विचार

कारुणिक कर्णालीको समृद्धि सपना

कर्णाली आफैँमा एक पीडादायी शब्द हो। यो शब्दमै वेदना छ र हृदयस्पर्शी भाव छ। यो शब्द सुन्ने नागरिकलाई यति पीडा हुन्छ भने कर्णालीको पीडा भोग्नेलाई कति पीडा होला? मानव इतिहासदेखि एक्काइसौँं शताब्दीसम्म आइपुग्दा मानिस चन्द्रमामा बस्ती बसाल्न लागिरहेका छन् तर कर्णालीका नागरिकले अहिलेसम्म सरकार भएको अनुभूतिसमेत गर्न पाएका छैनन्। केन्द्रीकृत शासन प्रणालीले काठमाडौँबाट हेरेको दृष्टिले कर्णालीलाई कहिल्यै पनि निशाना लाउन सकेन। कर्णालीको परिर्वतका लागि भनेर वर्षौंंसम्म योजना बनाइयो, अरबौं रुपियाँ खर्च गरियो। राज्यले कर्णालीको कायापलट गर्ने सपना देख्यो त्यो सपना कर्णालीमा हैन शासकका मस्तिष्कमा बन्यो।

कर्णालीको मानव सूचकांक माथि उठाउन कालो मसीले सेता कागज कैयौँ भरिए। कर्णालीको समृद्धि भनेर चिच्याइरहेका दृश्य सञ्चार माध्यमले दिनहुँ देखाइरहे तर कर्णालीबासीले ती दृश्य कहिल्यै अनुभूत गर्न पाएनन्। बिरामी हुँदा उपचार नपाई ओछ्यानमै छट्पटी/छट्पटी आफन्त गुमाउनुपरेको तीतो दृश्य अहिले पनि आफन्तको आँखाअगाडि जस्ताको तस्तै छ। नेपाली आमाका सन्तान नासाको वैज्ञानिक बनिरहँदा कर्णालीका नागरिकले भने आफ्नो नामसमेत लेख्न जानेनन्। काठमाडौँमा कर्णालीका महिलाको परिर्वतनका लागि भन्दै धुलो उडाउने साडी लगाइरहँदा कर्णालीका महिलाले भने टालो हालेका कपडा लगाएर जीवन गुजारिरहेका छन्। एउटै भूमिमा जन्मिएका केही मानिस महलमा रमाइरहँदा घाम लाग्दा सूर्यका किरण ओछ्यानमा आइपुग्ने, पानी पर्दा छानोबाट पानी चुहिएर घरभित्रै पानीको ताल बन्ने पीडा कर्णालीबासीले खेपिरहेका यथार्थ हाे।

सधैँ भोग, शोक र अभावमा पिल्सिरहेका कर्णालीबासी नागरिकको मुक्तिका लागि जति सपना देखे पनि त्यो साकार हुन सकेको छैन। कर्णालीका दुई जिल्लामा सडक यातायातसँग अहिलेसम्म कुनै साइनो जोडिएको छैन। विद्युतीकरण, सुविधा सम्पन्न अस्पताल नभएको यो कर्णालीलाई सामाजिक आर्थिक, पर्यटन क्षेत्रको विकास गरी समृद्ध बनाउन कठिन छ। दर्दनाक पीडा लुकाएर बसेका कर्णालीबासीको परिवर्तन चानचुने विषय हैन। देश संघीय संरचनामा गएसँगै अब कर्णालीका आमनागरिकले सरकार भएको अनुभूत हुने आश लिएका छन्। त्यो आश पूरा हुने हो वा निराशा हात लाग्ने हो भन्नेमा उनीहरू अलमलमै छन्।

कर्णालीको समृद्धिका लागि भनेर २०७५ साललाई पर्यटन वर्ष घोषणा गरिएको छ। जसलाई सुर्खेतदेखि रारा तालसम्म रेखांकन गरिएको छ। यसलाई वैशाखमा प्रधानमन्त्री केपी ओलीले उद्घाटन पनि गरिसकेका छन् नव वर्षको अवसर पारेर। संघीय नेपाल समृद्धिको पहिलो सुरुवात यहीँबाट हुने भनेका छन्। अर्थात सिंगो कर्णाली समृद्धिका लागि रारा तालबाट बिगुल फुक्ने काम भइसकेको छ। तर यसको सफलता भने अहिले नै यसै भन्न सकिन्न। कर्णाली शतप्रतिशत परनिर्भर प्रदेश हो। यहाँ कुनै कलकारखाना छैनन्। सबै कुराको अभावमा पिल्सिएको यो प्रदेशलाई आत्मनिर्भर बनाउन सरकारलाई निकै चुनौती पनि छ।

त्यसैले कर्णालीको विकास साँच्चै गर्ने हो भने गफमा हैन, काममा हात हालिहाल्नुपर्छ। अनि काठमाडौँका होटलहरूमा नभई कर्णालीमै बसेर नंग्रा खियाउनुपर्छ। यहीँको धुलोसँग जुधिरहेका बासिन्दाको सहभागितामा विकास निर्माणका काम अघि बढाइनुपर्छ। ताकि उनीहरूको पनि उसमा स्वामित्व कायम होस्। सोझो अर्थमा भन्ने हो अहिले समृद्ध कर्णालीको तातो भुंग्रोमा सरकारले हात हालेको छ। यति नै बेला तातेको तात्यै ग-यो भने सम्भव पनि छ। यसैलाई मनन गरेर अघि बढ्दा वेश होला।

कोषाध्यक्ष, नेपाल पत्रकार महासंघ, दैलेख

प्रकाशित: ११ वैशाख २०७५ ०३:०६ मंगलबार

कारुणिक कर्णालीको समृद्धि