विचार

अँध्यारोका जूनकिरीहरू र षडानन्द

सन्दर्भ १
कुनै जमानामा कुनै गाउँमा एकजना जोगी अर्थात् तवस्वी नदीको मध्य भागमा उभिएर भररात कठिन योग साधना भनौँ वा तपस्या गर्थे। उनलाई सधैं मध्य नदीमा उभिएको देखेर त्यसै नदीमा डुङ्गा चलाएर बस्ने एक माझीले सोधेछन्– यसरी हरेक रात नदीको मध्य भागमा उभिएर तपस्या गर्दा अँध्यारोमा केहीको पनि डर लाग्दैन ?

तपस्वीले नम्र स्वरमा भनेछन्– अहँ, मलाई त्यस्तो कुनै डर लाग्दैन। त्यस्तो केही छ र डर लाग्नुपर्ने ?

मध्यरातको अँध्यारो के हो के ? गोही माछाले खान पनि सक्छन्। बाढी, हुरी, बतास अचानक आउन पनि त सक्छ।
जोगीले निस्फिक्री भावमा उतर दिए– म त्यहाँबाट पनि नदी किनारमा चमचम चम्किरहेका जूनकिरीहरू देखिरहन्छु। तिनै जूनकिरीको चमक बिस्तारै बढ्दै गएर बिहानको सूर्याेदय हुँदै गरेको कल्पनाले मलाई अँध्यारो छ वा डराउनुपर्ने कुनै खतरा छ भन्ने थाहै हुन्न। माझी नाजवाफ आफ्नो बाटो लागेछन्।

भोलि पक्कै उज्यालो हुनेछ अर्थात् आजभन्दा राम्रो हुनेछ। समुन्नत समाज निर्माणका लागि आशाको दियोका रूपमा त्यस्ता धेरै ज्ञात–अज्ञात जूनकिरीहरू सधैं बलिरहेका हुन्छन्। हाम्रा लागि उज्यालो छरिरहेका हुन्छन्। नदी किनारमा होस् वा बीचमा नै कठिन साधना गरिरहेका हामीहरू पनि तिनै जोगीले जस्तो उज्यालोको कामना गर्दै अगाडि बढिरहेका हुन्छौँ।

सन्दर्भ २
हामी सबैलाई यस्तो लाग्छ वा लाग्न पनि सक्छ– अहिले म जहाँ छु, जे छु, त्यो सबै मेरै आफ्नै श्रम पसिनाको फल हो। म आज यहाँ जहाँ जे जस्तो र जुन अवस्थामा छु त्यो सबै मेरै दुःख, ज्ञान वा मेरै बल–बुताले नै आर्जेको हो। मलाई पनि त्यस्तै लाग्छ। तर ...।

तर मेरो पछाडि वा मेरो वर्तमान निर्माणमा मेरो श्रम, पसिना, दुःख र ज्ञानका लागि पनि अरु कसैको कुनै भूमिका नै छैन त ? छ, पक्कै छ। ती को को हुन् र कहाँ–कहाँ छन् ? हामीले न ती सबैलाई देख्यौँ, न चिन्यौँ वा न भेट्यौँ नै। तर पनि तिनले मेरो र हाम्रो वर्तमान समाजको धरातल निर्माणमा कहीँ न कहीँ केही न केही सहयोग गरि नै रहेका छन्। केही न केही भूमिका खेलिरहेकै हुन्छन्। हिजोदेखि नै उनीहरूले हाम्रा लागि केही गरिरहेका थिए वा पछिसम्म पनि गरि नै रहेका हुन्छन्।

त्यस्ता हाम्रा लागि हामीले नजानेर नै वा हामीले नमागेर वा नचाहेर नै सही केही न केही गरिरहने हाम्रा आदर्शहरू को को हुन् ? कहाँ थिए र कहाँ कहाँ छन् ? ती सबै जो हाम्रा अग्रज पनि हुन्। हाम्रा पूर्वज पुर्खाको शृंखलामा मेरो जैविक कारणले प्रत्यक्ष वंश प्रणालीको गणनामा पर्नेहरू अर्थात् मेरो हजुरबा वा हजुरबाका पनि हजुरबा, तिनका पनि पुर्खा मात्र मेरा पुर्खा हुन् भन्ने भ्रम हामीलाई पक्कै छैन। त्यस्ता ती सबै समुदायका आदर्शहरूका हामी ऋणी छौँ। तिनको ऋण हामीले चुक्ता गर्न त सक्दैनौँ नै तर त्यो ऋणका लागि सके हामीभन्दा पछि आउने सन्ततिका पक्षमा केही न केही नयाँ मार्ग प्रशस्त गरी दिन सक्छौँ। यो एउटा यस्तो चक्र हो, जहाँ हामी सधैँ घुमिरहेकै हुन्छौँ। मानौँ यो एउटा कुमालेको चक्र हो। विज्ञानको भाषामा यो एउटा ‘इको सिस्टम’जस्तै।

नेपाली समाजमा हाम्रा आदर्श वा प्रेरणा स्रोतका सर्वमान्य व्यक्तिहरू को को हुन् वा को–को थिए ? यी सबै हाम्रा आ–आफ्ना धर्म, वर्ण, वर्ग, समुदायअनुसार अलग–अलग नै पनि हुनसक्छन्। तर जतिसुकै अलग–अलग पहिचान भए पनि ती सबै हाम्रो मानव समाज र सभ्यताको एउटा समय र सीमाका बिर्सनै नसकिने वा बिर्सनै नहुने अमूल्य निधिहरू हुन्। ती सबै हाम्रा प्रेरणाका साझा स्रोत हुन्। त्यसरी बिर्सन नसकिने निधिहरूमा यहाँ एक जना त्यस्तै अग्रज तपस्वी वा साधकको सम्बन्धमा चर्चा गरौँ– आबाल ब्रम्हचारी बालागुरु षडानन्द अधिकारीको।

त्यसो त यस शृंखलाको मेसोमा लिनैपर्ने अन्य नामहरू पनि छन्– शंखधर, गुरु फाल्गुनन्द, सन्त कवि दिलदास, योगमाया, विद्यापति, खप्तड स्वामी, योगी नरहरिनाथ हुँदै स्वामी प्रपन्नाचार्यलगायत अरु धेरै आदि पुरुषको स–सम्मान सम्झना गर्नुपर्छ। योभन्दा अलिक अगाडि जाने हो भने अन्य धेरै नाम थप्नुपर्छ। त्यस्ता कतिपय नामहरू मिथकका रूपमा पनि रहेका छन्। जनक, सीता, भृकुटी, बुद्धलगायतको यो शृंखलाले हाम्रो भूगोललाई हिजो गरेको सिञ्चन नै आजको हाम्रो गौरव हो।

सन्दर्भ ३
आबाल ब्रह्मचारी बालागुरु षडानन्दका सम्बन्धमा पनि हामी धेरैलाई केही न केही थाहा छ। नेपालको पूर्वी पहाडबाट बालागुरुले बालेको शिक्षा र चेतनाको दियो आज हरेक नेपालीका घर घरमा धेरथोर पुगेकै छ। देशको राजधानीमासमेत सर्वसाधारण नागरिकका लागि सार्वजनिक विद्यालयहरू नभएको अवस्थामा उनले सर्वसाधारणका लागि विद्यालय स्थापना गरेर पठनपाठनको सुरु गरेका थिए।

विसं १८९२ मा मंसिर शुक्ल विवाह पञ्चमीका दिन माता रुक्मिणीको कोखबाट भोजपुर जिल्लाको दिङ्लामा जन्मेका बालागुरु षडानन्दका पिता लक्ष्मीनारायणको निधन उनी जन्मनु पहिले नै भएको थियो। आमाको गर्भमा छँदै पिताको निधन भएका षडानन्दको बाल्यकाल पनि सन्तोषजनक हुन सकेन। आमाको स्वास्थ्यका कारण शिशु अवस्थामा उनले स्थानीय एक ग्रामीण महिला धनमायाको दूध खाएर हुर्केका थिए।

बाल्यकालमा नै घर छोडेर देशाटनमा हिँडेका षडानन्दले नेपालकै जनकपुर तथा बनारस पुगेर सन्त महन्थहरूबाट शिक्षा दीक्षा आर्जन गरे। नेपालका मध्य तथा पश्चिम भागहरू घुमे। कठिन योगसाधनापश्चात् उनी श्री १०८ स्वामी महाराज वा बालागुरु षडानन्दका नामले सम्मानपूर्वक चिनिन थाले। अति नै क्रुर र अमानवीय सती प्रथा तथा जातीय विभेद लगायतका अन्य सामाजिक कु–प्रथाको अन्त्यका लागि स्थानीयस्तरमा महत्वपूर्ण भूमिका खेलेका बालागुरु षडानन्दले तत्कालीन राणा प्रधानमन्त्रीहरूलाई पनि कुप्रथाहरूको अन्त्यका लागि घच्घच्याएका थिए।

उनले आफ्नो जन्मस्थान जहाँ उनी हुर्के, बढे त्यहाँ विसं १९३२ नर्मदेश्वर महादेवको मन्दिर तथा विद्यालय, छात्रावास, सार्वजनिक पोखरी, बगैँचा आदिको स्थापना गरे। विसं १९१० मा काठमाण्डुमा राणा परिवारका लागि मात्र दरबार स्कुल स्थापना भएको थियो। दिङ्लामा  सर्वसाधारणका लागि विद्यालय खुलेको २ वर्षपछि भने विसं १९३४ मा काठमाण्डुमा पनि सर्वसाधारणका लागि रानीपोखरी स्कुल खुलेको थियो।

स्थानीय समाजमा बालागुरु षडानन्दको पहलमा सती प्रथा बन्द भइसकेको धेरै वर्षपछि मात्र राणा प्रधानमन्त्री चन्द्र शमसेरले १९७७ असार २५ गते सती प्रथालाई कानुनतः अन्त्य गरिएको घोषणा गरे। सो घोषणा हुनु ४ वर्ष पहिले नै १९७३ जेष्ठ शुक्ल त्रयोदशी मंगलबार बालागुरु षडानन्दको निधन भएको थियो। आज पनि नदी किनारमा बसेर रमिता हेर्ने हाम्रा लागि यी सबै ज्ञात अज्ञात अग्रजहरू जूनकिरीको ज्योतिजस्तै आशा र प्रेरणाका स्रोत हुन्।

प्रकाशित: २६ मंसिर २०७५ ०३:३१ बुधबार

तवस्वी_नदी माझी अँध्यारो जूनकिरी