सिंगापुरमा केही हप्ताअगाडि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका राष्ट्रपति किम इल उन भेटे । उनीहरूको जति संसारमा प्रचारप्रसार भयो उति नै उनीहरूको सुरक्षाकालागि खटिएका गोरखाली सुरक्षाकर्मीको भयो । यस घटनाले संसारको मानसपटलबाट हराइरहेको गोरखालीहरूको बहादुरी र इमान्दारी पुनः जागृत हुन पुग्यो । मानिस जति पनि शक्तिशाली किन नहोस्,उसलाई व्यक्तिगत सुरक्षाको कति खाँचो हुनेरहेछ भन्ने पनि यस घटनाले दर्शायो। त्यस्तो सुरक्षा दिन सक्नेमा गोरखालीहरू कति सिपालु रहेछन् र भरपर्दो रहेछन् भन्ने पनि खुलासा भयो। सो उच्चस्तरीय भेटवार्ताको सुरक्षामा गोरखालीहरू खटिएका समाचार त्यसको केही दिनअगाडिदेखि नै थाहा भइसकेको थियो । त्यसमा कसैले शंका उठाएनन् । कतैबाट गुनासो सुनिएन । त्यसको माने संसारमा कसैलाई सुरक्षादिने कुरामा गोरखालीहरू सर्वश्रेष्ठ रहेछन् भन्ने ठहरिन गयो।
सुरक्षा गर्नु या दिनु भनेको अभयदान हो । जुन ठाउँ अथवा जुनबेला मानिसले आफूलाई सुरक्षित ठान्छ, ऊ अभय अवस्था अथवा भयरहित मनस्थितिमा पुग्छ । सो अवस्थामा पुगेपछिमात्र मानिसले एकाग्र चित्त र शान्तिपूर्वक काम गर्न सक्छ । त्यसैकारणले हितोपदेशमा अभयदानलाई सर्वोत्तम मानिएको छ । एउटा सूक्तिमा भनिएको छ– ‘न भूप्रदानं न सुवर्णदानं, न गोप्रदानं न तथाऽन्दानम् । इथा वदन्तीह महाप्रदानं सर्वेषु दानेष्वभय प्रदानम् ।।’ संसारमा सबै दानमा सबभन्दा ठूलो दान अभयदान हो । यो जस्तो न भूमिदान, न सुवर्णदान, न गोदान, न अन्न दान नै हो । यसबाट के थाहा लाग्छ भने गोरखालीहरूले संसारलाई सबभन्दा गतिलो दान दिइरहेका रहेछन् । नेपालीले संसारबाट अनेक प्रकारका आर्थिक सहयोग पाइरहेका छन् तर गोरखालीहरूले भने त्यही संसारलाई सबभन्दा गहकिलो दान दिइरहेका छन्।
के स्पष्ट हुँदैछ भने नेपालका गोरखाली भनाउने मानिस इमान्दार, बहादुर र विश्वासिला छन् तर त्यही नेपालका अग्रगामी र नेतृत्वमा रहेका मानिस भने बेइमान, भ्रष्ट र अविश्वासिला छन्।
हुन पनि विश्वको सुरक्षा व्यवस्था अध्ययन गर्दा यो तथ्य पुष्टि हुन्छ । अमेरिका आजको समयमा सबभन्दा बलियो देश मानिन्छ र उसले संसारका धेरै भाग र देशलाई सुरक्षाको छाता ओढाइराखेको छ । दोस्रो विश्व युद्धदेखि युरोप महाद्वीपमा नाटो संगठनअन्तर्गत सुरक्षा प्रदान गर्दै आएकोछ । सोही समयदेखि सुदूर पूर्वका जापान, दक्षिण कोरिया, फिलिपिन्स र अस्ट्रेलिया जस्ता देशलाई आणविक सुरक्षा पनि दिएकोछ । आफ्नै छिमेकको उत्तर कोरियाले धमाधम आणविक शस्त्रअस्त्र बनाउँदै जाने र क्षेप्यास्त्रको अनेक परीक्षण गर्दा खतराको मुखैमा पर्दा अमेरिकाले नै उनीहरूलाई बचाउने ढाडस दिइआएको छ। एक किसिमले अमेरिकाले यी देशलाई अभयदान दिंँदै आएको छ । उही कथा सोभियत युनियन नटुक्रिँदासम्म त्यो देशले पूर्वी युरोपका सबै देशलाई सुरक्षित राख्ने अभयदान दिएको थियो । सुरक्षाको यही अवस्थाले दोस्रो विश्व युद्धपछि ठूलो लडाइँ भएको पनि छैन । यसबाट संसारमा अभय दानको कति महत्व रहेछ भनेर राम्ररी बुझिन्छ।
सुरक्षाको यो व्यवस्थाबाट एउटा टड्कारो तथ्य के देखिन्छ भने अभयदान दिने देश या मानिसको प्रभुत्व अभय दान पाउनेमाथि रहन्छ । सो तथ्य अमेरिकाको युरोप तथा पूर्वी एशियाका देशहरूसितको सम्बन्धमा प्रस्टिएको छ । युरापेली देशहरूले राष्ट्रिय या प्रादेशिक सुरक्षाको विचार गर्दा जहिले पनि अमेरिकासित परामर्श गर्ने गर्छन् किनभने अमेरिकाको स्वीकृतिबिना कुनै पनि सुरक्षाको व्यवस्थामा परिवर्तन गर्न सकिँदैन । पूर्वी एशियाका देशहरूमा यो तथ्य झन् प्रभावकारीरूपमा लागु भएको देखिन्छ । दक्षिण र उत्तर कोरियाबीचको सम्बन्ध सुधार गर्नका लागि अमेरिकाको स्वीकृति नभई हुँदैन । तर यो कुरा नेपालको सम्बन्धमा लागु भएको देखिन्न । नेपालले औपचारिकरूपमा नै भारत र बेलायतलाई उनीहरूको सेनामा गोरखालीलाई भर्ना गर्न दिएकोछ । यसको माने नेपालले भारत र बेलायतलाई अभयदान दिइआएको छ । तर अभयदान दिने नेपाल अभय दान पाउने देशहरूमाथि हावी हुनुपर्नेमा उल्टै ती देश नेपालमाथि हावी भएका छन् । यतिसम्म कि नेपालको आन्तरिक मामिलामा पनि उनीहरूले हस्तक्षेप गर्ने गरेका छन् । यो अप्राकृतिक र अस्वाभाविक अवस्था हो।
अभयदान दिने नेपाल अभय दान पाउने देशहरूमाथि हावी हुनुपर्नेमा उल्टै ती देश नेपालमाथि हावी भएका छन् । यतिसम्म कि नेपालको आन्तरिक मामिलामा पनि उनीहरूले हस्तक्षेप गर्ने गरेका छन् । यो अप्राकृतिक र अस्वाभाविक अवस्था हो।
यसको मुख्य कारण दुईवटा देखिन्छ । पहिलो कारण हो, नेपालका शासकहरू परनिर्भर हुनु । त्यो पनि खासगरी नेपालमा प्रजातन्त्रको प्रादुर्भाव भएदेखि यो गति या भनुँ विगति देखिएको छ । त्योभन्दा पहिले राणाहरूले आफ्ना जनतालाई दबाए पनि वैदेशिक सम्बन्धमा अरुसित निहुरिने गरेका थिएनन् । नेपाल-भारत-स्थापित बेलायती युद्ध हुँदा गोरखालीहरूले ठूलो बहादुरी देखाएकाले नै भारतस्थित बेलायती सरकारले उनीहरूलाई आफ्नो सेवामा लिएका थिए । त्यही गोरखालीहरूको बल र गतिविधिबाट नेपालले हारेको केही भूभाग फिर्ता पाएको थियो।
दोस्रो कारण हो, नेपालीहरूबेइमान हुँदै जानु र देश/विदेशमा बदनाम हुनु । पैसा कमाउने दाउमा नेपालको सत्तामा बसेका र उनीहरूको छत्रछायाँमा परेका मानिसले अन्तर्राष्ट्रिय जगतमा प्रतिबन्धित लागु औषध, रातो पासपोर्ट, सुन तस्करी आदि अनेक अपराधी कार्य गरेकाले नेपालीमाथि संसारको कुदृष्टि परेको हो । नेपालमा चलेको १० वर्षे युद्धमा अन्यायमा परेका निरपराध नागरिकलाई न्याय दिने मुद्दामा अनेक किसिमको जालझेल गरेर पीडकलाई बचाउने र पीडितलाई एकातिर पन्छाउने कामले पनि नेपालका शासकहरूको बदनाम भएको छ । यी काण्डमा पोलिएका कतिपय नेता सरकारमा आसिन भए तापनि पश्चिमा देशहरूमा मानव अधिकार हननको अपराधमा समातिएला भन्ने डरले जान डराउँछन् । भ्रष्टाचार र अनाचारमा मुछिएका खबर सुनेर उनीहरूमाथि विश्वास गर्न छाडेका छन् । यतिसम्म कि भारत र चीन जस्ता छिमेकी मुलुक पनि हाम्रो सत्तामा बसेका मानिसको विश्वास गर्न छाडेको व्यापकरूपमा सुनिन्छ।
यसबाट के स्पष्ट हुँदैछ भने नेपालका गोरखाली भनाउने मानिस इमान्दार, बहादुर र विश्वासिला छन् तर त्यही नेपालका अग्रगामी र नेतृत्वमा रहेका मानिस भने बेइमान, भ्रष्ट र अविश्वासिला छन्। यो तथ्य नेपालबाट विदेशिएका लाखौँ युवा÷युवतीमा पनि लागु भएको छ । गोरखालीले कमाएको नाम, मेहनत र इमान्दारीलाई सम्झेर विभिन्न मुलुकले नेपालबाट कामदार लिने गरेका छन् । मलेसियामा अरु मुलुकका मानिसलाई सुरक्षाको कामबाट निकालेर मलेसियाली अथवा गोरखालीलाई मात्र राख्न पाउने उर्दी जारी भएको हामीलाई थाहा छ । यसरी गोरखाली र नेपालीको छवि अलग अलग बन्न गएको देखिन्छ।
नेपालबाट लाखौँको संख्यामा वैदेशिक रोजगारीमा युवा÷युवतीहरूलाइै पनि गोरखाली नै सम्झेर काममा बोलाइएका हुन् । उनीहरू आफ्नो मुलुकको दुर्दशाबाट मजबुत भएर गएका हुन् । त्यो कस्तो मजबुरी हो भन्ने तथ्य एउटा सूक्तिले प्रष्टयाएको छ । लोकयात्रा भयं लज्जा दाक्षिण्यं त्यगशीलता । पञ्च यत्र नविद्यन्ते न कुर्यातत्र संस्थितम्। अर्थात पाँच थोक नभएको ठाउँमा नबस्नु– रोजगार, अपराधीलाई सजायको डर, सामाजिक लाजगाल, काममा दक्षता र त्यागको भावना । के नेपालमा यी अवस्था चरितार्थ भएकाले उनीहरूले देश छाडेर जानुपरेको होइन?
नेपालमा अनेक प्रकार राजनीतिक परिवर्तन भएतापनि नेपाली जनताले सुशासन पाउन सकेका छैनन्। यो सत्य छर्लङ्ग भइसकेको छ । लोकतन्त्र, गणतन्त्र, संघीयता, साम्यवाद र यिनीहरूसित आउने अनेक सिद्धान्त र वाचाहरूले जनहित गर्न सकेको छैन । यो सत्य सत्तामै बसेका मानिस स्वीकार गर्दै हिँडेका छन्् । त्यसकारण नेपाललाई चाहिने गोरखाली हो र गोरखालीमा भएका गुणहरू हो । नेपाललाई स्वतन्त्र र विकसित बनाउने हो भने गोरखाली आऊ देश बचाऊ भन्नुपर्छ।
प्रकाशित: २९ भाद्र २०७५ ०३:०३ शुक्रबार