विचार

बोल्सोनारोको तरंग

गएको २८ अक्टोबरमा सामाजिक उदार पार्टी (द सोसियल लिबरल पार्टी) का अति दक्षिणपन्थी उम्मेद्वार जाएर बोल्सोनारो ब्राजिलका नयाँ राष्ट्रपति निर्वाचित भए। उनले कुल खसेकोमध्ये ५५.१ प्रतिशत मत प्राप्त गरेको त्यहाँको निर्वाचन आयोगले जनाएको थियो। उनका प्रमुख प्रतिद्वन्द्वी वामपन्थी वर्कर्स पार्टीका उम्मेद्वार हर्नान्डो हडाडले ४४.९ प्रतिशत मत प्राप्त गरेका थिए। ६३ वर्षका नवनिर्वाचित राष्ट्रपतिले आगामी जनवरी १ का दिन पद तथा गोपनीयताको सपथ लिनेछन्।

बोल्सोनारोसँग मनग्य चुनावी प्रचार स्रोत थिएन। उनीसँग प्रमुख राजनीतिक दलको भरपर्दो समर्थन पनि थिएन। तथापि पूर्वसैनिक कप्तान बोल्सोनारोले ५ करोड ७० लाखभन्दा बढी मत प्राप्त गरे। उनले भ्रष्टाचार, अनियन्त्रित अपराध र थिलथिलो अर्थतन्त्रजस्ता ब्राजिलले आज भोगिरहेका समस्याको समाधान गर्ने वचनबद्धता व्यक्त गरेका छन्।

विशेषतः ब्राजिलका अल्पसंख्यक समुदायले बोल्सोनारोको विजयलाई सुखद रूपमा लिएका छैनन्।

बोल्सोनारोको चुनावी विजय भने ब्राजिलका केही सामाजिक समुदायका लागि खतराको घण्टी साबित बनिरहेको छ। विशेषतः ब्राजिलका अल्पसङ्ख्यक समुदायले बोल्सोनारोको विजयलाई सुखद् रूपमा लिएका छैनन्। चुनावी अभियानका क्रममा नवनिर्वाचित राष्ट्रपतिले धेरै पटक महिलाविरोधी, जातिवादी र समलिंगीप्रति पूर्वाग्रही अभिव्यक्ति दिएका थिए। अफ्रो–ब्राजिली दासका सन्ततिहरूलाई उनले ‘अल्छीका पोका’ भनी आलोचना गरेका थिए। ब्राजिलका केही महिला सांसदलाई ‘बलात्कार गर्न पनि अयोग्य’ भन्ने अभिव्यक्ति दिएर उनी विवादमा तानिएका थिए। ‘आफ्नो कोही सन्तान समलिंगी भए उसलाई आफूले माया गर्न नसक्ने र त्यो सन्तान बरू कुनै दुर्घटनामा परेर मर्दा आनन्द हुने’ भनी बोल्सोनारोले तेस्रो लिंगी समुदायविरुद्ध विभेदकारी अभिव्यक्ति दिएका थिए। उनले पटक–पटक ब्राजिलका आदिवासी जनतालाई आफ्नो प्रहारको निशाना बनाएका थिए।

राष्ट्रपति निर्वाचनमा जितेलगत्तै भने बोल्सोनारोले आफू ब्राजिलमा शान्तिको पक्षमा रहेको भनी बोली फेरेका थिए। “यो देश सबै जनताको हो, जन्म र मनदेखि ब्राजिली सबै जनताको। भिन्न–भिन्न विचार, रङ र आस्थाका ब्राजिली जनताको देश हो ब्राजिल,” उनले भनेका थिए। नयाँ राष्ट्रपतिले आफ्नो सरकार ‘संवैधानिक र प्रजातान्त्रिक’ बन्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

ब्राजिल दक्षिण अमेरिकाको सबभन्दा बढी जनसङ्ख्या भएको देश हो। साथै विश्वकै आठौँ ठूलो अर्थतन्त्र पनि हो। त्यसकारण ब्राजिलमा बोल्सोनारो राष्ट्रपति बन्नुको विश्वव्यापी प्रभाव हुनु स्वाभाविक हो। बोल्सोनारो चुनावबाट राष्ट्रपति पदमा निर्वाचित भएको घोषणालगत्तै विदेश मामिला र व्यापारबारे कम मात्र अनुभव भएका नवनिर्वाचित राष्ट्रपतिले आफूभन्दा अघिका राष्ट्रप्रमुखहरूले भन्दा नितान्त भिन्न विदेश नीति अंगाल्ने विज्ञहरूले विश्लेषण गरेका छन्। आफ्नो चुनावी अभियानका क्रममा पनि बोल्सोनारोले यस्तै मनसाय व्यक्त गरेका थिए। अन्तर्राष्ट्रिय वृत्तमा उनको  निर्वाचनले पार्ने अरू धेरै प्रभावसँगै भारत र चीनसँगको सम्बन्धमा पनि यसले ठूलो प्रभाव पार्ने अपेक्षा गरिएको छ। साथै ब्राजिलसहित रूस, भारत, चीन र दक्षिण अफ्रिकासम्मिलित विश्वको पाँच प्रमुख अर्थतन्त्रको संगठन ब्रिक्सको शक्ति राजनीतिमा पनि यसले प्रभाव पार्ने विश्लेषण गरिएको छ।

भारतमा सम्भावित प्रभाव
सम्पूर्ण ल्याटिन अमेरिका र क्यारिबियन क्षेत्रमा भारतको सबभन्दा महत्वपूर्ण व्यापार साझेदार ब्राजिल हो। सन् २०१७ मा दुई देशबीचको कुल व्यापार ७ अर्ब ६० करोड अमेरिकी डलर बराबर पुगेको थियो। भारतले ब्राजिलबाट उखु, तामा र भटमासको तेल आयात गर्ने गर्छ भने ब्राजिलमा भारतले डिजल, जैविक रसायन, औषधिजन्य पदार्थ, आणविक रिएक्टर र मेसिनरी सामान निर्यात गर्ने गरेको छ। भारतले ब्राजिलमा निर्यात गर्ने कुल वस्तुमध्ये डिजल ४०–५० प्रतिशत हुने गरेकामा सन् २०१७ मा भने निकै घटेको थियो। तथापि दुई देशबीचको व्यापार ३५ प्रतिशतले बढेको थियो।

अफ्रो–ब्राजिली दासका सन्ततिहरूलाई उनले ‘अल्छीका पोका’ भनी आलोचना गरेका थिए। ब्राजिलका केही महिला सांसदलाई ‘बलात्कार गर्न पनि अयोग्य’ भन्ने अभिव्यक्ति दिएर उनी विवादमा तानिएका थिए। ‘आफ्नो कोही सन्तान समलिंगी भए उसलाई आफूले माया गर्न नसक्ने र त्यो सन्तान बरू कुनै दुर्घटनामा परेर मर्दा आनन्द हुने’ भनी बोल्सोनारोले तेस्रो लिंगी समुदायविरुद्ध विभेदकारी अभिव्यक्ति दिएका थिए। उनले पटक–पटक ब्राजिलका आदिवासी जनतालाई आफ्नो प्रहारको निशाना बनाएका थिए।

भारतमा जस्तै ब्राजिलको अर्थतन्त्रको आधार भनेको कृषि नै हो। त्यही भएर कृषि क्षेत्रका एउटा उत्पादनमा दुई देशबीच प्रतिस्पर्धा पनि छ। सन् २०१८ को लागि ब्राजिल संसारकै सबभन्दा बढी गाईको मासु निर्यात गर्ने देश हुने अपेक्षा गरिएको छ। ब्राजिलपछि भारत, अस्ट्रेलिया र अमेरिका गाईको मासु निर्यात गर्ने ठूला उत्पादक देश हुन्। कुखुराको मासु निर्यातमा पनि ब्राजिल संसारकै सबभन्दा ठूलो देश हो। बोल्सोनारोको कार्यकालमा भारत र ब्राजिलबीचको व्यापार सम्बन्ध पनि प्रभावित हुने देखिएको छ।

नवनिर्वाचित राष्ट्रपति बोल्सोनारो कृषिव्यापारका बलिया पक्षधर हुन्। वास्तवमा उनको राजनीतिका आधारहरूमध्ये कृषिव्यापार क्षेत्र पनि एउटा हो। उनी यो क्षेत्रमा नया“ व्यापारमुखी अवधारणाका पक्षपाती हुन्। उनलाई समर्थन गर्ने अधिकांश समर्थकहरू ‘रुर्लिस्टास’ भनिने समुदायका छन्। किसानी र कृषिव्यापार क्षेत्रका मानिसहरूको समुदायलाई ब्राजिलमा ‘रुर्लिस्टास’ भन्ने गरिन्छ। ब्राजिलको राजनीतिमा यो वर्गका मानिसको बलियो प्रभाव भएको मानिन्छ। बोल्सोनारोले प्रस्ताव गरेजस्तै ब्राजिलका कृषि मन्त्रालय र वातावरण मन्त्रालयलाई एउटै बनाए विभिन्न उत्पादन विशेषतः गाईको मासु र भटमासको आपूर्ति रेखामा ठूलो प्रभाव पार्न सक्दछ। बोल्सोनारोले कृषि क्षेत्रसँग जोडिएका वातावरणीय कानुनमा ठूलो परिवर्तन ल्याउने वचनबद्धता व्यक्त गरेका छन्। वनजंगल फडानी, जंगल क्षेत्रलाई कृषि क्षेत्रमा परिणत गर्ने बोल्सोनारोका प्रतिबद्धता कार्यान्वयनमा लगिए भारतलगायत संसारकै कृषि व्यापारमा प्रभाव पार्नेछ। त्यसको अर्थ कृषि व्यापार क्षेत्रमा भारत र ब्राजिलको द्विपक्षीय लगानी प्रवद्र्धन गर्ने अवसर भविष्यमा दुरुह हुन सक्छ। कृषिव्यापार क्षेत्रलाई अन्य क्षेत्रले पुनःसन्तुलनमा ल्याउन त्यत्ति सजिलो भने हुनेछैन।

तर मुम्बईका लागि ब्राजिलका पूर्व महावाणिज्य दूतावास फाउस्टो गोडो दुई देशका नेताले राम्रै नतिजाका लागि काम गर्ने अपेक्षा गर्छन्। बोल्सोनारो र नरेन्द्र मोदीका मुद्दा र विचारबीच समानता खोज्ने प्रयास गरिनुपर्ने तर अहिलेसम्म त्यस्तो कुनै विशेष समान मुद्दा र विचार भेटिनसकेको फाउस्टोको भनाइ छ। दुवै नेता निजी क्षेत्रको विकास, सार्वजनिक वा सरकारी क्षेत्रमा कर्मचारीतन्त्रको अन्त्य तथा भ्रष्टाचारको विरोधमा रहेको उनको भनाइ छ। मोदी र बोल्सोनारोको विचार र कार्यशैलीबीच धेरै समानता भएको दाबी गर्दै फाउस्टोले दुई जनाबीच सम्पर्क कायम गर्न सके राम्रो परिणाम आउन सक्ने उनको धारणा छ।

ब्रिक्समा के होला ?
बोल्सोनारोले कस्तो विदेश नीति अंगीकार गर्लान् भन्ने विषयमा उनले अक्टोबर २० मा आयोजित पत्रकार भेटघाटमा व्यक्त मन्तव्यबाट पूर्वसंकेत पाउन सक्छौँ। उक्त कार्यक्रममा बोल्सोनारोले आफूलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पस“ग तुलना गरेका थिए। “अमेरिकालाई महान् बनाउन जसरी डोनाल्ड ट्रम्पले भूमिका खेलिरहेका छन्, त्यसरी नै ब्राजिललाई महान बनाउनु मेरो लक्ष्य हो,” उनले पत्रकारहरूस“ग भनेका थिए। उनलाई संयुक्त राष्ट्र सङ्घमा ट्रम्पले बोलेको एउटा वाक्यले पनि ज्यादै प्रभावित बनाएको देखिन्छ। “हामी विश्वव्यापीकरणको विचारधारा मान्दैनौँ, हामी देशभक्तिको सिद्धान्त अंगीकार गर्छौं।” त्यसकारण अन्तर्राष्ट्रिय मिडियाले ‘दक्षिणी गोलाद्र्धका ट्रम्प’को उपनाम दिएका बोल्सोनारोले आफूभन्दा अघिका राष्ट्रपतिले जस्तै ब्रिक्सको बारेमा चासो नराख्ने विश्लेषकहरूको बुझाइ छ।

चुनावी अभियानको क्रममा राष्ट्रपति बोल्सोनारोले वर्कर्स पार्टीको कथित ‘वामपन्थी’ मुद्दा त्यागेर उदार नीतिमा जाने घोषणा गरेका थिए। उनले अघिल्ला सबै राजनीतिक मोर्चाबन्दीलाई पुनरावलोकन गर्ने बताएका थिए।

ब्राजिलका लागि चीन विदेशी लगानीको प्रमुख स्रोत हो। साथै चीन नै ब्राजिलको सबभन्दा ठूलो व्यापार साझेदार पनि हो। तर आफ्नो चुनावी भाषणमा बोल्सोनाराले पटक–पटक ब्राजिलका खानी र ऊर्जा क्षेत्रमा रणनीतिक महत्वका प्राकृतिक स्रोतसाधनमाथि नियन्त्रण जमाएको भन्दै चिनियाँ लगानीकर्तालाई चेतावनी दिएका थिए। “चीनले ब्राजिलमा किनिरहेको छैन, चीनले ब्राजिल किनिरहेको छ,” अगस्टको एउटा भाषणमा बोल्सोनारोले भनेका थिए।

पहिलेका सरकारको भन्दा बोल्सोनारोको विदेश नीतिमा भिन्नता आउने लगभग पक्का भए पनि उनको विदेश नीतिको दिशा कस्तो हुने हो, निश्चय गरिहाल्ने समय भइसकेको छैन। विश्लेषक फाउस्टोका अनुसार ब्रिक्सको सम्बन्धमा नयाँ राष्ट्रपतिले खासै कुनै संकेत गरिसकेका छैनन्। तर उनी दक्षिणी गोलाद्र्धका देशहरूबीच एकताको विपक्षमा देखिन्छन्। ब्रिक्स देशहरूमध्ये बोल्सोनारोले सुरुमा चीनप्रति मात्र नकारात्मक तर निकै सावधान टिप्पणी गरेका थिए। राष्ट्रपति निर्वाचित भएपछि भने उनले चीनप्रतिका अभिव्यक्तिमा परिवर्तन गर्दै सकारात्मक अभिव्यक्ति बोल्दै आएका छन्। चीन ब्राजिलको सबभन्दा ठूलो व्यापार साझेदार देश भएका कारण त्यसो गर्नुको उनीसँग अर्को विकल्प पनि छैन।

(अरविन्द जेभियर्स भारतको गोआ समाज लुसाफोनका सभापति हुन्। स्क्रोल.आइएनबाट नीरज लवजूको अनुवाद)

प्रकाशित: २० मंसिर २०७५ ०३:१८ बिहीबार

सामाजिक_उदार_पार्टी बोल्सोनारो