विचार

शालीन व्यक्तित्वको मौन प्रस्थान

चन्द्रकान्त आचार्य

हरेक शनिबारको ‘नागरिक’ दैनिकमा जीवन दर्शनसम्बन्धी मार्मिक अभिव्यक्तिहरू नेपाली भाषामा पढ्दै जीवनलाई बुझ्ने प्रयासमा कति नेपालीहरू घोरिइरहेको अवस्थामा त्यस्ता अभिव्यक्तिका सर्जक–अनुवादक हेमराज ज्ञवालीले यस जीवनलाई शनिबार नै (२७ असोज २०७५) बिदा गरेर चिरनिद्रा वरण गरे । उनको मृत्यु भयो भनेर हामी आफन्तहरू शोक सन्तप्त छौँ, तर नागरिकका पानाहरूमा उनले बताएका दर्शनले त श्रीमद्भगवद् गीताको यस कथनलाई नै समर्थन गरेको छः
‘नैनं छिन्दन्ति शस्त्राणी नैनं दहति पावकः ।
न चैनं क्लेदयन्त्यापो न शोषयति मारुतः ।।’

हो, हेमराज ज्ञवालीको पार्थिव शरीर आर्यघाटमा जलाएर शोक सन्तप्त हुने हामीलाई नागरिकका ती अभिव्यक्तिले घच्घच्याइरहनेछन् र यिनै अभिव्यक्तिमा ती सन्त बाँचिरहेको कुरा बुभ्mन हामी समर्थ हुनेछाैं । त्यसैले उनी बाँचिरहने अरु केही उदाहरण प्रस्तुत गर्न उपयुक्त लागेर हेमराज ज्ञवालीका जीवनका पानाहरूबाट केही उपयुक्त कुरा उद्धृत गर्ने जमर्को गरिएको छ।

गुल्मीदेखि वाराणसीसम्मको शिक्षा
राणा शासनको समय थियो, जनताका छोराछोरीलाई पढ्ने अधिकार छ भन्ने मान्यता नराख्ने शासकहरूबाट देशका दुर्गम ठाउँहरूमा विद्यालय खोल्ने प्रयास हुँदैनथ्यो । कोही चलाख किशोरहरू गाउँ ठाउँबाट हिँडेर भारत प्रवेश गरी काशी या हरिद्वारतिर गएर संस्कृत शिक्षा आर्जन गरी गाउँहरूमा आएर पढाउने चलन सुरु हुँदै थियो।

विसं १९९४ तिर तत्कालीन गुल्मी (हाल अर्घाखाँची) को खिदिमका महापण्डित दधिराम मरासिनीको सक्रियतामा पोखराथोकमा संस्कृत पाठशाला खुलेको थियो र त्यस पाठशालामा  पढेका सज्जन पण्डित खिदिम पोखराथोकका नारायणप्रसाद गौतमलाई राखेर मानकोटमा २००७ सालतिर नै ज्ञवालीहरूले दलाने पाठशाला खोलेका थिए । त्यसैमा हेमराज ज्ञवालीले प्रारम्भिक शिक्षा आर्जन गरेको कुरा उनका पटक पटकका कथनबाट र नारायणप्रसाद गौतम स्मृति ग्रन्थमा लेखिएका कुराबाट अवगत हुन्छ । पछि उच्च शिक्षाका लागि उनी भारतको वाराणसी गएर संस्कृतमा शास्त्री अर्थात् स्नातक तह उत्तीर्ण गरी काठमाडौँ आएर अध्ययन र नोकरीका लागि लोकसेवा परीक्षा दिन सुरु गरेका हुन्।

इमानदार प्रशासक  
२०२२–२३ सालतिर राजा महेन्द्रले भूमिसुधार गर्ने भनेर धेरै पढेलेखेका व्यक्तिलाई राजनैतिक नियुक्ति दिने र अधिकृत बनाउने लहरजस्तो चलेको थियो । त्यस्तो अवस्थामा पनि पञ्चायती राजनैतिक व्यक्तिहरूको चाकरीको आधारमा गरिने राजनैतिक नियुक्तिपट्टि नलागी स्नातक उत्तीर्ण हेमराज ज्ञवालीले लोकसेवा आयोगको परीक्षा उत्तीर्ण गरेर आफ्नो योग्यताको आधारमा शाखा अधिकृतको नियुक्ति लिएका हुन्। 

सरकारी सेवामा उनको अत्यन्त सेवाभाव र सबैप्रति नरम स्वभावले जनमानसमा ठूलो प्रभाव पारेको कुरा सम्पर्कमा आएका धेरै व्यक्तिबाट सुनिएको छ । लामो समय सर्लाही जिल्लामा प्रमुख जिल्ला अधिकारी रहेका उनको बारेमा त्यहाँका बच्चेलाल राय र पूर्वसचिव स्व. डा. नरसिंहनारायण सिंहले अति असल निस्वार्थी र जनताको सेवक भनेर यस पंक्तिकारसँग प्रजिअ हेमराज ज्ञवालीको मुक्तकण्ठले प्रशंसा गरेका थिए । आफ्नै प्रयास र राम्रो कार्यदक्षताको आधारमा सरकारी सेवामा राजपत्रांकित प्रथम श्रेणी र राजस्व विभागको प्रमुख पदसम्म अत्यन्त कुशलतापूर्वक कार्य सञ्चालन गरेका हेमराज ज्ञवाली चाकरी प्रथाका आलोचक रहेकाले माथिल्ला पदको आकांक्षी हुनुभन्दा स्वतन्त्र पत्रकारिता जगत्मा प्रवेश गरेर देश र जनताको सेवा गर्ने पवित्र लक्ष्यमा अघि बढे।

आकस्मिक निधनमा पनि पत्नी र सबै तीन छोरा साथमा हुनु अहिलेको समयमा आश्चर्यजनक कुरा मान्नुपर्छ । यस्तो बिदाइलाई अत्युत्तम बिदाइ भन्नुपर्छ।

पत्रकारिताका अगुवा
२०३० देखि २०४५ सालको समय अन्तराललाई हेर्ने हो भने दैनिक पत्रिकामा गोरखापत्र र राइजिङ नेपाल सरकारी मुखपत्रिकाबाहेक व्यक्तिगत क्षेत्रका साप्ताहिक पत्रिकामा समीक्षा, मातृभूमि, राष्ट्रपुकार, साप्तहिक विमर्श, देशान्तर प्रमुुख थिए । पञ्चायती राजनीतिको कडा सेन्सरसिप र पटक पटक सम्पादकहरू थुनिनुपरे पनि पञ्चायतइतर विचारधारामा धेरै चलेका साप्ताहिक पत्रिकाहरू सक्रिय थिए । त्यस्तो समयमा प्राइभेट क्षेत्रबाट अलि दरिलो दैनिक पत्रिकाको खाँचो अनुभव गरेर धेरै पत्रकारहरूको सरसल्लाहमा छोरा विनोद ज्ञवाली र उनका मित्र कैलाश सिरोहियालाई सक्रिय बनाएर दैनिक पत्रिका कान्तिपुर प्रकाशन गर्ने ठूलो साहसिक कदम प्रशासनमा दक्ष हेमराज ज्ञवालीले चालेका हुन् र उनकै अध्यक्षतामा चलेको कान्तिपुर पब्लिकेसन्स्ले यस क्षेत्रमा युगान्तकारी परिवर्तन ल्यायो।

कान्तिपुरलाई कसरी दीगोरूपमा अघि बढाउने भन्ने सम्बन्धमा अध्यक्ष कति चिन्तित थिए भन्ने कुरा पूर्वप्रशासक र नियात्राकार प्रतीक ढकालले फेसबुक पेजमा लेखेअनुसार २०४८–४९ सालतिर स्थानीय विकास मन्त्रालयमा १४५० रुपियाँ मासिक तलब पाउने उनलाई कान्तिपुरमा ल्याउन हेमराज ज्ञवालीले पाँच हजार मासिक तलब प्रस्ताव गरेका थिए । त्यसरी चिन्तित र सक्रिय रहेर कान्तिपुरलाई स्थापित गराएका हेमराज ज्ञवालीकै अध्यक्षतामा कालान्तरमा नेपाल रिपब्लिक मिडिया स्थापित भएर नागरिक दैनिकका साथै अंग्रेजी दैनिक रिपब्लिका, साप्ताहिक शुक्रबार, परिवार, नागरिक रेडियो, नागरिक नेटवर्क आदिले त्यस्तै प्रतिष्ठा कमाएर जनतामाझ प्रिय भएका कुराले ती संस्थापक अध्यक्षप्रति सबै पाठक अनुगृहीत छन्।

साहित्य मर्मज्ञ   
प्रशासनको अनुभवबाट तिखारिएका ज्ञवाली पत्रकारिता क्षेत्रमा प्रवेश गरेपछि साहित्यको क्षेत्रमा पनि राम्रो दखल भएका व्यक्तिमा दरिएका छन् । ‘पौरखी पुर्खा र मेरो जीवनका पानाहरू’ लगायत हेमराज ज्ञवालीद्वारा रचित स्तरीय कृति धेरै छन् । आध्यात्मिक क्षेत्रमा अति गहन अनुभव र संस्कृतका कविताहरू नेपालीमा अनुवाद गर्नेदेखि लिएर सुरुमा बताएअनुसार योग वासिष्ठको अनुवादका कृतिहरूले उनलाई साहित्यको क्षेत्रमा पनि अघि रहेको साबित गरेका छन्।

त्यति बेला कान्तिपुरमा हेमराज ज्ञवालीद्वारा विभिन्न साहित्यिक कृतिको समीक्षा गरिएका लेख–रचना पढ्न पाइन्थ्यो । यस पंक्तिकारद्वारा २०५७ सालमा पहिलो उपन्यास ‘ज्वाला’ लेखेर प्रकाशित गरी विमोचन गरिएको हो । विमोचनको केही दिनभित्रै एक दिन अचानक कान्तिपुरमा ठूलो लेख ‘ज्वाला उपन्यास हेरेपछि’ देखियो । हेमराज ज्ञवालीद्वारा समीक्षा गरिएको त्यो लेख रचनाले लेखकलाई प्रसन्न बनाएको मात्र होइन, उनको समीक्षा गर्ने कलाप्रति पनि नतमस्तक हुनु परेको हो।

सकारात्मक र नकारात्मक पक्षको बुँदा दिएर व्याख्या गरिएका कुरा अत्यन्त स्तरीय र चित्तबुझ्दा थिए । आपूmले नभनेर पनि उपयुक्तताका आधारमा त्यसरी समीक्षा गर्नाले ज्वाला उपन्यासले बढी पाठक आकर्षीत गर्नसकेको अनुभव भएको हो । पछिल्लो समयमा खास गरी आध्यात्मिक रचनाहरू सम्बन्धमा हेमराज ज्ञवालीका समीक्षाहरू नागरिक दैनिकमा देखिँदै आएका हुन् । यसरी साहित्यका सर्जक र समीक्षक ज्ञवालीको अवसानले साहित्य जगत्का धेरैलाई अपूरणीय क्षति पुर्याएको छ।

चाकरीको आधारमा गरिने राजनैतिक नियुक्तिपट्टि नलागी स्नातक उत्तीर्ण हेमराज ज्ञवालीले लोकसेवा आयोगको परीक्षा उत्तीर्ण गरेर आफ्नो योग्यताको आधारमा शाखा अधिकृतको नियुक्ति लिएका हुन्। 

असल संस्कारित
गुल्मी मानकोटका प्रतिष्ठित ज्ञवाली परिवारको बर्दियामा मौजा भएकाले  सम्पन्नतामा अघि रहेका ज्ञवालीहरूमध्ये अत्यन्त शालीन स्वभाव र तीक्ष्ण प्रतिभाका धनी हेमराज ज्ञवालीका श्रीमती, तीन छोरा–बुहारीहरू र नाति–नातिनाले परिपूर्ण घर–परिवार अत्यन्त, प्रतिष्ठित र सम्पन्नतामा अग्रणी मानिन्छ । काठमाडौँको चाबहिल चुच्चेपाटीस्थित ज्ञवाली निवासमा पुग्ने जो कोहीलाई भद्रता र असल संस्कारले परिपूर्ण पारिवारिक वातावरणले रोमाञ्चित गराउँछ।

अहिलेको अवस्थामा पनि तीन जना छोराका परिवारहरू एक प्रकारले संयुक्त अवस्थामा रहेको झझल्को दिने गरी सधैं त्यहीँ भेट्न सकिनुलाई आश्चर्य मान्नुपर्ने हुन्छ । त्यो आश्चर्यको कुरा अन्तिम दिनमा पनि भेटिएको रहेछ । त्यो शनिबार परेर होला, तीन भाइ छोराहरू र बाबा सँगै बसेर तास खेल्दै मनोरञ्जन गरिरहेको बेलामा साधारण रूपले अस्वस्थता सुरु भएकाले श्रीमती लक्ष्मी ज्ञवाली र तीन छोराहरू ध्रुव, अच्युत, विनोदले गाडीमा राखेर अस्पताल पुर्याउने क्रममा निधन भएको भन्ने समाचार सुनिएकाले त्यस्तो आकस्मिक निधनमा पनि पत्नी र सबै तीन छोरा साथमा हुनु अहिलेको समयमा आश्चर्यजनक कुरा मान्नुपर्छ । यस्तो बिदाइलाई अत्युत्तम बिदाइ भन्नुपर्छ।

हेमराज ज्ञवालीको पछिल्लो समयको पत्रकारिता, साहित्य र समीक्षाको क्षेत्रलाई कान्छो छोरा विनोद ज्ञवाली र बुहारी शोभा ज्ञवालीले निरन्तरता दिँदै आएको कुरा सन्तोषजनक छ । रिपब्लिक मिडियालाई अघि बढाउन नातिनी समृद्धि ज्ञवालीले नयाँ जोस र जाँगर प्रदर्शित गर्दै अघि बढाउनु ज्ञवाली परिवारको गौरवको कुरा हो । यसरी नयाँ पुस्तालाई सक्रिय बनाउँदै आपूm अस्ताउनु जीवनको निरन्तर प्रक्रिया हो भनेर आफन्तहरूले चित्त बुझाउनुपरेको छ।

अन्त्यमा,
पंक्तिकार नजिकको नातेदार मात्र नभई उहाँको मित्र हो । उहाँसँगको भेटमा सधैँ शालीनता र सौहार्द मात्र प्राप्त हुँदैनथ्यो, प्रगाढ स्नेहको मात्राले द्रबित गराउनुहुन्थ्यो । आज २०१८ अक्टोबर १४ को बिहानै आफ्नो देश र आफन्तहरूबाट टाढा रहेको अवस्थामा श्रद्धेय दाजु हेमराज ज्ञवालीका फोटोले फेसबुकका भित्ता रंगिएका पाइए र हृदयविदारक सूचना त शब्दहरूले दिइरहे।

केही समयका लागि अमेरिकातिर आउन लागेको बेलामा पनि आफ्ना मावली दाजुलाई भेट्न नपाएको गुनासो गर्ने निर्मलालाई त्यस्तो समाचार सुनाउँदा बगेका आँसुले गर्दा मेरो मन थामिएन र दुई थोपा आँसु यिनै शब्दमा मिसाएर श्रद्धाञ्जली अर्पण गर्दै केही सम्झनाले आँसु पुछ्ने जमर्काे गरेको छु । स्वर्गीय आत्माको चीर शान्ति र शोक सन्तप्त परिवारमा हार्दिक समवेदना प्रकट गर्दछौँ।

प्रकाशित: ३० आश्विन २०७५ ०२:२५ मंगलबार

शालीन_व्यक्तित्व मौन नागरिक_दैनिक हेमराज_ज्ञवाली