जाजरकोटको ठाँटीबजारस्थित पानीनाउला जाने बाटोछेउका दुई घर पहिरोले भत्काउँदा आइतबार ८ जनाको मृत्यु भयो। यसरी मृत्यु भएकामध्ये ७ जना बालबालिका थिए। अझै १३ वर्षीय एक बालक बेपत्ता छन्। मजदूरीका लागि भाडामा बसिरहेका परिवार सदस्यहरूको असामयिक मृत्युले फेरि एकपटक विपत् र विकासबारे हाम्रो बुझाइमाथि औंला ठड्याएको छ। हाम्रो नेपाल पहाडी मुलुक हो भन्नेमा शंका छैन। अहिले मुलुकमा केही सातायता नियमित पानी परिरहेको छ। यस्तो अविरल वर्षाका बेला कमसल भूबनोटयुक्त पहाडी भूभाग गल्ने र ढल्ने प्रक्रियालाई स्वाभाविक मान्न सकिन्छ। अनि यस्तो अवस्थामा हुने धन/जनको क्षतिलाई पनि सामान्य रूपमा लिइने गरिन्छ धेरै ठाउँमा। तर हामी कहिल्यै यस्ता घटनाको कारणबारे गहिराइमा पुग्ने प्रयत्न गर्दैनौं । समस्या यहींनिर छ। अन्यत्र धेरै ठाउँमा जस्तै यी दुई घर पनि बाटोको छेउमै थिए। अर्थात् पानीनाउला जाने बाटो नजिकै बनेको घर भएकाले आवतजावतका लागिसमेत सहज हुने ठानेर मजदूरी गर्नेहरू भाडामा बसेका हुन् । त्यसैले यी घर भत्कनुनमा परोक्षरूपमा बाटोलाई पनि कारक मान्न सकिन्छ। भनाइको मतलब, पछिल्लो समय नेपालभर बाटो बनाउने अभियान नै चलेको छ । विकास निर्माणको यो पहल नराम्रो हुँदै होइन तर बाटो कसरी बनाइँदैछ भन्ने पक्ष महत्वपूर्ण हो । प्रायः सबैजसो बाटो निर्माणमा डोजर प्रयोग गरिँदै आएको छ । यसरी बाटो निर्माण गर्ने क्रममा डोजरधनीले पूर्ण रूपमा फाइदा हेर्छन्, लाभग्राहीले आफ्नो आँगन वा जमिनतिर तेस्र्याउन जोड गर्छन्। स्थानीय अगुवा वा राजनीति गर्नेहरूले यसलाई मत वा श्रेयसँग तुलना गर्छन्। यसरी सबै आआफ्नो स्वार्थमा लिप्त हुँदा वातावरणीय पक्ष कसैको पनि प्राथमिकतामा पर्दैन। भूबनोट र त्यसले पु-याउने क्षति पनि कसैले सोच्दैन। परिणाम– यही ‘डोजरे विकास’ पहिरोको कारण बन्छ। अचम्म त यो छ कि क्षति भइसक्दा पनि स्थानीय सरोकारवाला यसबारे घोत्लिन तयार छैनन्। जसले निम्त्याउने भनेको फेरि पनि यस्तै पहिरो अर्थात् विपत् हो।
स्वयंसिद्ध तथ्य हो कि विपत् रोक्न सकिँदैन। त्यत्तिकै स्वयंसिद्ध तथ्य यो पनि हो कि विपत्बाट हुने क्षतिको आकार खुम्च्याउन सकिन्छ। विपत् न्यूनीकरण संसारभरिका मानिसले प्रकृतिसँग तादात्म्य राख्दै बाँच्न अपनाएको विधि हो। त्यसैले अविरल वर्षा रोक्न नसकिए पनि वर्षाका कारण खस्ने पहिरो रोक्न सकिन्छ। अनि पहिरो रोक्न नसकिने अवस्थामा पनि त्यसबाट हुने हानि न्यून पार्न सकिन्छ।
विकास मानिसको चौतर्फी सन्तुष्टिसँग जोडिएको हुन्छ। तर हामीले बुझ्दै आएको विकास भने यही सन्तुष्टिको माध्यम अर्थात् पूर्वाधारमात्र हो। ठूला बाटा, पुल, भवन आदिलाई हामीले विकासका पर्याय ठान्यौं। त्यसैले बाटो हाम्रो विकासको सपनाको पहिलो नम्बरमा सूचीकृत हुँदै आएको छ। यसरी बाटो बनेपछि हुने फाइदा/बेफाइदा केलाउनेतर्फ हामी कहिल्यै सचेत भएनौं। यही कारण हो कि हामी विकासका नाममा विपत् भित्र्याइरहेका छौं तर पनि यसको चेत भने अझै पनि खुल्न नसक्नु दुर्भाग्य मान्नुपर्छ। बाटो सजिलै तयार हुँदैन। बाटो निर्माणका क्रममा सबैभन्दा पहिले ट्र्याक निर्माण हुन्छ। त्यसपछि बाटोको लम्बा/चौंडा आकार तय हुन्छ। त्यसपछि आवश्यक ठाउँमा दुवैतर्फ पर्खाल निर्माण हुन्छ। त्यसपछि दायाँबायाँ यात्रुमार्ग रहन्छ र ढलको समेत व्यवस्था भएपछि बल्ल त्यसलाई बाटोको दर्जा दिन सकिन्छ। तर हामीले अहिलेसम्म बुझ्दै आएको बाटोचाहिँ ‘ट्र्याक’ हो। उसै त डोजरले थङ्थिलो बनाएको ट्र्याक, त्यसमाथि यी सबैखाले पूर्वाधार नबनिसकेको अवस्थामा घर वा अन्य संरचना निर्माण गरिहाल्नु पनि उचित हुन सक्दैन। न सरकारीत वरबाट यसतर्फ सर्वसाधारणलाई सचेत तुल्याउन सकिएको छ न सर्वसाधारण यो स्तरको जानकारी राख्ने हैसियतमा छन् । परिणाम– यसअघि सयौं बस्तीले भोग्दै आएका छन् र अहिले जाजरकोटले भोगिरहेको छ। बाढीपहिरोमा पर्ने परिरहन्छन्, तिनको अवस्थाअनुसार सहयोग र पूर्ववत् अवस्थामा पु-याउन पहल पनि हुँदैन । आएको सहयोग पनि व्यवस्थित ढंगले परिचालन गरिँदैन।
स्वयंसिद्ध तथ्य हो कि विपत् रोक्न सकिँदैन। त्यत्तिकै स्वयंसिद्ध तथ्य यो पनि हो कि विपत्बाट हुने क्षतिको आकार खुम्च्याउन सकिन्छ। विपत् न्यूनीकरण संसारभरिका मानिसले प्रकृतिसँग तादात्म्य राख्दै बाँच्न अपनाएको विधि हो। त्यसैले अविरल वर्षा रोक्न नसकिए पनि वर्षाका कारण खस्ने पहिरो रोक्न सकिन्छ। अनि पहिरो रोक्न नसकिने अवस्थामा पनि त्यसबाट हुने हानि न्यून पार्न सकिन्छ। तर यसका लागि हाम्रो सोचाइमा परिवर्तन आवश्यक छ। त्यहीअनुसारको तयारी पनि जरुरी छ । अहिले हामीले गर्न नसकेको काम भनेको पनि यही हो। हामीले डोजरको जथाभाबी प्रयोग रोक्न सक्थ्यौँ। ट्र्याकले बाटोको रूप धारण नगरुन्जेल त्यस्ता ठाउँमा सवारी गुड्न रोक लगाउन सक्थ्यौं। बाटो व्यवस्थित नहुन्जेल छेउछाउ घरहरू नबनाउन तथा नबस्न जानकारी गराउन सक्थ्यौं। विपत्पूर्वका तयारीबारे सचेत गराउन तथा वैकल्पिक उपाय अपनाउन सक्थ्यौं। तर हामीले यी कुनै पनि विषयमा ध्यान दिन आवश्यक ठानेनौं। जसले निम्त्याउने भनेको यस्तै अवस्था हो। सावधानीले विपत्बाट जोगिन धेरै हदसम्म मद्दत गर्छ। संसारमा यस्तो मुलुक छैन, जसलाई कुनै न कुनै विपत्ले नघेरोस्। अमेरिकामा ठूलाठूला आँधी आउँछन्। समुद्र छेउमा बसोबास गर्नेहरू त्यस्तै ठूला विपत्को सामना गर्न बाध्य हुन्छन्। जापान भुइँचालोको चपेटामा परिरहन्छ। तर, यी अवस्थाको सामनाका निम्ति तिनले राष्ट्रिय संरचना बनाएका छन्। विपत्बाट जोगिने नीति र कार्यक्रम बनाएर कार्यान्वयन पनि गरेका छन्। हामीकहाँ पनि हालैका वर्षदेखि बाढीको बारेमा अग्रिम जानकारी दिन थालिएको छ। अब विपत्को जोखिम, यसबाट बच्ने तयारी र परिसकेकालाई उद्धार तथा राहतको व्यवस्थाका लागि ध्यान दिने प्रावधान आवश्यक छ। विपत् प्राकृतिक पक्ष हो, तर त्यसको न्यूनीकरण भने हाम्रो तयारीमा निर्भर गर्छ।
प्रकाशित: २२ श्रावण २०७५ ०२:४७ मंगलबार