विचार

‘कक्टेल’ मा सीमित बिम्स्टेक

काठमाडौँमा गएको साता अचम्मको संयोग जुर्याे । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र विपक्षी दलका नेता राहुल गान्धी दुवै काठमाडौँ आए । प्रम मोदी बिम्स्टेकको सम्मेलनमा भाग लिन काठमाडौँमा थिए, उनले पशुपतिको दर्शन गरे । राहुल गान्धी मानसरोवर जानेक्रममा पशुपतिको दर्शन गर्न भ्याए । पशुपतिनाथ यतिखेर चम्केका छने भारतको सत्तामा र विपक्षमा । नेपालका कुनै नेता विरलै पशुपति जाँदा हुन् तर भारतबाट भने हिजोआज नेता र अभिनेताको ताँती लाग्ने गरेको छ पशुपतिनाथमा। 

नेपालका नेताहरू यो पटक भारतीय नेता भेट्न दौडधूप गरेको देखिएन । गतवर्ष भारत विरोधी भावनाले नेपालको निर्वाचन परिणामलाई व्यापक असर गर्याे, वर्तमान प्रम खड्गप्रसाद ओली त्यही भावनाबाट आफ्नो पार्टीलाई दुईतिहाइ बहुमत बटुली सत्ताको शिखरमा छन् अहिले । कांग्रेस र मधेसकेन्द्रित नेताहरु झस्किएका छन् भारतसँग । त्यसैले पत्याउनै नसक्ने गरी अत्यन्त ‘लोप्रोफायल’ मा भारतका नेता नेपाल आए, धर्मकर्म गरे र आफ्नो देश फर्किए । भारत र नेपालका नेताबीच चिसिएको सम्बन्ध र यसले पार्ने दुई देशबीचको मनोवैज्ञानिक असरबारे लेख्ने विचार अहिलेलाई त्यागी भर्खर सम्पन्न बिम्स्टेकको बैठक र यसको उपदेयताबारे यहाँ छलफल गर्नु सान्दर्भिक होला।

बंगालको खाडी सम्बन्धित देशहरूले निर्माण गरेको क्षेत्रीय समूह बिम्स्टेकको चौथो सम्मेलन काठमाडौँमा यसै साता सम्पन्न भयो । काठमाडौँमा सम्पन्न बिम्स्टेक सम्मेलन के हो ? यसले के गर्छ ? राजधानीबासीहरू झण्डै ७२ घण्टा यो सम्मेलनबाट प्रताडित भए । यो प्रताडनाले भविष्यमा आमनेपाली जनतालाई के राहत र सेवा–सुविधा प्राप्त हुने अपेक्षा गर्ने ? यस्ता अनेकन् प्रश्न बिम्स्टेकको सम्मेलन अवधिभर नेपाली जनताले बुझ्न चाहे। 

प्रम ओलीले सम्मेलनमार्फत आफ्नो फोटो राजधानीभरि प्रदर्शन गर्ने अवसर बनाए । बिम्स्टेकको सफलता यही हो ? प्रम ओलीको फोटो प्रदर्शनीले राजतन्त्रकालीन नेपालको स्मरण गरायो काठमाडौँबासीलाई । राजाको भद्धा नक्कल गर्ने बानी हाम्रा लोकतान्त्रिक नेताहरूको दिमागबाट हट्न नसकेको यो प्रमाण हो । किन सरकारी खर्चमा प्रम ओलीको बेढंगी ठूलो फोटो आमनागरिकसामु प्रस्तुत गर्नुपरेको ?

भारतले सार्कको विकल्पका रूपमा बिम्स्टेकलाई यो क्षेत्रको ‘गेम चेन्जर’ का रूपमा अगाडि बढाउन खोजेको बुझिन्छ । सार्कमा पाकिस्तानको कचकच र चीनको प्रवेश गर्ने इच्छा भारत अनुकूल थिएन । कुनै समय दक्षिण एशियाको भविष्य र गेमचेन्जरका रूपमा हेरिएको सार्क अब विस्तारै इतिहासको सम्झनामा सीमित हुने लक्षण देखियो । नेपाल र पाकिस्तानको चीन प्रेमले सार्कलाई सुस्ताउन मद्दत गर्याे र भारतले सुविचारितरूपमा विकल्प खाज्ने क्रममा बिम्स्टेकको जन्म भएको मानिन्छ। 

प्रम ओलीको फोटो प्रदर्शनीले राजतन्त्रकालीन नेपालको स्मरण गरायो काठमाडौँबासीलाई । किन सरकारी खर्चमा प्रम ओलीको बेढंगी ठूलो फोटो आमनागरिकसामु प्रस्तुत गर्नुपरेको ?

बिम्स्टेकमा नेपालको प्रवेश सहज थिएन । सुरुमा बंगलादेश, भारत, श्रीलंका र थाइल्यान्ड चार देशले बंगालको खाडीको नाममा क्षेत्रीय संगठन निर्माण गरे सन् १९९७ मा । पाँचौँ देश म्यानमार यसमा प्रवेश गर्याे । म्यानमारको  प्रवेशमा भारतको जोड र स्वार्थ थियो । भारत म्यानमारमार्फत आफ्ना उत्तरपूर्वी राज्यलाई दिल्लीको मूलधारसँग जोड्न चाहन्थ्यो । भारतीय चाहना कलकत्ता बन्दरगाहबाट बर्मा हुँदै उत्तरपूर्वी राज्य मिजोरमसम्म जलमार्ग निर्माणगर्ने अभियानमा छ । नेपाल पर्यवेक्षक हुँदै सन् २००४ मा यो संगठनसँग आबद्ध भएपछि भुटानको पनि प्रवेश भयो यो समूहमा । यसरी नेपाल र भुटान दुई भूपरिवेष्ठित देश भए पनि बंगालको खाडी समूहसँग आर्थिक र प्राविधिकरूपले जोडिन पुगे।

डेढ अरब जनसंख्या र पौने ३ ट्रिलियन डलरको आर्थिक हैसियत भएको बिम्स्टेकमा भारतको दबदबा छ भन्दा हुन्छ । १८ बहुपक्षीय क्षेत्रमा काम गर्ने र सबै देशले कम्तीमा पनि एउटा क्षेत्रको नेतृत्व गर्ने भन्ने मान्यताअनुरूप नेपालले ‘गरिबी निवारण’ को क्षेत्रमा नेतृत्व गर्ने अवसर पाएको छ । यो आफैँमा नेपालका लागि चुनौतीपूर्ण भए पनि ‘हास्यास्पद नेतृत्व’ मानिनेछ । नेपालसँग गरिबी निवारणको के अनुभव र क्षमता होला ? भारतले आतंकवादविरुद्धको लडाइँलगायत अन्य प्रमुख क्षेत्रमा लिड भूमिका गर्ने कुरामा अरु देशको विमति राख्ने हैसियत नै छैन, भएन। 

बिम्स्टेक राष्ट्रहरूको घरेलु राजनीतिमाथि अन्तर्राष्ट्रिय दबाब छ । बर्मामाथि रोहिङ्या अल्पसंख्यक मुसलमानमाथि राज्य लगाएर आम हत्या र बलात्कार गरेको आरोप छ । बंगलादेशले बुद्धमार्गी र हिन्दुमाथि लामो समयदेखि धर्म परिवर्तन गर्न दबाब, धम्की र हत्यासम्म गर्दै आएको कसैबाट लुकेको छैन । श्रीलंकाले हिन्दु तामिलहरूमाथि सेना चढाएर नरसंहार गरेको सम्झना विश्वसामु छर्लंग छ । भुटानले हिन्दु भएकै कारण नेपालीलाई राज्य लगाएर खेदेको ३ दशक हुन थाल्यो । भारतमा हिन्दुत्वको नाममा अल्पसंख्यकमाथि भएको हत्या र असहिष्णुता छापाहरूमा प्रशस्त पढ्न पाइन्छ । नेपालमा पहाडी राष्ट्रवादले मधेसीहरू अन्यायमा परेको भन्न छाडेका छैनन् । थाइल्यान्डको लोकतन्त्र त्यहाँको राजतन्त्रको बन्दीगृहमा जाने–आउने गरेको छ। 

काठमाडौँ सैनिक ब्यारेकमा परिणत भएको थियो ७२ घण्टासम्म । चोक, बाटो, भवन, फुटपाथ, पुल सर्वत्र सेना र प्रहरी बन्दूक लिएर नउभिएको ठाउँ थिएन । सम्मेलन अवधिको ७२ घण्टा राजधानी आउने देशी र विदेशीले काठमाडौँलाई सैनिक ब्यारेकमा परिणत भएको देखे । जनताले कम्युनिस्ट शासनबाट हदैसम्मको हैरानी र पीडा भोगे।

बिम्स्टेक राष्ट्रहरूमा बौद्धमार्गीहरूको बहुमत भए पनि ‘राज्यव्रान्ड’ बौद्धमार्गीहरूमा प्रेम, करुणा र सहिष्णुता नभएको माथिका उदाहरणले पुष्टि गर्छ । सबै देशमा धार्मिक–सांस्कृतिक उन्माद छ यतिखेर ।  छिमेक शान्त, समृद्ध र स्थिर नभई कुनै पनि घर, राष्ट्र सुरक्षित रहँदैन भन्ने विश्वव्यापी मान्यता पनि यतिखेरै चर्चामा छ । विश्व विरोधाभाषपूर्ण अवस्थाबाट गुज्रिरहेको यो उदाहरण हो।  

बिम्स्टेक सम्मेलन काठमाडौँमा भइरहँदा यहाँका आमनागरिकले ‘७२ घण्टा पाएको हैरानी’ यहाँ शब्दमा वर्णन गर्न सकिन्न । प्रश्न छ– नेपाल बिम्स्टेकमा प्रवेश गरेको झण्डै डेढ दशक भए पनि यो समूहबाट नेपाल र नेपालीले के फाइदा पाए? वा भविष्यमा पाउनेछन् ? द्विपक्षीय र बहुपक्षीय काम गर्ने भनी गठन भएको यो समूहबाट सुरु गरिएकाकेही नमुना कामको उदाहरण हेरौँ ः

बिम्स्टेकअन्तर्गत भारतको स्वार्थ प्रमुख छ । त्यही स्वार्थअन्तर्गत भारतले आफ्नो उत्तरपूर्वी राज्य मिजोरम भएर बग्ने नदी ‘कलादान’ लाई बर्मा हुँदै कोलकत्तासँग जोड्ने योजना बनायो । ५ सय मिलियनको ‘कलादान मल्टी मोडल ट्रान्जिट एन्ट ट्रान्सपोर्ट प्रोजेक्ट’सुरु ग¥यो सन् २०१० मा भारत र म्यानमार मिलेर । कलादान नदीको पश्चिम म्यानमार क्षेत्रमा१ सय २० मिलियन खर्चेर बन्दरगाह पनि बन्दैछ। 

भारत उत्तरपूर्वी राज्यलाई जलमार्गसँग जोड्ने उपायको खोजीमा जलमार्ग निर्माणको यो योजना अगाडि आयो । जस्तो अहिले उत्तरप्रदेश र बिहारका लागि भारत जलमार्ग खोज्दैछ र त्यसका लागि नेपालका नदीहरूमा प्रम खड्गप्रसाद ओलीलाई पानीजहाज चलाउने सपना पनि यही भारतीय स्वार्थअनुरूप आएको हो । तर हेक्का राख्नुपर्ने कुरा के हो भने कलादान नदी परियोजना सन् २०१० बाट सुरु भएर २०१३ मा समाप्त गर्ने भनियो तर अहिले २०१८ सम्म यसको आधाकाम पनि भएको छैन । भारतले  विकास गतिविधि कुन ‘पेश’ मा गर्छ, दक्षिण एशियाभर यो पीडा सबै देशले भोगेका छन् ।  काम ओगट्ने र अनेकन् बहानाबाजी गरी कहिल्यै नसक्ने परम्पराबाटभारत मुक्त हुनसक्छ भनी कुनै छिमेकी विश्वास गर्न तयार छैनन् । वास्तवमा भारतले भर्जिन कलादान नदीमाथि अब आफ्नो नियन्त्रण कायम राख्न सक्यो, भर्जिन यस अर्थमा कि अहिलेसम्म यो नदीमाथि मानिसको तथाकथित विकास अतिक्रमण सुरु भएको छैन। 

दोस्रो उदाहरण हेरौँः ‘एशियन ट्राइलेटरल हाइवे’ बर्माको बाटो  भारत र थाइल्यान्ड जोड्ने भूमार्ग हो । यो राजमार्गलाई भियतनामसम्म पुर्याउने लक्ष्य सुरुमा राखियो । यो मार्गको बडो जोडतोडसँग प्रचारप्रसार भयो । तर प्रारम्भिक काम पनि अहिलेसम्म हुनसकेको छैन । यहीँनेर बिम्स्टेकअन्तर्गत भारत–नेपालबीच भएको रक्सौल–काठमाडौँ विद्युतीय रेलमार्ग सम्झनुपर्ने हुन्छ । के यो बन्ला ? भारतसँग भएका अनेकन् कनेक्टिभिटीका परियोजना अलपत्र र लज्जास्पद अवस्थामा छन्नेपालमा । यो पृष्ठभूमिमा रक्सौलबाट काठमाडौँ रेल गुड्ला भनी कसरी पत्याउने ? चीनले काठमाडौँमा रेल ल्याउने चर्चालाई तल पार्नमात्र भारतले रेल काठमाडौँ ल्याउने ‘ललिपप’ देखाएको भनी प्रश्नगर्ने ठाउँ रहन्छ नै । 
तेस्रो उदाहरण त झनै लाजमर्दो छ–बिम्स्टेकअन्तर्गत नेपाल, भारत, बंगलादेश र भुटानबीच निर्वाध वस्तु र गाडी आदान–प्रदान हुने अन्तिम निष्कर्ष भयो । तर भुटानले आफ्नो सांस्कृतिक र पर्यावरणीय क्षेत्रमा यसबाट खतरा छ भनी विरोध गरेपछि प्रस्ताव अलपत्र परेको छ । अब नेपालका गाडी भारत जान सक्तैनन् निर्वाधरूपमा। 

माथिका तीन उदाहरण पर्याप्त छन् बिम्स्टेकले अहिलेसम्म कुनै पनि सार्थक परिणाम ल्याउन सकेको छैन भनेर । सार्कमा पाकिस्तानलाई कचकचे र आतंकवादी लेबल लगाएको पृष्ठभूमिमा निर्माण गरेको बिम्स्टेकको चौथो सम्मेलनसम्म आइपुग्दा भन्नैपर्ने हुन्छ– ‘७२ घण्टाको हैरानी र दुःख’ काठमाडौँबासीले अनाहकमा पाए । जनताले हैरानी र  बिम्स्टेकमा जम्मा भएकाले ‘कक्टेल पार्टी ’ खाए, रिट्रिट गरे र गए। 

काठमाडौँसैनिक ब्यारेकमा परिणत भएको थियो ७२ घण्टासम्म । चोक, बाटो, भवन, फुटपाथ, पुल सर्वत्र सेना र प्रहरी बन्दूक लिएर नउभिएको ठाउँ थिएन । सम्मेलन अवधिको ७२ घण्टा राजधानी आउने देशी र विदेशीले काठमाडौँलाई सैनिक ब्यारेकमा परिणत भएको देखे । वृद्धा, बिरामी, असहाय, महिला, केटाकेटी सबैको सामान्य जीवनमा सुरक्षा संयन्त्र सवार भयो । सुरक्षा संयन्त्रको आदेश, निर्देशन र हप्काइमा आमनागरिकले आफ्नो गन्तव्य मोडे । बिरामी अस्पताल पुग्न सकेनन्, वृद्ध र वृद्धा हिँडेर घर पुग्न सकेनन् । दैनिक ज्यालादारीमा काम गरेर खाने सहरिया मजदूर वर्गले कम्युनिस्ट शासनबाट हदैसम्मको हैरानी र पीडा भोगे। 

बिम्स्टेकको तेस्रो दिन सुरक्षा संयन्त्र नै बटुवा नागरिकसँग हैरानी र दुःख प्रकट गरेको देखिन थालेको थियो । अझै दुई दिन राजधानी काठमाडौँलाई सैनिक ब्यारेकझैँ अगाडि बढाएको भए सुरक्षा संयन्त्रले आफ्नो भूमिका र मर्यादामा नबस्ने उनीहरूको अनुहारबाट बुझिन्थ्यो । राज्य चलाउनेहरूले यस्ता संवेदनशील कुरामा हेक्का राख्न नसक्दा विश्वमा अनेकन् घटना दुर्घटना भएका छन । धन्य बिम्स्टेकको पीडा ७२ घण्टामात्र रह्यो । अझै ४८ घण्टा भएको भए सरकारलाई धान्न गाह्रो पर्ने थियो। 

बिम्स्टेकबाट खासै अपेक्षा नेपालीलाई नभए पनि कम्तीमा विद्युत् विस्तारको ग्रिड सञ्जालमात्र यो संगठनबाट हुनसके भविष्यमा नेपालीलाई यो कार्यबाट फाइदा पुग्ने सम्भावना देखिन्छ । अन्यथा दुई दशकदेखि केही नगरी सुतिबसेको यो क्षेत्रीय संगठनले भविष्यमा केही गर्छ भनी आशा गर्ने केही ठाउँ एकदमै कम छ । निसन्देह यसले सार्कलाई सुस्त र निष्क्रिय बनाउन भने सफल भएको छ र यसबाट भारत प्रसन्न हुनुपर्छ।  

पाकिस्तानका प्रम इमरान खानले दक्षिण एशियाको राजनीतिमा नयाँ संस्कार विकसित गरिरहँदा नेपालका सत्ताधारीले कम्तीमा बिम्स्टेक जस्तो सम्मेलन गर्दा जनालाई कसरी कम सास्ती दिने भनी कहिले सिक्ने ? देशभित्रका नयाँ राजा÷रजौटाबाट नागरिकले पाउने हैरानी त अब लेख्नु र बोल्नु नै निरर्थक भइसक्यो । राज्य संयन्त्रका भिआइपीहरूले काठमाडौँबाहिर कतै बस्ने र उतै सेतो र निलो प्लेट गुडाउने बन्दोबस्त नगरुन्जेल अब दिनहुँ राजधानीबासीले काठमाडौँको सडकमा हैरानी र सास्ती बेहोर्न मानसिकरूपले तयार भए हुन्छ।  

प्रकाशित: १९ भाद्र २०७५ ०३:२० मंगलबार

बिम्स्टेक_सम्मेलन नरेन्द्र_मोदी राहुल_गान्धी