विचार

प्राविधिक शिक्षा किन?

आज १२ कक्षा अध्ययनपछि १ मिनेट पनि घरमा वा देशमा बस्न नपरे हुन्थ्यो भन्ने मनस्थिति बनाउन हामी सफल भएका छौँ। शिक्षा दिइएको छोरा छोरीबाट उपलब्धि हासिल गर्न त परको कुरा विकसित मुलुकमा पठाउनका लागि जायजेथा बिक्री वा ऋण लिई पलायन बनाउन सफल भएका छौँ । आफूहरू पलायन भई भौतिक सुविधामा रमाएकाले आमा बुवाको श्रम गर्ने उमेर भइन्जेल आफ्ना छोरा÷छोरीलाई हेरविचार गर्ने उद्देश्य राखी विदेश भ्रमणमा बोलाउँछन् अनि भनिन्छ, समाजमा फलानो काकाको छोराले काका काकीलाई विदेश बोलाएको छ । पुरस्कार नै पाए जस्तो गदगद भई विदेश भ्रमणमा गइन्छ । यसरी आफ्नो घर आँगन छेउको बारीमा बाली उत्पादन गराउन छोडेर घाँस उत्पादन हुने  गरी जानेको क्रम दिनानुदिन बढ्दो छ । अनि देश प्यारो लागि फर्केर आउँदा श्रम गर्ने बानी हुँदैन र सकिँदैन पनि । खाए पनि हुने, नखाए पनि हुने, रोपेपछि धेरै मेहनत नगरे पनि फल्ने खुर्सानी जस्तो चिज करिब ७० करोड रुपियाँको वर्षेनि आयत गरी खाइन्छ । वर्षेनि करिब ४० हजार विद्यार्थी विदेश अध्ययन गर्न गइरहेको आँकडा छ।

ग्रामीण क्षेत्रका नेपालीको अकाल मृत्यु हुनबाट बचाउन सेवा पु¥याउँदै आएका सिएमए, अनमी जस्ता कार्यक्रम विस्थापित गराउन लागिएको छ । हामीले कहिल्यै पनि ग्रामीण दुर्गम स्थानमा बस्ने नेपालीहरूको सेवा कुन जनशक्तिले प्रदान गरेको छ र त्यसको प्रभावकारिता कस्तो छ भन्ने मूल्याङ्कन नै नगरी हचुवाको भरमा कार्यक्रम सञ्चालनमा रोक्न लगाउने गरी सझौता गरिन्छ । नेपालको सन्र्दभमा कुरा गर्दा दुर्गम स्थानमा दरबन्दी राखी सुगममा काम गरिरहेका स्नातक उत्तीर्ण प्राविधिक जनशक्तिको उदाहरण स्पष्ट देख्न पाइन्छ । डाक्टर, इन्जिनियर, कृषि अन्य प्राविधिक विषयमा स्नातकपश्चात्को जनशक्ति कि त सहरमुखी छ कि त विदेशमुखी । ग्रामीण क्षेत्रमा काम गर्ने भनेको नै सिटिइभिटीबाट उत्पादित जनशक्तिले हो । अबका दिनमा शिक्षालाई श्रमसँग, श्रमलाई उत्पादनसँग समायोजन गर्न सकिएन भने गरिखाने शिक्षालाई प्राथमिकता नदिएको भन्न मिल्ने हुन्छ । आवश्यकता के छ ? के गर्नुपर्छ ? उत्पादनमुखी बनाउन नसक्नुका कारण के हुन्?

प्राविधिक शिक्षामा भएको लगानीबाट जे जति अपेक्षित उपलब्धिसमेत हासिल गर्न नसकिएको कुरा यथार्थ हाम्रा सामु छ । तसर्थ आजको आवश्यकता नै आयआर्जनमुखी प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम हो । श्रमको सम्मान गर्ने र उत्पादनमा परिणत गर्नुपर्ने सोचका साथ प्रधानमन्त्री केपी शर्मा वलीको पदवहालीका क्रममा भएको सम्बोधन आगामी २ वर्षभित्र प्रत्येक स्थानीय तहमा सिटिइभिटीबाट मान्यता प्राप्त प्राविधिक शिक्षालय स्थापना गर्नेलाई मूर्तरूप दिन सिटिइभिटीले कार्ययोजना बनाएको छ । हाल प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् अन्र्तगत कृषि, इन्जिनियरिङ, स्वास्थ्य र होटल व्यवस्थापन वा अन्य प्राविधिक विषय गरी ४ संकायमा एसईई दिएका विद्यार्थीलाई ३ वर्षे डिप्लोमा वा प्रमाणपत्र तह र १८ महिने प्राविधिक एसएलसी प्रशिक्षण गराउनका लागि आंगिक–३७, साझेदारी–५, सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा–२१७ र निजी संस्था– ४२९ गरी जम्मा ६८८ वटा संस्थाहरू छन् । जसले ७६ जिल्ला र २२० स्थानीय तहमा पहँुच पु¥याएको छ । साथै, ८०० वटा संस्थाले १ वर्षभन्दा कम अवधिको व्यावसायिक तालिम प्रदान गर्न सम्बन्धन स्वीकृति लिई जीविकोपार्जन र स्वरोजगार बनाउन अगाडि आएका छन्।

प्राविधिक शिक्षा अध्ययन गर्नका लागि आर्थिक विपन्नताका कारण वञ्चित हुनु नपर्ने गुरुयोजना तथा नीति अवलम्बन गर्नुपर्ने हुन्छ । अब कार्यक्रमलाई उत्पादन र सेवामुखीमा बढी ध्यानाकृत भई लैजानुपर्ने नीति योजनाहरू ल्याउनुपर्ने आवश्यकता छ । अध्ययन गर्नका लागि लाग्ने शुल्क बुझाउन नसक्ने तर आय आर्जन गरी व्यावहारिक सीप ज्ञान सिक्न खोज्ने विद्यार्थीहरूलाई अध्ययनका लागि यस्तो प्रकारको कार्यविधि बनाई लागू गर्नुपर्ने हुन्छ । कृषि संकाय कार्यक्रम सञ्चालन गराउन खोज्ने संस्थाहरूले वार्षिक भर्ना क्षमता ४० जना विद्यार्थी भर्ना गरी ५ भागमा विभाजन गर्ने जसमा ८÷८ जनाको समूह हुन्छ । एउटा समूहलाई ४–५ रोपनी खेतीयोग्य जमिन उपलब्ध गराई पहिलो समूहलाई कम्पोस्ट मल बनाउने विधि सिकाउने, दोस्रो समूहलाई मौसमी वा बेमौसमी तरकारी खेती गर्ने तरिका सिकाउने, तेस्रो समूहलाई अन्न बाली उत्पादन विधि सिकाउने, चौथो समूहलाई कुखुरापालन गराउन सिकाउने र पाँचौँ समूहलाई भौगोलिक अवस्था हेरी च्याउ खेती, माछापालन जस्ता के हुन सक्छ सिकाउने गरी कार्ययोजना बनाउनुपर्छ । यसरी बनाइएको समूहलाई एउटा विधि सिकेपछि चक्र प्रणालीअनुसार अर्को विधि सिकाउन लगाउनु पर्छ । त्यसैगरी इन्जिनियरिङ संकायमा शिक्षण संस्थाले महानगरपालिका÷उपमहानगरपालिका, नगरपालिकासँग समन्वय गरी घर निर्माण गर्ने व्यक्तिहरूसँग निर्माण गर्दा ठेकेदारले लिने रकमभन्दा तुलनात्मक हिसाबले केही सस्तोमा निर्माण गर्ने प्रतिबद्धता देखाई विद्यार्थीलाई निर्माण कार्य सिकाइबाट नै व्यावहारिक सीप र ज्ञान दिई आयआर्जनतर्फ उन्मुख गराउनुपर्ने हुन्छ । विद्यार्थीले घर निर्माणको क्रममा गाह्रो लगाउने, धारा÷ट्वाइलेट निर्माण गर्ने, विद्युत् जडान गर्ने, झ्याल ढोका फिटिङ गर्ने र प्लास्टर गर्ने जस्ता कार्यहरू यथार्थ सिकाइबाट सिक्नेछन् । होटल व्यवस्थापन कार्यक्रम सञ्चालन गराउने संस्थाहरूले सिकाउन आवश्यक पर्ने बेडरुम तयारी, रेस्टुराँ सञ्चालन, खाना पकाउने विधि, खाने कुरा दिने तरिका जस्ता क्रियाकलाप सिकाउँदा विद्यार्थीबाट नै सञ्चालन गर्ने गरी ८ वटा जति रुम भाडामा लगाउने, रेस्टुराँ चलाउने, क्याटरिङका लागि व्यवस्था संस्थाले मिलाउने जसले गर्दा सिक्ने क्रममा शैक्षिक सामग्री खेर नजाने हुन्छ ।

आफूले अध्ययन गर्ने क्रममा आयआर्जन गर्नेछन् । यसरी सेवाप्रदान गर्दा र उत्पादनबाट आएको खुद मुनाफालाई ५० प्रतिशत सम्पूर्ण विद्यार्थीको हिस्सामा राख्ने, २० प्रतिशत सिकाउने प्रशिक्षकको भागमा राख्ने र बाँकी ३० प्रतिशत व्यवस्था मिलाउने संस्थाको हिस्सा हुनेगरी कार्ययोजना बनाएर लागू गर्नुपर्छ । यसरी सिकेका विद्यार्थीले आयआर्जन गरी आफूलाई अध्ययन गर्दा लाग्ने शुल्क अध्ययनको क्रममा नै तिर्न सफल हुनेछन् । यसका लागि परीक्षा तथा मूल्याङ्कन प्रणालीलाई परिवर्तन गराई उत्पादनसँग गाँसियो भने गरिखाने शिक्षा प्रणालीले गर्दा उत्पादनमा टेवा पुग्नेछ । प्राविधिक शिक्षालाई व्यावसायिक शिक्षामा रूपान्तरण गरी काम गरेर खाने वा रोजगारी हुने खालको जनशक्ति उत्पादन गराउन सकिन्छ । यसरी प्रशिक्षणका क्रममा काम गरेर सिक्ने पद्धतिको विकास भयो भने त्यसबाट उत्पादित जनशक्तिहरू भविष्यमा समेत काम गर्नबाट पछि पर्दैनन् । जसले गर्दा देशमा आर्थिक सामाजिक उन्नति भई हामी सुखी नेपाली र समृद्ध नेपाल बनाउन सक्षम हुनेछौँ।

(सदस्य–सचिव, सिटिइभिटी)

प्रकाशित: २५ श्रावण २०७५ ०२:४६ शुक्रबार

#प्राविधिक शिक्षा #पुष्परमण वाग्ले