विचार

मिर्गाैलाः मेरो अनुभव

चिकित्सा विज्ञानले धेरै फड्को मारिसकेको छ। रोगीहरूको जीवन लम्याउन र रोगीको अवस्थामा सहजता ल्याउन पनि चिकित्सा विज्ञानले धेरै सहायता पु-याएको छ। दक्ष चिकित्सकहरूको सहयोग, सहायता र चिकित्साले पनि मानिसहरूको औसत आयु बढाउनमा ठूलो सहायता पु-याएको छ। त्यसैले सर्वसाधरण जनताले असल चिकित्सकहरूमा ईश्वरीय गुण देख्छन् र प्रशंसा गर्छन्।

अब म मेरो आफ्नो रोग र अहिले चलिरहेको उपचार सम्बन्धमा प्राप्त अनुभवहरूको वर्णन गर्ने प्रयास गर्दै छु। म जस्तै रोगीहरूका लागि पनि मैलै गरेको अनुभव र चिकित्सा सम्बन्धमा केही जानकारी दिन सके रामै्र होला भन्ने विचारले यो लेख प्रस्त¬त गर्ने प्रयास गरेको हुँ।

म करिब ४० वर्षदेखि सुगर (चिनी) रोगबाट ग्रस्त व्यक्ति हुँ। शरीरमा सुगर देखिएपछि चिकित्सकहरूले पहिले सुरुसुरुमा खानपिनमा बन्देज र नियन्त्रणद्वारा नै ठीक हुन्छ भनेकाले दुई–तीन वर्ष त्यसै गरेँ। त्यसपछि सुगर नियन्त्रणका लागि औषधीको प्रयोग गर्नुप-यो। करिब २५ वर्षसम्म औषधी प्रयोग गरिसकेपछि पनि रोग नियन्त्रणमा नआएपछि, चिकित्सकहरूले इन्सुलिनको प्रयोग गर्न सुझाव दिए। इन्सुलिनको प्रयोग गर्न केही झन्झट होला भन्ने मेरो मनमा लागेको थियो।

विराटनगर आइसकेपछि मैले इन्सुलिन लिन थालेको करिब पन्ध्र वर्ष भइसक्यो। औषधी मात्र खाइरहेको बेलाभन्दा इन्सुलिन लिन थालेपछि, मेरो शारीरिक अवस्था धेरै राम्रो भएको थियो। तर, अब मेरो मिर्गौलाले बिस्तारै समस्या देखाउन सुरु गरेछ ।मिर्गाैला रोग लागे–नलागेको जान्नका लागि रगतमा ‘क्रिएटिनाइन’को स्तर जाँच गराउनुपर्ने रहेछ। क्रिएटिनाइनको स्तर १.५ सम्म भएमा कुनै खतरा छैन, त्यो स्तरभन्दा बढ्दै गएमा मिर्गाैलामा समस्या सुरु भयो भन्ने जान्नुपर्ने रहेछ। क्रिएटिनाइनको स्तर बढ्दै गयो भने, त्यसको रोकथाम गर्ने अहिलेसम्म कुनै औषधी छैन। पछिल्लो समयमा पानी बढी खाए शरीरलाई राम्रो गर्छ भन्ने विचारको प्रचार भएकाले चौबीस घन्टामा चार–पाँच लिटर पानी पिउने गर्थेँ। बढी पानी पिउने अभ्यासले मेरो शरीरमा सोडियमको कमीले गर्दा एकपल्ट म निकै बिरामी भएँ। पछि मलाई सोडियमको कमी पूर्ति गर्न नुनको प्रयोग, इन्जेक्सन दिएपछि मेरो अवस्थामा स¬धार भएको थियो।

मैले खानपिनमा चिकित्सकहरूले दिएको सुझाव र निर्देशनअनुसार रक्सी, बियर, माछा, मासु, अन्डा, चिल्लो, अमिलो धेरै मसालेदार खाना नखाने गर्दा पनि मेरो क्रिएटिनाइनको स्तर क्रमशः बढ्दै गयो। क्रिएटिनाइनको स्तर बढ्दै १०.८ सम्म पुगेपछि मलाई खानामा रुचि हुन छोड्यो, गोडा र अनुहार फुलेर आयो।

त्यसपछि मैले डाइलाइसिस गराउन सुरु गरेँ। पहिलो दिन एक घन्टा मात्र डाइलाइसिस भयो, दोस्रो दिन डेढ घन्टासम्म डाइलाइसिस भयो, हाल हप्ताको दुई दिन बिहीबार र सोमबारका दिन डाइलाइसिस चार घन्टा भइरहेको छ।

डाइलाइसिस भनेको रोगीको शरीरमा भएको रगत एउटा सुईद्वारा निकाली डाइलाइजर भन्ने यन्त्रले सफा गरिसकेपछि पुनः त्यो रगतलाई अर्को सुईद्वारा रोगीको शरीरमा पठाउने विधि हो। मेरो शरीरमा रगतको केही कमी भएकाले डाइलाइसिस गरेकै बेला तीन पोका रगत तीन दिनमा गरी एकएक पोकाको दरले चढाइएको थियो।

डाइलाइसिस सुरु गर्नुभन्दा पहिले मेरो मनमा कति दुख्ने होला? कति कष्ट होला भन्ने लागेको थियो। एक किसिमको डर थियो। तर चिकित्सा विज्ञानको प्रगतिले त्यस्तो केही दुःखदायी कष्ट हुने रहेनछ।

डाइलिइसिस गराइरहेका अन्य बिरामी हेर्दा, भेट्दा, बुझ्दा विभिन्न कारणले मिर्गाैलाको अवस्था बिग्रिएकाले युवक, पचास वर्ष ननाघेका मानिसहरूको पनि डाइलाइसिस भइरहेछ। अहिले म ८४ वर्षको भएँ। मेरो त लामो सुगरको रोगको मिर्गाैला फेल भयो। तर, युवा अवस्थामा पनि महिला पुरुषको विभिन्न कारणले मिर्गाैलाको अवस्था बिग्रिने रहेछ, मिर्गाैलाको अवस्था जान्नका लागि रगतमा रहेको ‘क्रिएटिनाइन’को परीक्षणबाट मात्र थाहा हुने रहेछ। शरीरमा अन्य कुनै रोग, बिमारी प्रकट रूपमा नदेखिए पनि शरीरभित्र रहेको मिर्गाैलाको अवस्था जान्न रगत परीक्षणद्वारा मात्रै ‘क्रिएटिनाइन’को स्तर जानकारी हुने रहेछ।

अन्त्यमा, मेरो एउटै सुझाव छ, शरीरभित्र रहेको मिर्गाैलाको अवस्था जान्नका लागि ४० वर्ष नाघेका महिला, पुरुष दुवैले रगत परीक्षण गराऔँ, कमसेकम वर्षको एकपटक।’ यहाँ यो पनि उल्लेख गर्नु सान्दर्भिक होला, युवकयुवती वा प्रौढप्रौढाहरूले मिर्गाैला बिग्रिसकेपछि अरूको मिर्गाैला आफ्नो शरीरमा प्रत्यारोपण गर्न चाहेमा, त्यस्तो अरूको मिर्गाैला फेला नपरुन्जेलसम्मको चिकित्सा भनेकै डाइलाइसिस हो। धेरै मिर्गाैला बिगे्रका व्यक्तिहरूका लागि पनि अरूको मिर्गाैला लिएर आफ्नो शरीरमा प्रत्यारोपण गराउन नसक्ने अवस्थाका रोगीहरूका लागि पनि डाइलाइसिस नै विश्वसनीय चिकित्सा रहेछ।

प्रकाशित: ११ जेष्ठ २०७५ ०३:४९ शुक्रबार

मिर्गाैलाः मेरो अनुभव