विचार

जब बोल्न पाइँदैन

२०१८ अगस्ट ११ का दिन हैदराबादमा म बोलिनँ । त्यस दिन आफ्नो बौद्धिक प्रवचनका लागि कृष्णकृति फाउन्डेसनले मलाई पूर्वनिर्धारित कार्यक्रमअनुसार उसको कलाकृति आर्ट ग्यालेरीमा निम्त्याएको थियो । हैदराबादीहरूको अत्यधिक चासो बढेपछि त्यो कार्यक्रम बीएम बिर्ला विज्ञान केन्द्रको भाष्कर अडिटोरियममा सारियो । कार्यक्रमको विरोधमा बजरङ्ग दल, राष्ट्रिय स्वयंसेवक संघ र बिजेपीका स्वघोषित सदस्यहरूले तोकिएको मितिको केही हप्ताअघि प्रहरीसमक्ष पत्रहरू लेखेका थिए । मैले त्यस्तो पत्र एउटा मात्र देखेँ । धेरै महिनाअघि मैले गरेको टिप्पणी (जुन कुरा भाषणमा समेटिएकै थिएन) माथि रुष्ट त्यस पत्रका लेखकले गैरभारतीय नागरिक भएको नाताले भारतीय भूमिमा मेरो अभिव्यक्ति स्वतन्त्रता नभएको तर्क गरेका थिए । संघ परिवारसम्बद्ध थुप्रै हुल्याहाहरूले राजनीतिक पूर्वाग्रहका कारण केही समयदेखि मेरो विद्वतामाथि सामाजिक सञ्जालमा नकारात्मक टिप्पणी गरिरहे । महिलाविरोधी र तुच्छ शब्द प्रयोग गरिएका टिप्पणीसँगै ममाथि बीभत्स बलात्कार र हत्यासम्मका धम्की आए।

विष ओकल्ने विरोधी र विज्ञता भएको क्षेत्रमा बोल्ने एक प्राज्ञिकबीचको यस्तो टकरावमा अघिल्लो पक्षको सांगठिनक भावनाले अरू सबै मान्यताभन्दा बढी महत्व पायो । बजरङ्ग दल र सम्बन्धित पक्षले चाहेको लक्ष्य पूरा गरे । हैदराबादमा मैले बोल्ने उक्त प्रस्ताव फिर्ता लिइयो । जब मैले सामाजिक सञ्जालमा कार्यक्रम रद्द भएको घोषणा गरेँ, प्रतिक्रियामा दुःखी हुनेभन्दा उल्लासपूर्ण उत्सव मनाउनेको ओइरो लागेको थियो।

मेरो निर्धारित भाषणको शीर्षक थियो, “अन्पपुलर् स्टोरिज्ः न्यारेटिङ द इन्डो–इस्लामिक् पास्ट एन्ड न्याभिगेटिङ प्रेजेन्ट–डे प्रेजुडिसेज् ।” सार्र्वजनिक गरिएको प्रवचनको सारअनुसार मैले तीन शीर्षकः औरङ्जेब (विशेष गरी गोलकोँडामाथि उनको हमला), भारतीय बौद्ध धर्मको अवसानमा इस्लामी धर्मको कथित भूमिका र इण्डो–इस्लामिक शासनबारे संस्कृतमा उल्लेख कथन । अघिल्ला दुई विषयमा मैले पीयर रिभ्युड प्राज्ञिक कामहरू प्रकाशन गरेको छु र हाल तेस्रो विषयमा अध्ययन गर्दैछु (प्राज्ञिक विधाका हिसाबले म संस्कृतविद् हुँ)।

म बुझ्छु कि मैले वर्णन गर्ने ऐतिहासिक कथाहरू प्रायः (सुन्नलाई) अप्रिय छन् र यसबाट मैले धेरै निन्दक कमाउँछु । तर सायद विवादित कथाहरू नै हाम्रा लागि सुन्न र भन्नका लागि सबैभन्दा महत्वपूर्ण हुन्छन् । किनभने, हामी को हौँ र हामीले के जानेका छौँ भन्नेबारे जे सोचेका छौँ, त्यसलाई तिनले चुनौती दिन्छन् । ती कथामार्फ्त हिंसात्मक राष्ट्रवादले झन्झन् प्रताडित बनाउँदै लगेको हाम्रो संसारमा पहिचान, प्रतिरोध र परिवर्तनका नयाँ सम्भावना खुल्छन्।

त्यसो त सबैजना आफ्नो बुझाइलाई चुनौती दिन रुचाउँदैनन् । हैदराबादको मेरो प्रवचन रद्द हुनु भारतका सार्वजनिक वृत्तमा आलोचनात्मक चेतबारे प्रस्तुति र बहस गर्न इच्छुक प्राज्ञिक, अभियन्ता र अरूको आवाजहरूलाई ठप्प पार्ने बृहत् प्रवृत्तिको उदाहरण मात्र हो । साधारणतया हाम्रा आवाजलाई शान्तिपूर्ण तवरमा मत्थर पारिन्छ, तर सधैँ त्यस्तो हुँदैन । भारतमा पछिल्ला वर्षमा थुप्रै कार्यक्रमहरू भौतिक तवरमै अवरुद्ध पारिएका छन् । अगष्ट १३, २०१८ मा दिल्लीको एउटा विश्वविद्यालयमा विद्यार्थीलाई गोली हान्ने प्रयास भयो । केही मानिसहरूले हिंसात्मक घटना र ज्यानको जोखिमको सामना गर्नुपरेको उदाहरण पनि छन्। 

मेरो हकमा, मलाई थाहा भएसम्म बजरंग दल र सम्बद्धहरूले खुल्ला रूपमा हिंसाको धम्की दिएनन् । उनीहरूले असन्तुष्टि पोखेजस्तो गर्नुमात्रै पनि प्रवचन दिनेलाई मोहोला कसिदिन पर्याप्त थियो । प्राज्ञिक बहसहरूलाई ठप्प पार्ने बृहत् उद्देश्य पछ्याउँदै गरेका हिन्दूत्वका थुप्रै अनुयायीलाई सुम्पिनका लागि यो खतरनाक हिसाबले सजिलो खाका हो। यस्तो स्थितिले अरूलाई सार्वजनिक प्रवचन दिने प्रयास गर्न गर्न पनि चौतर्फी रूपमा भयभित बनाइदिन्छ । जब कला प्रतिष्ठान र प्रहरीले पनि ज्ञानको खोजीको साटो असहिष्णु विरोधीहरूको मागको सम्मान गर्नुलाई प्राथमिकता दिन्छन् भने प्राज्ञिकहरू बोल्छन् भन्ने अपेक्षा कसरी गर्न सकिन्छ?

प्राज्ञप्रति दक्षिणपन्थी हिन्दू समूहले थुपारेको द्वैषपूर्ण विरोेध अनि प्रहरी र कार्यक्रम आयोजना गर्ने संस्थाहरूमाथि तिनले सिर्जेको भयले मलगायत धेरै भारतीयसमेत त्रस्त छन् । पछिल्ला केही दिनमा मेरा केही प्राज्ञिक सहकर्मीहरू र अन्यले आफ्ना विचार राखेका छन्, विज्ञप्ति जारी गरेका छन् र हैदराबादमा प्राज्ञिक बहसमा अंकुश लगाउने कार्यको भत्र्सना गरेका छन्।

मतभेद हुनु राम्रो हो तर हामीले तोकिएका केही प्रकाशनहरूमा मात्र र मेरो सर्तमा व्यक्तिगत रूपमा नभएर छापामा मात्र ती मतभेदहरूको जवाफ दिन पाउने गरी हाम्रो बहसको वृत्तलाई खुम्च्याउनु ठीक हैन । विषाक्त हिन्दू राष्ट्रवादीहरूले तिर्खाएका बहुसंख्यकको पकडमा रहेको ज्ञानलाई अन्य सबैबाट स्वीकृत गराएर त्यस ज्ञानप्रति क्रुद्ध अल्पसंख्यकहरूलाई त्यसबाट टाढा राख्ने विधि अपनाएका छन् । यस्तो प्रयासविरुद्ध सोझो दृष्टि लगाइ राख्नुपर्ने समय आएको छ।

हैदराबादको मेरो भाषण रद्द हुनुमा त्यसमा संलग्न सबैजसो पक्षले आफ्नो नैतिक अपराधको सामना गर्नुको साटो त्यसबाट पन्छिने प्रयास गरे । आयोजकहरूले प्राज्ञिक बहस र वाक् स्वतन्त्रताको पक्षमा उभिएको जस्तो गरेर सुरक्षा र कमजोर व्यवस्थाका कारण कार्यक्रम रद्द भएको तर्क गरे । उनीहरूले बेलाबखत चर्को आवाजमा तर उनीहरूको कामसँग सधैँ विरोधाभासपूर्ण देखिने तरिकाको व्यवहार मसँग गरे । बिर्ला विज्ञान केन्द्रका सचिवले म “विवादित” भएकाले नै कार्यक्रम स्थलको बुकिङ रद्द गर्नु परेको बताए । विषयान्तर भएको यो “विवाद”को चरित्रलाई त्यही शब्दले समाहित गरिदिन्छ । एक वर्षभन्दा बढी समयदेखि हिन्दूत्वका प्रस्तावकहरूले ममाथि तुच्छ घृणाको वर्षा गर्नुका साथै मबारे बदनामीपूर्ण अभिव्यक्तिहरू दिइरहेका छन् । त्यसपश्चात्, मैले प्रवचन दिने कुराप्रति उनीहरूले क्रोध सञ्चय गरिराखेकाले अथक विरोध जनाए । अर्को शब्दमा, उनीहरूले एक महिलामाथि आक्रमण गरे र त्यसको दोष उसैलाई लगाए । अनि त्यसले काम ग-यो।

भारतका अन्य ठाउँमा भने मैले बेग्लै प्रतिक्रिया पाएँ । अगस्ट ३, २०१८ मा कलकत्ताको टोलिगुङ्गे क्लबमा सिगल फाउन्डेसनले आयोजना गरेको शान्तिका लागि इतिहास सम्मेलनमा मैले कुनै समस्याबिना बोलेँ । औरङ्जेबबारे मैले भाषण गर्दा बलियो सुरक्षा व्यवस्था सुनिश्चित गर्न दिल्लीको इन्डिया ह्याबिट्याट सेन्टर आफैँ निकै कदम अघि स¥यो । ह्याबिट्याट सेन्टरको सभाहलमा अगस्ट ९, २०१८ का दिन करिब पाँच मानिसबीच मैले कुनै मुठभेडको सामना नगरीकन सार्वजनिक रूपमै आफ्ना धारणा राखेँ । मैले अगस्ट २०१८ मै दुईवटा विश्वविद्यालयमा पनि बोलेँ– दिल्लीको जेएनयु र अलिगढ मुस्लिम विश्वविद्यालयमा– दुवैमा कुनै अवरोधबिना । अलिगढमा प्राज्ञिकहरूले बौद्धिक अनुशासनभित्र रहेर मेरो कामको आलोचना गरे, जुन अन्तक्र्रियात्मक र मेरा लागि उपयोगीमूलक भयो।

सफलतापूर्वक सम्पन्न भएका मेरा ती प्रवचनहरूले सहिष्णुता र बहसजस्ता भारतीय परम्पराहरू त्यहाँ अझै जीवित रहेको झल्को दिन्छन् । तर कार्यक्रम रद्द भएको घटनाले चाहिँ बढ्दो उत्तेजनामाझ तर्कसंगत आवाजहरूलाई भारतमा सार्वजनिक वृत्तबाट कसरी निषेध गरिन्छ भन्ने इंगित गर्छ।

विचारमाथि छलफल गर्ने ठाउँ र अझ छलफलका लागि स्वीकार्य विषयहरू साँघुरिँदै गइरहेका छन् । यसरी खुम्च्याउनमा हिन्दूत्ववादीहरूले नेतृत्व गरिरहेका छन् । तर उग्रपन्थीहरूको मागअघि सहजै झुक्न राजी हुनेहरूले तिनकै लक्ष्य हासिल हुन दिएका छन् । म आपैmँ पनि त्यस्ता मागहरूबाट फुक्का छैन । धार्मिक भावनालाई संरक्षण गर्ने भारतीय कानुनको पालना गर्दै, मतलब इतिहासको विश्लेषणसामु अतीतप्रतिको भावनालाई प्राथमिकतामा राखी, औरङ्जेबः द म्यान एन्ड द मिथ (पेङ्गुइन २०१७)लाई आफ्नो असन्तुष्टिबीच हल्का स्वनियन्त्रण गर्न कसरी राजी भएँ भन्नेबारे मैले लेखेको छु । आपूm स्वयंले हिन्दू राष्ट्रवादीहरूको वास्तविक हेपाइ सहेको, उनीहरूलाई ग्रहण गरेको वा त्यसमा आफ्नो पनि दोष हुन्छ भन्ने ठम्याउन गाह्रो छ । तैपनि यस्तो जटिल समयमा हामी आपूmलाई बढ्दो हिसाबले त्यस्तो स्थितिमा पाउँछौँ । तमाम क्षेत्रका मानिसहरू कसरी त्यस्तो दबाबको मारमा परेका छन् भन्ने बुझ्न हामीलाई साहस चाहिन्छ । त्यसमा त्यस्तो परिणामबाट जतिजना वा जतिसुकै जना त्रस्त भएका छन्, उनीहरू हिन्दू राष्ट्रको नियमभित्र चलेका छन्।

आफ्नो उदयसँगै भारतभर धेरैलाई डुबाएको गेरुवा लहरले अहिले सबैतिर ढाकिरहेको छ । अरूलाई मौन बनाउन चाहने उग्रवादीहरूको मागलाई स्वतः मान्नुपर्ने हालको “सम्झौता”को परम्परा बसेको छ, जसले नरेन्द्र मोदीको भारतमा सबैभन्दा उग्रपन्थी र घिनलाग्दो तप्कालाई सशक्तीकरण गरिरहेको छ । मलाई थाहा छैन, यस्तो स्थितिलाई परिवर्तन गर्न के गर्नुपर्छ । तर आउनुहोस्, यस्ता भयावह घटनाका शृंखलाबारे बोलेर, विश्लेषण गरेर र हामीले केही गर्न सक्ने ठाउँ हुँदै त्यसको प्रतिरोध गरेर सुरुवात गरौँ।

(रट्गर्स विश्वविद्यालय, न्यु जर्सीमा दक्षिण एसियाली इतिहासकी सहायक प्राध्यापक ट्रस्कीको यो लेख ‘द वायर’बाट नारायण भण्डारीले अनुवाद गरेका हुन्।)

प्रकाशित: ८ आश्विन २०७५ ०३:५५ सोमबार

बाेली भाषा