विचार

कोरियाली वार्ताको वैश्विक प्रभाव

२०१८ अप्रिल २७कोरियाली प्रायद्वीपका निम्ति ऐतिहासिक दिन त बन्यो नै, विश्वभरकै समग्र शान्तिप्रेमीहरूका लागि पनि खुसीको दिन बन्यो। ६५ वर्षदेखिको निरन्तरको द्वन्द्व, तनाव र शत्रुतालाई बिर्सेर उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन र दक्षिण कोरियाली राष्ट्रपति मुन जाय ईनले उक्त दिन शिखर वार्ता सम्पन्न गर्दै कोरियाली प्रायद्वीपको शान्ति, समृद्धि र एकीकरणको ‘पानमुनजोम घोषणा’मा हस्ताक्षरसमेत गरे। उक्त घोषणामा कोरियाली प्रायद्वीपलाई आणविक शस्त्रबाट मुक्त गर्दै कोरियाली युद्धको औपचारिक अन्त्य भएको उल्लेख गरिएको छ। कोरियाली द्वन्द्व अन्त्यको घोषणा गर्ने क्रममा कैयौँ भावनात्मक तथा साङ्केतिक कार्यक्रमहरू समेत दुई कोरियाली नेताहरूले सम्पन्न गरे ।विभाजित कोरियाको सैन्य रेखा नाघ्दै दुवै नेताले एकअर्काको हात समात्दै दुवै तर्फको भूभागमा पालैपालो टेक्ने काम समेत गरे ।त्यसै गरी संयुक्त वृक्षरोपणका कार्यक्रमसमेत सम्पन्न गरिए।

दुई कोरियाली नेताले गरेको उक्त पानमनजोम घोषणाले यतिखेर विश्वव्यापी रूपमा स्वागत र बधाई प्राप्त गरेको छ। विशेष गरेर चार महिना अघिसम्म एकपछि अर्को क्षेप्यास्त्र परीक्षण र सैन्य अभ्यास गर्दै दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकालाई युद्धका लागि ललकार्दै आएको उत्तर कोरियाले आकस्मिक ढङ्गले शान्ति र मेलमिलापका लागि दक्षिणकोरियासँग शिखर वार्ता गर्न तयार हुनुलाई आश्चर्य पनि ठानिएको छ ।यद्यपि आजको विश्व सहअस्तित्व र पारस्परिक सम्मानमा अडेको छ। विज्ञान, प्रविधि, सूचना तथा सञ्चारको क्षेत्रमा भएको अभूतपूर्व विकासले आज विश्व एउटै ग्राम बन्न पगेको छ। सहअस्तित्व र एक अर्कोसँगको अन्तरनिर्भरता आजको विश्वव्यापी प्रक्रिया बनिसकेको छ। हिजोका शीतयुद्धकालीन विचार, दृष्टिकोण र मान्यताहरूले केही दशकयता कामगर्न छाडिसकेका छन् ।सबै प्रकारको प्राकृतिक विपत्ति, दुर्घटना, रोग र अकालबाट मुक्त हुने साझा प्रयत्न र संकल्प विश्वको यथार्थ बनेको छ । सम्पूर्ण मानव जातिले विश्व भ्रातृत्वको भावनालाई आत्मसात् गरेर हिँड्नु अहिलेको आवश्यकता र अनिवार्यता दुवै हो । विश्व स्तरका दुईवटा महायुद्धहरूले विगतमा छोडेको गम्भीर नकारात्मक परिणाम र पीडाले अहिले पनि विश्वका धेरै भागका मानिसहरू सन्त्रस्त छन्। त्यसैले युद्धप्रति सम्पूर्ण विश्व समुदायको विरोध र घृणानै रहेको छ ।संसारभरका द्वन्द्व र टकारावहरूको ढिलोछिटो वार्ताद्वारा नै समाधान गरिनुपर्छ ।तैपनि कोरियाली प्रायद्वीपमा ४ महिना अघिसम्म जुन परिस्थिति विकसित भएको थियो त्यसबाट सबै त्रस्त थिए ।त्यहाँ भइरहेका आणविक अस्त्र शस्त्रका परीक्षण, युद्धाभ्यास र टकरावले अर्को ठूलो महायुद्ध कोरियाली प्रायद्वीपबाटै सुरु हने अड्कल धेरै मानिसहरूले काट्न थालेका थिए ।यस्तो पृष्ठभूमिमा आआफ्नो देशका नागरिकहरूको सुझाव, चाहना, क्षेत्रीय र विश्व शान्तिसमेतको आवश्यकतालाई दृष्टिगत गर्दै दुवैकोरियाली नेताहरूले निशस्त्रीकरण, शान्ति र मेलमिलापको पक्षमा उभिँदै शिखर वार्ताको आयोजना गरी‘पानमुनजोम घोषणापत्र’ जारी गर्नु एकदमै उपयुक्त र सह्रानीय कदम हो ।यस्तो कदमले केवल कोरियाली प्रायद्वीपलाई मात्र नभएर विश्वलाई नै शान्ति र मिलापको सन्देश दिएको छ।

कसरी सफल भयो वार्ता?
२०११डिसेम्बर १७ मा आफ्ना पिता किम जोङ इलको निधनपछि युवा नेता किम जोङ उन ह्वात्तै चर्चामा आए ।पिता किम जोङ इलको निधनपछि उनको उत्तराधिकारी को बन्ला भन्ने अन्योल उत्तर कोरियामा छोटो समयका निम्ति देखिएको थियोतापनि पिता किमको निधनको लगत्तै उनको अन्त्येष्टि समारोहको संयोजककारूपमा उनै उनलाई नै प्रस्तुत गरिएको थियो। त्यसको ठीक एक हप्ताभित्रै उत्तर कोरियाली जनसेनाको सर्वोच्च कमान्डर पनि उनलाई नै घोषणा गरियो। त्यसपछि उत्तर कोरियाली वर्कर्स पार्टीको पोलिटब्युरो सदस्य हुँदै छोटो समयमै उन सर्वोच्च नेता बने। यद्यपि उत्तर कोरियाली सैन्य आयोगको उपाध्यक्षमा उनलाई १५ महिना अघिनै नियुक्त गरिसकिएको थियो। सर्वोच्च नेता बन्नासाथ उन राजकाजमा सक्रिय बने। उत्तरकोरियाका हरेक युद्धाभ्यास र क्षेप्यास्त्र परीक्षण उनकै निर्देशनमा भएको देखिन्थ्यो। पश्चिमा शक्तिहरूले उनलाई ‘सन्काहा केटा’कारूपमा चित्रण गर्थे। उनको छविलाई युद्ध प्रेमीजस्तो बनाइदिएका थिए ।यस्तो पृष्ठभूमिमा उन सीधै शान्ति र मिलापको शिखर वार्तामा आउनु केही आश्चर्य ठहरियो ।त्यसको अर्थ उन विश्व राजनीति बुझ्दैनथिए भन्ने होइन ।युवा पुस्ताका नेता भएकाले आफ्नो दृष्टिकोणमा उन दृढ देखिन्थे ।आजको विश्वको यथार्थ पनि उनले बुझिरहेकै थिए। शिखर वार्ताअघि आकस्मिक रूपमा चिनियाँ राष्ट्रपति सी जिङ् पिङसँगको उनको गोप्य भेटलाई कूटनीतिको चातुर्य ठानिएको थियो तर प्रश्न यतिमात्र थिएन। संयुक्त राष्ट्र संघ एवं पश्चिमा राष्ट्रहरूको लगातारको नाकाबन्दी र वार्ताका लागि चीनको समेत सशक्त दबाबकोे उनले सामना गरिरहेका थिए। त्यस्तै आफूसरहका छिमेकी मुलुकले विश्वमा गरेका आर्थिक प्रगतिसमेत उनले आत्मसात् गरेको हुनुपर्छ ।यसबाहेक दशकौँदेखि बिछोड भएका हजाराैं/हजार दुई कोरियाली परिवारहरूको पीडा उनको दिमागमा थिएन भन्न सकिन्न। अतः यी विविध कारणहरूले विश्व र क्षेत्रीय शान्तिका निम्ति उन लचिलो बन्नु अनिवार्य थियो।

शान्तिप्रेमी जनता सधैँ शक्तिशाली राष्ट्रहरूको होडबाजी र अहंकारको चेपुवामा पर्दै आएका छन् । यो स्थितिको अब पूर्णतः अन्त्य गरिनुपर्छ।

निश्चयनै शिखर वार्ताको श्रेय उनलाई मात्र जाँदैन,यदि दक्षिण कोरियाले पहलकदमी नगरेको भए शिखर वार्ता सम्भव थिएन। नौ वर्ष निरन्तर शासन गरेको दक्षिण कोरियाको कन्जर्भेटिभ पार्टीलाई परास्त गर्दैसन् २०१७ मेमा मानव अधिकार सम्बद्ध कानुन व्यवसायी मुन जाय इन दक्षिण कोरियाका राष्ट्रपति चुनिए ।निर्वाचन प्रचार अभियानमै उत्तरकोरियासँगको प्रस्ट र परिणाममुखी वार्ता उनको एजेन्डामा थियो। उत्तरसँग निशस्त्रीकरण र तनाव अन्त्य गरेरै छाड्ने प्रतिबद्धता इनले दोहो-याउँदै आएकैथिए। त्यस क्रममा दुवै कोरियाका अतिरिक्त चीन, अमेरिका, रुस, जापानसमेत ६ देश बीचको वार्तालाई पुनजीर्वित गर्ने प्रस्ट प्रतिबद्धता इनले सार्वजनिक गरेका थिए ।पछिल्लोसमयमा हिउँदे ओलम्पिकमा उत्तर कोरियाली खेलाडीहरूलाई दक्षिण कोरियामा ल्याउन र संयुक्त मार्च पास गर्ने वातावरण बनाउन पनि इनको उल्लेख्य भूमिका रहेको थियो। यिनै महत्वपूर्ण पृष्ठभूमि र प्रसंगहरू हुन् जसले शिखर वार्तालाई सहज तुल्याइदिए।

विश्वव्यापी प्रतिक्रिया
संयुक्त राष्ट्रसंघका महासचिव अन्टोनियो गुटरेसले कोरियाली शिखर वार्ताको प्रशंसा गरेका छन्। दुवै कोरियाली नेताहरू प्रायद्वीपमा एकता र शान्तिको सन्देश बढाउँदै सँगै उभिएको दृश्यले संसारमै उत्साह छाएको बताउँदै गुटरेसले शिखरवार्तामा आत्मसात् गरिएका कुराहरूप्रति दृढ रहँदै द्रुत गतिमा मेलमिलाप र विश्वास निर्माण कार्य कार्यान्वयन हुने आशा व्यक्त गरेका छन्। उनले कोरियाली प्रायद्वीपमा निशस्त्रीकरण तथा दिगो शान्ति स्थापनाको त्यस प्रक्रियामा संयुक्त राष्ट्रसंघको पूर्ण सहयोग हुने कुरासमेत व्यक्त गरेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘क्षेप्यास्त्र प्रहार र आणविक परीक्षणका आक्रोशपूर्ण वर्षहरूपछि उत्तर र दक्षिण कोरियाबीच ऐतिहासिक बैठक भइरहेको छ, राम्रा कुराहरू हुँदैछन् तैपनि के के हुन्छन् समयले बताउला’ भन्ने प्रतिक्रिया दिएका छन्। उनले एक अर्को प्रतिक्रियामा‘आफ्ना असल मित्र चिनियाँ राष्ट्रपति सी जिङपिङले यस प्रश्नमा मद्दत नगरेको भए यो प्रक्रिया ढिलो र कठिन हुने उल्लेख गरेका छन्, उनले उत्तर कोरियालाई निरन्तर दबाब दिइराख्नुपर्ने’ कुरा समेत उठाएका छन्।

६५ वर्षदेखिको कोरियाली द्वन्द्व र तनावको अन्त्य गर्ने शिखर वार्ता र ‘पानमुनजोम घोषणा’ केवल कोरियाली प्रायद्वीप मात्र नभएर विश्व स्तरको शान्ति र मेलमिलापतर्फका उदाहरणीय पाइलाहरू हुन्।

त्यसैगरी चीनले सफल शिखर वार्ताका लागिदुवै देशलाई बधाई दिएको छ ।चिनियाँ विदेश मन्त्रालयले भनेको छ, ‘चीनले सधैँ दुई पक्षीय वार्ता, आपसी विश्वास र परामर्शमा समस्याको हल खोजिनुपर्ने बताउँदै आएको थियो ।किनकि त्यसले नै कोरियाली प्रायद्वीप समग्र प्रशान्त क्षेत्र र अन्तर्राष्ट्रिय समुदायको पनि हित हुनेछ,शिखर वार्तामा भएका सहमति कार्यान्वयन हुने कुराको आशा समेत गर्छाैं।’

नेपालको परराष्ट्र मन्त्रालयले, ‘कोरियाली शिखर वार्तालाई दुई पक्षीय सम्बन्ध सामान्यीकरणको महत्वपूर्ण पाइला भन्दै त्यसले कोरियाली प्रायद्वीपको स्थिरता र दिगो शान्तिमा योगदान गर्ने आशा जनाएको छ।’

भारतीय विदेश मन्त्रालयले अन्तरकोरिया शिखर वार्ताको स्वागत गरेको छ।‘यस्तो वार्ताबाट कोरियाली प्रायद्वीपमा तनाव घटाउन तथा दिगोशान्ति र मेलमिलाप कायम गर्न मद्दत पुग्ने जनाउँदै त्यस्तो वार्ताबाट कोरियाली प्रायद्वीपमा उत्तर कोरियाले गर्ने आणविक र क्षेप्यास्त्र कार्यक्रम विस्तारलाई सही ढङ्गले सम्बोधन गर्ने’ आशा गरेको छ।

जापानको छुट्टै चिन्ता
शिखर वार्तामा के के कुरा भए भन्ने विषयमा जापान आफ्नै ढङ्गले चिन्तित रहेको छ। उत्तर कोरियासँग सुमधुर सम्बन्ध नरहेको जापानले दक्षिण कोरियाली राष्ट्रपति इनमार्फत आफू उत्तर कोरियासँग कुनै पनि बखत वार्ता गर्न तयार रहेको कुरा व्यक्त गरेको छ। यस विषयमा इनमार्फत आएको कुरालाई उत्तर कोरियाले सकारात्मक रूपले लिएको छ। खासगरी दुई कोरियाली शिखर वार्ताको वरपर जापानी प्रधानमन्त्री सिन्जो आबेबेखबर रहेको घटनाले जापानलाई चिन्तित तुल्याएको देखिन्छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र किम जोङ उन बीच २/३ हप्ताभित्रै हुने भनिएको प्रस्तावित वार्ता अगावै उसले राष्ट्रपति डोनाल्ड ट्रम्पसँग कुरागर्न चाहेको छ ।जापानलाई यस कुराको चिन्ता देखिन्छ कि कतै ट्रम्पले किमलाई केवल लामो दूरीका क्षेप्यास्त्र परित्याग गर्न लगाएर छोटा र मध्यम दूरीका क्षेप्यास्त्र अन्त्य नगर्ने गरी समझदारी नगरून्।

निष्कर्ष
६५ वर्षदेखिको कोरियाली द्वन्द्व र तनावको अन्त्य गर्ने शिखर वार्ता र ‘पानमुनजोम घोषणा’ केवल कोरियाली प्रायद्वीप मात्र नभएर विश्व स्तरको शान्ति र मेलमिलापतर्फका उदाहरणीय पाइलाहरू हुन्। कोरियाली तनावलाई पूर्णतः अन्त्य गर्ने कामले भविष्यमा निरन्तरता पाइराख्नुपर्छ। विश्वका सबै शान्तिप्रेमी मुलुक र जनस्तरबाट समेत यसमा निगरानी गरिराख्नुपर्छ। शान्तिप्रेमी जनता सधैँ शक्तिशाली राष्ट्रहरूको होडबाजी र अहंकारको चेपुवामा पर्दै आएका छन्। यो स्थितिको अव पूर्णतःअन्त्य गरिनुपर्छ। परस्पर सम्मान, सहअस्तित्व र अन्तर्निभरता आजको विश्व सम्बन्धका महत्वपूर्ण आयाम हुन्,यसलाई सबैलेस्वीकार नगरी धरै छैन्। त्यसैले कोरियाली प्रायद्वीपका अतिरिक्त सिरिया, इराक, अफगानिस्तान, इरान लगायत सबैतिरका द्वन्द्वहरूको पनि हातहतियारको सट्टा आपसी वार्ता र छलफलद्वारा नै हल खोजिनु पर्छ। एक्काइसाैं शताब्दी समृद्धिको शताब्दी हो, अतः विज्ञान, प्रविधि र सम्पूर्ण आविष्कारलाई क्षेप्यास्त्र र हात हतियारको होडबाजीमा हैन, मानव मात्रको सुख समुन्नतिका लागि उपयोग गरिनुपर्छ। यसतर्फ ठूलार साना सबै राष्ट्र तथा संयुक्त राष्ट्रसंघ लगायत अन्तर्राष्ट्रिय निकायहरूको पनि ध्यान पुगोस्।

(नेता, नयाँ शक्ति पार्टी, नेपाल)

प्रकाशित: २६ वैशाख २०७५ ०५:२४ बुधबार

कोरियाली वार्ताको वैश्विक प्रभाव