको भविष्यका लागि बाटो देखाउने काम गर्छ। तर हाम्रो देशमा अझै यस्ताखालका इतिहास लेख्ने काम भने हुन सकिरहेको छैन।

२००७ साल फागुन ७ गतेका दिन नेपाल र नेपालीलाई के कतिको महत्व छ र नेपालको आजको यो राजनीतिक रूप ‘प्रजातान्त्रिक गणतन्त्र’ स्थापना गर्न यो दिनको के÷कस्तो देन थियो भन्ने कुरालाई २०४६ सालपछि केही राजनीतिक पार्टीहरूले बिर्सन खोज्नु, गौण गर्न खोज्नु र यस महान् दिनलाई अवमूल्यन गर्न खोज्नु नेपालीहरूको स्वाभिमान र गौरवका लागि कति जायज थियो ?हुनत २००७ साल फागुन ७ गतेलाई राजा महेन्द्र र राजा वीरेन्द्रले पनि खासै महŒव भने दिएका देखिँदैन। उक्त दिन प्रजातन्त्र दिवस मनाउन देशभर बिदा दिइन्थ्यो भने राजधानी सहरमा बग्गीमा राखी राजा त्रिभुवनको फोटो कटआउटलाई सहर परिक्रमा गराउनेबाहेक अन्य केही सम्झनलायक काम भएनन्।

नेपालमा प्रजातान्त्रिक आन्दोलनमा सक्रिय भूमिका खेल्ने राजनीतिक दलहरूमध्ये आज आएर नेपाली कांग्रेसबाहेक अरु कसैको पनि अस्तित्व रहन सकेन। नेपालको प्रजातान्त्रिक आन्दोलनमा वामपन्थीहरूको भूमिका भने गौण थियो। केही कम्युनिस्टले व्यक्तिगतरूपमा यस आन्दोलनमा भाग लिनुबाहेक अन्य ठोस योगदान दिएको देखिँदैन। बुद्धिजीवीहरूकै कुरा गर्ने हो भने सुरुदेखि नै तिनीहरूले पनि आफ्नो एउटा बलियो गुट बनाई राष्ट्रलाई बाटो देखाई डोहो-याउने काम गर्न सकेको देखिँदैन। तिनीहरूमा कुनै सिद्धान्त र स्पष्ट दृष्टिकोण पनि थिएन। तिनीहरू पिँध नभएको लोटा जस्तो कहिले प्रजातन्त्रवादी, कहिले वामपन्थी, कहिले राजावादी आदि इत्यादिको नीति लिन्थे।

यसरी नेपालको प्रजातान्त्रिक आन्दोलनको इतिहासले सधैं बाङ्गोटिङ्गो बाटो लिइरहेको देखिन्छ। नेपाली कांग्रेसमात्र होइन, २००७ सालपछि जन्मेका, उब्जेका सबै दल, चाहे त्यो दक्षिणपन्थी वा वामपन्थी, राजावादी वा पञ्चायतवादी, जोसुकैको पनि एउटै उद्देश्य मन्त्री हुने, अञ्चलाधीश वा राजदूत हुने वा ठूलठूला पद ओगटिने नै रह्यो। देश र जनताका लागि कसैले पनि खासै केही गरेन। फलस्वरूप विभिन्न किसिमको प्रजातान्त्रिक सरकारहरूको अभ्यासपछि नेपालमा माओवादी वामपन्थीहरूको उदय भयो। तर दुर्भाग्य के भयो भने ती तथाकथित माओवादी वामपन्थीहरूले पनि जनतालाई आँखामा छारो हाल्नुबाहेक केही गर्न सकेन।
निचोडमा भन्ने हो भने नेपालमा यसरी यति लामो करिव ७० वर्षको इतिहास बोकेको बूढो प्रजातन्त्रले फेरि कुनै दिन थाकेर लौ बा अब मैले यो भारी बोकिरहन सक्दिन भनी जनताकै काँधमा फर्काइदियो भने अबको नेपालले जुन किसिमको राजनीतिक उथलपुथल देख्नेछ, शायद त्यो नै अबको केही शताब्दीसम्मका लागि एउटा दिगो राजनीतिक व्यवस्था हुने हो कि ? यस कुरामा हामी सबै सजग र सचेत हुनुपरेको छ।
हालसम्म नेपालको प्रजातान्त्रिक आन्दोलनको इतिहास लेखक तथा इतिहासकारहरूले आआफ्ना कृतिहरूको सूची वृद्धि गर्ने र अनुसन्धाताहरूले विद्यावारिधिको उपाधिका लागिमात्र उपयोग हुनेखालको बाहेक राष्ट्रलाई बाटो देखाउनेखालका सच्चा इतिहास लेख्ने काम भने ओझेलमा नै परिरहेको छ। तसर्थ नेपालमा प्रजातान्त्रिक आन्दोलनको सुरुदेखिकै सोधखोज र अनुसन्धानहरू गरी के यी सबै साँच्चिकै प्रजातान्त्रिक आन्दोलनहरू थिए त भन्ने कुरा जनसमक्ष राख्नुपरेको छ। इतिहासले राष्ट्रको भविष्यका लागि बाटो देखाउने काम गर्छ। तर हाम्रो देशमा अझै यस्ताखालका इतिहास लेख्ने काम भने हुन सकिरहेको छैन।   

प्रकाशित: ९ पुस २०७५ ०२:३८ सोमबार

देशको_उन्नति इतिहास संस्कृति