विचार

औषधिविहीन संसारको सम्भाव्यता

आधुनिक समाजमा ओखती नखाने मानिस विरलै पाइन्छ । ६० वर्षीय समूहमा परेर पनि औषधि नखानु पर्ने मानिसलाई दैवी शक्ति पाएका भाग्यमानी भन्दा अन्यथा नहोला । हृदयघात भएको बिरामीले आजन्म औषधि सेवन गर्छ । मधुमेहका रोगीका लागि ओखती अथवा इन्सुलिन सुई दैनिक तालिकामै पर्छ । रक्तचापका कारण एक पटक सुरु गरेको औषधि छोड्न कहाँ मिल्छ र? दबाईको प्रयोगले व्यापकता पाएको अहिलेको अवस्थामा औषधिविहीन समाजको कल्पना कति सहज होला?

चिनी रोगका बिरामीले प्रयोग गर्ने इन्सुलिनको आविष्कार भएको झन्डै एक शताब्दी पुग्यो, यद्यपि यसको गतिलो विकल्प बजारमा आउन सकेको छैन । नियमित रूपमा खानुपर्ने ओखतीको वैकल्पिक इलाजको सम्भाव्यता कस्तो छ ? एकपल्ट इलाज गरेपछि औषधि खानै नपर्ने हुन सक्छ कि सक्दैन ? त्यस विषयमा भएका वैज्ञानिक अनुसन्धान र भविष्यका सम्भाव्यता पस्कनु यो आलेखको लक्ष्य हो।

वैज्ञानिकहरूले सोचेझैँ स्टेम सेल अनुसन्धानले मूर्त रूप लिएको खण्डमा अर्को शताब्दीमा औषधिविहीन उपचार स्थापना नहोला भन्न सकिन्न।  

पुरानो उपकरण जीर्ण भएझैँ हाम्रा शरीरका अंगहरू उमेरको बढोत्तरीसँगै शिथिल हुन्छन् । खराब भएका पार्टपुर्जा फेरेर कलकारखानाको उत्पादन पूर्वावस्थामा फर्काएझैँ जीर्ण भएका मानव अंगहरूलाई आवश्यकताअनुरूप फेर्न सके वृद्धलाई पुनः ऊर्जावान बनाउन नसकिने होइन । जीर्ण भएका अंगलाई नयाँले प्रतिस्थापन गर्नका लागि ल्याबमा अर्गेनको उत्पादन गर्नुपर्ने हुन्छ । तर, उक्त दिशामा विज्ञानले यथेष्ट सफलता हासिल गर्न भने सकेको देखिएन । यद्यपि संयुक्त राज्य अमेरिकाको कोलम्बिया विश्वविद्यालयको ल्याबमा भने मानव ब्रेन बनाउने कामले निकै उचाइ लिएको देखियो । ल्याबमा अंगको उत्पादन गर्न विज्ञान सफल नहुँदाको अवस्थामा शिथिल अर्गेन बनाउन प्रयोग भएका पाका कोषहरूलाई नवीन सेलले प्रतिस्थापन गरी मानिसको आयु लम्ब्याउनुपर्ने हुन्छ।

मिर्गाैलाका कोषहरू आफ्ना काम गर्न असमर्थ भएको अवस्थालाई ‘किड्नी फेलियर’ भनिन्छ । त्यस्तो रोगको प्रचलित इलाज भनेको पुरानोलाई नयाँ मिर्गाैैलाले प्रतिस्थापन गर्नु हो । अहिलेको निदान भनेको अर्को व्यक्तिको मिर्गाैला बिरामीमा प्रतिस्थापन गर्नु मात्र हो । प्रधानमन्त्री केपी ओलीको मिर्गाैला ट्रान्सप्लान्ट गरिएको यथार्थ सबैको जानकारीमै छ । एक व्यक्तिलाई बिरामी बनाएर अर्कोलाई सञ्चो बनाउने उपचार विधिका सम्बन्धमा नैतिक प्रश्न नउठेको होइन । त्यसका अतिरिक्त फरक व्यक्तिको मिर्गाैलालाई बिरामीको शरीरले सहजै स्वीकार नगरेर थप जटिलता आएको नदेखेको होइन । तसर्थ, अहिलेको अवस्थामा मिर्गाैला प्रतिस्थापन विधिको बदला मानिसको किड्नीमा रहेका शिथिल कोषलाई नयाँ सशक्त सेलले प्रतिस्थापन गर्न सके ‘किड्नी फेलियर’को इलाज कति सहज हुन्थ्यो होला?

मानिसका शरीरमा दर्जनौँ अंग हुन्छन् । त्यसमध्येका केही अंगहरूले मात्र जीर्ण भएका पुराना कोषहरूलाई नयाँ सेलहरूले प्रतिस्थापन गरी आफूलाई आवधिक राख्न सक्छन् । मुटु, आमाशय (पेन्क्रियाज), मिर्गाैला, मस्तिष्कजस्ता महत्वपूर्ण अंगका कोषहरू आवधिक रूपमा स्वतः प्रतिस्थापित हुँदैनन् । बरु प्रारम्भिक चरणका सेलहरूले नै जीवनको अन्त्यसम्म खटिनुपर्ने हुन्छ । तसर्थ, उमेर बढ्दै गएपछि शरीरका अंगहरू शिथिल हुनु र बुढेसकाल लाग्नु अस्वाभाविक होइन।  

स्टेम सेलको उपचार विधिमार्पmत शरीरका कुनै पनि भागमा नयाँ कोषहरूको उत्पादन सहजै गर्न सकिने भएकाले मिर्गाैला, फोक्सो, कलेजो, मुटुलगायतका समस्या सहजै समाधान गर्न सकिने देखियो । उक्त उपचार विधिले नयाँ कोष उत्पादन गर्न सघाउने भएकाले बूढो मानिसका अंगहरूसमेत क्रियाशील हुन्छन् ।

युवा अवस्थामा जति गुलियो खाँदा पनि चिनी रोगको लक्षण नदेखिने मानिसलाई उमेर ढल्कँदै जाँदा किन मधुमेहले सताउँछ ? युवा अवस्थामा आमाशयले पर्याप्त मात्रामा इन्सुलिन बनाउँछ । इन्सुलिन र मधुमेह रोगका बीच विपरीत सम्बन्ध रहने भएकाले पर्याप्त हर्मोन उत्पादन हुन्जेल मानिसमा चिनी रोगको लक्षण देखिन्न । बूढो गाईले कम दूध दिएझैँ उमेर ढल्कँदै जाँदा आमाशयका कोषहरू शिथिल हुँदै जान्छन् र इन्सुलिनको उत्पादन पनि घट्दै जान्छ । इन्सुलिनको उत्पादन कम भएपछि चिनी रोगले थल्याउँछ । लक्का जवान हुन्जेल केही नभएको मानिसमा उमेर पाको भएपछि रोग देखिनुको मुख्य कारण आमाशयका पुराना कोषहरूले पर्याप्त इन्सुलिन उत्पादन गर्न नसक्नु नै हो ।

‘हर्ट अट्याक’का कारण मुटुका कोषहरू मर्छन् । ठूलो हृदयघात भएको खण्डमा धेरै कोषहरू मर्ने भएकाले मुटुले तुरुन्तै काम गर्न छोड्छ र मानिसले तत्कालै देहत्याग गर्छ । सानो हृदयघातमा केही कोषहरू मात्र मर्ने भएकाले मुटुको कार्यक्षमतामा कमी आए पनि बिरामीको मृत्यु नै भने हुँदैन । सामान्य जीवन बाँच्नका लागि बिरामीले उपचार विधि तथा खानपिनमा धेरै ख्याल गर्नुपर्ने हुन्छ । मानिसमा मुटुका कोषहरूको सोधभर्ना नहुने भएकाले सामान्यतः मरेका सेललाई नयाँ कोषले प्रतिस्थापन गर्न सक्दैन । बरु प्रारम्भमा रहकै कोषको भरमा मुटुले काम गर्नुपर्ने हुन्छ । युवावस्थामा कायम रहेका कोषहरूकै भरमा आजन्म काम गर्नुपर्ने भएकाले वृद्धावस्थामा मुटुमा समस्या देखिनु अन्यथा होइन । कदाचित पुराना मुटुका कोषलाई नयाँ सेल उत्पादनमार्पmत प्रतिस्थापन गर्न सके वृद्धावस्थामा समेत मुटुको कार्यक्षमतामा कमी आउने थिएन । त्यसै सम्बन्धमा भएको एउटा परीक्षणको सफलतालाई नमुनाका रूपमा पेस गर्ने अनुमति लिएँ ।

गत वर्ष युनिभर्सिटी अफ क्यालिफोर्निया सानफ्रान्सिस्कोमा एउटी गर्भवती आफ्नो स्वास्थ्य परीक्षणका लागि भर्ना भइन् । उपचारको क्रममा महिलाको स्वास्थ्य अवस्था सामान्य रहे पनि गर्भमा रहेको बच्चाको मुटुमा भने असामान्य गतिविधि देखियो । सामान्यभन्दा मुटुको आकार निकै ठूलो अनि मुटुको चारैतिर झोल जम्मा भएको देखियो पेटको बच्चामा । परीक्षणको क्रममा बढ्दो शरीरमा रक्तसञ्चार गर्न अत्यधिक काम गरेका कारण मुटुको आकृति असामान्य भएको र  कुनै पनि बेला ‘हर्ट फेलियर’ हुन सक्ने विशेषज्ञ समूहको ठहर भयो । आफ्नो बच्चाले १० महिनाको गर्भावस्था पार गर्न नसक्ने देखेपछि अभिभावक भावुक हुनु अस्वाभाविक रहेन । संसार देख्ने सम्भाव्यता नभएको आफ्नो बच्चामा ल्याबमा भएका आविष्कारको परीक्षण गरिए कदाचित ठीक हुन्थ्यो कि भन्ने आशा हुनु अन्यथा भएन । स्टेम सेल विधिको अनुसन्धानका लागि आमाबाबु तुरुन्तै तयार भए । आमाको रगतमा रहेको स्टेम सेललाई छनोट गरी बच्चाको भ्रुणमा इन्जेक्ट गरियो । आमाको कोष बच्चालाई दिँदा शरीरले तिरस्कार गर्ने सम्भावना न्यून हुने भएकाले त्यसो गरिएको र उक्त घटना संसारकै पहिलो भएको दाबी छ, अनुसन्धान टोलीको । परिणाम स्वरूप एउटा स्वस्थ बच्चाको जन्म भयो । टेस्ट ट्युबको परीक्षणले वास्तविक जीवनमा एउटा ज्यान बचायो । ‘हर्ट फेलियर’को संघारमा पुगेको बच्चालाई स्टेम सेल विधिमार्फत पूर्ण स्वस्थ बनाउन सकियो । उक्त परिणामको सफलताले हृदयघात भएका बिरामीलाई पनि त्यही इलाजमार्फत किन पूर्ण सन्चो बनाउन सकिँदैन ? भन्ने प्रश्न उठने नै भयो । अब स्टेम सेल उपचार भनेको के हो त ?

गर्भाधारणपछि एक कोसिय फर्टिलाइज्ड एगको नियन्त्रित विभाजनमार्फत मानव शरीरले पूर्णता पाउँछ । एक कोषबाट खर्बाैं कोषवाला मानव शरीर बन्ने क्रममा हजारौँ पटक कोषहरूको विभाजन हुन्छ । प्रारम्भिक विभाजनको क्रममा बनेका विशेष प्रकृतिका कोषलाई स्टेम सेल भनिन्छ । शरीरको प्रत्येक अंग बनाउने स्टेम कोषहरू फरक फरक हुन्छन् । एक कोषबाट मुटु बन्छ, अर्कोबाट कलेजो अनि तेस्रोबाट फोक्सो हुँदै सम्पूर्ण अंगहरू बन्छन् र मानव शरीरले पूर्णता पाउँछ । शारीरिक विकासको क्रममा एउटा विशेष चरित्र भएको कोषको विभाजनबाट एउटा अंग बन्ने भएकाले स्टेम कोषको उपभोगमार्फत ल्याबमा सहजै मानव अंगहरू बनाउन सकिने देखियो।

युनिभर्सिटी अफ क्यालिफोर्नियामा सफलतापूर्वक परीक्षण भएको उपरोल्लिखित उदाहरणलाई मध्यनजर राख्दा मानिसको मस्तिष्क, मुटु, आमाशय लगायतका वयस्क अंगमा उक्त अर्गेन बनाउन उपयोग भएको स्टेम कोष हाल्न सके शिथिल भएका पुरानो कोषहरूलाई नयाँ सेलहरूले प्रतिस्थापन गर्न सक्थ्यो कि भनेर वैज्ञानिकहरू हौसिनु अन्यथा होइन । जीर्ण भएका अंगहरूमा नयाँ कोष उत्पादन गर्न सके ती इन्द्रियहरू पूर्वावस्थामा फर्कने थिए । लगातारको खटानले शिथिल भएका आमाशयका कोषहरूलाई स्टेम सेल विधिमार्फत नयाँ कोषहरूले प्रतिस्थापन गर्न सके इन्सुलिनको उत्पादन पूर्वावस्थामा फर्कने र बिरामीले इन्सुलिनको सुई लिनुपर्ने अवस्थाको अन्त्य हुने थियो । वैज्ञानिकहरूले इन्सुलिन आविष्कारको सयौँ वर्षगाँठको उपलक्ष्यमा सन् २०२० सम्ममा स्टेम सेल विधिमार्पmत चिनी रोगका बिरामीलाई औषधि सेवन गर्नुनपर्ने बनाउने लक्ष्य राखेका छन् । लक्ष्य हासिल हुन्छ हुँदैन त्यो भने हेर्न बाँकी छ।

स्टेम सेलको उपचार विधिमार्फत शरीरका कुनै पनि भागमा नयाँ कोषहरूको उत्पादन सहजै गर्न सकिने भएकाले मिर्गाैला, फोक्सो, कलेजो, मुटुलगायतका समस्या सहजै समाधान गर्न सकिने देखियो । उक्त उपचार विधिले नयाँ कोष उत्पादन गर्न सघाउने भएकाले बूढा मानिसका अंगहरूसमेत क्रियाशील हुन्छन् । आवश्यकताअनुसार मस्तिष्कका न्यूरोन कोषहरू समेत सोधभर्ना गर्न सक्ने अवस्था भएपछि वृद्धाअवस्थामा सुद्धि हराउने समस्या समेत न्यून हुन्छ नै । प्राविधिक रूपमा स्टेम कोषको प्रत्यारोपण जुनसुकै अंगमा सजिलै गर्न सकिने भए पनि नयाँ कोषहरूको उत्पादन प्रक्षेपण गरेअनुसार हुन्छ हुँदैन, नयाँ कोषले अनुमान गरेअनुसार आफ्नो काम निष्ठापूर्वक गर्छ गर्दैन अनि उपचारले प्रतिकूल अवस्था सिर्जना गर्छ गर्दैन भन्ने लगायतका चुनौतीहरूको सामना गर्नुपर्ने त हुन्छ नै । वैज्ञानिकहरूले सोचेझैँ स्टेम सेल अनुसन्धानले मूर्त रूप लिएको खण्डमा अर्को शताब्दीमा औषधिविहीन उपचार स्थापना नहोला भन्न सकिन्न।

प्रकाशित: ९ आश्विन २०७५ ०४:०१ मंगलबार

औषधि संसार मानिस रोग